•            
    • Hikmat Dangol

    • ४ असार २०७९, शनिबार १६:२९

    तिहारको चिनियाम्ह किसिचा

    – ओमशंकर श्रेष्ठ–

    बाल्यकालदेखि अहिलेसम्म पनि तुलनात्मक रुपमा दशैं अर्थात हाम्रो नेपाल भाषामा “मोहनी“ भन्दा तिहार अर्थात “सुन्ति“ बढि मनपर्छ । काठमाडौंको चाडपर्व र रीतिरिवाजले यति भुलाउँछन् कि यहाँका मूल वासिन्दालाई बुढेशकालमा प्रवेश गरेकै अत्तोपत्तो हुन्नन् । तिहारमा धेरै दिदीबहिनी लगायत मेरा फुपुहरुले पनि भाइटिकामा पुजा गर्ने भएकाले सानै देखि गलाको माला गनेर गमक्क पर्थें , आफुलाई अन्य भन्दा विशेष ठान्थें । लक्ष्मीपुजाको दिन खाने चिनीबाट बनेका गुलावी रंगका हात्ती, ख्याक र लक्ष्मीको स–साना कलात्मक मुर्तिहरु विशेष आकषर्ण हुने गर्दथे, मेरा लागि ।

    मरु गणेशस्थान नजिकको छ्वासोपाकोको सडक छेउमा टेबुलमा ति चिजहरु बेच्नका लागि सजाइएका हुन्थे । घरबाट एक मिनेटको बाटोमा पथ्र्यो त्यो स्थान । मेरो बुबा अरुबेला नै बिहान कम्तिमा चार पटक त तरकारी, मासु , मिठाई दुध र अन्य चिजबिज किन्न मरुको काष्ठमण्डप वरपर चक्कर लगाउनु हुन्थ्यो । उहाँले प्रायशःमलाई संगै लग्नुहुन्थ्यो । उहाँ गणबहाल स्थित नेपाल आदर्श माध्यमिक बिद्यालयका प्रधानाध्यापक हुनुहुन्थ्यो । अंग्रेजी विषयका धुरन्धर विद्वान र राजनीतिबाट प्रभावित नभएका स्वाभिमान व्यक्तित्व भएकाले समाजमा उनको विशेष सम्मान थियो । उहाँको विलक्षण प्रतिभा र शिक्षाक्षेत्रमा समर्पित योगदानको कदर गरेर अहिले गणबहाल स्थित बिद्यालय प्राँगणमा पुर्व बिद्यार्थीहरुले उहाँको प्रतिमा स्थापित गरेका छन् ।

    आधा घन्टा जतिको किनमलमा उहाँले थुप्रै व्यक्तिको अभिवादन फर्काउने गरेको देख्दा गौरव लाग्थ्यो । सानो दिमागले मैले मेरो बुबा निकै ठूलै मान्छे हुनुहोला भनेर सोच्थें । त्यसैले पनि उहाँको पछि लागेर जान्थें । मलाई यो घटना विशेष याद आउँछ । एउटा संधै व्यस्त रहने एउटा किराना पसलमा उहाँले चुरोट लगायतका केहि चिज किन्नु हुन्थ्यो । त्यो पसलमा दुईजना जति पुरुष दाईहरु पनि बस्नुहुन्थ्यो । तर त्यहाँ कहिलेकाहिं केहि अविवाहित तरुनी छोरीहरु पनि बस्नुहुन्थ्यो । त्यसैले हाम्रो परिवारले त्यस पसलाई सजिलै सम्झिनका लागि “ तरुनीका पसल अर्थात ल्यासे पसः “ उपनामै राखेका थियौं । यसबारे सो पसलमा बस्ने दिदी दाज्युहरुलाई अझैसम्म यो कुरा पक्कै थाहा छैन होला ।
    बुबालाई त्यो पसल सामु देख्नासाथ एकजना साठी जति कटेका एक व्यक्ति प्रायशः टुप्लुक्क आएर मेरो बुबालाई नामै काटेर बोलाउनु हुन्थ्यो। दौरा सुरुवाल र कोट वा कुर्ता सुुरुवाल र इस्कोट तर जाडो याममा दोलाँइ ( बाक्लो कपासको पछ्यौरा ) ओढ्ने ति मानिसले सबैले “ सर “ भनेर सम्मान गरिने मेरो बुबाको नामै लिएर बोलाउने गरेका पनि ठिक लाग्दैनथ्यो उहाँ मलाई । अनुभवी पसलेले अरु काम रोकेर पनि हत्तपत्त ति वृद्धलाई एक प्याकेट गैंडा चुरोट दिनुहुन्थ्यो । त्यो चुरोटको पैसा संधै बुबाले तिर्नुहुन्थ्यो । त्यसपछि सानका साथ मेरो बुबालाई केहि नभनी ति मान्छे आफ्नो बाटो लाग्नु हुन्थ्यो । त्यतिबेला अनुशासन कडा थियो । आफुभन्दा ठूलाको कामकाजमा बोल्नु हुन्नथ्यो । मलाई त्यो मान्छे , साह्रै मनपर्दैनथ्यो , पिराहा जस्तो लाग्थ्यो । जनकपरु चुरोट कारखानाबाट उत्पादन हुने गरेको एक प्याकेट गैंडा चुरोटको मूल्य त्यस्तै शायद १ रुपियाँ पचास पैसा थियो । पछि थाहा भयो , हाम्रै टोलमा बस्ने आफैं पनि समृद्ध ति बृद्ध मेरो बुबाको टाढाको नातेदार हुनुहुँदो रहेछ । शायद उहाँलाई चुरोट माग्ने लत लागेको होला ।

