टोखा लाइभ ।गाउँ सहर लमजुङ दरबारको मनमोहक अनुभूति मनमस्तिष्कमा ताजै थियो | राम्रोसँग थकाइ पनि मेटिएको थिएन, मिठो निन्द्रा लाग्दै थियो | बेसीसहर बजार खासै हेर्नु थिएन शहरबासीलाई | बिल्कुल नयाँ यात्रा सुरु भयो, कच्ची बाटो र ठाडो बाटो, देखिन थाल्यो हरिया खेतहरू, थरी-थरीका डाँडाकाँडा, मनमोहक बस्तीहरु, सदरमुकाम भएपनि अलिकता ग्रामिण परिवेश झल्किने किसिमले बनेका घरहरु, ठूला-ठूला होटलहरु पनि आदि हामीले अवलोकन गर्दै गर्दै हामी पूर्णरूपमा बेसीसहरबाट टाढियो | माथिबाट हेर्दा निकै राम्रो देखियो बेसीसहर बजार |
घडीको याद छैन, कुनै परिपक्क मान्छेको जस्तो स्वभाव पनि छैन | भुइमा खुट्टो पनि छैन! एकातिर मोटरसाइकल चढ्ने भएपछि, अर्कोतिर खुसी नै खुसीले! न आजको मौसमको याद छ, न बाटोको अनुमान छ ! बिना अनुमानमा हामी अब उकालो चढ्यौं बेसीसहरबाट, घलेगाउँ जानेबाटो यतैतिर त होला नि भन्दै, आफै हो हो भन्दै ! ठाडो बाटोको यात्रामा साथी मात्र सहज थियो तर अरु सबै असहज जस्तो वातावरण | जब कि वा ३४ प २२२१ नम्बरको CBZ बाइक उकालो लाग्दैगर्दा हिलो र खाल्डाहरु भएकै ठाउँमा पुगेर, विम्दा गाउँको बिच बाटोमा रोकियो | बुझ्दै जाँदा यो नेता देब गुरुङको मावली गाउँ रहेछ |
हामीसँग उपकरण देखि मर्मत सामम्री एउटा पनि थिएन, अनि बाटोको डिलमा एक घन्टाजति त्यसै बसिरहयौ | तेतिखेर हामीले के गरेर समय बितायौं, सम्झना पनि छैन | सायद हेर्नलायक र सम्झनलायक भने थियो त्यतिखेर दुबैका अनुहार ! एकखालको मलिन पनमा परिणत भइरहेको थियो | कुनै उपाय आइरहेको थिएन मनमा | तलबाट एउटा बाइक आएको देखियो, आशा पलायो, हामीले निवेदन गरौं, हामी लैजाने व्यवस्था गरिदिनु पर्यो, भाइहरूको सहयोगले हाम्रो यात्रा पुन: अगाडि बढे | धन्यवाद नाम थहा नपाएका भाइहरूलाई |
ग्रामिण परिवेशका थप सुन्दर दृश्यहरुहरु देखियो, बल्ल चिसोपन बढ्दै गयो, एकातिर बेसीशहरको रमणीयता अर्कोतिर, घुम्ती-घुम्तीबाटहरु कति पछि आउने हो घलेगाउँ भन्ने कुनै अनुमान छैन | बेअनुमानको यात्रा, अग्लाअग्ला पहराको बाटो र एउटा अनौठो मूर्खतापूर्ण, जोखिमपूर्ण यात्रा गरेको नाताले, मैले मेरो डर लुकाइरहेको थिए | तर पछाडि बस्ने साथीले हरेराम! हरेराम! आजै मात्रै बनाउने भो, बर्बाद भो भन्दैछ, अब मार्ने भो यसले, भन्दै गायत्री मन्त्र वाचन गर्न थाल्यो | किनकि बाइकको स्पिडमा कमी आएको छैन, सिमसिम पानी पर्दै गयो रातोमाटो चिप्लिएको छ | किनभने यात्रामा पुग्न कठिनाई थियो, हामीसँग मात्रै एउटा साहरामा थियो, सर्वश्व त्यही हाम्रो घाइते साधन | निकै माथि पुगिसकेपछि पनि घरबस्ती कतै छैन | मानव को कुनै गुञ्जायस छैन |चौबाटो, दोबाटो पुग्दाखेरी अलमलिने, कसैलाई सोध्न सम्भव छैन | यस्तो बाटोहरुमा हामी लगातार जान्थ्यौं फर्केर आउँथियौं | हामी अल्मलीदै अल्मलीदै गर्दा एउटा अर्को गाडीले, काठमाडौंको टोलीहरु पनि जम्काभेट गरायो, रमाइलो लाग्यो, हाम्रो सामान्य कुराकानी भयो |
फर्केर हाम्रो चामे जाने योजना थियो | चामे जानेबाटो हामीमाथि डाँडाबाट नियाल्दै थियौं | मर्स्याङ्दी नदि लमजुङको बीचबाट बग्दो रहेछ | नदीको किनार किनारै बाट गएको रहेछ चामे-बेसीसहर बाटो | त्यो नागबेली दृष्य अत्यन्तै मनमोहक देखिन्थ्यो माथिबाट | उर्वरा भूमियुक्त हरियाली फाँटहरु, कतै झुलेका फलफूल बगानहरुले मनमा चट्ट घर बनाउँदै थियो | भ्रमणको यो हो वास्तविक रहस्य, भ्रमण भन्ने अनुभूति गराउँथ्यो | यात्रामा उत्साह बढ्दै थियो | नयाँ ठाउँ हतार-हतारमा फोटाहरु हान्दै, यसो refresh हुँदै, हामी अगाडि बढ्ने क्रममा बाग्लुङपानी पुगियो |
बागलुङ पानीमा सरकारी स्कूल रहेछ अनि हेल्थ पोस्ट पनि रहेछ ।८०-९० घर गुरुङ बस्ती रहेछ, अलिअलि दमाई कामी र अरु जातिहरु मिसिएका | धेरै उचाइमा गैसकेपछि पनि समथर भूभाग, नजानिँदो भिरालो, पारिलो प्रकृति, एकनासका जस्ता देखिने घरहरु, भित्री थाहा नभएपनि समान धारणा बनेर बसेका हृष्ट पुष्ट जस्ता देखिने मान्छेहरु, गुरुङ समुदायका मान्छेहरुको संगै आजको भोको पेट यतै बिसाइयो |बाँकी दिनभर यही गाउँका कुनाकुना गल्लि गल्ली घुमेर बिताइयो | अनेक बाटाहरु रहेछन् , गुम्बाहरु रहेछन्, माथि डाँडामा चिहान लाई संकेत गर्ने खालका मानेहरु प्रशस्तै भेटिन्थे | त्यहाँको संस्कृति, कृषि, पशुपालन, लागायतका ज्ञानहरु संकलन गर्ने अवसर मिल्यो | त्यहाँबाट देखिने/ नदेखिने बगुम, खगुम, घनपोखरा, भुजुङ गाउँ बारे ज्ञान प्राप्त भयो | हामीले भोलिका लागि राम्रो योजना बनाउन सफल भयौं | कुराकानी गरेर बस्दाबस्दै रात पर्न लागेको पत्तै भएन, बाटोको अनुमान गलत गरिएछ | बाटोमा भेडीगोठमा झरेर फोटो खिच्न थाल्दा, हाम्रो समय बितेको पत्तै भएन | चिसो र बाक्लो पानीसँगै घलेगाउँ पुग्दा पुरै रात परिसकेको थियो | शरीर निथ्रुक्कै भिजेको थियो | यो गन्तव्य गाउँको एउटा गेट सहितको पार्किङस्थलमा टनक्क गाडीहरु रहेको ठाउँमा ठोक्कियो र सोध्यौ, यही हो कि अझै जाने? घलेगाउँ हो भन्ने उत्तर आयो, शान्ति मिल्यो मनमा !
क्रमशः