टाेखालाइभ डट कम
माघ २७, काठमाडौं
२०७७ को आर्थिक ऐनले प्रदान गरेको कर छुटको सुविधाबाट लाभान्वित हुनको लागि आन्तरिक राजस्व कार्यालयले व्यवसायीहरूलाई आव्हान गरेको छ।
ललितपुर चेम्बर अफ कमर्शको समन्वयमा आन्तरिक राजस्व कार्यालय ललितपुर क्षेत्र नम्बर १ र २ को आयोजनामा ललितपुरमा सोमबार भएको आर्थिक ऐन २०७७ को कर छुट सुविधा र सूचना प्रविधि सम्वन्धित अन्तरक्रियामा राजस्व कार्यालयका अधिकारीहरूले यस्तो आव्हान गरेको हो।
ललितपुर चेम्त्ररका अध्यक्ष पुष्परत्न शाक्यको सभापतित्वमा भएको अन्तरक्रियामा आन्तरिक राजस्व कार्यालय ललितपुर क्षेत्र नम्बर १ का प्रमुख जिवनकुमार घिमिरे र क्षेत्र नम्बर २ का प्रमुख निरन भट्टराई,कर अधिकृत राधेश्याम दाहाल, एकिकृत सूचना प्रविधि अधिकृत थानेश्वर पनेरू, कम्यूटर अधिकृत पवन बस्नेतले २०७७ को आर्थिक ऐनले स्थायी लेखा नम्बर लिएर विगतमा कर नतिरहेको भए पनि आर्थक वर्ष २०७४/ ७५, २०७५/ ७६ को कर फागुन मसान्तसम्ममा बुझाएमा पनि विभिन्न कर छुट सम्वन्धि सुविधाको स्कीम भएको भन्दै सो सुविधा लिनको लागि व्यवसायीहरूलाई आव्हान गर्दै ट्याक्सपेयर पोर्टलमा सूचिकृत हुनका लागि पनि अनुरोध गर्नु भएको थियो।
ललितपुर चेम्बरका अध्यक्ष शाक्यले आन्तरिक राजस्व कार्यालयबबाट जति सक्यो छिटो कर तिरेको प्रमाण वितरण गर्नको लागि ध्यानाकर्षण गर्दै सरकारले कमर्चारीहरूको लागि पेन्सनको व्यवस्था गरेजस्तै आफ्नो व्यापार व्यवसायबाट जिवनभर कर तिरेका व्यवसायीहरूको लागि पनि भविष्य सुरक्षित सुविधाको व्यवस्था गर्नको लागि माग गर्नु भयो।
अन्तरक्रिया कार्यक्रममा ललितपुर जिल्ला सहकारी संघका अध्यक्ष रामहरि बजगाई, ललितपुर सुन चाँदी व्यवसायी संघका अध्यक्ष रमेश बहादुर शाक्य, ललितपुर चेम्बर अफ कमर्शका महासचिव सुबिन बज्राचार्य लगायतका ललितपुरका विभिन्न वस्तुगत संघका प्रतिनिधिहरूले आ-आफ्नो व्यवसायको समस्या राखेका थिए।

कार्यक्रममा उज्यालो रेडियो नेटवर्कका पत्रकार सिल्भिया राजोपाध्याय् र अनलाइन पत्रिकाका पत्रकार सुविन श्रेष्ठलाई सम्मानपत्र प्रदान गरको थियो।