    घरबाट निस्किँदा दुईवटा पट्याएका झोला म बोक्थें , बजारबाट भने टन्न भरिएका झोला बुबाले दुई हातले बोक्नु हुन्थ्यो । खानपिनमा निकै सोखिन हुनुहुन्थ्यो मेरो बुबा । दिनहुँ टेबुलभरि थरिथरिका तरकारी फलफूल हुन्थे । फ्रिजको चलन थिएन बाटाभरि मासु हुन्थ्यो । कहिलेकाहिं मात्र आउने पाहुनाहरुले त खानेकुराको थुप्रो देखेर सोधिहाल्थे , “ कतै आज कुनै भोज त होइन ? केहि नजिकका आफन्तहरुको त एक वर्षकोे आधा बसाइँ हाम्रै घरमा हुन्थ्यो ।

    जनघनत्व त्यति बाक्लो नभएको काठमाडौंमा त्यतिवेला खानेपानी र फोहरको समस्या थिएनन् । सरसफाईमा काम गर्नेहरु बिहान सवेरै नियमित कुचोले बढार्न र राँगाका दुईवटा करंगले फोहर टिप्न आउनुहुन्थ्यो ।
    अब त्यहि चिनीका मुर्तिहरु मध्ये पनि हात्ती अर्थात “ चिनियाम्ह किसिचाः “ को प्रसंगमा जाऔं । लक्ष्मी पुजा भएको चारदिन पछि बिहानै विशेष पुजा गरेर फुल , टिका र प्रसाद निकालिन्छ , त्यसलाई हामी “स्वाँ कोकाय्गु“ भन्छौं । हामी केटाकेटीहरुलाई ति चिनीले बनेका मुर्तिहरु पनि प्रसादसंगै विशेष उपहारका रुपमा दिइन्थें । म प्रायशः हात्ती रोज्थें । किनभने ख्याक भनेपछि डरलाग्थ्यो र लक्ष्मीको मुर्तिलाई यता उता चलाउनु हुन्न नत्र पाप लाग्छ र सराप भोग्नुपर्छ भन्ने अर्को डर हुन्थ्यो । केहि दिन खेलेपछि चिनियाम्ह किसिचाः देखेर पनि अघाउँथें । र , बुबाले त्यसलाई धागोले बाँधेर ढलानको किल्लामा झुण्डाइदिनु हुन्थ्यो । शुरुमा त एउटा झिंगाले फनफनी घुमेपछि त्यसमा बस्ने आँट गर्दथ्यो । त्यसपछि दुई, तिन, चार हुन्दै धमाधम एक हुल झिंगाले बास बनाउँथे । केहि दिनपछि त त्यो मुर्तिको पूरै गुलाबी रंग झिँगाको कारण कालै देखिन्थ्यो । झिँगा पनि हलचल नगरी मरिसकेकै जस्तै लाग्ने गरी टिपिक्क टाँसिएका हुन्थे । शायद मेरो उमेर नौ वा दस पुगे देखि भने भने मैले बुबालाई चिनियाम्ह किसिचाः धागोमा झुण्ड्याउन दिइँन । बरु त्यसलाई आफ्नै साथ राख्न थालें । अन्य खेलहरु खेलेर थाकेपछि सुस्ताएर त्यो गुलावी हात्तीसंग खेल्नथाल्थें, खाटमा पल्टेर ।

    एकदिन के सुर चल्यो कुन्नि । त्यसलाई चाट्न पुगें । सानैदेखि गुलियो भनेपछि भुतुक्कै हुने । स्वाद मिठो लाग्यो । त्यतिवेला चिनी धेरै खाएभने जुका लाग्ला भनेर गाली गर्नहुन्थ्यो ठूलाबडाले , उहाँहरुका भनाईमा के कति बैज्ञानिक सत्यता छ थाहा भएन । चाटेर खाँदा मिठो लाग्ने तर त्यसो गर्दा विस्तारै चिनी पग्लेर मुर्तिको रुप बिग्रँदै गएको देखर मन पनि दुखले पग्लिन थाल्थ्यो ।

    अनौठो, अनिश्चत र अनिर्णित अन्तरद्वन्द्व चलिरहन्थ्यो बालक मानसपटल भित्र । आखिर लोभिपापी र स्वार्थी मानव चरित्र न, हो जनावरको हत्या गरेर आफ्नो आहार जुटाउने परम्पराकोे निरन्तरता भित्रको एक पात्र न हो । जति जति मुर्तिको रुप विकृत हुँदै जान्थ्यो , त्यति त्यति त्यस प्रतिको मोह, दया र माया घट्दै जान्थ्यो । र विस्तारै चाट्न छाडेर चिनियाम्ह किसिचाः को बाँकी भागहरु टुक्राएर चपाउन थालिन्थ्यो । अन्तत त्यो मुर्ति सम्झनामा मात्र बाँकी हुने गरेर खाइन्थ्यो ।

    अर्को चिनियाम्मह किसिचाः लाई अर्को वर्ष सम्मका लागि कुरिन्थ्यो । गल्ति नगर्ने किरिया खाँँदै अन्तिम चोटि भन्दै फेरी खाइन्थ्यो, त्यसरी नै त्यहि चिनियाम्ह किसिचाः । ठ्याक्कै याद भएन , तर बाह्र वा तेंह्र वर्षको उमेर लागेपछि भने मोहनी छुट्याइएर झल्याँस बिउँझेका मानिसलाई जस्तै अचानक चिनियाम्ह किसिचाः हेर्न समेत रहर लाग्न छोड्यो ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै