•            
    • TOKHA LIVE

    • ५ जेष्ठ २०७७, सोमबार ०४:२८

    राम नाम नभएको लंकामा दाताले स्वादिलो भोजन खुवाउँदा…..

    शशी के.सी

    मैले सन् २०१७ को नोभेम्बर महिनामा पहिलो पटक “श्रीलंका” केही दिन घुम्ने मौका पाॅंए।नयाॅं नयाॅं ठाउॅं घुम्न त अरूलाई जस्तै मलाई पनि मन लाग्छ। मन लागेर मात्र नहुने रहेछ, मिल्नु पनि पर्यो। यो भ्रमण पनि श्रीमानको कामको सिलसिलामा १० दिनलाई त्यहा जानु पर्ने भएकोले उॅंहा काम र मलाई पनि घुमाउन र म चाहीं पहिलो पटक”टुरिष्ट”भएर घुम्न गएको।

    सोच्दा “श्रीलंका” देश, हाम्रो पुस्ता माझ तिन किसिमले चिरपरिचित छ।पहिलो धार्मिक हिसाबले: रामायणको कथा सानैदेखि सुन्दै र अलिक ठुलो हुॅंदा टिभीमा हेरेको, लंकाको राजा रावणले सिताको अपहरण गरेपछि राम र रावणको युद्धभएको आदि। दोस्रो भौगोलिक हिसाबले: स्कुलमा भुगोल पढ्दा, भारतको तल, चना आकारको देश “ श्रीलंका” कति हेरियो/ पढियो म्यापमा । त्यस्तै अर्को सन्जोग,नेपालमा “आफ्नै टेलिभिजन स्टेशन” पनि शुरू हुनु,घरघरमा नेपालीले टि.भीराख्नु र दक्षिण एसियाली राष्ट्रहरूको संगठन “सार्क” स्थापना भएर बर्षै पिच्छे हुने सम्मेलनको कार्यक्रम टि.भी मा हेर्न पाउनु एकै पटक भयो। तेस्रो सामाजिक, राजनितिक हिसाबले: २००९ मा आर्मीले पुरै खत्तम नपार्दासम्म, श्रीलंकामा तमिलटाइगर्स (Liberation Tigers of Eelam,LTTE ) भन्ने समुहले आतंक मच्चाएको, मान्छे मारेको, बम पट्काएको समाचार सुन्ने र हेर्ने गरिन्थ्यो। ओहो, कस्तो डर लाग्दो होला त्यहा जस्तो लाग्थ्यो।

    यसरी अनेक किसिमको छाप थियो श्रीलंकाको मेरो मनमा। अमेरिकाको बसाई रहेकोले, यहाॅंबाट नेपाल गए जस्तै दुई फल्याटमा, भर्जिनियाबाट कतार अनि कतारबाट श्रीलंकाको राजधानी “कोलम्बो”पुगियो। पुग्दा बिहिबार बिहानको त्यहाको ३ बजेको थियो। एयरपोट भित्र सबैभन्दा पहिले स्वागत गर्यो “बुद्ध” को हल्का पहेंलो ठुलो मुर्तीले, एक फोटो खिची पनि हाले। त्यसपछि इमिग्रेसनमा चेक गरेर बाहिर गाडीबाट ३० मिनेटमा होटल पुग्यो। बिहानै भएकोले अन्धकार थियो बाटो, सरर हावा चलेर रूखहरू हल्लेको देखियो “एयरपोट शहरबाट टाढा वरीपरी जंगल भएको ठाॅंउमा रहेछ, अनि नेपाल जस्तै त्यहा पनि एक अन्तराष्ट्रिय एयरपोट रहेछ, राजधानी कोलम्बोमा)।हाइवे सडक चाहीं “राम्रो ३ लेन आउने र ३ लेन जाने” पिच गरेको अमेरिकाकै जस्तो लाग्यो र टोल (पैसा) तिर्ने ठाॅंउ पनि व्यवस्थित, पास देखाएपछि यताको “इजी”पास जस्तै गरेर खुरूरू जान मिल्ने। होटेल”सिनामन ग्राण्डमा” दुइदिनको लागि सातौं तल्लामा बसियो। बिहानीपख ३-४ घण्टामज्जाले सुतिएछ, उठेर पर्दा खोल्दा त “कोलम्बो शहर” कतै ठुलाठुला अग्लो घर, कतै सानो, पर समुन्द्र, मनमोहक दृष्य देखियो।

    पहिलो दिन दिउॅंसो एक्लै (श्रीमान मिटिगंमा व्यस्त) होटेलबाट भित्र भित्रै जान मिल्ने छेउको शपिगंमल तिर घुमें। तिन तल्ले मल,सबै किसिमको सामान पाउने पसलहरू भएको,जताततै देखिने मलहरू जस्तै रहेछ। तल्लो तलामा खानेकुरा पाउने, फुडकोर्ट रहेछ। श्रीलंकन, इन्डियन, चाइनिज,अरू पिज्जा, बर्गर सबै किसिमको खाना पाउने। श्रीलंकन खानाहरू पाउने पसलमा माटोको ठुलो ठुलो भाॅंडामा ,भात, दाल,मासु, माछाको झोल तरकारी, अरू तरकारीहरू बेच्न राखेको देखें।पहिले कहिले नखाएको” श्रीलंकन खाना” स्वाद कस्तो हो, एक्लै खाने ॲाटै आएन, खाइन। इन्डियन पसलबाट रोटी,तरकारी र मिठ्ठो मसला चाय मगाॅंए।

    बेलुका चाहीं हिंडेर समुन्द्र किनारा तिर गयौं। पानी त्यति सफा रहेनछ।समुन्द्रको किनारमा त १०-१५ पाल जस्तो अस्थायी टहराहरूमा त बत्ती बालेर स-सानो पसलमा बिभिन्न खानेकुरा बेचिरहेका रहेछन्। परैबाट मासु, माछा पोलेको गन्ध र धुवाॅंआइरहेको, मान्छेहरू खाॅंदै गरेका, तेता खान त अलिक मनै लागेन, घुमेर आफु बसेको होटेलमा नै डिनर खायौं।

    दोस्रो दिन बिहान होटल अगाडीको रोड छेउबाट १५ मिनेट हिंडेर दाहिने लागें। मान्छेहरू काममा, स्कुल जाॅंदै गरेको देखियो, बाटोमा गाडीहरू पनि व्यस्त, काठमाडौंतिर उहिले पाइने “कालो बिक्रम टेम्पो” जस्तै यहाॅं हरियो टेम्पो चल्ने रहेछ धेरै, सजिलो, सस्तो अनि भरपर्दो। हुन त सुरक्षित नै हुन्छ बाटोमा हिंडन भने पनि धेरै पर जान डर लाग्यो। बाटोमा जाॅंदा आउॅंदाप्राय: घरको बाहिर र बाटोमा ठाॅंउ ठाॅंउमा बुद्धको मुर्ती राखेको देखियो, हामीले नेपालमा प्राय:जताततै गणेश वा अरू भगवानको मुर्ती राखेको देखे जस्तै।

    बुद्धको मुर्ती, एयरपोट, होटेल, बाटो जताततै देखेर कौतुहलता पनि लाग्यो के रहेछ यसरी राख्ने भनेर, होटल फर्केर गुगलमा सर्च गरेर हेर्दा ७०% बुद्ध धर्म मान्ने, १२% हिन्दु,९% मुस्लिम,७% इसाई अनि बाॅंकी अरू धर्म मान्ने रहेछन श्रीलंकामा। गज्जब अनि रमाइलो पनि लाग्यो आफु बुद्ध जन्मेको देश नेपालको तर बुद्ध धर्म मान्नेहरू त धेरै श्रीलंकामा।अझ बुझ्दै जाॅंदा त श्रीलंका भरि नै जताततै पुरानो बुद्धको मन्दिरहरू धेरै रहेछ। सोचें, भ्याएसम्म धेरै बुद्ध मन्दिर, बिहार घुम्नु पर्ला।

    तेस्रो र चौथो दिन कोलम्बो शहर छोडेर, पुर्व उत्तर क्यान्डी(Kandy) शहर घुम्न गयौं, गाडीबाट ६-७ घण्टा लाग्ने रहेछ।त्यहा पुग्नु अगाडी बाटोमा पर्ने एउटा “ हात्ती संरक्षण केन्द्र” पनि घुम्न रोकियौं। धेरै बिदेशी टुरिष्टहरू रहेछन्। टिकट किन्यौं र भित्र गयौं। पर सुरक्षित ठाउॅंमा बसेर हात्तीहरूको झुन्ड हेर्न पाइयो, त्यस्तै हात्तीको बच्चा( छावा) लाई पैसा तिरेर बोतलमा दुध पनि खान दिॅंए,साथै खोलामा हात्ती नुहाएको हेर्र्यौं। केही गिफ्टहरू पनि किनियो। हात्तीको दिसा (dung) लाई राम्रो सॅंग प्रशोधन गरेर, त्यसबाट कागज र त्यही कागजबाट बिभिन्न गिफ्टहरू, लेख्ने कपी, पोष्ट कार्ड,सजाउने सामानहरू, माला, कानको टप, बालाहरू बनाएको रहेछ।

    लन्च एक होटलमा खाएर क्यान्डी शहर लाग्यौं गाडीमा। क्यान्डी शहर मध्य प्रदेश,अलिक उचाईमा रहेको वरीपरी पहाडलेघेरेको “काठमाडौं/ पोखरा उपत्यका” जस्तै रहेछ। कोलम्वोबाट क्यान्डी शहर जाने बाटो : पहिलो १-२ घण्टा चाहीॅंनेपालको तराई जस्तै समतल , बाटोको दुवैतिर हरिया फाॅंट, लहलह चामल, गहुॅं, मकै, हरिया तरकारी लगाएको, कतैनरिवलको रूखहरू, मानिसहरू खेतमा काम गर्दै गरेका, बाटो छेउछाउ गाई, खसी,बाख्रा, कुकुर हिंडेका, केटा मान्छेलुंगीमा,केटीहरू सारीमा, ठाॅंउठाॅंउमा झुरूप्प पसलहरू भएको ठाॅंउ आउने, तेहा तरकारी, काॅंचो नरिवल, फलफुल, लुगा, भाॅंडाकुडाको पसल ठ्याक्कै तराई जिल्लाहरूको राजमार्गको झलक दिने, मात्र फरक धेरै शान्त, कतै ठुलो रेडियो वा गीतचाहीॅं बजाएको सुनिएन। क्यान्डी पुग्नेबेला बाटो उकालो, घुम्ती पनि, नौबिसेबाट काठमाडौं जाने जस्तै।

    तलैबाट माथि एक पहाडको छेउमा बुद्धको ठुलो सेतो मुर्ती “ध्यान मुद्रामा” बसिरहेको देखियो, त्यही बाटो हुॅंदै होटल जानेभएकोले हेर्न गयौं। गाडी नजिकै पुग्ने रहेछ, गाडीबाट ओर्लेर करीब १०० खुड्किलो माथी उक्लेर हिॅंडेपछि मुर्तीको तल पुगियो। नाउॅं “ श्री महाबोधी बिहार”,सन् १९७२ मा बनेको रहेछ, यो ८८ फिट अग्लो बुद्धको प्रतिमा( statue)। बिहारवरीपरी घुम्यौं, बिभिन्न बुद्धको मुर्तीहरू, बुद्ध धर्मको बारेमा लेखिएको संग्रालय रहेछ, त्यस्तै कुनामा सानो हिन्दु मन्दिर पनि रहेछ, पुजारीले टिका लगाई दिएर, सेतो डोरा बानिदिए। त्यो बिहारबाट त क्यान्डी शहर मनमोहक देखिने रहेछ, तल क्यान्डी लेक, वरीपरी घरहरू, पोखराको “सेतो गुम्बाबाट फेवाताल” देखिए जस्तो।

    होटेलमा १५ मिनेटमा गाडीबाट पुगियो। होटल पनि डाॅंडामानै रहेछ, तल शहर देखिने। सामान राखेर, एकछिन आराम गरेपछि, श्रीलंकन साथी आयो गाडी लिएर, हामीलाई शहर घुमाउन। उसले तल लेकको छेउमा रहेको प्रसिद्ध” बुद्धको दाॅंतभएको मन्दिर, Temple of the Sacred Tooth Relic” लग्यो।यो मन्दिर बुद्ध धर्म मान्नेहरूको लागी पवित्र धार्मिक स्थल मानिन्छ। जसरी नेपालको लुम्विनी “बुद्धको जन्मस्थल” दर्शन गर्न संसार भरका बुद्ध धर्मावल्मबीहरू नेपाल आउॅंछन् र त्यहा जान पाएकोमा आफुलाई भाग्यमानी ठान्छन्। त्यस्तै यहाॅं आउनु पनि श्रीलंकन र अरू बुद्धिष्टहरूको लागि ठुलो कुरा रहेछ। किंवदन्ती अनुसार, परापुर्वकालमा गौतम बुद्धले परिनिर्वाण ( देहत्याग) प्राप्त गरेपछि उॅंहाको एक दाॅंतलाई भारतको” कलिगं (Kalinga) राज्यमा सुरक्षित राखिएको थियो र त्यहाका राजा गुहसिभ( Guhasiva) ले राजकुमारी हेमामाली( Hemamali) र उनको श्रीमान राजकुमार दन्थ (Dantha)लाई लुकाएर श्रीलंका पठाएको मानिन्छ। उनले आफ्नो कपाल भित्र जुरोमा राखेर ल्याएकी थिइन रे। उनीहरूको पित्तलको प्रतिमा मन्दिरको एक कुनामा रहेछ। यो ठाउॅं १९९८ देखि युनेष्कोको श्रीलंकाको एउटा “बिश्व सम्पदा सुची”अन्तर्गत पर्छ।

    हामी बेलुकाको समयमा गएको थियौं। बिदेशी, साथ साथै श्रीलंकनहरू पनि थुप्रै आएका रहेछन्। मन्दिरमा धेरै मान्छे भएपनि असाध्य शान्त, सेतो तथा गुलावी कमल र बास्ना आउने फुल चढाउने रहेछन्। मानिसहरू भुईॅंमा बसेर प्रार्थना गरिरहेका, जताततै माथी , छेउ भित्ताहरूमा बुद्धको कथा झल्काउने चित्रहरू, त्यस्तै ठुलाठुला बिभिन्न बुद्धको मुर्तीहरू।बुद्धको दाॅंत रहेको कोठाको ढोका बन्द गरिएको तर मानिसहरू ढोका बाहिर ध्यान, प्रार्थना गरिरहेका। कस्तो मनै पवित्र हुने वातावरण । फोटो खिच्न त दिने रहेछ तर बुद्धको अगाडी आफु नबस्नु भन्ने रहेछन्, ठिक हो कुरा भगवानलाई पछाडी पार्न पनि हुन्न।साथीले भने अनुसार” बुद्धको दाॅंत” बर्षको एकपटक मात्र निकाल्छन रे, अरू बेला सुरक्षित भित्र बन्द गरेर। मन्दिर बाहिर पनि अरू स-सानो मन्दिर घुम्यौं र फेरी त्यहा पनि सानो हिन्दु देवताहरू भएको मन्दिर रहेछ, गएर दर्शन गरें।

    त्यसपछि श्रीलंकन खाना खान गयौं। खानामा भात, पहेंलो दाल, कुखुराको मासु, माछाको झोल, अरू दुइतिन थरीको तरकारी, अचार, हाम्रो नेपाली खाना जस्तै। खाना पिरो हुने रहेछ। स्वाद नेपाली/ इन्डियन खाना जस्तैनै, मसला केही फरक। साथी त हात धोईवरी, हातैले खान थाल्यो, हामीले चम्चाले खायौं।एउटा कुरा रमाइलो, अनौठो जस्तो के लाग्यो भने, अस्ति मलमा लन्च खान वरीपरीको बिभिन्न अफिसतिर बाट सुट,टाईमा आएका श्रीलंकनहरू पनि हात धोईवरी मज्जाले हातैले (हामी नेपाली प्राय: घरमा हातले खाए पनि बाहिर पव्लिकमा चम्चाले खान्छौ) खाएको देखेको, आज साथी पनि त्यसै गर्छ, ड्राडभरले पनि हातैले खाएथ्यो।पछि बुझ्दा हामी नेपालीले “हातले खाए पो मज्जा,स्वादिलो: दाल भात तरकारी” भने जस्तै श्रीलंकन खाना पनि त्यस्तै हो रे।

