टोखा लाइभ।२१ फाल्गुन २०७९
काठमाडौं – काठमाडौंको टोखास्थित एन्जल्स प्याराडाइज स्कुलमा ‘स्कुल लेबल अवाकस प्रतियोगिता’ सम्पन्न गरिएको छ । बालविकास एनसीमास संस्थासंगको सहकार्यमा आइतबार एक कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको हो ।
कार्यक्रममा १ देखि ६ कक्षा सम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा छानिएका विद्यार्थीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिगोगितामा सहभागी हुन पाउने छन्। विद्यालयहरुले उक्त विषयलाई बैकल्पिक विषयका रुपमा पठन पाठन गराउँदै आएको छ ।
अवाकसले बालबालिकाहरुको पढाइमा निक्कै नै उपयोगी र ध्यान केन्द्रित गर्न महत्वपूर्ण भूमिका खेलेको स्कुलका प्रिन्सिपल रामकृष्ण डंगोलले बताए । ‘जसरी हुन्छ विद्यार्थीहरूलाई व्याबहारिक शिक्षामा कसरी अघि बढाउने भन्ने कुरामा स्कुल अग्रसर रहेको छ। आजको कार्यक्रम हेरेर अभिभावक र विद्यार्थीहरूले पनि निक्कै नै रुचाएको पायौँ।,’ उनले भने।
एन्जल्स प्याराडाइज स्कुल पढाइसंगै अतिरिक्त क्रियाकलाप पनि उत्कृष्ट रहेको भन्दै समय समयमा क्रियाकलापलाई पनि विशेष जोड दिए विद्यार्थीहरु पढाइमा अझै राम्रो गर्न सक्ने उनी बताउँछन् ।
त्यसैगरी, अवाकसले बालबालिकाको ध्यान केन्द्रित गर्न धेरै सहयोग गरेको अभिभावकहरुले बताए । उनीहरुले आजको कार्यक्रममा आफ्ना बालाबालिकाले अवाकस प्रणालीबाट छिटो छरितो तरिकाले गणितीय समस्या समाधान गरेको प्रत्यक्ष देख्न पाउँदा झन् धेरै अवाकस सम्बन्धि जानकारी पाएको भन्दै खुसी व्यक्त गरे। साथै बालबालिकामा आएको सकरात्मक परिवर्तनका कारण अवाकस शैक्षिक प्रणाली अत्यन्त राम्रो भएको अभिभावकहरुको भनाइ छ ।
शैक्षिक क्षेत्रमा नयाँ प्रयोग गरिएको अवाकसले बालबालिकाको मष्तिस्क विकास, गणितीय समस्या समाधान गर्न सहज, ध्यानलाई केन्द्रिकृत गराउने गर्दछ । विश्वका १ सय ५० भन्दा बढी देशमा यसको प्रयोग भइरहेको छ ।
विश्वमा २ हजार बर्ष पहिले नै यसको प्रयोग गरिएको पाइए पनि नेपालमा बालविकास एनसीमासले १८ वर्षदेखि गर्दै आएको छ । धेरै जसो विद्यालयहरुले यस अवाकस प्रणालीलाई नियमित पाठ्यक्रममा समाबेश गरी अध्यापन गराउँदै आइएका छन्।