टाेखालाइभ डट कम/वैशाख १०,
२०७२ बैशाख १२ मा आएको बिनासकारी भुकम्पले ढलेकाे धरहराको पुनर्निर्माणको भोलि वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएको छ । करिव ३ अर्ब ४८ करोड रुपैयाँ अनुमानित लागत रहेको धरहराको पुनर्निर्माणमा बिहान र बेलुका गरेर साढे तीन सय मजदुरहरुले काम गर्दै आइरहेका छन् । नयाँ धरहराको २०औं तलाबाट काठमाडौंको दृश्यावलोकन गर्ने व्यवस्था मिलाइएको छ भने २२औं तलामा भने पुरानै शिव लिंग स्थापना गरिएको छ। धरहराको कुल उचाई ८० मिटर रहेको छ । पुरानै संरचनामा निर्माण गरिएको धरहराको हरेक दुई तलामा पहिलाकै जस्तो कार्नेसको बुट्टा रहेको छ भने पुरानै शैलीको गोलो आकारका झ्यालहरु यसमा देख्न पाइनेछ ।
नयाँ धरहरामा अपांगमैत्री सहितका दुईवटा लिफ्टको पनि व्यवस्था गरिएको छ । पहिलेको धरहरामा गोलो भर्याङ राखिएको थियो भने अहिलेको त्यसलाई नयाँ शैलीमा निर्माण गरिएको छ । यसको निर्माण ठेक्का जीआईटीसी रमन जेभी कन्ट्रक्सनले २०७५ असोज १४ गते ठेक्का पाएको हो ।भूकम्पले भत्काएको धरहराको भग्नावशेषलाई भने सिसाले छोपेर नयाँ धरहरा छेवैमा राखिनेछ । धरहराको पुरानै गजुरलाई मर्मत गरी सुनको जलप राख्ने काम पनि सम्पन्न भैसकेको छ।








