• TOKHA LIVE

    • २२ बैशाख २०८२, सोमबार १५:३२

    बागमती तीर्थयात्रा, बाघद्वार मेला यसपालि पनि नहुने

     

    काठमाडौँ, २२ वैशाख – सभ्यता र संस्कृतिको जरो मानिने बागमती नदी किनारमा वर्षौँदेखि गुञ्जिँदै आएको तीर्थयात्राको स्वर यो वर्ष पनि सुन्न पाइने छैन। कटुवाल दहदेखि वाग्द्वारसम्मको १८ कोशे बागमती तीर्थयात्रा फेरि पनि स्थगित गरिएको छ।

    प्रदूषणका कारण झन्डै ४० वर्षसम्म रोकिएको यो ऐतिहासिक यात्रा २०७५ र २०७६ सालमा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालको सक्रियतामा पुनः सुरु भएको थियो। परम्परागत रूपमा १७ दिनमा पूरा हुने यात्रा ती वर्षमा छोट्याएर सात र नौ दिनमा सम्पन्न गरिएको थियो।

    कोषले त्यसपछिका वर्षमा यात्रा विस्तार गर्ने प्रतिबद्धता जनाए पनि २०७७ मा कोरोना महामारी सुरु भएसँगै यात्रा फेरि बन्द भयो। महामारीपछि वातावरण केही सहज भए पनि कोषले चासो नदिँदा सात वर्षदेखि यात्रा नै हुन सकेको छैन।

    स्थानीयहरू भन्छन्, “पहिले यो यात्रा मात्र धार्मिक कर्म होइन, बागमतीलाई बचाउने चेतनाको अभियान थियो। तर अब न यात्रा बाँकी छ, न बागमतीमा त्यही आत्मा।”

    कोषको संस्कृति महाशाखाका निमित्त प्रमुख ईश्वरमान राजभण्डारीले पनि यस वर्ष कुनै तयारी नभएको बताउनु भयो।

    बागमतीको किनारैकिनार रहेका १६५ भन्दा बढी पवित्र तीर्थस्थलमा स्नान, पूजा र साधनासहित गरिने यो यात्रा नेमुनिले प्रारम्भ गरेको भनाइ छ। यस यात्रामा जनताको आस्था, प्रकृतिप्रतिको श्रद्धा, र संस्कृति बचाउने भाव मिसिएको पाइन्छ।

    पशुपति आगम घरका पुजारी मदन भट्ट भन्छन्, “बागमती केवल नदी होइन, पूजा हो। तीर्थयात्रा रोकिँदा बागमतीको आत्मा नै चिसिएको महसुस हुन्छ।”

    नदी सफा राख्ने र जनचेतना जगाउने उद्देश्यले सुरु भएको यो परम्परा यति लामो समयसम्म रोकिँदा बागमती शुद्धीकरणमा चुनौती अझै गहिरिँदै गएको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै