टाेखा लाइभ/ जेठ ११ काठमाडौं
काठमाडौं उपत्यकामा जेठ २० सम्म निषेधाज्ञा थपिएको छ। निषेधाज्ञा थप कडा पारिने भएको छ। १६ वैशाखमा शुरू भएको निषेधाज्ञा १३ जेठमा सकिँदै छ। कोभिड-१९ संक्रमण दर नघटेकाले निषेधाज्ञा थपिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए।
आज मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, काठमाडौंमा १६ हजार ७४७, ललितपुरमा ७ हजार १५६ र भक्तपुरमा ४ हजार ८८० सक्रिय संक्रमित छन्। देशभरि ७५ वटा जिल्लामा निषेधाज्ञा जारी रहेको गृह मन्त्रालयले जानकारी दिएको छ।
निषेधाज्ञा थप कडा बनाउन काठमाडौं उपत्यकामा औषधि, दूध, तरकारी र खाद्यान्न पसलबाहेक अन्य पसल खोल्न पाइनेछैन। यसअघि खुद्रा पसल र डिपार्टमेन्ट स्टोर खोल्न दिइएको थियो। अब सबै बन्द गरिने प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए।

