•            
    • Sanu Raj Dangol

    • २८ बैशाख २०७८, मंगलवार ०९:३३

    आज आमाप्रति श्रद्धा, भक्तिभाव ,आदर र सम्मान गर्ने पर्व:-

    टाेखालाइभ डट कम / बैशाख २८,२०७८

    आफुलाई जन्मदिने आमाप्रति श्रद्धा, भक्तिभाव, आदर र सम्मान प्रकट गर्ने यो पर्व प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन मनाइन्छ । मातातीर्थ औंसीका दिन जीवित आमालाई खान–लाउन दिएर सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी सम्झना गरिन्छ ।मातातीर्थ औंसीका दिन नेपालमा मातृ दिवस वा आमा दिवसका रूपमा मनाइन्छ । यो आमालाई सम्मान गर्ने र सम्झने पबित्र दिन पनि हो । हिन्दू संस्कृति अनुसार वैशाख कृष्णपक्ष औंसीका दिन आमाको मुख हेर्ने दिन वा मातातीर्थ औंसीका रूपमा चिनिन्छ ।

    ‘शास्त्रमा बाबुभन्दा आमा दशगुणा बढी मान्य हुन्छिन् भनी व्याख्या गरिएको छ, ‘मातृदेवो भवः’ भनेर सबैभन्दा पहिले भनिन्छ, त्यसपछि मात्र ‘पितृदेवो भवः’, ‘आचार्यदेवो भवः’ भनिन्छ, यसैबाट शास्त्रले आमालाई महत्व दिएको स्पष्ट हुन्छ’  । ‘कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवती’ अर्थात् छोरा कुपुत्र भए पनि आमा कहिल्यै कुआमा हुँदिनन् भन्ने भनाइ नै छ ।

    जीवित अथवा दिवङ्गत दुवै आमाको तृप्तिका लागि आजको दिनलाई पुण्यतम पर्व मानिन्छ । आजका दिन काठमाडौँको पश्चिमी भेगमा रहेको मातातीर्थमा आमाको सम्झनामा श्राद्ध गर्ने भक्तजनको भिड लाग्छ । यो दिन जन्म दिने आमाको मुख हेरी गच्छेअनुसार मीठो–मसिनो ख्वाउने र आमा संगै बसेर रमाइलो गर्ने चलन छ । आमा नहुनेहरूले भने विभिन्न धार्मिक स्थलमा स्नान गरी तर्पण दिएर आमाको स्मरण गरेर मनाउने गर्दछ्न ।

    मातातीर्थसँग जोडिएको कथा

    भगवान् विष्णुको सातौं अवतार मानिने मर्यादा पुरुषोक्तम श्रीराम वनवासका क्रममा घुम्दै एकदिन मातातीर्थ आइपुगे । उनलाई अपरिचित र नौलो देखेर स्थानीय बासिन्दाहरूले आक्रमण गरे । फलस्वरूप राम र स्थानीय बासिन्दाहरूबीच घमासान युद्ध भयो ।

    युद्धले गर्दा दुवै पक्ष तिर्खाले आकुल–व्याकुल भए ।त्यही बेला माता सीतालाई पनि प्यास लाग्यो । पानी खोज्दै जाँदा कतै पानी नभेटिएकाले भगवान् रामले गंगामाताको स्तुति गरे– ‘माता गंगासमो तीर्थ पिता पुष्कर मे वचः’ भन्ने मन्त्रोच्चारण तीन पटक गर्दै रामले जमिनमा वाण प्रहार गरेपछि वाण लागेको ठाउँमा पानीको कुण्ड बन्यो ।

    त्यहाँ माता सीताजीले सारा ब्रह्माण्डको साक्षात् दर्शन पाउनुभयो । ब्रह्माण्डको दर्शन पाउँदा उहाँको स्वरूप कुण्डमा रहेको ढुंगामा कोरिन पुग्यो ।अर्को कथाअनुसार कुनैबेला घना जंगल रहेको त्यो ठाउँमा गोठालाहरू गाई चराउन आउँथे । उनीहरू त्यही कुण्डको नजिकै बसेर खाजा खान्थे । ती गोठालाहरूमध्ये एउटा गोठाला खाजा नखाई कुण्ड भएतिर मात्र जान्थ्यो ।

    उसले त्यहाँ रहेको कुण्डमा आफ्नी आमाको दर्शन पाएकाले ऊ घर फर्कने वेलामा एक्लै फर्कन नमानेको र आमालाई पनि सँगै लाने इच्छा राख्दा आमाले छोरालाई हामी मृत आमाहरूको दर्शन गर्न सधैं वैशाख औंसीको दिन यो तीर्थमा आउनू भनी छोरालाई सम्झाई–बुझाई घर पठाइन् । भनिन्छ, त्यसै दिनदेखि त्यो ठाउँको नाम मातातीर्थ रहेको हो भन्ने किबदंन्ती पाईन्छ ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै