•            
    • Hikmat Dangol

    • १५ श्रावण २०७७, बिहीबार २१:२२

    अनुत्तरित प्रश्नहरु

    –ओमशंकर श्रेष्ठ

    निताको विवाह रवि भवन निवासी श्रीकान्तसंग बीस वर्ष अघि भएको थियो । हस्तकला सामग्री र पयर्टन व्यवशायमा थिए श्रीकान्त । मध्यम वर्गको परिवार उनको मिहिनेतको कारण उच्च मध्यम कन्ने दिशामा लम्किरहेको थियो ।

    विवाहको डेढ वर्षपछि निताले छोरो पाइन् । विविएस सम्म पढेकी थिइन् उनले । तर घरमा सासु , ससुराकै सेवाका लागि निताले जागिर खाने विचार त्यागिन । बच्चा पनि हुर्काउनै थियो । कहिले काहिं हल्का एक दुई पेग मदिरा पिउने बाहेक अर्को कुनै नराम्रो बानी थिएन श्रीकान्तको ।

    तर मानिसको चरित्र र जिवन दोहरो पनि हुन्छ भन्ने अरुलाई थाहा हुन गा¥हो हुँदो रहेछ । उनको साथीको सर्कल नै विदेश ओहरदोहर गरिरहने हो । व्यापारको सिजनमा सोचेको भन्दा दोब्बर तेब्बर फाइदा हुने गर्दछ । कहिले युरोपेली मुलुक , कहिले अमेरिका नै र कहिले एसियाली मुलुकका थाइल्यान्ड , श्रीलंका , इन्डोनेसिया , चीन तथा अफ्रिकी मुलुक नाइजेरिया सम्म ओहरदोहर गर्थे तिनीहरु । आखिर साथी संगतमा ‘ नाइँ, नाइँ ’ भन्दा भन्दै उनी एकचोटि बैंककको एक यौनकर्मिसंग सम्पर्कमा आएका थिए श्रीकान्त ।
    पहिलो पटक साथीहरुले , ‘ क्या गजबको मान्छे , यार ! यहाँ कसले देख्छ र थाहा पाउँछ । मज्जाले कमाएको पैसा अलिअलि मोजमस्तिमा पनि खर्च गर्नुपर्छ नि ! ’ यसरी कर गरीगरी उनलाई विदेशी केटि सामु नाँगिन बाध्य पारेका थिए ।

    कूलत भनेकै शुरु गर्न पो गाह«ो , एक चोटि लत परेपछि अधिकांश मान्छेलाई फेरीफेरी गल्ती गरुँगरुँ लाग्दो रहेछ । त्यसपछि त कुनै पनि देशमा पुग्दा बिजिनेसको काम सकिनु अघि नै श्रीकान्त भन्ने गर्नथाले , ‘ यसपालि गोरी , यसपालि अलि गहुँगोरो , यसपालि सिल्की केश भएकी , यसपालि घुम्रेको कपाल भएकी …… । ’

    उनको फर्माइस सुनेर उनका साथीहरु गललल हाँस्दै भन्थे , ‘ यो मुला त अब हामी भन्दा खप्पिस भइसके ! ’ श्रीकान्त समय समयमा बाहिर गइरहँदा घरायसी सामान किन्न निता नै बजार जाने गर्दथिन् ।
    रविभवनको टेम्पो पार्क देखि करिव पाँच सात मिनेट हिंड्न पथ्र्यो श्रीकान्तको घर पुग्न । एकदिन दुई झोलामा सामान किनेर फर्कंदै थिइन् निता । होली शुरु भइसकेको समय थियो । एकजना दश एघार वर्षिय बालक कसैलाई वेलुन हानेर दौडिएर आउँदै गर्दा नितासंग बेस्सरी ठोकिए । बाँयाहातको झोलो हातबाट छुट्यो । सुन्तलाका दानाहरु सडकमा छरिए ।

    सडक छेउको कोल्डस्टोरमा उभिरहेका एक युवक आएर सुन्तला टिपेर झोलामा हालिदिए । निताले विवाह गरे देखि नै त्यो युवकलाई बाटोमा देख्ने गरेकी थिइन् । उनी श्रीकान्त भन्दा दुई वर्ष जति कान्छो होला । कहिल्यै हाँस्ने र बोल्ने नगरेका ति युवकलाई धन्यवाद दिन भएपनि नितालाई मुख खोल्नै पर्ने भयो , ‘ थान्क्यु , है हजुरलाई । ’
    त्यो युवकले मुसुक्क हाँस्दै भने , ‘ ‘हजुर’ भनिराख्नु पर्दैन् , भाउज्यु । श्रीकान्तजी त टोलको दाइ नै हो नि । म राजेश वास्तोला , तपाईको छ घर पछि मेरो घर आउँछ । खोइ दिनुहोस् एउटा झोला म बोक्छुं । ’
    न निता खुल्ला बिचारधारा भएको घरकी छोरी थिइन् न त श्रीकान्तको परिवार नै आफ्नी बुहारीलाई कुनै परपुरुषसंग बोल्न र दुईचार कदमसंगै हिंड्न छुट दिन सक्ने खालको थियो ।

    त्यसैले निताले हत्तपत्त भनिन् , ‘ ठीक… ठीक छ , एकछिन त हो नि , गाह«ो छैन । ’ त्यसबेला श्रीकान्त एक साताका लागि बैंकक गएकी थिइन् । त्यो बेलुका खाना खाइसेकपछि निताको आँखा सामु श्रीकान्त भन्दा राजेशको अनुहार अघिअघि आयो ।
    नितालाई आफ्नो मन पापी भएकोमा आफैदेखि रिस पनि उठ्यो र घृणा पनि लाग्यो । संयोगवश त्यहि समय उता बैंककमा श्रीकान्त आँखा चिम्लेर एकजना थाइ केटिबाट मसाज गराउँदै थिए । निताको सामु अग्लो कदको , चौडा छाती भएको गहुँगोरो रोजशका ठूला ठूला आँखाले बेडरुममा आफुलाई घुरिरहेको जस्तो भ्रम भयो । सुत्न पल्टिसकेकी उनी जुरुक्क उठिन् । छेउमै सुतिरहेका बालक छोरोलाई पुलुक्क हेरिन ।
    टेववुलमा मगमै पानी थियो । तर उनी उठेर किचेन पुगिन त्यस्तो अलिअलि जाडो बाँकी नै रहेको फागुण महिनामा पनि उनले फ्रिजमा राखिएको चिसो पानीको बोटल निकालिन् । घटघट पानी पिउँदा बोटल पूरै रित्तिएको उनले चालै पाइनन् ।

    पmेरी बेडरुममा पुगेपछि उनले मोवाइल खोलिन् । उनले आफ्नी बेस्ट फ्रेन्ड ऋतुलाई अनलाइनमा देखिन् । कुरा गरुँगरुँ जस्तो लाग्यो मेसेन्जरमा । तर त्यति ढिलो फोन गर्दा ऋतुको पतिले केहि पो भन्ने हो कि भन्ने डरले निताले मेसेज लेखिन , ‘ हाइ … के छ ? कता हो यति राति ? ’
    ऋतु – , ‘ हाइ … नितु के छ तिम्रो हालखवर । अहिले म माइतमा छुं । हिजो आएकी । एक दुई दिन बस्छुं । लोग्नेको घरमा ढिलो अनलाईनमा कहिल्यै बस्दिन । ’ त्यसपछि निताले फोन गरिन् । दिउँसो भएको घटना र राजेशकोबारे तथा अहिले किन हो कुन्नि दिमागमा त्यहि मान्छे आइरहेको कुरा निताले सुनाइन् ।

    ऋतुले सम्झाउने पाराले भनिन् , ‘ हेर , नितु तिमी स्कूल कलेजदेखि कुनै पनि केटासंग कहिल्यै खुलेर कुरा गर्दैनथ्यौ । अफिस पनि ज्वाइन गरेनौ । त्यसलै पनि कुनै केटा प्रतिको तिम्रो साँघुरो सोचाइको कारण तिमीलाई यस्तो सामान्य घटना पनि विशेष जस्तो लागेको हो । यस्तो कुरो मसंग ग¥यौ , ठीकै छ । अरु कसैलाई यस्तो कुरा सुनायौ भने ‘ पागल ’ भन्छन् अरुले तिमीलाई । ’
    जेहोस् ऋतुको कुराले निताको मन अलि हलुँगो भयो । केहि छिनपछि नै उनी निदाइन् । तर सपनामा विपनामा जस्तै राजेशले सुन्तला टिपेर सहयोग गरे । सपनामा भने राजेशको झोला बोक्ने प्रस्ताव उनले अस्विकार गर्न सकिनन् । राजेशले झोला समाउन खोज्दा आफ्ने हत्केलामा अनायास स्पर्श गर्न पुग्दा नितालाई ज्वरो आए जस्तो भयो । उनी स्वाँस्वाँ गर्दै निँद«ाबाट बिउँझिन् । निधारमा पसिना थियो , पसिनाले डसना पनि अलिकति भिजिसकेकोे थियो । नितालाई आफैंदेखि अलिकति लाज लागेजस्तो भयो ।

    यसरी नै जिवन चक्र बढिरह्यो । श्रीकान्त वर्षको कूल तीन चार महिना जति त विदेशमै हुन्थे । किनमेल गर्न घर बाहिर निस्कँदा कहिलेकाहिं देखादेख हुँदा निता र राजेश एक अर्कालाई हेरेर मुसुक्क हाँस्थे ।
    तर बाटोमा राजेशलाई नदेख्दा आफुलाई किन खल्लो खल्लो लाग्छ भन्ने प्रश्नको उत्तर भने नितासंग थिएन । टाढैबाट राजेशलाई देख्दा ढुकढुकी किन बढ्छ र आफनो हिंडाई प्रति किन अलि बढि सजग हुन थाल्छिन् भन्ने प्रश्नका ठ्याक्कै उत्तर पनि निताले धेरे खोजिन् तर पाउन सकिनन् ।
    एकदिन श्रीकान्त बिरामी परे । ज्वरो बढ्नुका साथै पखाला चल्न थाल्यो । निदान हस्पिटलमा होल बडि चेकअप भयो । नसोचेको घटना भयो । श्रीकान्तमा एचआइभि पोेजिटिभ देखियो ।
    त्यत्रो ठूलो घटनाको कारण श्रीकान्तले एकै सासमा बताइदिए । अब अर्काे ठूलो परिक्षाको नतिजा हेर्नु थियो । निताको पनि एचआइभी परिक्षण गरियो । तर भाग्यवश नेगेटिभ निस्कियो । बल्ल नितालाई लोग्नेले अस्थायी साधन लगाउन कर गर्ने रातहरुको रहस्य याद आयो ।

    संधै मासिकश्रावको समय चक्रको समेत हिसाब गरी बिनासाधन सम्पर्क गर्थे पहिला पहिला उनी । अचानक कसरी उनको बानीमा परिवर्तन आयो भन्ने प्रश्नका जवाफ पनि त्यतिवेला निताले भेटाउन सकेकी थिइन । एक हिसाबले बेइमान ठहरिए पनि श्रीकान्तले य मामिलामा भने होसियारी पु¥याएका थिए ।

    पतिले जस्तोसुकै पाप र अपराध गरेपनि प्रायशः नारीले चुपचाप सहने गर्छिन् । निताको मामिलामा पनि यहि भयो । एन्टिभाइरल औषधिले श्रीकान्तको जिवन धानिइरहेको थियो । एचआइभी भएको कुरा साथीभाइ र समाजले थाहा पाउला भनेर निताको परिवारले उनलाई फोक्सोको क्यान्सर भएको बताउँदै आएको थियो ।
    छिमेकी कान्छी तामांंग दिदीले नितालाई पहिले देखिनै हाँडीगाउँतिर बस्ने एक साक्षात माताले जस्तासुकै रोग पनि निको गर्न सक्ने कहानी सुनाउँदै आएकी थिइन् । तर नितालाई यस्तो अन्धविश्वासी कुरामा रत्तिभर पनि विश्वास थिएन ।

    एकदिन मोटी कान्छि दिदीले नितालाई खुसुक्क भनिन् , ‘ बहिनी , आफ्नै मान्छे भएर मात्र भनेकी । भारतको त्यत्रो मेदान्त अस्पतालले पनि ठिक गर्न नसकेकोे एकजना अधबैशेको क्यान्सर पूरा निको पारिन् ति माताले । अहिले बिना कुनै औषधि खाएर मज्जाले बाँचिरहेका छन् । खुशी भएर त्यो धनी मान्छेले मातालाई चारआना जग्गा त दानै दिएका छन् । हाम्रो श्रीकान्त बाबुको चिना सम्म भएपनि देखाउने कि ? ’ यसपालि भने निताले पनि नाइँं भन्न सकेनन् । ’
    चामल र फलफूलको पोकोमा निताले दुई हजार दस्तुर राखिदिइन् । सबैका अघि कुरा खोल्न नचाहेकीले निताले अन्तिम पालो पर्खेकी थिइन् । श्रीकान्तको चिनामा काँपेका हातले समाउँदै सरसर्ती नजर दौडाएपछि । माता आँखा चिम्लेर केहिवेर काँमेर बसिन् ।
    त्यसवेला कान्छि दिदी निकै आस्थापूर्वक माता तर्फ दुई हात जोडेर नतमस्तक भएर बसेकी थिइन् ।

    माताले विस्तारै आँखा खोलिन् । फेरी आँखा बन्द गरेरै माता वरवराइन् , ‘ सिधै देखियो नि , मार्ने नै उद्देश्यले विगार गरेको रहेछ । मुशलमान तान्त्रिक प्रयोग गरेको देखियो । पहिला लोग्ने खाने अनि स्वास्नीलाई पनि मोहनी हाल्ने सुरमा रहेछ , यो मान्छे त । ’
    नितालाई माताको कुरा मनगढंत कहानी जस्तो लाग्यो । कान्छि दिदीले सोधिन् , ‘ माता ! !! को अलछिन्ना नकचरो कुकुर रहेछ त्यो ? ’

    माताले एकछिन नितातिर पुलुक्क हेरिन् । फेरि आँखा चिम्लेर वरवराइन् , ‘ यो नानीले चिन्छे त्यसलाई । टोलकै केटो हो । अग्लो र गहुँगोरो छ । त्यसले यिनको हात पनि समाइसके । ’

    यो कुरा सुनेर निता झंसंग भइन् । उनलाई निकै डर पनि लाग्यो । माता प्रति एक्कासी विश्वास पनि लाग्न थाल्यो । टोलको त्यो केटा त राजेशै हो त । कान्छि दिदीले नितातिर हेरेर भनिन् , ‘ हो , बहिनी कसैले कहिल्यै टोलमा तिम्रो हात समाएको थियो । ’
    निता वाल्ल मात्र परिन् । हो वा होइन भन्ने शब्दनै उनको दिमागबाटै हराइ सकेको थियो । एकछिन् पछि माताले हल्का व्यंग मिश्रित श्वरमा भनिन् , ‘ बिचरीले के जवाफ दिनु नि त ! उनले चाहेर समाउन दिएको होइन क्यारे , मौका छोपेर त्यो बेइमानले छोइहाले त । ’
    यसरी फटाफट सत्य कुरा निस्केपछि नितालाई तिनीहरुसंग आँखा जुधाउन गाह«ो भयो । माताको भक्तिमा लिन भएजस्तो उनी आँखा चिम्लेर हात जोडेर बसिन् । कान्छि दिदीले निकै सहयोग गर्न लागेको भाव र लवजमा भनिन् , ‘ माताजी , कुनै उपाय त होला नि । ’

    फेरी आँखा चिम्लेर विस्तारै वरवराइन् माता , ‘ कडा वाणै हान्नु पर्छ । अलि बढि नै खर्च हुन्छ त्यसका लागि । अरुलाई मार्न खोज्नेलाई मारेपछि ने सबै कुरो ठीक हुन्छ । ’
    अचानक आँखा नखोलिकनै निताले दृढ श्वरमा भनिन् , ‘ खर्चको चिन्ता नलिनुहोस् , माता ! त्यसलाई सकाउनै पर्छ अब । ’ पहिलाको राजेशको रुप अहिले निता सामु पुड्को , पिलन्धरे र निकै कुरुप स्वरुपमा नाच्न थाल्यो । ’

    निता तुरुन्त त्यहाँबाट बाहिर गएर माताले भनेजति पचास हजार रुपियाँ एटिएमबाट झिकेर ल्याइन् । माताले आधा घन्टासम्म कालो र रातो कपडाले एउटा केरा छोपेर मन्त्र पढिन् । अनि केरामा कालो र रातो टिका लगाइसकेपछि अक्षताले हान्दै एउटा हरियो पातमा पोको पारिन् ।

    नितालाई पाको थमाउँदै माताले भनिन् , ‘ बस अब यो भुँइमा नराखिकनै त्यो केटोलाई ख्वाउनु , बाटोमै भेट्छौ उसलाई । ’
    नितालाई मनमा कसो कसो लागि रहेको थियो । रविभवनमा टेम्पोबाट ओर्लना साथ निताको अाँखा कोल्ड स्टोरमा उभिरहेका राजेश माथि प¥यो । अब भने उनलाई माता प्रति प्रतिशत विश्वास लाग्न थाल्यो । तर आफुले केरा ख्वाउन सक्ने कुरामा उनीमा अझै आत्मविश्वास आइसकेको थिएन ।
    कान्छि दिदीले भनिन् , ‘ बहिनी ! कस्तो लाग्यो माताको अवतार र चमत्कार ? त्यो हात समाउने कुकुर देख्यौ त यतै कतै ? ’ निताले मुन्टो हल्लाइन् ।

    कोल्ड स्टोर नजिक आइपुग्दा राजेशले संधैझैं नितालाई हेरेर मुसुक्क हाँसे । निता पनि हाँसिन् तर उनले आफैं आँखाले के इशारा गरिन् कुन्नि । राजेश , ‘ आरामै भाउज्यु ? केहि भन्नु थियो की ? ’ भन्दै सामुन्ने उभिन् आए । निताले हातको केरा सहितको पोको राजेश तर्फ बढाउँदै भनिन् , ‘ अँ , मन्दिर गएर आएको तपाईलाई पनि प्रसाद दिउँ भनेर नि ! ’
    निताको अप्रत्यासित व्यवहार देखेर राजेश अलि अकमकिए । तर निताका सामु उनको केहि लागेन । उनले पात नजिककैको डस्टविनमा फालेर केरा छोडाउँदै भने , ‘ अनि टिका खोइ त भाउज्यु ? ’ निता यो प्रश्न सुनेर तर्सेको जस्तै लागेर राजेशले भने , ‘ ख्याल गरेको मात्र ! , भाउज्युको यो प्रसादले आगामी साता मेरो विवाहको कुरो पनि राम्रै छिनोफानो होला । भोज बोलाउँछुं आउनु पर्छ ,है । कान्छि दिदी पनि ’
    कान्छि दिदीले पनि मुसुक्क हाँस्दै मुन्टो हल्लाइन् । उनले सोचिन् , ‘ घटिया कुकुर , अर्काको घर बिर्गान खोजेथ्यौ हैन ! अब विवाह गर्छस् कि मर्छस् , हेरौला हामी पनि ! ’
    माताले भने जस्तै राजेशको केरा खाएको छैठौं दिनमा पृथ्वी राजमार्गमा भएको मोटरसाइक दुर्घटनामा मृत्यु भयो । यो खवरबाट नितालाई माता प्रतिको विशवास अझै बढ्यो । उनको मनमा श्रीकान्त पूरै स्वास्थ हुने करिव करिव पक्का विश्वास जाग्न थाल्यो ।

    मातालाई एउटा ठूलै उपहार लिएर जाने सोच्दै थिइन् निता । तर राजेशले दम तोडेको पाँच दिनपछि श्रीकान्तको पनि मृत्यु भयो । धन्न नितालाई एचआइभि संक्रमण हुन नपाएकाले निताको छोरो पूरै अनाथ हुनबाट जोगिए । आज सम्म निताले यो कुरा ऋतुलाइ समेत भनेकी छैन । तर कसैलाई यसबारे केहि नभन्ने शर्त बोकेको भावमा तीनचार महिनाको एकचोटि कान्छि दिदी टुप्लुक्क नितालाई भेट्न आइपुग्छिन् ।

    कान्छि दिदी माग्दै नमागिकन पाएको पाँच सय वा हजारको नोट मुठ्ठीमा लुकाउँदै , ‘ हस त बहिनी , भेट्न आइ रहुँला नि ’ भन्दै जानेक्रम अझै जारी छ ।
    नितालाई भने आफुबाट कतै अपराध वा पापै त भएन ! कि जस्तो लागि रहन्छ । मातालाई सोध्ने कुरो पनि भएन । किनभने श्रीकान्त मरेको केहि दिनपछि नै ति माताको पनि ह«दयाघातबाट मृत्यु भइसकेको थियो । किनमेल गर्न जाँदा नितालाई कोल्ड स्टोर नजिक उभिएर राजेशले हाँसेर हेरिरहेको जस्तो लाग्छ । त्यसैले उनले उतातिर कहिल्यै हेर्दिनन् ।

    आज सम्म पनि उनले श्रकिान्तलाई सपनामा देखेको छैन । यसको जवाफ नितासंग छैन । तर राजेश सपनामा किन वारम्वार मुस्कुराउँदै आफु सामु उभिरहन्छन् भन्ने प्रश्नको जवाफ पनि नितासंग छैन ।

    –भिमेसस्थान् । काठमाडौं ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै