• TOKHA LIVE

    • १८ बैशाख २०८०, सोमबार १५:५६

    बनेपामा २५ सय वर्ष पुरानो चण्डेश्वरी जात्रा मनाइँदै

    टाेखालाइभ डट कम/नविना श्रेष्ठ

    बैशाख १८,२०८०/काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा करिब २५ सय वर्ष अघिदेखि चण्डेश्वरी जात्रा मनाइँदै आएको छ । विशेषगरी नेवार समुदायले मनाउने उक्त जात्रा हरेक वर्षको चण्डी (वैशाख शुक्ल) पूर्णिमादेखि तीन दिन मनाउने गरिन्छ। बनेपामा आउँदो बिहीबारदेखि चण्डेश्वरी जात्रा सुरु हुने भएको छ। वैशाख शुक्ल पूर्णिमा, जसलाई चण्डीपूर्णिमा नाम दिइएको छ। प्रत्येक वर्ष यहाँका बासिन्दाहरुले मनाउने यो पर्वमा चण्डेश्वरी मन्दिर परिसर बेहुलीझैँ सिंगारिएर तीन दिनसम्म सम्म मनाइन्छ जात्रामा यहाँका मानिसहरू नयाँ उमङ्ग र उत्सवका साथ रमाउछन्। यो जात्रा महान् पर्व दशैं जस्तै हो । हालका दिनमा जात्रा व्यवस्थापन समिति स्थानीय जात्राको तयारीमा जुटेका छन् । जात्राको विधिअनुसार सबैको घर चोख्याइन्छन् । पूर्णिमाको अघिल्लो दिन हनुमान ढोकाबाट ल्याइने तरबार (खड्ग) सँगै जात्रामा सरकारको तर्फबाट समेत पूजा गर्ने व्यक्तिको सहभागिता रहेको हुन्छ। त्यसैले बनेपामा यसको महत्व अझ व्यापक रुपमा पाएको भन्दै गर्व गर्छन्।जात्रा अवधिभर बनेपाका सबै नेवार समुदायका घरघरमा भोज गरिन्छ । बूढापाकाले टोल–टोलमा बसी भजन गाउँछन् । सडक, गल्लीमा भीड हुन्छ । ‘शक्तिकी अधिष्ठात्री देवी मानिएकी चण्डेश्वरी देवी’ को पूजा गर्न टाढादेखि भक्तजन आउने स्थानीय वृद्ध जगतबहादुर मानन्धरले बताए ।

     

    उनका अनुसार जात्रामा सामेल हुन पाउँदा निकै खुशी हुन्छन्। भक्तजनहरुले ‘मागेको पुग्ने’ कुरामा विश्वास रहेको बताए। जात्राअन्तर्गत पहिलो दिन (पूर्णिमाको दिन) बिहान सबेरै मत पूजा (चिराग यात्रा) गरिन्छ । तुलसीको काठद्वारा निर्मित रथमा देवी चण्डेश्वरीलाई रथारोहण गराई देवगृहबाट परिक्रमाका लागि निकाल्ने चलन रहेको छ। बनेपाको तीनधारामा बनाइएको पाङ्ग्रा नभएको खटलाई भेडा बलि दिइएपछि देवता नभएको खाली खटलाई विभिन्न बाजागाजासहित स्थानीय युवाहरूले बोकेर ल्हाका पालुं हाः’ भन्दै चण्डेश्वरी पुर्याउने प्रचलन छ । यतिबेला रथ तान्ने र घचेट्नेको उत्साहमा थप ऊर्जा प्रदान गर्दै बजारका हरेक घरका झ्यालझ्यालबाट उनीहरूलाई साहस थपिदिने काम पनि हुन्छ भने हरेक घरमा तयार पारिएका प्रसाद झ्यालबाटै रथमा बसेकी चण्डेश्वरीलाई चढाउँछन् ।

    खटलाई मन्दिर नजिक पुर्याएपछि विधिपूर्वक पूजा गरी चण्डेश्वरी देवीको मूर्तिलाई खटमा राखिन्छ ।पूर्णिमाको भोलिपल्ट बकुटोलबाट चण्डेश्वरीले भण्डासुर दैत्यको वध गरेपछि समाधि गरिएको स्थान भन्ने विश्वास गरिन्छ, त्यहाँ रथ पुर्याउने र भव्य स्वागत सत्कारकासाथ पूजाआजा र बलि दिने परम्परा रहेको स्थानीय इतिहासविद् ज्ञानकाजी मानन्धरले बताए। उनका अनुसार जात्राको सुरुदेखि नै ठाउँ–ठाउँमा बलि दिइन्छ । खटलाई प्राचीन लायकू दरबारसम्म पुयाउँदै र त्यहाँबाट चण्डेश्वरी देवीको मूर्तिलाई अर्को सानो खटमा राखेर पुनः वकुटोलमै ल्याउने गरिएको हो । यस्तै मूर्तिलाई सानो खटमा राखेर पुनः चण्डेश्वरीमा पुर्याएपछि जात्रा सकिने गर्छ । बनेपा नगरपालिकाले बर्सेनि जात्रामा आर्थिक सहयोग पनि गर्दै आएको छ । चण्डेश्वरी जात्राको महत्व ठूलो भएको जनाउँदै बनेपा र आसपासमा रहेका सङ्घसंस्था तथा विद्यालय जात्रा अवधिभर बन्द गरिन्छन् । बनेपाबाट जहाँसुकै स्थानमा बसाइँ गएकाहरू पनि चण्डेश्वरी जात्रामा पूजा गर्न आइपुग्छन् ।

    यहाँ छुटाउनै हुँदैन भन्ने जनविश्वास पनि छ ।धिमे, नाय्खिं, छुस्यालगायत विभिन्न बाजागाजासहित आस्था भएका सबैले आ–आफ्नो घरबाट चिराग बोक्दै बनेपाको लायकूमा जम्मा भई जलेश्वर महादेव ९जसिगा०सम्म पुगेर विसर्जन गर्ने प्रचलन रहेको छ । जात्राका क्रममा चण्डेश्वरी मन्दिरभित्र रहेका पिगं देवतालाई १२ वटा बोकालाई बलिदिने र तीमध्ये एउटा बोका द्वारे र अर्को बोका जोशीलाई दिइने प्रचलन रहेको छ । बाँकी बोकाको मासु ‘कलङ्दान’ गरिँदै आइन्छ । कलङ्दान जात्रामा मासुलाई प्रसाद स्वरुप भीडमा फालिन्छ । चण्डेश्वरी जात्रामा बनेपाका स्थानीय मानन्धर, भोछिभोया, राजवाहकलगायतका सबै नेवार समुदायसँग प्रत्यक्ष सम्बन्ध रहने भएकाले यो जात्रालाई विशेष महत्वकासाथ लिइने गरिएको हो ।किंवदन्तीअनुसार २५ सय वर्ष अगाडि आराध्यदेवी चण्डेवरी माईको जात्रा धार्मिक कथनअनुसार दैत्यराज चण्डासुरले लामो समयसम्म तपस्या गरेपछि कुनै पनि पुरुषले आफूलाई मार्न नसक्ने वरदान पाएका थिए ।

    त्यसपछि पाताल, मच्छेमण्डल र स्वर्गमा चण्डासुरले हाहाकार मच्चाउन थालेपछि उनीहरू ९ देवता भागेर बनेपाको चण्डेश्वरीमा अवस्थित रक्तचन्दन वनमा पुगे । स्वर्गका राजालाई समेत चण्डासुरले जितेपछि देवताहरूको भागाभाग भई ज्यान जोगाउन पक्षीको रुपधारण गरी उक्त वनबाट अलप भए । चण्डासुरका अनुयायीले रक्तचन्दन वनमा कोही नभएको र एउटी राम्री युवती चम्पक वृक्षभित्र बसेको बताए । पछि चण्डासुरले वृक्षमा प्रहार गरे ।चम्कप वृक्षमा प्रहार गरेपछि त्यहाँबाट कुमारी चण्डेश्वरी प्रकट भइन् र चण्डासुरलाई मार्ने प्रयास गरिन् तर, सकिनन् । त्यसपछि उनी भगवतीको रूपमा प्रकट भएर चण्डासुरको वध गरेर देवताको रक्षा गरेको खुसीयालीमा जात्रा मनाइँदै आएको जनविश्वास रहिआएको छ ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै