टाेखालाइभ/ असार ३१,२०७८
काठमाडौं : नेपाल सरकार जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा साउन १० गतेसम्म थप्ने निर्णय भएको छ । काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको जनाएको छ ।
साउन १ गतेदेखि लागू हुने निषेधाज्ञामा पसलहरु खोल्ने समय एक घण्टा थप गरिएको छ । जसअनुसार अब उपत्यका भित्रका पसलहरु साँझ सात बजेसम्म मात्रै खोल्न पाइने भएको छ ।यस्तै सबै प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, स्वीमिङ पुल, ब्युटी पार्लर, सैलुन भने बन्द नै रहने भएको छ । विद्यालयहरुले पनि भौतिक उपस्थितिमा पढाइ सञ्चालन गर्न पाउने छैनन् । आवश्यक कामले उपत्यका प्रवेश गर्ने निजी तथा सार्वजनिक यातायातलाई अनुमति लिएर प्रवेश अनुमति दिने निर्णय भएको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।




