•            
    • Hikmat Dangol

    • २२ जेष्ठ २०७७, बिहीबार १९:४८

    प्रियाको फुटेको तस्वीर

    आफुलाई कुनै नराम्रो घटना कहिल्यै नघट्ने सोच्थें । यो भ्रम अहिले पनि कायमै छ । यसै भ्रमको सहारामा त अवश्यसंभावी मृत्युको सन्त्रासबाट आफुलाई जोगाउने गर्दछुँ । मेरी प्रियासंगको विवाहपछिको झण्डएक दशकमा मैले उनी बाहेक कहिले पनि कसैकोबारे सोचेकै थिइन । लाग्थ्यो उनी यो जुनीको भगवानकै उत्कृष्ट उपहार र वरदान थियो । समकालिन साथीभाईको तुलनामा आर्थिक पक्षमा धेरै गुणा पछाडि थिएँ ।
    तर प्रियाको सामिप्यको कारण म आफुलाई अरुभन्दा धेरै गुणा धनी ठान्थें । शुरुमै भने नि प्रायशः मानिसले आफुलाई मनेपर्ने नजिकका आफन्त त्याग्नु पर्ने , विभिन्न रोग र दुर्घटना हुनसक्ने जस्ता वास्तविक तितो सत्यलाई कहिले सोच्ने र त्यसका लागि आफुलाई मानसिक रुपमा तयार गर्ने गर्दैनन् । बरु आपत विपत भन्ने कुरा अरुलाई मात्र हुने हो , म शारीरिक रुपमा बलियो छुँ , जस्तोसुकै रोग लागेपनि जतिपनि पैसा खर्च गरेर उपचार गर्नसक्छुँ भन्ने घमन्ड धेरैजसोले गर्ने गर्दछन् । त्यसैले त अरुलाई ठगेर , शोषण गरेर वा अन्य जुनसुकै कुबाटोबाट भएपनि पैसा थुपार्न लागिपरेका देखिन्छन् मानिसहरु ।
    अन्त्यमा , आफुले कमाएको भोग्न त के गन्नै नपाई अचानक हिंडछ्न् त्यस्ता मानिसहरु । प्रियालाई कहिल्यै कुनै रोग लाग्ला भन्ने सोचेको थिइंन् । आखिर संधै कम्मर दुखाईको गुनासो गर्न थालेपछि नाम चलेकै डाक्टरकहाँ देखाइयो । अझै याद छ त्यो साँझ डाक्टरले गम्भीर मुद«ामा प्रियाको रक्त क्यान्सरबारे मलाई जानकारी गराइरहँदा झ्याल बाहिर क्षितिजमा घाम डुब्दै थियो, संगसंगै मेरो जिन्दगी पनि ।
    मलाई भने अब कहिल्यै घाम नउदाउने पिरले थिचिरहेको थियो । डा. अमितले मलाई बढिमा प्रिया दुई वा तीन वर्ष बाँच्ने तर पनि केमोथेरापि देखि अन्य उपचार चलाउन सल्लाह दिनु भएको थियो । विवाहको एक दशक भइसक्दा पनि सन्तान नभएकाले हामी नयाँ चिकित्सकिय प्रविधि अर्थात कृतिम गर्भाधारणबाट भएपनि सन्तान पाउने योजना बुनेर बसेका थियौं । प्रिया बिरामी परेपछि हाम्रो त्यो योजना आफैं स्थगित भयो । प्रियालाई रोगकोबारे थाहा नदिने त सम्भवै भएन ।
    तर पनि मेले र डाक्टरहरुले उनको क्यान्सर फस्र्ट स्टेजको भएकोले निको हुने आशा देखाएका थियौं । उपचार चल्दै गयो । रोग घट्नुको सट्टा बल्झिँदै गइरहेको थियो । पैसा पनि खोला जस्तै बगिरहेको थियो । दुई वर्षमा भएको बचत ३० लाख जति सकिसकेर पनि २० लाख रुपैँया ऋण चढिसकेको थियो । नजिकका आफन्त मलाई थप ऋण दिन पनि धेरै सोच्ने अवस्थामा पुगिसकेका थिए । करिव छ महिना नक्सालको फैन्सी पसलमा राम्ररी हेर्न नसकेपछि त्यो पसल पनि मैले १२ लाखमा बिक्रि गरिसकेको थिएँ ।
    सरकारी जागिर नभएकोले मेरो भविष्यमा कुनै उपदान , संचय कोष वा निवृत्तिभरण आउने कुरै थिएन । त्यसैले ति आफन्तहरुले पनि मलाई भन्न थालेका थिए , ‘ रोग निको नहुने थाहा हुँदाहुँदै किन बेफ्वाँकमा खर्चिलो उपचार गराउँछौ , राहुल ? बरु जडिबुटि वा जमराको जुस पिलाएर केहि समय जीवन लम्ब्याए त हुन्थ्यो , नि ? ’ मसंग जवाफ दिने शब्द नै हुँदैन थियो । बरु क्यालेन्डरमा दिनहरु छिटो छिटो दगुरिरहेजस्तो लाग्थ्यो । म भित्र भित्र निकै डराउँथे, घडीको सुँइ घुमेको देखेर समेत तर्सिने गर्थें ।
    परिवारमा अलि केहि सदस्य भएको भएपनि मन हल्का हुन्थ्यो । सन्तान भएको भएपनि तिनीहरुका अनुहार हेरेर केहि मन थाम्थेंहुँला । परिवारको नाममा प्रिया र सत्तरी कटेकी आमा मात्र हुनुहुन्थ्यो । आमा पनि दोहरो संवाद गर्न नसक्ने अर्थात कान नसुन्ने ।
    त्यस्तोेबेला स्कुल पढ्दाखेरिका साथीहरु सुमन , राजेन्द« र हरिको साथ र सहयोग अनौठो लाग्थ्यो । सोच्थें संसारमा सहयोग पाउन रगतकै नाताको मात्र जरुरी हुँदो रहेनछ । त्यो भन्दा जहाँ पनि जसले पनि मेरी प्रियाकोबारे सोध्ने र चासोराख्ने गर्दा तिनीहरु सबैलाई एउटै उत्तर जवाफ दिएर हिँड्नु पर्दा मैले आफुलाई रोवोट जस्तै महशुस गर्थें ।
    तिनीहरु मध्ये धेरैले सहानुभुति राखेरै मलाई प्रियाकोबारे सोध्ने गरेको भएपनि जिस्काइरहेको जस्तो लाग्थ्यो । म आफुलाई कसैले बरु केहि बोल्दै नबोलोस् जस्तो लाग्थ्यो । सपनामा पनि कहिलेकाहिं म , ‘ अँ ..प्रियालाई ठीकै छ , चाँडै निको हुन्छ ’ भनी वरवराएर कसैको प्रश्नको जवाफ दिइरहेको देख्दा गहभरि आँसु राखेर प्रियाले मलाई बिउँझाउने गर्दथिन् ।
    त्यसपछि भाले नबास्दासम्म आधा जिउ दुब्लाइसकेकी प्रियाले मलाई अँगालोमा कसेर राख्ने गर्दथिन् । म पुन नदिदाउन्जेल उनका हत्केलाले मेरो टाउको सुम्सुम्याइरहेका हुन्थे । मलाई त्यतिबेला नै २०७२ को वैशाखमा जस्तो ठूलो भुकम्प आएर दुवैजना घरमुनि थिचिए हुन्थ्यो वा ठूलै बम पड्के हुन्थ्यो जस्तो लाग्थ्यो ।
    तर चोहेको जस्तो कहाँ हुन्थ्यो । फेरि बिहान हुन्थ्यो । मलाई ऋण , आफ्नो व्यवशायको कुनै मतलब थिएन , बस हर समय प्रिया सामु बस्थें । मेरा स्कुले साथीहरुले फर्काउन नपर्ने गरी र आफ्नै परिवारलाई पनि थाहा नदिई केहि आर्थिक सहयोग गरेकाले जेनतेन गुजारा चल्दै थियो ।
    मैले कहिलेकाहिं एकसुरले आफुलाई हेरिरहेकाबेला प्रियाले भित्तातिर मुन्टो फर्काएर रुन्चे श्वरमा भन्थिन् , ‘ लाजै लाग्छ त्यसरी नहेर्नुस् । ’ उनले प्रसंग मोड्न खोजेपनि उनको श्वरको कम्पनमा लुकेको पीडा म प्रत्यक्ष महसुस गर्न सक्थें । बोल्दा मेरो श्वरबाट पनि पीडि बाहिरिन्छ की भन्ने डरले म चुपचाप बस्थें ।
    मेरो लामो मौनता भंग गर्दै प्रियाले भन्थिन् , ‘ म एउटा कुरा माग्छुँ , दिनुहुन्छ ? ’ म केवल , ‘ हँ … ’ भन्दै स्विकृतिमा टाउको हल्लाउँथें । ’ अनि उनी मतिर फर्केर भन्थिन् , ‘ म गएपछि , हजुरले अर्को विवाह गर्नु है ! तपाईं निकै एक्लो हुनुहुनेछ । ’
    म हतारिएर उनको मुखमा हात राखेर नबोल्न इसारामा अनुरोध गर्थें । उनी एकछिन् मेरो हत्ेकला सुम्सुम्याएर भन्थिन् , ‘ मेरो कारण कति दुब्लाउनु भइसक्यो , तपाईंको सानो रुमाल समेत धोइदिन सकेको होइन । ’ उनी निकै भावुक बनेर आँखाबाट वर्रर आँसु झार्थिन् । आफुभने शत्रुको पनि आँसु हेर्न नसक्ने मान्छे ! नरुन, विन्ती गर्दै उनको आँसु पुछ्थें ।
    त्यतिन्जेलसम्म मेरो मुटुको सागरबाट आँसुको छाल आँखा सम्म पुगिसक्थ्यो तर पीडाले झण्डै पत्थर बनिसकेकाले मेरो परेलीमै अाँसु सुक्थ्यो । केहिक्षण एकटक मलाई हेरेपछि उनी फेरी फकाउने श्वरमा भन्थिन् , ‘ मैले अघि भनेको कुरो मान्नुस् , है ! बरु तपाई नआउन्जेल म पर्खिबसुँला नि ! ! ! ’ उनलाई चुप लगाउन म औंलाले झ्यालतिर देखाउँदै भन्थें , ‘ त्यहाँबाट हाम फालुँ म ? ’ उनी अनायास मुख निन्याउरो पारेर पातला दस औला जोड्थिन् । म भने मुन्टो फर्काएर आफ्नो अनुहारको भाव लुकाउँथें ।
    मैले प्रियालाई असामान्य ढंगले अलि बढि नै माया गरेको महसुस भएर होला शायद केहि महिना पछि उनले भन्न थालिन् , ‘ अचेल तपाई अलिकति पनि झर्किनु हुन्न , मुख निन्याउरो पनि पार्नुहुन्न , सकेसम्म मलाई बढि स्याहार र माया गर्नुहुन्छ । मलाई थाहा छ , अब मेरो जानेबेला भइसक्यो । तर मेरो कुरा मान्नुपर्छ है ! म गए पछि । बरु म गएर पर्खिरहुँला । !
    शायद कुनै पनि बिरामी मानिसलाई आफ्नो तागत र शरीरको भित्री अवस्थाको ज्ञान भएको हुनुपर्छ । त्यसेले मैले सुनेथें कुनै कुनै मानिसले त आफुले श्वास छोड्ने दिन पहिल्यै घरका मान्छेहरुलाई , ‘ आज कोहि कतै नजाऊ , है ’ भन्ने गर्दछन् रे ।
    प्रियाको व्यवहारमा पनि अनौठो परिवर्तन आइरहेको थियो । उनी कहिले मलाई हामीले पहिलोपटक भेट्दा उनले लगाएको प्याजी रंगको कुर्ता लगाउन लगाएर मसंग तस्वीर खिचाउँथिन् , कहिले सुपारी दिँदा पठाइएको सगुनको दोपटा साडी लगाइदिन भन्थिन् ।
    उनलाई सिकिस्त अवस्थामा अस्पताल पु¥याउनु अघि उनकै करमा पिरो खुसार्नीको अचारसंग मैले उनले भनेजस्तै बफ मम पकाउर खुवाएको थिएँ । करिव करिब अर्धबेहोशीको हालतमा अस्ताल लग्दा उनले ट्याक्सीमा मेरो हात बेस्सरी समातेकी थिइन् । शायद अब केहि दिनमै छुटिने करिब करिब यकिन भएर होला उनले त्यस्तो गरेकी ।
    तर हरसिद्धिको क्यान्सर अस्पतालमा लाग्दै गर्दा नातागतको कारण उनी लगनखेल पुग्दासम्ममा मेरो हात राम्ररी समाउन नसक्ने भइसकेकी थिइन् । मैले नै उनको हात उठाएर आफ्नो मुटुनिर राखेथें । अस्पताल पुग्नै लाग्दा उनको मुखबाट अलिकति रगत निस्कि सकेको थियो । सास रहेसम्म आश भनेजस्तै उपचार जारी नै रह्यो ।
    दिन रात म एक्लै खट्नुको विकल्प थिएन् । साथीहरु र केहि नातेदार त मलाई एकछिन् सुताउन पालो फेरिदिन्थे । यस्तो अवस्थामा मैले आफ्नै अत्यन्तै नजिक भनाउँदाहरुको वास्तविक रुप देखें । केहि मद्धत माग्ला भनेर होलान् , प्रायशः तिनीहरु फोनै उठाउँदेनथे । झुक्केर फोन उठाइहाल्दा पनि अत्तालिँदै , ‘ के भयो ? केहि नराम्रो खवर त होइन ? ’ भनी सोध्ने गर्दथे । म रिसले दोहरो कुरै नगरी फोन काटिदिन्थें ।
    अस्पताल भर्ना गरेको २५ दिन बित्दा पनि प्रियाको स्थितीमा सुधार आउनु साटो झनझन खराव हुँदै गइरहेको थियो । म पनि लगातार खटाईको कारण कमजोर हुँदै गइरहेको थिए । यहाँ सम्म कि म सपनामा पनि आफु सुतिरहेको देख्थें । कहिलेकाहिं अवचेतन मनमा त मेरो आवाज सुनेर कहिलेकाहिंमात्र अलिकति जिउ चलमलाउने प्रियाले मुक्ति पाएपनि हुन्थ्यो जस्तो लाग्थ्यो । एकैछिनमा होश सम्भाल्दै म आफैलाई चिमोटथें र सराप्थें ।
    कहिलेकाहिं अलि होश खुलेकोबेला पनि प्रियाले मलाई भावविहिन तरिकाले नचिनेको मान्छेलाई जस्तो गरी हेर्दा म भित्रभित्रै बेस्सरी तडपिन्थें । मेरी प्रिया विस्तारै विस्तारे मरिरहेकी थिइन् । त्यत्रो अस्पताल , डाक्टरहरु र म लाचार भएर उनको अन्तिम श्वासको प्रतिक्षामा बस्न बाध्य थियौं । प्रियाले मलाई नै करिव करिव नचिन्ने भएकीले उनी अर्धलाश बनिसकेको प्रतित हुन्थ्यो ।
    अठाइसौंदिनमा रुटिन राउन्डमा आएका डाक्टर शाहले भन्नुभयो , ‘ इन्जेक्सन दिन नशा नै भेटाउन सकेनौं आज । हार्टबिट र पल्स रेट , ब्लड प्रेसर निकै लो छ , श्वास फेर्न गाह«ो देखिन्छ , भेन्टिलेटरमा राख्ने की ? ’ त्यति नै बेला पहिले फोन गर्दा नै नउठाउने जवान भान्जा भान्जीहरु तिनजना हस्याङ फस्याङ गर्दै आए , ‘ अस्ति देखि नै आउँछु , भनिराखेको, मामा ! हेर्नु न फुर्सतै भएन । आज त परे रगत पनि दिन्छुँ माइजुलाई भनेर आएको ! ’
    तिनीहरुको वाहियात नाटक र बडि ल्याँग्वेज बुझेर होला डाक्टर शाहले झर्किँदै तिनीहरुलाई हेर्दै भन्नुभयो , ‘ अहिले बिरामीलाई कुनै रगत सगत नचाहिने भइसक्यो , यस्तै अवस्था आइपरेमा तपाईंहरु आफैलाई धेरै काम लाग्छ , आ–आफ्नो रगत बचाएर राख्नुहोस् । ’
    मलाई पनि झण्डै किशोरावस्था सम्म त मामाघरकै दानापानीमा हुर्केका तिनीहरु देखि झनक्क रिस उठेको थियो । तर कुनै प्रतिक्रिया जनाइन । त्यस्तो प्रतिक्रिया जनाउने अवस्था पनि त थिएन । मैले शरीरमा कुनै तागत नहुँदा पनि मुक्ति पाउन नसकी हल्का श्वास फेर्न समेत सघर्ष गरिरहेकी प्रियालाई पुलुक्क हेरेर डाक्टर शाहलाई भेन्टिलेटरमा राख्ने अनुमति दिएँ ।
    तिन दिनपछि भेन्टिलेटरबाट निकाल्ने हो की फेरि सोधियो । म पनि निकै थाकिसकेको थिएँ । गन्तव्यहिन दौडमा । आराम चाहन्थें । पाए त दुईचार दिन सम्म लगातारै सुत्न चाहन्थें । मेरो मौनतालाई स्विकृती , सम्झियो । कागजातमा हस्ताक्षर गरिदिएँ ।
    प्रियाको अन्तिम यात्राभरि मैले प्रियाको विवाहको जन्ती सम्झिरहें । पशुपतिबाट घर आएपछि मृत्युपछि समवेदना दिनेको लश्कर कयौं दिन सम्म चलिरह्यो । केहि दिनसम्म त समय समयमा मलाई सपना हो की विपना जस्तो लागिरह्यो । अझै प्रिया खाटमै पल्टिरहेको जस्तो भान हुन्थ्यो । केहि दिन त अधिकांश सुतेरै बितेकाले खासै प्रियाको सम्झनाले त्यति दुखेन ।
    दिन बित्दै गयो । पुरा गर्नुपर्ने संस्कार पनि टाढिँदै गयो । दुख व्यक्त गर्नेहरु पनि आउन बन्द भयो । समयसंगै असमान्य जिन्दगी सामान्य बन्दै गयो । म पनि हाँस्न थाले , पहिला जस्तै बोल्नथाले । प्रकृतिको दिनरात क्रमशः निरन्तर बदलिरह्यो । एउटा फरक थियो , त्यो पनि नितान्त मेरो लागि, घरमा मसंग मेरी प्रिया थिइनन् । तस्वीर , भिडियो र मेरो दिल र दिमागमा मात्र उनी बाँचिरहेकी थिइन् ।
    चालिस मात्र नाघिसकेको भए पनि दोश्रो विवाह गर्ने मेरो मनशाय थिएन । प्रियाको पुरानो अनुनय विनय सम्झिनासाथ म दिमाग अकैंतिर मोड्थें । सकेसम्म आफुलाई व्यस्त राखेर प्रियाको यादबाट टाढिन मैले पुन व्यापार शुरु गरेँ । एकदुई वर्षभित्रै व्यापारले राम्रो गति लियो । साथीहरुको बाहेक अरुको ऋणबाट मुक्त भएँ ।
    पाँचवर्षपछि म आर्थिक रुपमा ढुक्कको अवस्थामा पुगेँ । आमा र अन्य नातेदारले भेट्ना साथ विवाहकै मात्र कुरा कोट्याएर हैरान गर्न थाले । हुनत् मानिसको माया र सम्झनाको आधार नै सामिप्य भन्ने गरेको साँचो रहेछ । प्रियाको तस्वीर , उनका पहिरन वा कुनै प्रसंग चल्दामात्र उनको याद आउने गर्न थाल्यो । अरुबेला उनलाई विस्तारै भुल्नथालेँ ।
    आखिर मानिस न परें , त्यो पनि भर्खरकै अधवैंशे । त्यो पनि पुरुष प्रधान समाजको एक पात्र । कुनै महिलालाई भए मेरै उमेरकै भएपनि कसैले पनि दोश्रो विवाह त के रंगीन लुगा लगाउनु भन्नु पनि सामाजिक अपराध थान्थे होलान् । भित्री मनमा कताकता ममा पनि एक साथीको अभाब खटकिन थाल्यो ।
    यौनस्वार्थका लागि भन्दा पनि बाँकी लामो जीवन तय गर्न एक साथीको जरुरत पनि थियो । त्यसैले पैंतिस वर्षिया सानुकोबारे कुरा चलाईदा मैले, ‘ आमालाई आफैं सोचेर जे मनलाग्छ, गर्नुहोस् ! ’ भनिदिएँ । सुटुक्क मन्दिरमा गएर थोरै साथीभाई र नातेदारको उपस्थितीमा सानुको सिउँदो भर्ने काम भयो ।
    मलाई खल्लो वा असजिलो हुनसक्ने शंकाले हुनुपर्छ फुपुकी छोरीहरुले प्रियासंग जोडिने सम्पुर्ण चिज कता हो कता लुकाईदिए । वास्तवमा मैले पनि भन्न मात्र नसकेको हो ति चिज हटुन भनेर । प्रियाकै पनि मेरो दोश्रो विवाहको इच्छा भएपनि मलाई भने आफुबाट नैतिक अपराध पो गरँे की जस्तो लागिरहेको थियो ।
    तर भुलेर हो वा कसैले छुने अाँटै गर्न नसकेर हो मेरो बेडरुमको भित्तामा प्रिया मुस्ुकराइरहेको तस्वीर जस्ताको त्यस्तै थियो । हनिमुनको रात मेरा आँखा छिनछिनमा चिप्लेर प्रियाको तस्वीरमा पर्न थाल्यो । अन्तत मैले आफ्नो खोलिएको पाइन्ट तस्वीरमा झुण्ड्याइ दिएँ । सानुले मेरो हरकत देखेर पनि नदेखेझैं गरिन् ।
    सोचें एक नारीले अर्को नारीलाई सम्मान गर्छिन् भनेको यहि होला । प्रत्येक रात मेरो पाइन्ट संगैको स्ट्यान्डमा नभई प्रियाको तस्वीरमा झुण्डिन थाल्यो । तर हिजो भने अनौठो भयो । जिरोवाटको बत्तीको प्रकाशमा पुर्ण अन्दाजीका साथ पाइन्ट झुण्डाउन खोज्दा दईपटक पाइन्ट भुँइमै झरेपछि अर्को वत्ती बालेँ । भित्ता खाली थियो । सानु निँदाएको जस्तो गरी आँखा चिम्लेर बसेकी थिइन् । सानुका आँखाको गाजल र बाक्लो आँेठमा आँखा टासिएपछि मेरो आँेठबाट कुनै शब्द झरेनन् । बरु हतार हतारमा ठूलो बत्ती निभाएँ ।
    भोलिपल्ट बिहान नुहाएर बरन्डामा बसेर चिया पिउँदै गर्दा फोहर उठाउने गाडा ढोका छेउ आइपुग्यो । हाम्रो घरको फोहरको ढ्वाँगबाट फोहर उठाएपछि केटाले ठेला लानै लाग्दा मेरा आँखा फोहर माथि प्रियाको तस्वीरमा प¥यो । ऐना फुटिसकेको रहेछ । मैले आफुलाई रोक्नै सकिन हात उठाएर त्यो केटालाई रोक्नै लागेको थिएँ ।
    पछाडिबाट सानुको आवाज सुनियो , ‘ सुन्नुस् , न के तरकारी पकाउँ ? ’ मेरो आवाज अचानक गलामै रोकियो । सानुको सुरिलो आवाजमा के जादु सुनेछुँ क्यारे । फर्केर उनलाई एकछिन हेर्दैगर्दा फोहर उठाउने गाडा मेरो घरबाट टाढिँदै गइसकेको थियो ।
    मनभित्र संधै त्यो दिनको घटना छटपटिको रुपमा उठिरहने भएकाले मैले आज ‘ दोश्रो विवाह गरी प्रियाको अनुरोध वा आफ्नो भौतिक स्वार्थ पुरा गरेँ ? ’ भन्ने प्रश्नको चित्तबुझ्दो जवाफ पाउन पाठकहरु समक्ष यसलाई कथाको रुपमा पेश गरेको छुँ ।

    ओमशंकर श्रेष्ठ–
    भिमसेनस्थान्, काठमाडौं
    [email protected]

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै