•            
    • TOKHA LIVE

    • ८ भाद्र २०७७, सोमबार ०७:५३

    कथा : बिध्वंस शहरको विधवा

    टंक वनेम~Tanka Wanem

    पाल्म रुखहरुको सालको सेप्टेम्बर महिना हुनु पर्छ। एक बिहान खवर पत्रिका पढेर हुक्काको सर्को गुडगुडाउँदै मेरो बाबा सादकारी साद कड्कनु भयो। दाजु भाई र एउटै धर्ममा सदाशयता नहुने हामी मान्छेहरु। बाबा के भन्दै हुनु हुन्छ मलाई केही थाहा थिएन। सात बर्षको उमेरमा लडाइँवारे वास्ता पनि हुँदैन्थ्यो। केहीवेर पछि आमाले भन्नु भएको थियो। इराक/इरानवीचको युद्ध चर्किने भएकोछ। धेरै टाढा टाढा बम बिस्फोट र तोप गोलाका आवाजहरु सुनिए पनि बग्दादको अमिल क्षेत्रमा लडाइँको अनुभव गर्नु परेन। बग्दादको कुनै कुनै क्षेत्र वाहेक दुई देशवीचको सीमानामा भएको ८ बर्षको लडाइँ उत्तै साम्य भएको थियो। समय बित्न पो कति लाग्दो रहेछ र। अब्दुल जारा मेरो पछि लाग्न थाले पछि झसङ्ग भएकी थिएँ। मेरो माध्यमिक स्तरको पढाई सकिएको थियो। अब्दुल जारा मेरै टोलको ठिटो थियो। मेरो सहपाठी अब्दुल जारा मौका पायो कि कुनै न कुनै निहुँ बनाएर बोलाउँने गर्दथ्यो। कसो कसो मेरो मन जित्न सफल भयो। एक दिन उसले हिम्मत बटुलेर भन्यो,फतिमा म शिया हुँ भन्ने कुरा त थाहा होला नी? मैले भनेँ,किन नहुनु तिमीले मलाई गरेको चोखो प्रेम नै सबै थोक हो। अब्दुल जारा र मेरो सम्बन्ध गाडा हुँदै गयो। मेरो बाबाले पनि त्यो सम्बन्धमा कुनै भाँजो हाल्नु भएन। हाम्रो विवाह पनि भयो। अब्दुल जाराको बाबुले इराकी फ्ल्याट रोटी,खबुस र केक्को कुटिर उद्योग चलाउँने गरेका रहेछन्। अब्दुल जारा कलेज जान छाडेर त्यही रोटी बनाउँने उद्योगमा काम गर्न थाल्यो। हामी बाबुकै घरको तलामाथि बस्न थाल्यौं। त्यही बसाइमा हाम्रा तीन छोरा र दुई छोरीहरु जन्मिए।

    सन १९९०/१९९१ सालको दोश्रो गल्फ युद्धको कारण हाम्रो ब्यपार खस्कन्दै गएको थियो। जे भए पनि जीवन धान्ने बाटो त्यही कुटिर उद्योग थियो। अमिल क्षेत्रमा इराकी फ्ल्याट रोटी,खबुस र केक् बिक्रि गर्न अब्दुल जारा दिन भरि खटी रहन्थे। मलाई पाँच जना छोरा छोरीको हेरचाह गर्दै दिन वित्ने गर्दथ्यो। दुःख सुःखले जीवनको रथ गुडाई रहेका थियौं। शुक्रवार मस्जिदबाट फर्के पछि अब्दुल जारा,मेरो बाबु सादकारी साद र रइद काका देशकोवारेमा प्रायः छलफल गरि रहन्थे। मेरो बाबा सुन्नी थिए। अब्दुल जारा र रइद काका शिया।

    कहिले कहीँ उनीहरु वीच भनाभन नै चल्ने गर्दथ्यो। मेरो बाबा सद्दाम हुसेनको पक्ष लिन्थे। अब्दुल जारा र रइद काका सद्दाम हुसेनको विरुद्धमा तर्क पेश गर्दथे। एक दिन चर्काचर्की नै परेको थियो। मेरो बाबा भन्दै हुनु हुन्थ्यो,गधाले दाइँ गर्छ तर उसले मौका पायो भने टोक्छ। त्यो सेफि्टक भयो भने मान्छे नै मरिन्छ। गधा नभए घोडाले पनि दाइँ गर्न सकिन्छ। तर घोडाको रिस उठ्यो भने लात्ती हान्छ। घोडाको लात्ती लागेर घुँडा फुस्के पनि मरिदैन्। तिमीहरुले मर्ने कुरा गर्दैछौ। इराकको आत्मा नै सद्दाम हुसेन हुन। यो देशमा सद्दाम हुसेन भएनन् भने बोका जस्ता गधाहरुको दाइँ हुनेछ। बोका जस्ता गधाहरुले यो देशको दाइँ गर्न सक्दैनन्। रइद काका तुरुन्त प्रश्न गर्थे,अल्लाहको नाममा नर्भ ग्यास प्रयोग गरेर जनता मार्ने शासकले हामीलाई न्याय गर्न सक्छन् त? अब्दुल जारा एक कदम अघि बढेर सद्दामको विरुद्धमा बोल्थे। कुर्दिसहरुलाई त मारे मारे तर कुवेत जस्तो स्वतन्त्र राष्ट्रमाथि जाई लाग्नु आफ्नो दुर्दिन निम्त्याउँनु हो। उनीहरु घण्टौं यस्तै वादविवाद गरेर समय कटाउँथे।

    जव सन दुई हजार साल लाग्न शुरु भयो,सहर भरी लडाइँको त्रास फैलिएको थियो। सन २००३ मार्चको दोश्रो हप्ताको एक बिहान पत्रिका पढेर बाबा मुर्मुरिनु भयो। पत्रिका पढि सकेर हामीलाई पनि पढ्न दिनु भयो। पत्रिकामा लेखिएको थियो। इराकले अत्यधिक मात्रामा अवैधानिक अस्त्र भण्डार गरेकोछ अरे। सन्धि विपरित अस्त्र भण्डार गरिएका क्षेत्रहरुमा सद्दाम सरकारले लचकता नअपनाएको हुनाले सद्दाम सरकार विरुद्ध पश्चिमा शक्तिहरुले आक्रमण गर्ने भएका छन्। मार्चको तेश्रो हप्ताको एक बिहान रइद काका हस्याङ फस्याङ गर्दै आई पुगे। उनको मुखबाट फुस्केको अशुभ समाचारले शरीर नै सिरिङ्ग बनायो। ल वर्वाद हुने भयो। बाबाले नाकको डाँडीमा अडिएको चस्मा अलि माथि उचालेर प्रश्न गर्नु भयो,रइद काका तिमी ठिकै त छौ? श्वास रोक्न खोज्दै रइद काका भन्दै थिए। अस्त्र भण्डार निरिक्षण गरिए पनि अमेरिकाको शङ्का हरण भएनरे। त्यसको अर्थ लडाइँ हुने भयो। बाबाको मुहार सपाट थियो र उनका मुलायम हात लयबद्ध ढङ्गले जुँगा मुर्सान व्यस्त थिए। उनले नम्र तर दिक्दार लाग्दो छोटो उत्तर दिए। रइद काका तिमी नडराउ अल्लाहको मेहरबानी जे हुन्छ त्यही भोग्नु पर्दछ। रइद काका भन्दै थिए,दुई देश वीचको लडाइँ त ठिकै थियो तर हामी (शिया र सुन्नी) वीचको सौहार्दता पो भड्किने हो कि? बाबा अवाक्क भएर आँगनबाट घर भित्र पस्नु भयो। रइद काका अँध्यारो मुख लगाएर आफ्नो घरतिर लागे।

    टंक वनेम

    खवर पत्रिका,टेलिभिजन जताततै लडाइँकै होहल्ला चल्न थाल्यो। आतङ्कित र भयाबहको स्थितिमा दिन बित्न लाग्यो। रोटीको व्यपार नचलेर चौपट भए पनि अब्दुल जाराले आफ्नो काम छाडेका थिएनन्। लडाइँ शुरु हुनु अघिल्लो दिन सबै परिवार भेला भयौं। रइद काका हाम्रो पाहुना बनेर आएका थिए। उनी रसिक त थिए नै,अव यो देशमा के हुँदैछ भन्ने राम्रा जानकार पनि। उनी भन्दै थिए,भोली देखि हामीलाई ओताउने आकाश माथिको बगैँचा भत्किनेछ। मोहम्मद पेगाम्बरले सुन्नु भयो भने त्यो बगैँचा भत्काउने मानवहरुप्रति सजाय मिलोस। बाबाको जवाफ थियो। रइद काका,तिमीले अल्लाहसंग अनुरोध गरेनौ,मोहम्मद पेगाम्बरले त्यो समाचार अल्लाह कहाँ पुर्‍याउँदा ढिलो भई सक्नेछ। अब्दुल जारा थप्थे,शिया र सुन्नीवीचको यो अनमेल देखेर सत्रुहरु हाँसेका छन्। जसको परिणाम हामी सबैले भोग्नु पर्नेछ। रातभर निन्द्रा लाग्दैन्थ्यो। टाढा टाढा तोप गोला र बन्दुक पड्किन थालेको थियो। हामी “विस्मिल्लाहिर्रहमानिर्रहीम” “ला इला ह इल्लल्लाह मुहम्मदुर्रुसुल्लाह” भन्दै निदाउने प्रयत्न गर्दथ्यौं।

    अर्को साँझ करिव सात वजेतिर बग्दादको कुनै ठाउँमा विशाल बम विस्फोट भएको आवाजले सहर थर्काएको थियो। रोटी बनाउने कामलाई सुचारु राख्न जाउँ कि नजाउँ भन्ने दोधार मन लिएर अब्दुल जारा आफ्नो काममा लाग्नु अघि भन्दै थिए,महमुदलाई जिम्मा लगाएर आउँछु होला। साँझपख घर फर्केका अब्दुल जाराको अनुहार सधैँ जस्तो उज्यालो थिएन। उनको अनुहार अँध्यारो र अन्योलको रङ्ले पोतिएको थियो। उनले अलि मसिनो स्वरमा भने “उम नुर परिस्थिति भयङ्कर डर लाग्दो होला जस्तोछ”। मेरो छोटकरी प्रश्न थियो, किन? उनले भने “शियाहरुलाई हात हतियार उपलब्ध गरिएकोछ भन्ने खवरछ। सुन्नीको बीउ नराख्ने भन्दैछन्। उनीहरुको योजनामा साथ नदिँदा चिढिएर गएका छन्। रइद काकाले पनि बेस्सरी सम्झाएर पठाएका छन्”।

    विशेष रात भरी धर्तीलाई कम्पन गर्दै बम विस्फोड भई रहन्थ्यो। अप्रिल दश पछि बम बर्षक विमानहरुको आक्रमण त कम भयो। तर साम्प्रदायिक दंगा भड्किएकोले कतै हिँड्नु ज्यानको वाजी थाप्नु पर्ने जस्तै भएको थियो। लडाइँ शुरु भएको करिव एक बर्ष पछि एक दिन रोटी बनाउने उद्योग बन्द गरेर आउँछु भनेर हिँडेका अब्दुल जारा फेरी फर्केर आएनन्। रइद काकाको भनाई अनुसार उनी कार बम विस्फोटमा मारिए। उनको शरीरको अङ्गहरु क्षत विक्षत भएको हुनाले उनको मृत लासको चिहान बनाइएन। मेरो श्रीमानको मृत्यु भए पछि मेरो समाजले सहयोग गर्छ होला भन्ने झनो आशा थियो। किन भने छरछिमेकमा शिया र सुन्नी असाध्यै मिलेर बसेका थियौं। तर अमिल नगर र सारा देशमा साम्प्रदायिक दंगा यसरी भड्किएको थियो कि दुवै पक्ष घृणाको सन्निपातले बहुलाउन थालेका थिए। शिया र सुन्नी एक अर्कालाई फुटेको आँखाले हेर्न चाहदैन्थे। बरु एक अर्कालाई समाप्त गर्न तम्सेका देखिन्थे। अमिल शिया बहुल सहर थियो तर म सुन्नीको छोरी थिएँ। मेरो श्रीमानको हत्या भएको केही महिना पछि शियाहरुको एक समुहले मेरो भाइको हत्या गरे। उसलाई घरबाट कठालोमा समातेर निकालिएको थियो। त्यस पछि सडकै सडक लखेटेर एक छिमेकीको घरमा पुर्‍याए पछि गोली ठोकिएको थियो। मेरो भाईको हत्याराहरु घाइते बाघ झैं देखिन्थे। भाइका हत्याराहरुले मेरो जेठा छोरा हाम्दीलाई पनि घरबाट निकालेर घिसार्न थाले। मेरै आँखा सामुन्ने गोली बर्षाएर उनको प्राण लिए। उनीहरु कति सम्म बर्बर थिए भने मेरो सात बर्षको भतिज मजिदलाई समेत बाँकी राखेनन्। मेरो छोरा र भतिजको अपराध यति थियो कि उनीहरुको आमा र बाबु सुन्नीका सन्तान थिए। अव मेरा सन्तानहरुलाई बचाउँनको लागि सुन्नी क्षेत्रमा बसाइँ सर्नु बाहेक मसंग अर्को विकल्प थिएन। यहीँ कुरा सोँची रहेको थिएँ। अमिल नगरका जावीर (स्थानिय मादी सेनाका नाइके) दलबल सहित घर भित्र छिर्‍यो। मेरा आमा बाबुहरुलाई जवरजस्ति भ्यानमा लगाएर लगिए। उनीहरुलाई कहाँ लगियो? किन लगिएको हो? कुनै खोज खवर पाउँने सम्भावना रहेन। बाँच्नु थियो म सुन्नी क्षेत्रको आबु गराइवमा बस्न थालेँ। तर सुन्नीहरुले पनि मेरो दुःखको अन्त्य हुने नाम लिई रहेका थिएनन्। म सुन्नी भए पनि मेरो श्रीमान अब्दुल जारा शिया थिए। म र मेरा सन्तानको दुर्भाग्य शिया क्षेत्रमा उनीहरु सुन्नी हुन्थे। किन भने म उनीहरुको आमा सुन्नी थिएँ र सुन्नी क्षेत्रमा उनीहरु शिया हुन्थे किन भने उनीहरुका बाबु अब्दुल जारा शिया थिए। तिनै कठिनाईहरुको बाबजुत सुन्नी क्षेत्रको आबु गराइवमा बस्न थाल्यौं।
    बमबार्डले भत्काएको भूताहा घर नजिकैको जन्नाह (अराबिक–मुसलमानहरुको चिहान,मकबरा वा बाखी) अलकार्खमा मलामीहरुको लागि पानीको धारा जोडिएको थियो। त्यहीबाट पानीको जोहो गर्दथ्यौं। गाउँ टोल र जन्नाहतिर पलास्टिक र टिनका क्यानहरु बटुल्थ्यौं। कुनै बेला सादत भन्ने थोत्रा टिन व्यपारी कहाँ टिन र अन्य धातुहरु छुट्याउने काम गरेर पाएको पैसाले खबुस किनेर ल्याउँथ्यौं। छोरा छोरीहरु बन्दी झैं भत्केको घर भित्र थुनिएका थिए। मलाई राम्ररी थाहाछ। दश प्रन्द्र बर्ष अघि शिया र सुन्नी वीच यस्तो कुनै असहिसुष्णता थिएन। मेरो श्रीमान अब्दुल जारा शिया थिए र म सुन्नी। तर बिना कुनै रोकटोक हाम्रो विवाह सम्पन्न भएको थियो।

    धेरै मान्छेहरुले सोँचेका थिए। सद्दाम हुसेनको पतन हुँदा खासै फरक पर्ने छैन्। तर सद्दाम हुसेनको पतन हुन लाग्दै बमविस्फोट र गोली हानाहानको भयानक सिलसिला शुरु भएको थियो। मेरो श्रीमानको हत्या भएकै बर्ष अमिल जिल्लामा सुन्नी सम्प्रदायका हजारौं जनावी जनजातिका मानिसहरु मारिए। धेरै जनावी परिवारहरु अमिल नगर छाडेर अन्त कतै जाँदै थिए। तर मेरो शरण लिन जाने ठाउँ कतै थिएन। त्यसैले मैले आफ्नो जन्म घर नछाड्ने निर्णय गरेको थिएँ। तर दिनहरु वित्दै जाँदा अमिल क्षेत्रमा मेरो सन्तान सहित मेरो ज्यानको सुरक्षा हुने छैन् भन्ने महसुस भयो। जीवनभरी जसलाई मैले आफ्नो जन र ठाउँ ठानेकी थिएँ। उनीहरुबाटै अलग गरिए पछि त्यो ठाउँमा बसि रहनुको औचित्य देखिन। एक बिहान ढोकामा जे देखियो,त्यो दृश्यले मुटुमा तीर हाने जस्तै भयो। लेखिएको थियो, “तुरुन्त यो घर छोड् नत्र राम्रो हुने छैन्”। त्यसको एक हप्ता पछि खाजा बनाई रहेको बेला एक हुल बच्चाहरु रइद काकालाई मारे,रइद काकालाई मारे भनेर चिच्याउँदै मेरो भान्सा कोठामा पसे। पुरानो सम्बन्ध भएका छिमेकी रइद काका आफ्नै बाबु जस्तै थिए। रइद काका मारिएको खवर सुनेर पैतालामुनीको जमिन भासिए जस्तै भयो। जसोतसो हिम्मत बटुलेर बच्चाहरुलाई पछ्याउँदै रइद काका मारिएको ठाउँ सम्म पुगेँ। बच्चाहरु नजिकैको घरमा छिरे। त्यस घरका मानिसहरु थर्रथरी कामी रहेका थिए। महिलाहरु रोई रहेका थिए। रइद काकाको शरीर रगतले लतपत्तिएको थियो। उनको टाउकोमा एक गोली र छातिमा दुई गोली हानिएको रहेछ। मैले त्यो दृश्य राम्ररी हेर्न सकिन। पछि सुनेँ रइद काका भाग्दा भाग्दै त्यस घरमा छिरेका रहेछन्। त्यस घरका दयालु मानिसहरुले रइद काकालाई लुक्न दिए पनि मादी सेनाका लडाकाहरुले मारी छाडे छन्। रइद काका शिया भएर पनि मादि सेनाको पछि नलाग्ने भए पछि मारिएको रहेछ। आश्रय दिएको अपराधमा त्यस घरका मानिसहरु एकै चिहान हुन सक्थे। धन्न अल्लाहको कृपाले उनीहरुको ज्यान जोगियो।

    ममेरो बच्चाहरु र मेरो भाइका परिवारको ज्यान जोगाउन अमिल जिल्ला छाड्नै पर्ने भएको थियो। तर घरका सामान त्यसै छाडेर भाग्न सकिन्। सामान ओसार्न लाग्ने भ्यान नभएकोले म टिभी र फ्रिज छिमेकीहरुलाई बेच्नतिर लागेँ। त्यही नै मेरो ठूलो गल्ति भयो। रइद काका मारिएको भोलि पल्ट टिभी र फ्रिज बेच्न खोज्दा खोज्दै दिन बित्यो। अर्को दिन ती सामानहरु बेचे पछि मैले एकजनालाई सामान ओसार्न भ्यान बोलाउन पठाएँ। हामी भ्यान पर्खन लाग्यौं भने मेरो माइला छोरा अली अहमदलाई लिएर आफ्ना साथीहरुसंग विदा माग्न गयो। उ गएको एकै छिन पछि मेरो घरमा एक हुल मानिसहरु पसे। उनीहरुको अनुहार कालो कपडाले ढाकिएको थियो। उनीहरुले बन्दुक बोकेका थिए। उनीहरु घरको चोटा कोठा चाहार्दै जताभावी गोली बर्षाइ रहेका थिए। उनीहरु मध्ये एउटाले सोध्यो,तेरो छोरो भनाउँदो कहाँछ? कहाँछ तेरा भाईका छोराहरु? ती विषालु सर्पका बच्चाहरु कहाँ छन्? विषालु सर्पलाई मारेर त्यसका बच्चाहरुलाई त्यसै छाड्नु हुँदैन भन्ने उखान त तँलाई थाहा नै होला? म उनीहरुको पाउ परेँ,रोएँ,कराएँ,चिच्याएँ। अल्लाहको नाममा मेरो छोरा र मेरा भाईका बच्चाहरुको जीवन बक्स देउ भनेँ। तर ढुङ्गाको मुटु भएका ती निर्दयीहरुको मुटु पग्लेन।

    खुदाहापिस बोल्न गएको मेरो माइला छोरा घरमा बित्यास आइ परेको थाहा पाएपछि मेरो भाईको सानो छोरा अहमदलाई लिएर हस्याङ फस्याङ गर्दै घर आई पुग्यो। उ आफ्नी आमालाई अर्थात मेरो ज्यान बचाउन चाहन्थ्यो। उसको बाबु र दाजुको मृत्यु भए पछि घर सम्हाल्ने त्यही छोरा थियो। हत्याराहरुले अलि र अहमदलाई उनीहरुको गाडीमा राखेर लगे। कोही भने मेरो भाईको अर्को छोरा अब्दुल्लाहलाई खोज्दै थिए। हाम्रो अनुनयविनय र अलापविलापले उनीहरुलाई एकरत्ति पनि छोइ रहेको थिएन। तर पनि म चिच्याइ रहेकी थिएँ। छाति पिटि रहेकी थिएँ। कपाल लुछि रहेकी थिएँ। केही वेर पछि बन्दुक पड्केको आवाज सुनियो।

    ढ्याङ……

    ढ्याङ……ढ्याङ…… मेरो मुटुलाई एउटा ठूलो पहाड भत्केर थिचे जस्तो भयो। म रुन सकिरहेको थिइनँ। मेरो मुखबाट कुनै वाक्यहरु निकाल्न सकिरहेको थिइनँ। म भुइँमा थचक्क बसेकी थिएँ। चारैतिर अँध्यारो भएको महसुस गरेँ। कतिखेर मेरा छोरीहरुले तानेर घर भित्र लगेछन्। मलाई केही होस थिएन। केही घण्टा पछि जव सामान ओर्सार्ने भ्यान आइ पुग्यो,म झल्यास ब्यूँझीएँ। रइद काकालाई लुक्न दिने दयालु छिमेकीहरु भनी रहेका थिए। फतिमा तिमी यसरी बसि रह्रयौ भने तिम्रा बाँकी सन्तानहरुलाई पनि बचाउँन सक्ने छैनौं। आफुलाई सम्हाल र यहाँबाट भागी हाल्। मेरा छिमेकीहरुले बचेखुचेका सामानहरु भ्यानमा लगाइ दिए। मेरा छोरा र भतिजोको पार्थिव शरीर म गएको ठाउँमा पुर्‍याइ दिने वचन दिए। मेरा बाँकी परिवार सहित भाइ बुहारीका दुइ जना बच्चाबच्ची लिएर हामी आबु गराइव भन्ने सुन्नी नगरमा आइपुग्यौं। म छोराहरुको मृत्युमा यति शोकविह्ल थिएँ कि तीन दिन सम्म चुपचाप बसिरहेँ। न रुन्थेँ,न बोल्थेँ,न खान्थेँ। मेरा छिमेकीहरुले मेरो छोरा र भतिजोको लास पठाई दिए। जन्नाहमा लगेर सतगत गर्ने हुती थिएन। बमबार्डले भत्काएको घर नजीक कसैले छाडेर गएको घरको बगैँचामा लगेर पुरि दियौं। आधीरात पछि निन्द्रा खुल्थ्यो वा निन्द्रै लाग्दैन्थ्यो। नजिकै रहेको अलकार्ख जन्नाहमा बुलबुल चरोको सुरिलो स्वर सुनि रहन्थेँ। अमिल नगरमा हुँदा पनि अमिल नगरको बगैँचामा त्यसरी नै बुलबुलचरो गाउँने गर्दथ्यो। तर ति सुखमय दिनहरु र मेरा वर्तमान रातदिनहरुमा आकाश पतालको फरक थियो। मेरा सानो छोरा युसुफ आधारातमा ब्यूँझेर आमा भोक लाग्यो भन्थ्यो। हाम्रो बाजे बज्यै,बाबु र दाजुहरु कहाँ गएका हुन? उनीहरु कहिले फर्केर आउँछन् भनेर प्रश्न गर्दथ्यो। मसंग न छोराको भोक शान्त गर्ने रोटी हुन्थ्यो। न बाजे बज्यै,उसको बाबु र दाजुहरु फर्केर आउँछन् भन्ने शान्त्वना दिने उत्तर थियो। उसलाई के थाहा उनीहरु अव कहिल्यै पनि फर्केर आउने छैनन् भन्ने कुरा।

    त्यस्तो दुख पाएको सम्झदा बग्दादमा रहेको महिला शरणार्थी शिविरतिर जाउँ कि जस्तो पनि लाग्थ्यो। तर इराकी विधवा शरणार्थी शिविरमा सामान्य नागरिक र अमेरिकन विरोधी विधवाहरु एउटै शरणार्थी शिविरमा राखिएका थिए। अमेरिकन विरोधी र अमेरिकी सैनिक दुवै पक्षलाई लाग्दो रहेछ। त्यहाँ भित्र बसेर इराकी विधवाहरु भयङ्कर योजना बनाई रहेका हुन्छन्। हुन पनि शरणार्थी शिविरका कुनै कुनै विधवाले शरीरभरि आत्माघाती बम बेरेर अमेरिकी सैनिक क्यापभित्र छिर्दै बम विष्फोट गराउँथे। त्यस पछि अमेरिकी सैनिकले इराकि विधवा शिविरमा बम प्रहार गर्दथ्यो। सयौं इराकि विधवा मारिन्थे र सयौं घाइते हुन्थे। यस्तो घटना थाहा पाई पाई शरणार्थी शिविरमा जान आँट आएन। बरु त्यही बमबार्डले भत्काएको भूताहा घर नै सुरक्षित थियो। विध्वंस सहरको कथा गिदीबाट निकालेर सधैँको लागि फालुँ झैं लाग्थ्यो। तर जीवनले भोगेको आतंकको अविर त्यती सजिलै नमेटिदो रहेछ। अहा! अब्दुल जारासंग विताएका ति रमाइला दिनहरु। टाइग्रिस र युफ्रेटस नदीमा बोटिङ गर्दै माछा मारेका समर साँझ। हुक्कावारमा सोनावाथ लिँदै अब्दुल जारा भन्ने गर्दथ्यो। “उम नुर म तिमीलाई कहिले पनि दुःख हुन दिन्नँ”। हुन पनि उ बाचुन्जेल मलाई कुनै दःख थिएन। भाइको सानो छोरा तालीव ब्यूँझेर उसको आमालाई पिरोल्थ्यो। रुँदै भन्थ्यो आमा भोक लाग्यो। हामीसंग केही खाने कुरा हुँदैन्थ्यो। हुन पनि किन भोक नलागोस,दुइ टुक्रा इराकी फ्ल्याट रोटी र पानी ख्वाएर सुताएका हुन्थ्यौं। भतिजो तालीवलाई हौसला दिन्थेँ,बाबु अहिले चुप लागेर सुत। उज्यालो भए पछि खबुस किनेर ल्याउनेछु। हाम्रो चित बुझाउँने ठाउँ यति मात्र थियो। इराक र संसारभरी हामी जस्ता लाखौं विधवाहरु छन्। मेरो बुहारी र मैले जे जस्तो दुःख भोगी रहेका छौं,उनीहरुले पनि त्यही दुःख भोगी रहेका छन्। हामीले दुःख मान्नु हुन्न। अल्लाहको कृपा भए हामीले फेरी पनि सुःखमय जीवन विताउँन पाउनेछौं।

    अलकार्ख जन्नाहमा बुलबुल चरो चिर्बिराउँन छाडे पछि पूर्वी क्षितिजमा उज्यालो रङ पोतिन्थ्यो। त्यही बेला कतै टाढाको मस्जिदबाट “अल्लाह–हो–अकबर” को सुमधुर आवाज गुन्जि रहेको हुन्थ्यो। भत्किएका झयाल ढोकाहरुबाट उज्यालो किरणहरु छिरे पछि उठेर पानी तताउथ्यौं र अघाउन्जेल पिउथ्यौं। अलकार्ख जन्नाहमा मान्छे पुरिने कार्य बिहान देखि साँझसम्म टुट्दैन्थ्यो। आइमाइका समुहहरु छाती पिटिपिटि रुइ रहेका हुन्थे। विध्वंस सहरको विधुवा मध्ये हामी पनि थियौं। तर न हामीले हाम्रो श्रीमानहरुको लास देख्न पायौं न उनीहरुलाई जन्नाहमा लगेर सदगद गरी गाड्ने मौका नै मिल्यो। हाम्रो आँसु उनीहरुको अन्तिम विदाइको लागि विदाको फूल हुन सकेन। तिनै आँसुका फूलहरु मुटुमा काँडा भएर उमि्र रहेकैछ। थाहा छैन् टाइग्रिस र युफ्रेटस नदी किनारमा काँस फुलेर हावाले उडाए जस्तो हाम्रो मन पनि कहिले सम्म उडि रहने हो। यसो भन्दै बडो कस्ट साथ जीवन बिताई रहेका थियौं। मैले सुनेको थिएँ। मानिसहरुको रक्षाको लागि अल्लाहले आफ्ना फरिस्ता(देवदुत) हरुलाई पठाउँने गर्दछन्। ती फरिस्ताहरुले जुनसुकै रुपधारण गर्न सक्छन्। सम्भवतः त्यही आस्थाको स्तम्भ नडगमगाएको हुनाले म वेलायत आई पुगेँ। तर जीवनमा हजारौं दुःख भोग्न परे पनि आखिर मेरो इबादतगाह(प्रार्थना स्थल) त्यही अमिल र इराक हो। मलाई जन्नत (स्वर्ग) जानुछ। त्यही इबादतगाह फर्किने यात्राको तयारीमा तिमीसंग भेट भयो। तर अर्को दुई महिना पछि मेरो कथा सुन्न पाउने छैनौ। न इराकी वाइट्रेसको हातबाट तातो तातो चिया पिउन पाउनेछौ।

    फतिमाको आत्मा कथा टुङ्गिएको एक हप्ता भई सकेको थियो। एक दिनको लन्चब्रेकमा फेरी उनको आत्मा कथाकै प्रसंग अघि बढयो। मेरो मुखबाट अचानक यी शब्दहरु फुस्किए। “फतिमा तिम्रो जीवनका भोगाईहरु त एउटा कथा बनी सकेको रहेछ”। फतिमाले मुश्कुराउदै भनिन्। “युद्धका पीडाहरु हुन ति त। वेलायतमा कसरी आई पुगेँ,अझ अर्को चाख लाग्दो कहानीछ। तर युद्ध मैदानमा भोगेका मेरो भोगाईहरु कथा बनाएर लेख्यौ भने मेरो नाम “फतिमा” नलेख्नु “उम नुर” लेख्नु। अब्दुल जारालाई मन पर्ने नाम भएको हुनाले उनी मलाई “उम नुर” नामले बोलाउने गर्दथे”।

    (फागो वनेम वंशावाली ईतिहास , संगीतको मुर्च्छना, साँघुर्र र बुढा सुब्बा , पेन्जिरी पेन्मिक्हा जस्ता (ईतिहास,कविता संग्रह ) कृतिहरू प्रकाशन गरि सकेका व्याक्तिहुन टंक वनेम । उनले बजारमा ल्याउन लागेका “श्लेष्मान्तकको साम्माङ्” कथासंग्रहमा संग्रहित २१ कथा मध्येको एक कथाको अंश हो “बिध्वंस शहरको विधवा” )
    – ताप्लेजुङ् ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै