•            
    • Hikmat Dangol

    • ११ असार २०७८, शुक्रबार ०७:५०

    फेरिन नसकेको लोभी मन – एक कथा

    फेरिन नसकेको लोभी मन

    • ओमशंकर श्रेष्ठ

    एसइइ सकियो । जिन्दगीमा ठूलै उपलब्धि हासिल गरिए जस्तो लाग्यो । राम्रै ग्रेडमा पास भइयो । मेरै स्तरका सहपाठीहरु साइन्स पढ्नतिर लागे । मलाई मेरो घरको आर्थिक स्तर थाहा थियो । एसइइको सातसय मूल्य पर्ने प्राक्टिस बुक किन्न त मैले आठ दिन पर्खनु परेको थियो ।

    ज्यामी काम गर्ने बाबुले खुबै छकाउँथे । बेलुका घर बाहिरको गल्लीको कुनाको भटीबाट टिल्ल परेर घर आउँदा उनी लरवरिएको श्वरमा भन्थे , ‘ दिनको यो पिउने सय रुप्पे मात्र बचाएको भएनि चाँडै किताब किन्न सकिन्थ्यो । साथीहरुले भनेपछि नाइँ भन्न नसकिने । त्यसमाथि त्यो कुकुरको मुतमा के जादु रहेछ खै । तँलाई म धेरै पढाएर ठूलो मानिस नबनाइ छाड्दिन । मेरो नातीहरुले पनि कहाँ आफुलाई ‘ ज्यामीको छोराछोरी हुन् ’ भन्न लगाउँछु र । ननिंदाए सम्म के के एकसुरले गन्थन गरिरहन्थे । आमा भने रुन पनि नसकेर टोलाएर हेरिरहन्थिन् ।

    मैले त्यो किताब ज्यामी बनेर नै किने । एक शनिबार चोभारमा बन्दै गरेको एउटा घरमा बालुवा ओसार्ने काम पाएं । नौ सय पचास पाइने शर्तमा । तर त्यहि दिन मेरो बचपनका प्यार टुट्यो । म भन्दा एक कक्षा मुनि पढ्ने रितालाई म मनमनै धेरै मन पराउँथें । दोहरो संवाद कहिल्यै भएन । मेरो हेराई र उनी सामु पर्नासाथ ममा परिवर्तन देखिने शारिरीक हाउभाउ उनले पनि केहि बुझेको जस्तो मेरो ठम्याइ थियो ।

    चोभारे ज्यामी काम गरेको भोलिपल्ट देखि स्कूलमा उनले उनको सामु पर्दा मेरो अस्तित्व छ जस्तो पनि प्रतिक्रिया दिइनन् । किनभने अघिल्लो दिन उनले नजिकबाटै मैले बालुवा भरिएको डोको बोकेको देखेकी थिइन् । शनिवारको दिन शायद उनी आफ्नो बाबाका मोटरसाइकलमा बस्दै कतै जाँदै थिइन् ।


    Photo by: Erina Tamrakar

    उनले देख्ना साथ आफु आफु नै हैन बरु कोहि अरु हुन् भन्ने प्रमाणित गर्न मलाई अलि खोच्याएरै पो हिंडु कि जस्तो लागेको थियो । तर झट्ट आएको दिमागी विचारलाई व्यवहारमा उतार्नै सकिन । मैले मनमनैको प्रेम मनमनै उनकै पक्षबाट वकालत गरेर हार स्विकारें । मैले सोचें, ‘ एउटी आधुनिक समाजकी सदस्य र पढेलेखेकी केटी जानीजानी ज्यामीको प्रेमिका कसरी बन्छे । जिन्दगी फिल्म त हैन नि । म उनको स्थानमा भएको भए पनि यस्तै गर्थें ।

    आज यहि बाटो आफ्नै फोर्ड गाडी चलाउँदै गइरहेकोबेला त्यहि रितासंग संयोगले जम्काभेट होस् जस्तो लाग्यो । पुर्वेली समाजमा प्रायशः महिला धन र धनी जस्ता शब्द भनेपछि हुरुक्कै भएको देख्छुं । शायद धनकी देवी लक्ष्मी पनि एक नारी नै भएकीले होला ।

    डाक्टर , इन्जिनियर बन्ने सपना बोकेर साथीहरु साइन्स कलेज धाउँथे । म भने अलि सस्तो गल्लीको कमर्स पढाउने निजी कलेजमा पढ्थें । प्रातकालिन कक्षा हुन्थ्यो । एघार कक्षाको बिचतिर पुग्दा रक्सीकै कारण बाबु बित्यो ।

    आमाले त पहिले देखि नै अर्काका घरमा सरसफाइ गर्ने , लुगा धोइदिने गरेर केहि कमाउँदै आएकी थिइन् । बाबु नभएपछि घर खर्च थेग्न गाह्रो भो । मैले क्षेत्रपाटीको नवदिप भन्ने एउटा सहकारीमा काम गर्न थाले । मेरो काम साँझसम्म स्थानिय ग्राहकहरुको दैनिक बचत उठाउनु थियो । त्यसपछि बेलुकी आठ नौ बजेसम्म अन्य लेखा सम्बन्धी हिसाब किताबको काम गर्थे । जस वापत मैले दस हजार रुपियाँ तलब पाउँथे ।

    दिउँसो काम गर्ने अन्य कर्मचारीको तुलनामा त्यो तलब धेरे नै थियो । दिउँसोका तीनजना स्टाफ सबै महिला थिए । चिटिक्क ब्लेजर कोट ,पाइन्ट , सर्ट र टाईमा सजिएर आउने तिनीहरुलाई हेर्दा सबैले कम्तिमा १० – १२ हजार कमाउने देखिन्थ्यो । तर तिनहिरुको तलब ५ देखि ६ हजारबिच मात्र थियो ।
    तिनीहरु मध्ये एक छोरोकी आमा सम्झना नामकी स्टाफ आफुलाई अलि बढि नै सुन्दर र स्मार्ट ठान्थिन् । म उनलाई अझ बढि सोडा हालेर उडाउने गर्थे प्रायशः उनी एक्लै हुँदा । टाइम पासका लागि म अभिनय गरेर भन्थें , ‘ सम्झनाजी यति उमेरमा पनि तपाईं कति सुन्दर देखिनु हुन्छ हगि ! आँखाको त बयान गर्ने परेन ! ’

    तर ‘ यस्तो उमेरमा ’ भन्ने शब्दमा उनलाई चित्त दुख्थ्यो । अनि उनी अझै नक्कल पारेर श्वरलाई सकेसम्म सुरिलो पार्दै भन्थिन् , ‘ राकेस सर पनि के भन्नुहुन्छ । तपाईं र ममा हदै उमेर फरक भएर चार वा पाँच वर्ष त होलानि । अब म पचहत्तरको हुँदा तपाईं पनि सालाखाला त्यस्तै सत्तरीको त भइहाल्नु हुन्छ । अं साँच्चै सर कति सालको ? उनले सर भन्नुको कारण मेरो हाकिमले मलाई तलब जस्तै भएपनि पद भने जनरल म्यानेजरको दिएका थिए ।

    सम्झनाजीले पनि केहि उमेर त पक्कै चोर्नु सक्ने शंकाले म भन्थें २०४८ त हो नि । उनी मेरो उमेर सुनेर एकछिन अकमकिएकी स्पष्ट देखिन्थ्यो । अलि हडबडाउँदै उमेर बताउँथिन् , ‘ मेरो ….त्यहि …. ५४ साल त हो नि । भन्दै थिएँ । धेरै फरकै हुन्न । ’ तर झुठो बोलेकोमा अलि श्याम वर्णकी सम्झनाजीको गाला रातो कालो भएको देखिन्थ्यो ।

    सानैमा सुनेको थिएँ कुनै पनि महिलालाई आफ्नो सुन्दरताका प्रशंसा जति मनेपर्ने चिज शायद यो दुनियाँमा केहि पनि हुन्न रे । मैले आफैले त दुई वर्ष चोरेर उमेर ढाटेथें । उनले कति चोरिन् होलिन् ! अलि झुठो बोल्न र झुठो सान दिनमा उनी निकै माहिर थिइन् । उनी पाँच कक्षामा पढ्ने छोराकोे परिक्षाको नतिजा समेत रफु भरेर सुनाउँथिन् । ‘बि’ प्लस आएपनि उनी छाती फुलाउँदै ‘ए’ प्लस ल्याएको भन्थिन् । यो कुराको सत्य तथ्य मैले पत्ता लगाएको थिएं । उनको छोरोसगै मेरो आफन्तको एकजना छोरो पनि पढ्थ्यो ।

    सम्झनाजीको उमेरको चिन्ता एकैछिनमा हराउँथ्यो । अनि सुन्दरताको आत्मरतिमा फर्किन्थिन् । ह्यान्ड ब्यागबाट सानो ऐना निकालेर लिपिस्टिक मिलाउँदै निकै रस लिन्दै भन्थिन् , ‘ राकेश सर म के राम्री । मेरी बहिनी उषालाई तपाईंले देख्नु भएकै छैन । यति राम्री …. यति राम्री …. । ’

    अनि टक्क एकछिन अड्किएर उनी बहिनीको सुन्दरताको श्रंखलामा आफुलाई पनि उभ्याउँछिन् , ‘ हामी तीन दिदीबहिनी मध्ये उनी सबैभन्दा राम्री । उनी त आफ्नो रुपैले बिकेकी । उनका रुपलाई हेरेर नै त्यति धनी परिवारको केटोले उनीसंग आँखा चिम्लेर विवाह गरेको । हो …. साँच्चै । ’

    उनको सोचाई र विश्लेषण र जीवन परिभाषाको स्तर देखेर म मनमनै व्यंग गर्दै मुसुक्क हाँस्थे । उनको भनाई अनुसार धनी लोग्ने पाउन शारिरीक सुन्दरता मात्रै भए पुग्ने रहेछ ।

    ऐनामा गाजल मिलाई रहँदा म सम्झनाजीलाई तर्साउँथे , ‘ हाकीम साहेब टुप्लुक्क आइपुग्ला नि । फेरि भएको जागिर पनि ….।

    उनी ढुक्कसंगै भन्थिन् , ‘ आ…. डराइन्न , डराइन्न । कुन पुरुषलाई कसरी नचाउनु पर्छ भन्ने मलाई पूरा ज्ञान छ । केहि हुन्न । ’
    अनि फेरि केहि सम्झिएसरी उनी भन्थिन् , ‘ थाहा छ सर , उषा हाम्री कान्छि बहिनी । तर धनी परिवारबाट आएको प्रस्ताव गुमाउनु हुन्न भनेर हाम्रा आमाबुबाले उनलाई एघार कक्षामा छँदा पढाई नै छुटाएर विवाह गरिदिएका थिए । ’

    मलाई उनको कुरा सुन्दा कस्तो कस्तो लाग्थ्यो । उनका आमाबुबाले पढाई जस्तो त्यत्रो महत्वपूर्ण कुरा छोड्न लगाएर पैसै हेरेर छोरीलाइ वस्तुभाउ जस्तै जिम्मा लगाइ दिएको रहेछ धनी परिवारलाई ।

    सम्झनाको पति पनि धेरै पढेलेखेको रहेनछन् । पहिला विशाल बजारमा कसैको पसलमा काम गर्ने रहेछन् । अहिले भने अनामनगरमा सानो कफी र केक पसल चलाइरहेका रहेछन् । सम्झनाले वारम्वार लोग्नेले अलि गतिलो नकमाएको असन्तुष्टि पोखिरहन्थिन् । कहिलेकाहिं विदेश तिर गतिलै आम्दानी हुने काममा पठाउनु पथ्यो भन्ने गर्थिन् ।

    वास्तवमा काठमाडौंमै घर भएको र अझ बिस हजार जति घरभाडा पनि उठ्ने भएकाले उनलाई आर्थिक कठिनाई त्यति साह«ो नभएको हुनुपर्छ । तर उनी भने सँधै बहिनीको जीवनस्तरसँगै आफुलाई दाँज्थिन् र प्रतिस्पर्धा गर्न खोज्थिन् । मैले सुनेथें शायद विख्यात साहित्यकार सेक्सपियरले भनेको हुनुपर्छ , ‘ कुनै पनि नारी विवाह अघि सिर्फ विवाह मात्रै खोज्छिन् तर विवाह पछि सबैकुरा खोज्छिन् ।

    अन्तत सम्झनाजीले एक दिन लड्डुको बट्टा लिएर अफिस आइन् । त्यो दिन उनी खुशीले यति चन्चल थिइन् कि मानौं उनी भर्खरकी किशोरी हुन् । उनले हाकीमलाई आफ्नो पतिले साउदी अरेवियामा सेलसम्यानको काम पाएको खवर सानका साथ सुनाइन् । त्यो दिन लड्डु बाँधेर हाकीम सामु उनले मेचमा उपरखुट्टी लगाएर बस्ने सम्म आँट गरिन् ।
    सम्झनाजीको हाउभाउ यस्तो देखिन्थ्यो कि अब उनी आफैं सहकारी खोल्ने हैसियतमा पुगिसकिन् । धन्न हाकीमले उनको बडी ल्याँग्वेजलाई सिरियस्ली लिएनन् ।

    तिन चार वर्षपछि मेरो एमबिए पनि सकिनु सहकारीको मुलढोकामा ताल्चा मारिनु एक साथै भयो । बोर्डका सदस्यहरुसंगको मिलोमतोमा हाकिमले जथाभावी ढंगले प्लटिंगमा लगानी गरेका थिए । स्वात्तै डुब्यो । जग्गामा पैसा लगाउनु भनेको तुरुन्तै दोब्बर चौब्बर हुनु हो भन्ने भ्रम धेरैले अहिले पनि पालेको देख्छुं । हाकीम भागाभाग भए । तर सहकारीका ग्राहकमा केहि प्रहरी अधिकारी समेत रहेकाले उनी व्यापक खोजिए । र , थुनामा पुगे । उनी थुनामा पुग्दासम्म म ‘क’ श्रेणीको एक निजी बैकको ब्रान्च म्यानेजर बनिसकेथें ।

    म माथि लक्ष्मी र सरस्वतीको कृपा बनिरह्यो । केहि वर्ष पछि सानो घर जोडें । सँधै नक्कली गहना लगाउन बाध्य आमालाई सक्कली गहनाले सजाउन सकें ।

    अस्ति पुतली सडकको किंग्स मममा मम खान पुगेथें । संयोगले अचानक सम्झनाजीलाई त्यहाँ भेटें । मलाई भेटना साथ सन्चो बिसन्चो सोध्नु भन्दा पहिले उनले मेरो सुनको लकेट, नाडीका मुगा जडित सुनको बाला, रोलेक्स घडी र महंगो गगल्स र सुटमा सरर्रर आँखा दौडाइन् , आश्चर्य मिश्रित भावमा ।

    उनका नजरको प्रश्न मलाई थाहा थियो । उनी सोध्दै थिइन् शायद , ‘ यति छिटो यति धेरै फड्को ! ’ मैले उनको हाल खबर सोध्ने क्रममा निधार खुम्चाउँदै गम्भीर श्वरमा भने , ‘ अँ ….. साँच्चै तपाईको पतिदेवको त अल्पायुमै साउदीमा दुर्घटना पो भयो रे ….। ’ तुरुन्तै मलाई बेक्कारमा अर्काको घाउ कोट्याउन पुगेकोमा पछुुतो लाग्यो । मलाई लागेथ्यो उनी नराम्ररी भक्कानिन्छिन् , गालाभरि त्यसै आँसु बगाउँछिन् ।

    त्यसैले हत्तपत्त परिस्थिती सच्याउँदै भने , ‘ सरी है , सम्झनाजी मैले बेक्कारमा तपाईंको घाउ उप्काउन पुगें । ’ तर उनले अनौठो व्यवहार पो देखाइन् । उनका अनुहारमा दुख र शोकको एक धर्को पनि देखिन । बरु मुसुमुसु हाँस्दै भनिन् , ‘ छोड्नुस् सर बितेको कुरा । मैले त भुलिसकें सबै । दुर्घटना हो कसको के लाग्छ , र । धन्न बिमा र क्षतिपुर्ति गरी एकै हातमा ५३ लाख थापें । हाम्रो सहकारीको हाकीमलाई पो फापेन जग्गाको काम । मैले त त्यहि पैसामा केहि थपथाप गरी जग्गामा लगाएर तेब्बर बनाइसकें । ’

    यति कुरा हुँदासम्म टेबुलमा आएका मम दुवैले रित्याइसकेका थियौं । आफ्नो छोटो भनाई सकाएर उनले ब्यागबाट सानो ऐना निकालेर लिपिस्टिक मिलाईन् र मलाई पुलुक्क हेरिन् । शायद उनी त्यो दिन पनि पहिला जस्तै म बाट उनको सौन्दर्यको प्रशंसा होस् भन्ने चाहन्थिन् ।

    त्यो सानो ऐना बोक्ने पुरानो बानी अझै नछुटेको रहेछ । पहिला पनि मैले साँचो प्रशंसा गर्ने गरेकै थिइन । अहिले त पचासको हारहारीमा पुगेकी उनको जोवनलाई हेभि मेकअपले त झन उल्टै गिज्याइरहेको जस्तो देखिन्थ्यो । गला र गालामा देखिएका चाउरी हेर्दा उनी वास्तवमा बुढी ब्वाइलर कुखुरी जस्तै देखिन्थी । छिनछिनमा एउटा हातले अर्को हातको चाउरिएको छाला छोप्न्ने नयाँ बानी बसाएको रहेछ ।

    उनले प्रसंग मोडिन् , ‘ अनि साँच्चै सर बिहे भयो ? ’ मैले जवाफ दिनु अघि नै प्याच्च बोलिन् , ‘ एकजना बहिनी परेकी निकै राम्री केटि छ , कुरा चलाउँ । उमेर चाहिं सर भन्दा अलि धेरै नै कम होला । तर सरको वंगला । कार र राम्रो जागिर सुन्नासाथ आँखा चिम्लेर दिन्छिन् तिनका आमाबाले । ’ मलाई उनको बहिनी उषाको कहानी फेरी याद आयो ।

    ब्यंग गर्दै मैले भने , ‘ केटि धनी हो कि होइन ! मलाई त मभन्दा धेरै धनी केटि पो चाहिन्छ । भएको सम्पत्तिमा टन्न दाइजो ल्याएर थप्ने रहर छ । ’ उनले ब्यंग पनि नबुझेकी जस्तो लाग्यो । कुनै नराम्रो प्रतिक्रिया जनाइनन् ।

    मैले गाडीबाट ड्रप गरिदिने प्रस्ताव राखें । रेस्टुरेन्टबाट बाहिरिँदा उनी मसंग करिव करिव यसरी टाँसिन आइपुगिन की म आफै पर पर सर्नुप¥यो । शायद उनी दुनियाँलाइ म उनको पति र त्यो कार आफ्नै हो भन्ने देखाउने चाहन्थिन् । मेरो कार देखेर उनको आँखामा आएको चमक अझै बिर्सिनसक्नु छ । कार स्टार्ट गर्दैगर्दा मलाई हाँस्न मनलाग्यो , ‘ सम्झनाजीले अझै मेरो बिहे मात्र हैन तीन वर्षकी एक छोरी पनि छन् भन्ने थाहा नपाएको रहेछ । ’

    गला सफा गरेझंै गरी उनले भनिन् , ‘ मिलेर कुनै काम गरौं न , सर । मसंग सत्तरी असी लाख क्यास त होला । ’

    एकछिन् म बोलिन । तर कसो कसो संधै पैसैपैसोको पछाडि दगुर्ने उनलाई पछाड्ने नियतले नै भने , ‘ सरी ! सम्झनाजी अचेल म लाखमा है करोडमा मात्र काम गर्न रुचाउँछुं । ’

    उनले यसपालि पनि मैले व्यंग गरेको र हेप्न खोजेको बुझिनन् । बरु खुशी हुँदै आफ्नो ब्यागबाट भिजिटिंग कार्ड निकालेर दिइन् । मैले हेर्दै नहेरी म्युजिक सिस्टमनिर कार्ड फुत्त फालें । उनी सुन्धारामा ओलिर्न , ‘ फोन गर्नु है सर , नबिर्सिनु नि , फोन गर्नु । ’ भन्दै । मैले सुनेपनि नसुने झैं गरेर कार स्टार्ट गरेंं । कारबाट केहि गहुँगो बोझ झरेझैं लाग्यो । थाहा छैन किन हो किन अझै केहि असजिलो र अप्ठयारो महशुस भइरहेको थियो ।

    अचानक समझनाजीको भिजिंटिग कार्डमा आँखा प¥यो । त्यो टिपेर झ्याल बाहिर हु¥याइदिएं । एक्कासी कारभित्र चिसो हावाको झोक्का पस्यो । बल्ल केहि शितल राहत महशुस भयो ।

    एउटा अनाथालयमा हुर्केकी मेरी पत्नी रिमा र सानी फुच्चीलाई सम्झिना साथ मलाई उडेर घर पुगुँ जस्तो लाग्यो । अनि तत्कालै मैले गियर चेन्ज गरें ।

    – भीमसेनस्थान् , काठमाडौं ।

    Facebook Comments

  • सम्बन्धित खवर

    योनी बोकेका मान्छेहरू

    छैन कुनै जात र भात

    मनको पीडा

    एक-अर्कोसँग अपरिचित

    मदन भण्डारीकाे त्याे साइकल

    रुपाको जवानी

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै