• TOKHA LIVE

      TOKHA LIVE

    • ६ पुष २०८१, शनिबार ०५:३७

    स्वच्छ महिनावारी र मानव अधिकारमा सराेकारवालाहरूकाे टिप्पणी

     

    काठमाडाैं, ५ पुस । महिनावारी स्वास्थ्य र स्वच्छताको लागि मानव अधिकारसंग जाेडिएर सराेकारवालाहरूले टिप्पणी गरेका छन् ।

    वियाेण्ड बेइजिङ कमिटी (विविसी), राष्ट्रिय महिनावारी सञ्जालले प्लान इन्टरनेशनलकाे प्रायाेजनमा राजधानीमा गरेकाे स्वच्छ महिनावारी र मानव अधिकार सम्बन्धी एक कार्यक्रममा सराेकारवालाहरूले टिप्पणी गरेका हुन् ।

    कार्यक्रममा स्वास्थ्य मन्त्रालयका फाेकल पर्सन राेशनीदेवी कार्की, अन्तराष्ट्रिय पत्रकार तथा पिरेडका कुरा कार्यक्रमका संयाेजक सृष्टि काफ्ले र प्लान इन्टरनेशनल युवा सल्लाहकार परिषदका स्मारिका पोखरेलले स्वस्थ्य महिनावारी, समाजमा महिनावारीका कथा, महिनावारी भित्रका विभेद, निरूपणलगाएतका विषयमा टिप्पणी गरेका छन् ।

    कार्यक्रममा स्वास्थ्य मन्त्रालयका फाेकल पर्सन राेशनीदेवी कार्कीले महिलाहरूले हरेक कुरामा विभेद मात्र खेप्नुपर्ने जनाउँदै सरकारकाे निति रहेपनि विभेद अन्त्य नभएकाे बताउनुभयाे । उहाँले समाजमा भएका त्यस्ता विभेदसंग आफै लड्नुपर्ने बताउँदै सरकारका निति र नियमले सामाजिक रूपान्तरणमा भूमिका खेलेकाे बताउनुभयाे ।

    महिनावारी राष्ट्रिय सञ्जालका संयोजक तथा प्रस्ताेता गुणराज श्रेष्ठले महिनावारी स्वच्छता प्रयाेगहुने प्याडजन्य पदार्थमा ९० प्रतिसत प्लास्टिकजन्य पदार्थ प्रयाेग हुनाले वातावरणमा प्रत्यक्ष प्रभाव परेकाे बताउँदै महिलाहरू पाठेघर क्यान्सर जस्ता घातक राेगकाे सिकार बन्ने गरेकाले स्वच्छ महिनावारीका लागि वातावरणमैत्री प्याड प्रयाेग गर्नुपर्ने सुझाउनुभयाे ।

    कार्यक्रममा स्मारिका पाेखरेलले अपाङ्गता भएका महिनावारी महिलाहरूकाे समस्याका बारेमा उजाग गर्नुभएकाे थियाे । अन्तराष्ट्रिय पत्रकार तथा पिरेडका कुरा कार्यक्रमका संयाेजक सृष्टि काफ्लेले देशभरीका विभिन्न समुदायमा महिलाले महिनावारीमा भाेगेका तीता अनुभवलाइ श्रव्यदृश्य मार्फत देखाएर समस्या समाधानका विषयमा चर्चा गर्नुभएकाे थियाे ।

    कार्यक्रममा वियाेण्ड बेइजिङ कमिटी (विविसी) अध्यक्ष कृष्णकुमारी वाइबाले महिलाले महिनावारीमात्र नभएर समाजिक विभेद पनि भाेग्नुपर्ने परिस्थितीमा सामाजिक अभियानमा लागेकाे बताउनुहुँदै महिनावारी महिलाहरूले प्राप्त गरेको अमूल्य उपहार भएकाेले महिनावारी र महिनावारीमा हुने अवस्थालाई स्वच्छ, स्वस्थ र सम्मानित बनाउन हामी सबै लाग्नुपर्ने बताउनुभयाे ।

    कार्यक्रममा महिनावारीकाे विषय महिलासंग मात्र सम्बन्धित नभइ महिलाबाट पुरूष बनेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायसंग पनि सम्बन्धित हुनुपर्नेमा जाेड दिइएकाे छ ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै