मसान घाट वरपर
कात्रोका कालो बजारी भएझैं
मन्दिर र शिक्षालय वरपर पनि
वलात्कार भइरहेकै हुन्छ
बुझ्नेले नबुझे जस्तै गर्दा
देख्नेहरुले आँखा चिम्लिँदा
पेटको स्वार्थको कारण
युधिष्ठिरहरुले ओँठ सिउँदा
द्रौपडी चीरहरणमा जस्तै
लाचार भएर निहुरिएर बस्दा
वलात्कारी र भ्रष्टाचारीहरु
समाजसेवीमा परिणत भइरहँदा
खादा ओढेर , पुष्प गुच्छा लिइरहँदा
नेपथ्यमा बसेर कानेखुशी गर्नु
र , अनुहार बिगार्नुको
कुनै अर्थ र महत्व छैन
बोल्न र बोली फेर्न जान्नेहरुले
देश र जनता लुटेर पनि
प्रशंसकको लश्कर बढाएकै छन्
जस्तासुकै जघन्य अपराध पनि
केहिदिनको हो–हल्लापछि
त्यसै सेलाउने ठाउँमा
चोर साधु, साधु चोर बने
भन्दै फतफताउनुको पनि
कुनै अर्थ र महत्व छैन
सत्य बोल्न नसक्ने
विरोध गर्न डराउने
कायर र दास मानसिकता छोप्न
‘सतिले सरापेको’ उखान
दोह¥याउनुको पनि
कुनैअर्थ र महत्व छैन
राष्ट्रियताको सस्ता नारा बेच्दै
सत्ताका कुर्सी किन्न
विदेशी भित्राउँदै , स्वदेशी धपाउने
खेलमा लिप्त देशद्रोहीको
सम्मान सत्कारमा
सडक छेउ उभिएर दिनभरि
जयजयकार गाउँदै
साँझ भट्टिीमा बेस्सरी
नेताहरुलाई गाली गर्नुको पनि
कुनै अर्थ र महत्व छैन ।
वास्तवमा नागरिकता र
मतदाता परिचयपत्रमा
नाम हुँदैमा मात्र
म यो देशको नागरिक हुँ भन्दै
कुर्लनुको अब कुनै
अर्थ र महत्व छैन ।
सबैले अन्यायी र अत्याचारीका
कठालो समाएर संंजाय
दिन सकेपछि मात्रै
मेरो हक र अधिकार यति मात्रै ?
भनी प्रश्न गर्न जाने पछि
काम अनुसार माम खै ?
चिच्याएर सोध्न जानेपछि मात्र
बल्ल मसान देखि मन्दिर सम्म
अस्पताल देखि शिक्षालय सम्म
सबै सबै स्थानबाट
विसंगति र अनियमितता भाग्नेछन्
अनि बल्ल नयाँ पिंढीका लागि
नयाँ बिहानी उदाउनेछ ।
अनि बल्ल सबैले
भन्न पाउनेछन्
‘ यो मेरो देश हो , म यसको नागरिक ’
‘ यो मेरो देश हो , म यसको नागरिक ’
• ओमशंकर श्रेष्ठ
२६ , असोज , ०७७