•            
    • Hikmat Dangol

    • ५ भाद्र २०७९, आईतवार ०८:११

    नेता गिरिको आज अन्त्येष्टि गरिँदै, पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने

    टोखा लाइभ ।२०७९ भदौ ५ गते।

    काठमाडौं। नेपाली कांग्रेसका नेता प्रदीप गिरिको आज अन्त्येष्टि गरिँदै छ। हिन्दू संस्कार अनुसार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ।

    त्यसअघि, उgको पार्थिव शरीर मेडिसिटी अस्पतालको शिवालयमा बिहान ९ देखि ११ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिनेछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा साढे ११ देखि दिउँसो २ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कांग्रेस संसदीय दलको कार्यालये जनाएको छ।

    ७५ वर्षको उमेरमा शनिबार राति गिरिको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। कांग्रेसका नेता, सांसद तथा राजनीतिक विश्लेषक गिरि लामोसमयदेखि घाँटीको क्यान्सरबाट पीडित थिए।

    गिरि लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचारपछि केही महिनाअघि नेपाल फर्किएका थिए। नेपाल फर्किनासाथ निमोनिया देखिएपछि नेता गिरिलाई थप उपचारका लागि गत साउन ९ गते मेडिसिटी अस्पताल भर्ना गरिएको थियो।

    गिरिको निधनसँगै नेपालले एउटा बौद्धिक राजनीतिक व्यक्तित्व गुमाएको छ। सिराहामा जन्मिएका गिरिले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए।

    उनका पिता नेत्रलाल गिरि कांग्रेसका नेता थिए। पिताबाट राजनीतिमा लागेका उनी २०१७ सालमा कांग्रेसमा आवद्ध भएका थिए। नेता गिरिले २०२५ देखि २०४२ सालसम्म पटकपटक गरि चार वर्ष जेल जीवन बिताएका थिए।

    गिरि सानैदेखि तीक्ष्ण बुद्धि र मेधाबी छात्रको रूपमा अध्यनशील थिए। स्व. मित्रलाल गिरीका ५ सुपुत्रमध्ये माइलो गिरिलाई समकालीन नेपाली साहित्य र राजनीतिका कुशल खेलाडीका रुपमा लिइन्छ। अकाट्य तर्क, चिन्तन, सुबोध्य भाषण कला, सुपाच्य लेखनशैली, आफ्नै विवेकका पक्षपाती गिरि संसद र सभाहरुमा प्रखर वक्ताका रुपमा सुपरिचित थिए।

    उनका वीपी र समाजवाद,विश्वेश्वरप्रसाद कोइराला राजनीतिक अभिलेख, महात्मा गान्धी र राममनोहर लोहियाका जीवनी, लेनिन एक अध्ययन जस्ता दर्जनौं कीर्तिहरु प्रकाशित छन्। कही राजनीतिक प्रवचन होस् वा साहित्यिक सम्मेलन त्यहाँ गिरि आउँदैछन् भन्नासाथ उनलाई सुन्न र बुझ्न बौद्धिक जमातको उपस्थिति ह्वात्तै बढने गरेको थियो।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै