•            
    • Hikmat Dangol

    • ९ श्रावण २०७७, शुक्रबार ०९:४९

    यात्रा घलेगाउँको, भेडाको घिऊमा कोदोको सेल रोटी !

    अति मिठो निन्द्राको लागि घलेगाउँलाई धन्यवाद! यात्राको क्रममा, थुप्रै ठाउँमा खानापिन पछि स्वास्थका बारेमा मन चिन्तित हुने गर्दछ | आज विहान स्वास्थ्य अवस्था अति राम्रो भयो, जसले गर्दा खेरी खानेकुराहरू स्वच्छ र सफा, स्वस्थ भएको पुष्टि भयो र थप आनन्द भयो | आज तमु ल्होसारको दिन यहाँको माहौल अलगै रअर्कै छ | एकातिर लोसार, अर्कोतिर अंग्रेजी नयाँवर्षको चाप, घलेगाउँको माहोल बढेको छ | रंगीचंगी रमाइलो देखिन्छ, स्वतः एककिसिमको जात्रा छ गाउँमा | अहिले अरु एकसाता बसौ जस्तो भाकोछ, तर हामीसँग समय छैन |आज काठमाडौँ पुग्नुछ, हामीले चामे जाने यात्रा रद्द गरयौं | किनकि नयाँवर्षमा घर फर्कौं, भन्ने सल्लाह भयो हाम्रो | भेडाको दुधको चिया खाएर फ्रेस भयौं बिहानै |

    घले बाजे बिहान उठेर भेडीगोठमा जानुरहेछ, वहालाई हाम्रो चियासँगै एक पुङ रक्सी तताएर ठिक पार्नु पर्दोरहेछ | पुङ लाई पित्तलको बुट्टा भएको काँजोले बाँधेको, बिर्को लगाउने व्यवस्था भएको, हेर्दै आकर्षक थियो, त्यसमा अरु कसैले खान मिल्दैन अरे | बाजे आफ्नो बिहानी योजनाका साथ नै तातो रक्सी खाँदै थिएँ र भन्दैथिए, हाम्रो चिया, हामी त त्यस्तो खान्छ | उनी जड्याहा होइनन्, अति सभ्य, उनले चिया खाएका हुन् सारांशमा!

    एकैछिन समय पनि महंगो थियो हाम्रो लागि, हामीले यहाँको स्थानीयहरु सँग बसेर फोटो खिच्ने, नजिकै रहेको विभिन्न ढोकाहरु, प्रवेशद्वार, स्वागतद्वार, विद्यालय द्वारका फोटाहरु खिच्ने काम, घले राजाको बारेमा लेखिएका किंवदन्ती सहितको मूर्ति रहेछ, यो समयको उचित सदुपयोग गरेर, हामी १० बजे नाश्ता गर्न आइपुग्छौं भनेर, हामी भुजुङ यात्रामा निस्कियौं | भुजुङ यात्राका क्रममा, बसेको ठाउँ भन्दा पनि माथि जाँदै गर्दा, निकै ठूलो सम्म मैदान फेला पर्यो, त्यहाँ पानीको मूल र खोलाको शिर जस्तो पनि छ | एउटा प्राचीनकालीन, व्यवस्थित किसिमले बनाइएको पानीको कुवा, त्यहीँ विशाल रुख फेदबाट पानीको मूल निक्लिएको रहेछ | उक्त पानीको मुहान, अति चिसो अति मिठो | तिर्खा बिना, तिर्खा लाग्न गयो ! टन्न खाइयो अमृत जल !

    श्री उत्तर कन्या देवी मंदिर त्यहाँको प्रख्यात मन्दिरको रुपमा पाइन्छ | अनी चारै तिर आधुनिक खालका देखिने गुम्बाहरु पनि ! हिन्दू र बौद्ध अलग्गै अनि कतै समिश्रित मूर्तिहरू, फलामका ग्रिलहरुले संरक्षण गरेर, आधुनिक रङरोगन र आधुनिक प्रविधिमा परिमार्जित पनि हुँदै गइरहेको देखिन्थे | यहाँ एउटा विशाल साढेको मूर्ति संरक्षण गरेर, राखिएको रहेछ | गौतम बुद्धले आफ्नो मूर्ति नबनाउनु भनेर आफ्ना अनुयायी भिक्षुहरुलाई सुझाव दिने क्रममा, बुद्धको प्रतिमूर्ति स्वरुप बनाइन्छ, यस्ता जनावरहरूका मूर्तिहरु ! तर समग्र बनावट भने बुद्धिष्ट गुम्बा जस्तो थिएन | यसबाट एउटा विज्ञताको नाताले अनुमान गर्न सकिन्छ कि, यहाँ समिश्रित धर्मालम्बीहरुको सदभावपुर्ण जीवन व्यतीत गरिरहेका छन् |

    अन्नपूर्ण, माछापुच्छ्रे, लमजुङ, मनासलु हिमाल जस्ता थुप्रै हिमालय श्रृंखलाहरु नै नजिकै देखिन्छन् उक्त गुम्बा रहेको स्थानबाट | सबै ठाउँमा पुग्ने, प्राकृतिक छटा हरुका दृश्यावलोकन गर्ने, फोटो खिच्ने, हाम्रो यात्राको सार्थकता रहेको छ | हाम्रो स्वागतमा प्रकृति भित्री हृदयदेखि खुलेको छ | हाम्रा आँखाहरु नजिक भन्दा पनि टाढा-टाढा पुगेका छन्, अन्नपूर्ण हिमाल, माछापुच्छ्रे हिमाल, लमजुङ हिमाल, मनासलु हिमाल छर्लंग नै देखिन्छन्, सिंगै देखिन्छ अरु नाम थाहा नभएका कैयौं हिमालहरु देखिन्छन् | हिमश्रृंखलाहरुमा केन्द्रित भएका छन् पहेँलो घामहरु, ढाकाटोपी ढल्किएँ जस्तो देखिन्छ हिमश्रृङ्खला, यतिखेर !

    मोटरसाइकलको यात्रा रोकेर पैदल हिडौ जस्तो ! जताहेरेपनि फोटो खिच्ने प्राकृतिक सिनहरु भेटिन्छन्, गुम्बाहरु भेटिन्छन्, ढुङ्गाको सीडी लागेका बाटाहरु भेटिन्छन्, दाउराका चाङ लगाउने तरिका पनि आकर्षक देखिन्छ | मकै झुत्ताहरु कतै त्यसैगरी मिलाएर राखिएका देखिन्छन्, यस्तै-यस्तै ग्रामिण परिवेश झल्किन्छ | लाग्छ, जीवनमा एकचोटि आउनैपर्ने ठाउँमा आइएछ आज | ठिक निर्णय गरिएछ, बाँकी जानेबुझेका हरुलाई पनि, यो ठाउँ एक पटक भ्रमण गर्ने पर्ने ठाउँ हो भन्न चाहन्छु म मेरो तर्फबाट | विभिन्न बेनामी ठाउँहरु पार गर्दै गर्दै कव्होलासोंथार गाउँपालिका मालिङ्ग वडा नम्बर ४ भुजुङको सानो बसपार्क जस्तो ठाउँमा पुग्यौं | गाउँ पूरै घूम्न हामीलाई सम्भव भएन, हामीले घुम्दा विद्यालय देख्यौं, त्यहाँ कृषि-अफिस, स्वास्थ, अफिस महिला स्वयंसेविका अफिस देखियो | विशिष्ट गुम्बाहरु, जंगलहरु, खोलाहरु, डाँडाहरुका अनौठा दृश्य, एकनासको ढुङ्गाको छानोयुत्त ग्रामीण परिवेशका घरहरु, ढुङ्गाकाबाटहरु, र सिडीहरू आदि आदि ईत्यादी !


    घनपोखरा यात्राको क्रममा अझै महत्वपूर्ण छ, एकदिन बास बस्नु पर्ने ठाउँ हो यो | तर हामीलाई यो अवसर जुटेन, घनपोखरा लाई परैबाट अवलोकन गरेर पुन: घलेगाउँ नास्ताका लागि बस्यौं | तर आजको नास्ता जीवनको पहिलो नास्ता भयो | सायद भविष्यमा पनि यो भेटिएला भन्न सकिँदैन | यात्रा घलेगाउँको, भेडाको घिउमा, कोदोको सेल रोटी ! तरकारी अति मिठो, भोक झनै मिठो, सबभन्दा ठुलो कुरो त सोचाई मीठो, अतिथी सत्कार, टिका टाला, फूलमाला विधायी, झन्डै रुनै मन लाग्ला जस्तो वातावरण सिर्जना भयो | तर हामीसँग समय पा-बन्दीले सेकेण्ड-सेकेण्ड हिसाब गर्दै हामी यात्रा तय गर्दै थियौं | धन्यवाद नास्ता बनाएर दिने घरबेटी मैती घले बहिनीलाई |
    यात्रा संस्मरण गर्दै पुनः हामी फर्कियौँ | १३ गते जाँदा जहाँ माछा खाना खाएका थियौं, उही होटेलमा फर्केर सोही टेबलमा खाना खायौँ | हामी त बच्चनका पक्का छौं नी बहिनी, भन्दै भित्र छिर्यौं, बहिनीले हास्दै खाना पस्किन रमाइलोसँग खाना खायौँ | रमाइलो पनि अर्को महत्वपूर्ण पक्ष हो, यात्राको अविस्मरणीय क्षण नै रमाइलो | यति चिनजानीको वातावरण बनाउनु पनि यात्राको क्रममा ठूलो कुरा रहेछ भनी मलाई हेक्का भयो | मर्स्याङ्दीको तलाउ वरिपरि फोटाहरु लिँदै, करिव आधा घण्टा हामी विश्राम गर्यौं | बाटाभरी हामीले सँगै शिक्षण गरेका १० वर्ष, झन्डै छुट्टिएका ५/६ वर्षको जीवन कालका सुखदुःखका संस्मरणहरु गर्दै, यात्रालाई सकेसम्म रोचक, प्रेरणा दायी, अर्थपूर्ण, भावपूर्ण बनाउने हामीले प्रयत्न गर्यौ | भोलिको नयाँवर्षको सामान्य योजना पनि बनायौं, तर भोलि आ-आफ्नो परिवार सँगै बिताउने योजना बनायौं | अनि लगातार हाम्रो यात्रा काठमाडौँ आएर मात्र रोकियो, अन्तिमसम्म याद आइरह्यो, यात्रा घलेगाउँको, भेडाको घिउमा, कोदोको सेल रोटी ! जय घले गाउँ !

    Facebook Comments

  • सम्बन्धित खवर

    याद बॅाचिरहनेछ….!

    भाषा विहिन सम्बन्ध

    उपहारको मूल्य

    मलाई बाल मतलब !

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै