•            
    • Sanu Raj Dangol

    • ६ जेष्ठ २०७८, बिहीबार १९:३८

    ‘देशमा आगो बलेको छ निभाउने दमकल छ तर पानी छैन’: डा.रोमियो कंसाकार

    बरिष्ठ ग्याष्ट्रो सर्जन डा. रोमियो कंसाकार
    २०७८ जेठ ६ गते 
    छिमेकी मुलुक भारतमा तीब्र रुपमा महामारी बढिरहेको बेला नेपालको तर्फबाट न सीमानामा सतर्कता अपाउने काम भयो न अक्सिजन उत्पादन बढाउन कुनै योजना नै बन्यो । अनि देश दुई हप्तामै अस्तब्यस्त बन्यो । अक्सिजनको अभाबमा पनि कैयौ बिरामीको ज्यान गएको छ । अक्सिजनको अभाबलाई संकेत गर्दै २१ बर्ष देखि चिकित्सा क्षेत्रमा क्रियाशील बरिष्ठ चिकित्सक रोमियो कंसाकार भन्नुहुन्छ –देशमा आगो बलेको छ निभाउने साधन दमकल पनि छ तर दमकलमा हाल्ने पानी नै छैन । अस्पताल र स्वास्थ्यकर्मी आफ्नो ज्यानको पर्बाह नगरी नागरिकको सेवा दिन तयार भए पनि अक्सिजनको अभाबमा काम गर्न निकै गाह्रो भएको बरिष्ठ ग्याष्ट्रो सर्जन कंसाकार बताउनुहुन्छ । बीर अस्पताल , शिक्षण अस्पताल, आर्मी अस्पताल , नर्भिक अस्पताल , ग्रिनसिटी जस्ता नेपालका प्रशिद्ध अस्पतालमा सेवा गरिसक्नुभएका डा कसांकारलाई चिकित्सा क्षेत्रका भरोषायोग्य सक्षम चिकित्सक मानिन्छ । भनिन्छ –अप्रेशन गर्दा गर्दै जटिलता उत्पन्न भएमा डा. कंसाकारलाई खोज्ने गरिन्छ । हाल सम्म १० हजार भन्दा बढी नागरिकको सफल अप्रेशन गरिसक्नुभएका डा कंसाकार नयां भेरियण्ट सहितको थप जोखिमपुर्ण कोरोना भाइरस पुष्टि भैसकेकोले राज्य र आम नागरिकहरुलाई बिशेष सतर्कता अपनाउन आग्रह गर्नुहुन्छ । प्रस्तुत छः अहिलेको गभीर स्वास्थ्य अबस्थाका बारेमा केन्द्रित भएर बरिष्ठ चिकित्सक रोमियो कंसाकारसंग इनेप्लिज डटकमका सल्लाहकार सम्पादक टंक पन्तले गर्नुभएको कुराकानीको सारसछेप ।

    तपाई अहिले पनि चिकित्सा क्षेत्रमा सक्रिय रुपमा क्रियाशील बरिष्ठ चिकित्सकको हैसियतले नेपालमा बढ्दो कोरोना महामारीलाई कसरी लिनुभएको छ ?


    नयां भाइरस सहितको कोरोना निकै भयानक डरलाग्दो महामारीको रुपमा देखा परेको छ । आम नागरिकहरुमा त्रास र डर त्यत्तिकै बढेको छ । नागरिकहरुमा बढेको त्रासले मनोबैज्ञानिक जटिलता पनि देखिन थालेको छ । समयमै यथोचित ध्यान र चासो नदिएको कारण सरकारले पनि थेग्न नसक्ने अबस्थामा महामारी बढेको छ । अक्सिजनको अभाबले गर्दा स्वास्थ्यकर्मी र अस्पताललाई काम गर्न निकै गाह्रो भएको छ ।

    अस्पतालमा अक्सिजनको माग १० गुणा बढेको छ तर आपुर्ति छैन । जस्तोसुकै अफ्ट्यारो अबस्थामा पनि अस्पताल र स्वास्थ्यकर्मी महामारीमा परेका नागरिकलाई उपचार गर्न तयार रहेका छन । तर पर्याप्त अक्सिजन नै छैन । जस्तै देशमा आगो बलेको छ आगो निभाउने साधन दमकल पनि छ तर दमकलमा हाल्ने पानी नै नभएपछि कसरी आगो निभाउन सकिन्छ ? अक्सिजन प्लाण्टले आबश्यक अक्सिजन दिन नसकेका कारण पनि स्थिति थप भयाबह बन्दै गएको छ ।

    सिलिण्डर भएर मात्र भएन त्यसमा हाल्ने समान पनि हुनुपर्यो नि ।

    यस्तो अबस्थामा अस्पतालहरुले कसरी ब्यबस्थापन गरेका छन त नि ?

    अस्पतालमा एकातिर जनशक्तिको कमी छ भने अर्कोतिर कतिपय स्वास्थ्यकर्मी त्रासकै कारण अस्पतालमा आउन सकेका छैनन । कतिपय स्वास्थ्यकर्मी संक्रमित भएर आउन सकेका छैनन । तै पनि अधिकांश स्वास्थ्यकर्मीले भ्याक्सिन लगाइसकेकोले त्यो जोखिममा रहेर काम गर्दा पनि निकै थोरै मात्र सक्रमित भएका छन । एक्स्ट्रा सुबिधा र डबल ड्युटी लगाएर पनि स्वास्थ्यकर्मी परिचालित छन ।

    उनीहरुले आफनो ज्यानको पर्बाह नगरेर काम गरेका छन । कतिपय स्वास्थ्यकर्मीमा पनि डर त्रास बढी भएकोले उनीहरुलाई काउन्सिलिङ भने गर्नुपरेको छ । स्वास्थ्यकर्मीले यसरी काम गरेका छन तर अस्पतालमा अक्सिजनको अभाबले निकै संकट बनाएको छ । यो संकटमा धेरैतिर हारगुहार गरेर निकै कठीनताका साथ अहिले सम्म अस्पतालहरुले ब्यबस्थापन भने गरेकै छन । म मेडिकल डाइरेक्टर भएको अस्पतालमा पनि निकै मेहनत गरेर ब्यबस्थापन गरिएको छ । कहिलेकाही आधा रातमा अक्सिजन खोजेर कैयौं नागरिकको ज्यान बचाइएको छ ।


    अहिलेको अबस्थामा स्वास्थ्यकर्मीमा परेको असर ?

    खास गरी कोरोना महामारीको चपेटामा परेका बिरामीको सेवामा लागेका स्वास्थ्यकर्मी घर कसरी जाने होला भन्ने चिन्तामा हुने गरेका हुन्छन किनकि मेरा कारण परिबारलाई केही हुने हो कि भन्ने त्रास छ । नागरिकलाई घरबाट सकभर निस्कन नपरे हुंदो हो भन्ने छ भने स्वास्थ्यकर्मीलाई ड्युटी पुरा गरेपछि घर कसरी जाने होला भन्ने चिन्ता छ । अहिले अस्पतालमा सेवामा क्रियाशील स्वास्थ्यकर्मीहरु घरमा गएपनि अलग्गै सुरक्षित तरिकचाबस्ने गरेका छन ।

    कतिपय चिकित्सक बृद्धबृद्धालाई असर गर्ला बाहिर बस्ने गरेका छन । म आफै पनि लामो समय देखि बाहिर बस्ने गरेको छु । बिभिन्न रोगको औषधि खाइरहेका परिबारका स्वास्थ्यकर्मीलाई थप चिन्ता छ । औषधिको सेवन गरिरहेकाहरुमा संक्रमणले छोयो भने गाह्रो हुन्छ भन्ने भय पनि त्यत्तिकै छ । अनेक चुनौतिका बाबजुत आफनो ड्युटीलाई छोडेका छैनन ।

    स्वास्थ्यकर्मी धेरैले त भ्याक्सिन लगाएका छन नि होइन ?

    करीब– करीब ९५ प्रतिशत अस्पतालमा क्रियाशील स्वास्थ्यकर्मीले भ्याक्सिन लगाएका छन त्यसैले उनीहरु मध्ये कसैलाई सक्रमण देखिएपनि गभीर जटिलता देखिएको छैन । शिक्षण अस्पताल जस्तो ठुलो अस्पतालमा अहिले सम्म दोस्रो भ्याक्सिन लगाएका एक जनाको पनि मृत्यु भएको छैन यसर्थ राज्यले जसरी पनि भ्याक्सिनको ब्यबस्था गर्नुपर्छ आम नागरिकहरुलाई भ्याक्सिन दिनुपर्छ ।

    एकातिर सक्रमित बढेको बढ्यै अर्कोतिर बेड र अक्सिजनको अभाब छ नि होइन ?

    हे नि दुबै समस्या छ सहज रुपमा आबश्यक अक्सिजन दिएमा अस्पताल बेड थप गर्न पनि तयार छन । कतिपय अस्पतालले बेड तयार गरेर राखेका छन तर अक्सिजन नै छैन त्यसैले सरकारले तत्काल लिक्वेण्ट अक्सिजेशन , अक्सिजन कन्सण्टेटर र नयां अक्सिजन प्लाण्टको ब्यबस्था गर्ने हो भने ब्यबस्थापन गाह्रो छैन । त्यसका लागि सबै पक्षबीच सहकार्य पनि जरुरी छ त्यो काम गरिएन भने थप भयाबह हुने छ । अहिले यतिखेर आएर सरकारले १५ दिन भित्र अक्सिजन प्लाण्ट अस्पतालमै जडान गर्न भनेको छ तर कसरी गर्ने भन्ने छैन त्यो अन्यौलता कायमै छ ।

    नयां भाइरस पुष्टि भएपछि झन डर बढेको छ नि ?

    नयां भाइरस झन खतरा रहेको छ । त्यसैले अझै एक डेढ महिना समस्या बढने देखिएको छ । पछिल्लो नयां भाइरसले बालबालिका देखि सबैलाई असर गर्ने छ यसर्थ थप सतर्कता अपनाउनुपर्छ । माक्स लगाउने , सेनिटाइज गर्ने, सामाजिक दुरी हरहमेशा कायम गर्ने , घरमा पनि एकै ठाउं बसेर खाना नखाने , रुघा खोकी त हो भनेर हेलचेक्रेइ पटक्कै नगर्ने , सक्रमित भएको आशंका भएमा आइसोलेशनमा बसिहाल्ने र चिकित्सकको सल्लाह लिइ हाल्ने , अलिक अफ्ट्यारो हुने संकेत पाउना साथ अस्पताल गै हाल्ने गर्नुपर्छ । घरघरमा सक्रमण छ भन्ने ठानेर स्वास्थ्य सतर्कता अपनाउने काम गर्नुपर्छ । राज्यले निषेधाज्ञा लगाउञ्जेल कडाइ पनि त्यत्तिकै गर्नुपर्छ ।

    कति समय सम्म यो महामारी जाला ?

    नयां भाइरस देखा पर्दै गएकोले अझै एक दुइ बर्ष त जाने संभावना छ । एक दुई बर्ष स्वास्थ्य सुरक्षाका मापदण्ड लागु गर्नुपर्ने हुन सक्छ । तर अहिले जस्तो संकटपुर्ण महामारी भने एक डेढ महिना भन्दा नजाला कि भन्ने अनुमान गरिएको छ । एक डेढ महिना पछि कम हुदैन जाने छ । अझै केही दिन सक्रमितहरु मध्ये गभीर अबस्थामा पुग्ने खतरामा रहेका धेरै हुने छन । अर्थात दुखका साथ भन्नुपर्छ मृत्यु दर पनि बढ्ने सभावना छ ।
    यस्तो संकटका बेला पनि अस्पतालहरुले उपचारका क्रममा मनपरि शुल्क लिएको आरोप छ त्यो त अमानबीय भएन ?

    सरकारले तोकेको दरमा अस्पतालहरुले सुबिधा दिए अनुसार ५० प्रतिशत बढी लिन पाउने छुट दिएकै छ तर त्यसमा पनि मनपरि कसैले गरेको छ भने राज्यले अनुगमन गर्नुपर्यो नि । यदि अनुगमन गर्दा ज्यादति गरेको देखिए कारबाही गरे भैहाल्यो । अनुगमन पनि नगर्ने , गल्ती गर्नेलाई कारबाही पनि नगर्ने अनि कतिपय अस्पतालले गरे भनेर सबैलाई एउटै घानमा हाल्नुपनि भएन नि ।

    अन्त्यमा केही थप्नुपर्ने ?

    अहिलेको निकै समसामयिक बिषयमा कुरा भयो । कोरोना महामारीको अबस्था र न्युन गर्न के गर्नुपर्छ भन्ने कुरामा आम नागरिकहरुमा सन्देश पुर्याउने मौकाका लागि यहांलाई पनि धन्यबाद । यो महामारीलाई सबै मिलेर परास्त गर्नेै पर्छ । महामारी परास्त गर्न नागरिकको पनि भुमिका अहं छ भने राज्यको सबै भन्दा बढी भुमिका छ । राज्य भनेको आम नागरिकहरुको अभिभाबक हो उसले आम नागरिकहरुलाई हरकिसिमको सहयोग गर्नुपर्छ ।अक्सिजन लगायत अन्य आबश्यक ब्यबस्था गरी कसैलाई पनि उपचारबाट बञ्चित नहुने ब्यबस्था गर्नुपर्छ ।

    बिभिन्न देशसंग समन्वय गरी चाडो भन्दा चाडो भ्याक्सिन ल्याएर सबै नागरिकलाई भ्याक्सिन लगाइ दिनुपर्छ । महामारी जति बढेपनि स्वास्थ्यकर्मीले हात उठाएका छैनौ तर राज्यले पनि पुर्ण साथ दिएमा हामी अझै बढी अग्रसर भएर नागरिकको उपचारमा लाग्ने छौ ।
    – tanka.panta@gmail.com/इनेप्लिज डटकमबाट 

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै