टाेखालाइभ डट कम/माघ ६,२०७८
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १२ हजार ३३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । उक्त सङ्ख्या बुधबारभन्दा ९८६ बढी हो । बुधबार देशभर ११ हजार ३५२ जनामा सङ्क्रमित पुष्टि भएको थियो ।
पछिल्लो २४ घण्टामा २७ हजार ४९७ जनाको कोरोना परीक्षण गरिएको थियो । २१ हजार ७ जनाले पीसीआर तथा ६ हजार ४९० जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सो अवधिमा ६४९ जना कोरोनाबाट निको भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख १८ हजार ८०९ पुगेको छ । निको हुने दर ९२ दशमलव दुई प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा आठ लाख ८७ हजार ७६९ जनामा तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा एक लाख आठ हजार ११९ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ५० लाख ७५ हजार २०५ र एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या नौ लाख सात हजार ८२३ पुगेको छ । कोभिड–१९ विरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा दुई लाख ३४ हजार २१४ रहेको छ ।
हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ५७ हजार ३२८ छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट चार जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६३२ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत छ । हाल भेन्टिलेटरमा २७ जना र आइसियूमा १८६ जना रहेका छन् । होम आइसोलेसनमा ५५ हजार ८३६, संस्थागत आइसोलेसनमा एक हजार ४९२ र क्वारेन्टिनमा १२५ जना छन् ।