    खाना पछि गाडीमा नै क्यान्डी शहर घुमेर बेलुका होटेल आयौं। थकाईले छिट्टै सुतियो। बिहान त अमेरिका र श्रीलंकाको समय फरक अझै “ जेटल्याग” थियो नै, छिट्टो बिॅंउझेछु। कोठा सॅंगैको सानो बरन्डामा निस्केको त बिहानी पखको चिसोचिसो बतास चलेको, उज्यालो हुन लागेको, तल शहरमा रहेको मन्दिरको प्रकाश तालमा परेको, असाध्य मनोरम दृष्य देखियो। शायद मन्दिरको बिहानी पखको पुजामा होला, मधुरो मन्र पढेको जस्तो धुन सुनियो।साह्रै रमाइलो लाग्यो।

    होटेलबाट चेक आउट गरेर गाडीबाट ४५ माइलमा रहेको दमबुला शहरको बुद्धको “ दमबुला गुफा मन्दिर Dambulla Royal Cave Temple”हेर्न गयौं।मन्दिर सिॅंढी चडेर माथि जानुपर्ने रहेछ। तल गेटमा पैसा तिरेर बिस्तारै उकालो लाग्यौं, आधा घण्टा माथी ।बाटो छेउ छाउमा साना साना रूखहरूको जंगल र बाॅंदरहरू पनि रहेछन् जताततै, कस्तो “स्वयम्भु मन्दिर” नै गएको जस्तो लाग्यो। मन्दिरमा बिभिन्न देशका मानिसहरू आएका देखियो।मन्दिर पहाडको भित्तामा चट्टान भित्र पाॅंचवटा गुफा रहेछ, त्यहाॅं भित्र बुद्धको जिवनी झल्काउने बिभिन्न मुर्ती र पेन्टिगंहरू जताततै भित्तामा, माथि पनि कोरिएको रहेछ।

    त्यहा १५३ वटा बुद्धको मुर्तीहरू, ३ वटा श्रीलंकाको पुरानो राजाहरू र चारवटा हिन्दु भगवानहरूको सुनको मुर्ती रहेछ। मुर्तीहरू छुन नपाइने, राम्रोसॅंग सुरक्षित राखिएको रहेछ। भित्र शान्त बातावरण, फोटो खिच्न पाइने तर मुर्तीहरूको अगाडी बसेर सेल्फी आदी खिच्न नपाइने। त्यहा पनि सानो हिन्दु मन्दिर रहेछ।मन्दिर परिसर घुम्दा असाध्य शान्त, खुशी अनुभव हुने, अरू बुद्ध मन्दिरहरू गए जस्तो, बसिरहुॅं लाग्ने,डाॅंडाबाट तल हेर्दा रमणिय देखिने।यस गुफाको नजिकै रहेको पुरानो चिहानमा २७०० बर्ष पुरानो अवशेष भेटिएको आधारमा यहाॅं पुराना श्रीलंकन हरू “बुद्ध धर्म” श्रीलंकामा आउनु अगाडी बस्ने रहेछन् भन्ने देखिन्छ।यो ठाउॅं १९९१ देखि युनेष्कोको श्रीलंकाको एउटा “बिश्व सम्पदा सुची”अन्तर्गत पर्छ।

    त्यहा घुमेर फर्केपछि गाडीबाट अर्को बाटोमा पर्ने प्रसिद्ध ठाउॅं “ सिगिरिया,Sigiriya,सिंह चट्टान,Lion Rock”गयौं। ६६० फिट अग्लो चट्टान, जताततैबाट देखिने रहेछ।श्रीलंकाको इतिहास हेर्दा राजा कस्यप (४७७-४९५ एडी) ले यस चट्टानको माथि आफ्नो दरवार बसाएको र भित्र बिभिन्न रंगीचंगी चित्रहरू बनाउन लगाएको रहेछन्। त्यहा बनाइएको ढोकामा रहेको सिंहको मुर्तीको नामबाट यो चट्टानको नाम “ सिंह चट्टान” भएको रहेछ। राजाको मृत्युपछि यो ठाॅंउलाई बुद्ध बिहारकोरूपमा १४ सेन्चुरीसम्म प्रयोग गरेको देखिन्छ। अहिले यो ठाॅंउ “बिश्वको आठौं आश्चर्य” मा पर्छ र धेरै बिदेशीहरू घुम्न आउने रहेछन्। हामी पुग्दा लगभग दिउॅंसोको २ बजिसकेको थियो। लामो लाइन, बेलुका कोलम्बो पुग्नु पर्ने भएकोले बाहिरबाटै, टेम्पोमा ३० मिनेट बिभिन्न कुनामा गएर यो राम्रो” सिंह चट्टान” हेर्यौं।

    बाटोमा कोलम्वो जाॅंदै गर्दा परबाट एक रंगीचंगी हिन्दु मन्दिर देखियो।जाॅंदा हिन्दु मन्दिर नै रहेछ, तर अहिलेसम्म देखेको बुद्ध मन्दिरको छेउमा रहेको भन्दा ठुलो, आफ्नै मन्दिर।पैसा तिरेर भित्र दर्शन गरें। बिभिन्न देवी देवताहरूको मुर्तीहरू, मन्दिरको बाहिर छतमा पनि भगवानहरूको बिभिन्न मुर्ती कुॅंदिएको रहेछ। बाहिर ठुलो “गणेश भगवान” को छुट्टै मन्दिर रहेछ। ड्राडभर त्यति अंग्रेजी नबुझ्ने, हामी उसले बोलेको श्रीलंकन भाषा नबुझ्ने, “तमिली” तेस्तै केही भन्यो, पछि बुझ्दा बुद्ध धर्म मान्नेलाई “सिंहाली” र हिन्दु धर्म मान्ने “ तमिल”भन्ने रहेछन्।

    पाॅंचौं दिन होटलकै फुलबारी, स्वीमिंग, सनाबाथ र नजिकको मलमा घुमेर बित्यो।मलबाट श्रीलंकाको प्रसिद्ध बिभिन्न थरीको चिया(ग्रीन टी, सिनाबन टी, झिन्जर टी) र काजु ( काजु ठुलो खालको, मिठो, हामीले सॅंधै खाएको भन्दा फरक) किने कोशेली दिन हुन्छ भनेर अमेरिकामा साथीहरूलाई।

    छैटौं र सातौं दिन कोलम्बोबाट उत्तर पर्ने “अनुराधापुर Anuradhapura” शहर गयौं। पुरानो शहर रहेछ अनि श्रीलंकाको” उत्तर मध्य प्रदेश” को राजधानी शहर पनि। त्यहा गाडीबाट ६-७ घण्टामा पुगिने रहेछ कोलम्बोबाट। बाटोसमतल, राम्रो, बिचबिचमा स-साना बजारहरू, बस्तीहरू देखिने रहेछ। यो बाटोमा चाहीॅं ठाॅंउ ठाॅंउमा ठुलो ठुलो “मदर मेरी”, “जिजसको प्रतिमा” र घर बाहिर पनि त्यसै मुर्तीमा बत्ती बाली राखेको देखियो। साथीहरूलाई पछि सोध्दा, यो भागमा“क्रिस्टियन/ ईसाई घर्म” मान्नेहरू धेरै बस्ने रहेछन्।

    अनुराधापुर शहरलाई पुरै पुरानो शहरकै रूपमा सुरक्षित राखिएको रहेछ। हामी बसेको होटेल पनि त्यस्तै, पुरानो सभ्यता झल्काउने सामानहरू, फोटोहरू राखेको रहेछ। त्यहा होटल बाहिर एउटा बन्जाराले बाॅंदर नचाएर देखायो र उसलेजाफनाको जंगलबाट समातेर ल्याएको अजिंगर र कोभ्रा साॅंप बाॅंसुरी बजाएर नचायो।बेलुका होटेलमा खाना खायौं।

    बिहान गाडीबाट ३० मिनेट टाढा शहरमा रहेको “अभयगिरी बिहार Abhayagiri Vihara” गयौं। यो बिहार जंगलको बिचमा रहेछ, खुड्किला चड्दै चड्दै माथि जाॅंदा बिभिन्न बुद्धको मुर्तीहरू देखियो, माथि एक डाॅंडामा एउटा सेतो बुद्धको मुर्ती, अर्कोमा बुद्ध स्तुप र अर्को डाॅंडा सानो भर्यांग चडेर माथि पुग्दा त, तेहाॅंबाट शहर राम्रो देखिने रहेछ। असाध्य संरक्षण गरेर राखेको रहेछ, सफा, शान्त बातावरण, तेहाॅं पनि तल सानो हिन्दु मन्दिर देखें। हामीसॅंग श्रीलंकन अर्को साथी थिइन। उसलाई सोधें “ सबै बुद्ध बिहार ठुलो छ र सबै जसोमा हिन्दु मन्दिर सानो किन हुन्छ,थाहा छ”। उसलाई थाहा रहेछ, खासमा उहिलेका राजाहरू प्राय: धेरै आफुहरू बुद्ध धर्म मान्ने र श्रीमतीहरू चाहीं हिन्दु धर्म मान्ने रे। श्रीमतीलाई खुशी पार्न वा उनीहरूले पुजा गरून भनेर हिन्दु मन्दिर बनाई दिएको रहेछ।

    दिउॅंसो श्रीमानको कामको सिलसिलामा दुई तिनवटा “ सिचाई परियोजना, खोलाको बाॅंध” हेर्दै कोलम्बो फर्कियौं। फलफुल, काॅंचो नरिवल पानी खुवाएर स्वागत गरे। श्रीलंकनहरू सारै साधारण, सोझा,महिलाहरू पनि तडकभडक नगर्ने खालका, गहनाहरू केही नलगाउने, सफा, हलुका रंगको कपडा लगाउने, बिस्तारै बोल्ने, शान्त स्वभावको हुने रहेछन्।

    आठौं र नवौं दिन कोलम्वोमा नै बित्यो। तेहीॅं शहरको बेयिरा ताल( Beira Lake),बिभिन्न बुद्ध बिहार “गंगारामायामन्दिर,Gangaramaya Temple, सिमा मलाका Sema Malaka” गयौं।लोटस टावर त होटेलबाट देखिन्थ्यो। शुक्रबार बेलुका समुन्द्रको किनारमा रहेको अलिक टाढा, ट्याक्सीमा १ घण्टा जानु पर्ने रेष्टुरेन्टहरू धेरै भएको ठाॅंउमा गयौं। ओहो त्यहाॅं पो गज्जव रमझम देखियो। “रमाइलो शुक्रबार वा ह्याप्पी आवर” मनाउन युवा,युवती, बिदेशी, कोही श्रीलंकन परिवार सहित खान आएका, नाचगान चलि रहेको, लौ, कहिलेकाहीॅं यिनीहरू पनि यसरी रमझम गर्ने रहेछन् जस्तो लाग्यो।

    यसरी कत्ति छिटो फर्कने दिन आयो पत्तै भएन। घुम्दा घुम्दै दुइ ठाॅंउ त जान छुट्यो। चिया बगान र रावणको लंका दरबार।चिया बगान त तेस्तै हो फेरी कुनैदिन जान सकिन्छ, लंका दरबार त रामायणमा मात्रै पो सीमित रहेछ, खासमा श्रीलंकामाकहि छॅंदै रहेनछ उसको दरबार। मौका मिलेको भए र केही गरी घुम्न उत्तर पुर्वको शहर “ट्रिगंकोमालीTrincomalee” सम्म (जहाॅं धेरै हिन्दुहरू बस्ने रहेछन्) पुग्न पाएको भए, रावणले तपस्या गरेको ठाॅंउ देखिने रहेछ। रावणको दरबारमा फोटोखिच्ने रहर चाहीॅं अधुरै रहयो।

    सबैलाई बुद्ध जयन्तीको शुभकामना!

    Facebook Comments

  • सम्बन्धित खवर

    भाषा विहिन सम्बन्ध

    उपहारको मूल्य

    मलाई बाल मतलब !

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै