•            
    • TOKHA LIVE

    • ३ भाद्र २०७७, बुधबार ०९:५७

    बाबा :(कविता)

    पुन्यराज पुडासैनी

    टाेखा लाइभ,भाद्र ३ काठमाडौं

    मेरा अवोध पाइलाहरुले गन्तव्य खोजिरहेका वेला

    म लर्खराउदै जमिन बाट उठन प्रयास गरिरहेको वेला

    ईश्वरीय ओज सहित कोहि मलाई बाटो देखाइरहेको मान्छे

    ति साक्षात ईश्वर थिए ,ति मेरा बाबा थिए।

    जव चल्थ्यो हुरी अभाव भोक अनि संघर्षको

    जव बल्थ्यो अग्नि अत्यासको र अनिश्चयको

    शितल स्पर्श मेरो शिरमा पर्दा सबथोक खुले झैँ हुन्थ्यो

    त्यो ईश्वरको स्पर्श थियो ,त्यो मेरो बाबाको स्पर्श थियो।।

    मैले प्राप्त गरेको सानै उपलव्धि सुनाउदा पनि

    मन्दिरका घण्टा झैँ स्नेहको ध्वनि जता जता गुन्जिथ्यो

    त्यो अलौकिक आवाजमा लाग्थ्यो अमृत मिसिएको छ

    त्यो ईश्वरको आवाज थियो,त्यो मेरो बाबाको आवाज थियो ।।

    मैले सफलताका पहाड उठाउदै गर्दा अक्करमा फसेर

    सुस्केरा हाल्दै कुनै दिव्य शक्ति अन्तस्करण देखि पुकार्दा

    म छु अगाडी बढ भन्दै एउटा आवाज मेरो साहस बन्थ्यो

    त्यो आवाज ईश्वरको थियो ,त्यो मेरो बाबाको ढाडस थियो ।।

    जब म संसार संग लड्दै थाकेर हतास बन्थे ,उदास बन्थे

    तव उहा आफ्ना विषद संघर्षका कथा सुनाउनु हुन्थ्यो

    ति कथाले मेरा नशा नशामा उर्जा भर्थे ,मलाई उत्साहित बनाउथे

    पावन ऋचा झैँ ति कथा मेरा बाबाका भोगाइका कथा थिए।।

    गोजी भरी खर्च बोकेर कहिँ यात्रामा निस्कदै गर्दा

    खर्च ला ! भन्दै उहाले दिने पैसा हुदैनथ्यो प्रसाद हुन्थ्यो

    जसमा मेरा हरेक पाइला सकुशल रहुन भन्ने कामना हुन्थ्यो

    दिव्य मन्दिरमा भेटिने आनन्द झैँ त्यो अनमोल आर्शिर्वाद हुन्थ्यो

    दुनिया संग मेरो प्रसंशा गरेर नथाक्ने मेरा बुवा

    जब मलाई केहि गर्न सक्ने भइनस भन्दै जिस्काउनु हुन्थ्यो

    मलाई उहाँका आँखामा अपार सन्तुस्टी महसुस हुथ्यो

    किनकी

    त्यो साक्षात ईश्वरको आवाज थियो

    मलाई सत्मार्ग देखाउने मेरो बाबाको आवाज थियो ।

    (बुवाको मुख हेर्ने दिनमा संसारका सम्पूर्ण कर्मजिवी बुवाहरुमा समर्पण )

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै