टाेखालाइभ डट कम/ असोज २८,२०७९
काठमाडौं । ललितपुरको ऐतिहासिक सम्पदा बस्ती बुङ्गमतीमा भोलि शनिबार (असोज २९ गते) ‘बुंग महोत्सव’ हुँदै छ ।
शनिबार बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म चल्ने महोत्सवमा परम्परागत बाजा, साँगीतिक धुन, नृत्यसँगै नेवारी खाना, काष्ठकला, हस्तकला र परम्परागत शीप प्रदर्शन गरिने छ ।
महोत्सवमा सहभागी हुन कुनै पनि शुल्क लाग्ने छैन ।
‘बुङ्गमती हेरिटेज वाल्क’ मा स्थानीय गाइडले बुङ्गमती घुमाउने छन् ।तर बुङ्गमती भ्रमण गर्न चाहनेले अनलाइनबाट फारम भर्नु पर्ने हुन्छ ।
युरोपियन युनियनको सहयोगमा स्विच एशिया कार्यक्रम अन्तर्गत युएन ह्याबिट्याट, लुमन्ती, सीआईयूडी, आईएचएस र सभा नेपालद्वारा सञ्चालित पर्या–सम्पदा परियोजनाले महोत्सव व्यवस्थापन गर्ने जिम्मा ‘इकोज इन द भ्याली’लाई दिएको आयोजकले बताएको छ ।
भूकम्पले थलिएको धार्मिक, साँस्कृतिक एवम् ऐतिहासिक नेवारी बस्ती बुङ्गमतीलाई पुनर्जिवित गर्ने उद्देश्यका साथ महोत्सव गर्न लागिएको बताइएको छ ।

महोत्सवको मुख्य आकर्षण
बुङ्गमती धार्मिक, साँस्कृतिक एवम् पुरातात्विक महत्व बोकेको सम्पदा बस्ती हो । जहाँ मत्स्येन्द्रनाथ, ह्याग्रिव भैरव, प्रथमपुर विहार, कार्यविनायक मन्दिरसँगै थुप्रै फल्चा र पोखरीहरु छन् ।
सिंगो बस्तीलाई पुनर्जिवित गर्ने उद्देश्यका साथ महोत्सवको दिन बस्तीका विभिन्न ठाउँमा दशवटा साँगितिक ब्याण्डले आफ्नो प्रस्तुती दिनेछन् । मच्छिन्द्रबहालमा कुटुम्ब, रैथानेलगायत नेपाली धुन सुनाउने संगित ब्याण्डको प्रस्तुति रहनेछ भने प्रथमपुर विहार पञ्चामृत, कल्पकुञ्जलगायतको संगितले गुञ्जयमान हुनेछ ।
यस्तै बाः छेँ फल्चामा बर्ता गन्धर्वको सारङ्गीको धुन सुन्न र वर्ड वारियरको प्रस्तुति हेर्न पाइनेछ ।
महोत्सवको अर्को आकर्षण भनेको सम्पदा बस्ती भ्रमण पनि हो । बुङ्गमतीको महत्वबारे बुझ्न र यहाँका पुरातात्विक महत्व बोकेका सम्पदाहरुबारे थाहा पाउन यो भ्रमण फलदायी हुने अपेक्षा गरिएको छ ।
यस्तै बालबालिकाको लागि विभिन्न परम्परागत खेलहरुमा सहभागी हुने वातावरण पनि मिलाइएको ‘इकोज इन द भ्याली’ले जनाएको छ । यसका अलवा फोटो प्रदर्शनी, फेस पेन्टिङ, रञ्जना लिपीको क्यालिग्राफीसँगै बुङ्गमतीका स्थानीयको परम्परागत सिप र कौशलको समेत प्रदर्शनी हुनेछ।

