•            
    • Hikmat Dangol

    • १४ श्रावण २०७९, शनिबार १०:४४

    “ धेरै खाए ! “ भन्ने पिरले मानिसहरु आधा पेट भरेर भोजबाट फर्कन्थे

    • ओमशंकर श्रेष्ठ

    करिव ४५ देखि ५० वर्ष अघि केटाकेटीहरुको मनोरन्जन भनेका सबै अगार्निक खेल थिए । अर्थात समुदायमै विकसित परम्परागत खेलहरु । विशेष गरी नेवार समाजको प्रतिनिधित्व गर्ने खेलहरु । तेल कासा ( लखेटेर खेलिने ), कान कान पिच्चा ( लुकामारी ), नाटकिय रुपमा भोज बनाएर खेलिने पुतली सहितका खेल ( कतामरी कासा ), क्वाः कासा ( उखान सोधिने ) आदि थिए । टेलिभिजन थिएन । रेडियो नै मनोरन्जनको प्रमुख श्रोत थियो । त्यो पनि विहान छ बजे “ ओम जय जगदिश्वर हरे …. “ भजनबाट शुरु भएर एघार बजे बन्द हुन्थ्यो । त्यसपछि अपरान्ह एक बजे देखि “महिला कार्यक्रम“ खुल्ने रेडियो बेलुकी एघार बजे “ श्रीमान गम्भीर …. “ राष्ट्रिय गीत बजेपछि बन्द हुन्थ्यो । महिला कार्यक्रम मेरा आदरणिय गुरुमा सूर्य कुमारी पन्तले चलाउनुहुन्थ्यो । प्रायशः नेपाली तथा हिन्दी फिल्मी गीतहरु दोहरिरहने हुनाले श्रोताहरुलाई शब्दहरु कण्ठै हुन्थ्यो ।

    तर वर्षौ पछि मात्र रेडियाबाटे उदघोष हुने गरेको एक लाइनको असली रुप थाहा पाइयो । म जहिले पनि यस्तै सुन्थें , “ आदरणिय श्रोतावृन्द अब संधै झैं सुन्नुहोस् हिन्दी फिन्दी गीतहरु ।“ कहिल्यै मैले सुन्ने गरेको “ फिन्दीको अर्थ कसैलाई सोध्ने आँट गरिन । मनमनै संधै घोत्लिन्थें के होला भनेर तर सहि जवाफ नपाएपछि “ ह्या … छोड् “ भन्दै चित्त बुझाउथें । केहि वर्ष मात्र भो त्यसको रहस्य बुझेको, त्यो त “ हिन्दी फिल्मी “ भनेको रहेछ । त्यस्तै राजेश खन्ना हिरो भएको एउटा फिल्मको गीत , “ जिन्दगी एक सफर ए सुहाना “ होल्डर होल्डर होल्डर हो…. “ भनेको सुन्दा जहिले पनि आँखा चिम अड्याइएको होल्डरमा पुग्थ्यो । यसबारे पनि कसैबाट स्पष्ट कुरा सोधिएन । अझै सम्म पनि यसको मूल कुरो खोज्ने प्रयास भने गरेको छैन ।

    सिनेमा हलको नाममा न्युरोडको “ रन्जना “ , जमलको “ विश्वज्योति “, नक्साल निरको “ जय नेपाल “ , पाटनको “ अशोक “ र भक्तपुरको “ नवदुर्गा “ थिए । आन्तरिक र विदेशी आप्रवासी नहुँदा पनि ति हल रैथानेहरुका लागि अपुग थियो । कुनै नयाँ फिल्म लाग्दा महिनौं सम्म टिकट कालोवजारी गर्नेहरुका लागि दशैं तिहार आए सरह हुन्थ्यो । तिनीहरुको रवाफ र चमक ढमक देखेर मेरो कलिलो दिमागमा ठूलो भएपछि आफुपनि त्यस्तै काम गर्ने अर्थात चलनचल्तिको शब्द “ ब्ल्याक “ बन्ने विचार बारम्वार आउने गरेको थियो ।

    हल तिर बरालिरहेका केटाकेटीहरुलाई देख्दा मान्छेहरु “ बिग्रेका केटाकेटी “ ठानेर नाक खुम्च्याउँथे । यहाँ सम्म कि रेस्टुरेन्ट कल्चर पनि थिएन । छोरीहरु रेस्टुरेन्ट जाने त कुरै भएन । कसैका छोरालाई रेस्टुरेन्टमा खाँदै गरेको देखियो भने देख्नेहरुले , “ घरमा राम्ररी खान पाउँदैनन् कि क्या हो “ भन्दै गाँइगुँइ गरिहाल्थे । अयला ( लोकल रक्सी ), छोयला, कचिला, भुटन, चिउरा, चना र भटमास, बारा, माछा, अचार, पंच क्वाः ( विभिन्न तरकारी, गेडागुडी र मासु मिसाएर पकाइएको सुप ) आदि पाउने भट्टी विशेषगरि मासं गल्ली र मरुको ग्वाछेंमुग गल्लीमा लश्करै थिए । त्यस्ता भट्टिीको झ्याल र ढोकामा हरियो कपडाका पर्दा लगाइएका हुन्थे । मरुको कुमारी घर नजिकको दुध पाउरोटि बेच्ने पसलमा खानेहरुको भिड देखेर अचम्म लाग्थ्यो । तर त्यो पसलको खाना आफुले भने कहिल्यै चाखिन । अलि हुनेखानेका घरमा बिहान चियासंगै मालपुवा , सेल, जेरी, स्वारी हलुवा वा ग्वारामरी खाइन्थे । डेरी दुध लिन निकै हैरान बेहोर्नु पर्दथ्यो बिहान सवेरै उठेर टोलटोलमा दुध दिने बुथमा लाइन बस्नु पथ्र्यो । डेरी दुधको सिसीकै व्यवस्था गरको थियो । पैसा तिरेर किनिने दुध लिन पनि बिक्रेताको चाकडी गर्नुपथ्र्यो । तिनीहरुले मननपर्नेहरुलाई जानजानी लाइनमा मात्र उभ्याएर रित्तै फर्काउँथे । जसले गर्दा दुध राखेको मिठो चिया खाना हामी लैनचोरको दुग्ध विकास संंस्थानसम्म पनि दुध लिन धाउँथ्यौं ।

    हुनेखानेका घरमा क्यासेट प्लेयर हुन्थ्यो । टोलमा ठूलो श्वरमा लाउडस्पिकरबाट जसको घरबाट गीत – संगीत गुन्जिन्थ्यो , त्यो घरका मान्छे धनी हुनपर्छ भन्ने स्वतः अन्दाज लगाइन्थ्यो । लवाई, हिंडाई र हेयर स्टाइल समेत भारतिय चलचित्रका हिरो हिरोइनहरुबाट प्रभावित हुने गर्दथ्यो । आफुले होश सम्हाल्दा सम्ममा नेपालबाट हिप्पी जमाना करिव करिव सक्ने अवस्थामा थियो । पत्रिकाको नाममा गारेखापत्र र राइजिंग नेपाल मात्रै भएपनि “ नयाँ सन्देश “नामक श्याम श्वेत साप्ताहिक पत्रिका युवाहरु माझ चर्चित थियो । शायद त्यसवेला त्यसमा केहि स्तम्भ प्रेम वासना लक्षित लेख छापिन्थे । त्यसमा एक रुपियाको एक टिकट पर्ने “उपकार “ चिठ्ठाको पनि पनि मासिक नतिजा प्रकासित हुन्थ्यो । त्यो चिठ्ठा पर्नेमा अधिकांशका नाम “ नाम खाली “ छापिएर आउँथे । बालक बुद्धिले यसै हो भन्ने नसकिए पनि त्यो “नाम खाली“ भन्ने चिजलाई चाहिं शंका गर्ने गर्दथें । भारतिय चलचित्र पत्रिका “ मायापुरी “ र “ फिल्मफेयर “ को पनि युवायुवतीको आकषर्ण थिए । तर मुख पृष्ठमा अलि खुल्ला लुगा लगाएका हिरोइनको तस्वीर छापिएर आउँदा घरमा धेरैले लुकाएर पढ्थे ति पत्रिका ।

    इन्द्रजात्रा, गाइजात्रा र दशैंताका टोल टोलमा सांस्कृतिक कार्यक्रम आयोजना हुन्थ्यो । पेट्रोलका ड्रममाथि काठ राखेर त्यसमा सतरन्जा बिछ्याएर मन्च बनाइन्थ्यो । ढ्वाँग माइकबाट आवाज नमिलेर “ कुँइ…..कुँइ….. “ को चर्को श्वर निस्कँदा अर्को कुनै विकल्प नहुनुका कारण आयोजक र दर्शक ट्वाँ… परेर बस्थे । सानै उमेरमा अहिलेका चर्चित कलाकार मदन कृष्ण र हरिवंशको जोक , प्रहसन र गीत सुन्ने गरेका थियौं । उहाँहरुको प्रायशः प्रस्तुत हुने खुराक पुरानै दोहरिने भएपनि कहिल्यै वाक्क लाग्ने खालको हुन्नथे ।

    दशैं र तिहारमा टोलटोलमा सुन्तला राखेर ल्याइने काठको बाकसमा टोले दादाहरुले लगुरबुर्जा खेलाएर मनग्गे पैसा बटुल्थे । धादिंग , नुवाकोट, काभ्रेबाट चाडपर्वमा केहि पैसा कमाउन भनी आफ्ना उत्पादित खाद्यान्न र हस्तकलाका सामान लिएर काठमाडौं पस्नेहरुलाई त्यस्ता खेलमा लोभ देखाएर टाटै पल्टाएर विजोग पार्ने गरेको हामीले खल्लो मानेर हेथ्र्यौं । “चानचुन बा..ट “ अर्थात “चानचुन कम पैसा थाप्न नपाइने “ भन्दै कम्तिमा पाँच रुपियाँ थाप्नु पर्ने गरी बेलुकातिर बेस्सरी खाल मच्चिँदा हार्नेहरुले डब्बल तेब्बर पैसा थापेर तिरिमिरी पार्न थालेपछि केहि साना केटाकेटीहरुलाई “ पुलिस आयो “ भन्दै खेल घारघुर गराएर भारी नोक्सानीबाट बच्ने गर्थे ति धूर्त लंगुरवुर्जा खेलाउनेहरु ।

    त्यतिवेला युवायुवतीबीच बिद्यालय वा कलेज वा कुनै मेला जात्रामा देखादेखमा मन पग्लिएपछि प्रेम पत्रबाट प्रेमको शुरुवात हुन्थ्यो । श्वर राम्रो हुनेहरुको प्रेममा अलि बढि संभावना हुनथ्यो । तिनीहरु सुनसान रातमा आफुलाई मनपर्ने केटिको घर मुनि गएर सिच्ुयसन अनुसारको हिन्दी वा नेपाली गीत गाउँथे ।

    अधिकांशको प्रेमको गन्तव्य “ विवाह “ नै हुने गर्दथ्यो । तर जेहोस् प्रेम गर्नेहरुलाई समाजले राम्रो दृष्टिले भने पक्कै हेर्ने गर्दैनथ्यो । केटिहरुले धेरैजसो कपडामा आफैंले धागोले रंगीचंगी फूल र आफ्नो र मनपर्नेको मान्छेको नामको शुरुको अक्षर प्लस राखेर बुनेर उपहार दिने गर्दथे ।
    सत्तरी दशकको शुरुतिरदेखि हुनुपर्छ , विवाह भोजमा परम्परागत बसेर खाने नेवारहरुको “ लप्ते भ्वयः अर्थात “ सुकु भ्वयः “ को बदला बफे पार्टी शुरु भएको थियो । काँटा चम्चा चलाउन माहिर नभइसकेको समाजमा यो वफे निकै विवादास्पद बनेको थियो । आफैंले खाना लिएर खाने तरिका भए पनि कसैले “ धेरै खाना लिए की “ भन्ला भन्ने डरले थोरै थोरै खाना लिएर आधा पेट भरी घर फर्कनेहरुले पुन घरमा भात पकाउने गर्दथे ।

    तस खेल्नेहरुका लागि निकै रोमान्चक खेल “ पप्लु “ आइसकेको थिएन । मानिसहरु “ गुलाम चोर , “ जुट पत्ती“, “ साइटिन “ र “ कलब्रेक “ खेल्ने गर्दथे । त्यतिवेला मानिसहरु फुर्सतमा “ बाघचाल “ पनि खेल्ने गर्दथे ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै