•            
    • Hikmat Dangol

    • १६ जेष्ठ २०७७, शुक्रबार २१:१४

    “मैले एक काल्पनिक प्रेमिका खड़ा गरेर लेखेको हुँ” – ओमशंकर श्रेष्ठ

    बहुमुखी प्रतिभाका धनी ओमशंकर श्रेष्ठ नेपाली गीतिकारितामा स्थापित नाम हो । धेरै जसो संगीतकारहरुले उनका शब्दसँग खेल्ने मौका पाइसकेका छन् ।अहिले सम्म सय भन्दा बढी गीत रेकर्ड गराई सक्नु भएका गीतकार, शिक्षक, लेखक, पत्रकार तथा कलाकार ओमशंकर श्रेष्ठका अरू पनि थुप्रै गीत रेकर्ड गर्न बॉकी होलान । तर यो संख्या उहॉलाई नै थाहा छैन। ओमशंकर भावनामा राम्ररी पौडी खेल्न सक्छन् । भावनासँग खेल्दा खेल्दै नेपाली गीतिकारितामा कुशल गीतकारको परिचय बनेको छ । प्रस्तुत छ , टोखा लाइभका लागि हिक्मत डंगोलले काठमाडौं निवासी गीतकार श्रेष्ठसंगको गरेको अन्तरवार्ता ।

    अचेल पाठकको ध्यान गीत, कविताभन्दा बढी आख्यानले तान्न थालेको भन्ने कुरा कत्तिको सत्य हो ?

    पाठकको ध्यान गति कविता भन्दा आख्यानले तान्न थालेको भन्ने नै हुन्न । साहित्य सिर्जनामा यि विधाहरु प्रतिको आकर्षणकौ खासै तुलना हुन्नन् कि जस्तो लाग्छ । किनभने मम , छोयला , पिज्जा , सुप वा कचिला होस् सबै खानाका परिकारको आफ्नै महत्व र अर्थ हुन्छन् । र ति परिकारपनि पारखीहरुले आफ्नो स्वाद र सौख अनुसार नै छान्छन् । त्यसैगरी गीत , कविता वा आख्यानका पनि आफ्नै खालका विशेष पाठकहरु अवश्य नै हुन्छन् जस्तो लाग्दछ ।

    हिजो आज लकडाउनले गर्दा गीत–कविताको मूल्यमा ह्रास आएको त सत्य हो ?

    कसैले लकडाउनको कारण गीत कविताको मूल्यमा कमि आएको सत्य हो भने पनि म आफ्नो तर्फबाट भने होइन भन्छुं । गीत कविताको पनि मुल्य होलान् र ! त्यो पनि पैसामा भन्ने कौतुहलता पनि धेरैलाई जाग्न सक्छ । हो , समाजमा जुनसुकै पैशालाई पनि अनुसाशित ढंगले व्यावशायिक बनाएर लैजान सकिन्छ । विं सं २०४७ देखि निरन्तर गीत लगायतका साहित्य सिर्जनामा लाग्दै आएको हुँ । तर एक जमानामा त नाम चलेकै गायकहरुलाई पनि आफुले बेतलबी बिदा लिएर पनि ट्रयाक सुनेकै भरमा सिंगै एल्वमका लाग वा केहि गीत लेखिदिन्थें । तर सित्तै पाउँदा सस्तो ठान्ने मानव स्वभाव हुँदो रहेछ । त्यसैले चर्चित चलचित्र निर्देशक राज शाक्यको कथानक चलचित्र ‘ तिमी बिनाको गीत ’ को त्यहि बोलमा शिर्ष गीत लेखिँदिँदा उहाँले मलाई पारिश्रमिक दिएर व्यावशायिकताको शुरुवात गरि दिनुभयो । र , त्यसलाई आज सम्म निरन्तरता दिँदै आएको छुँ । त्यो गीत राजेश पायल राइ र रिमा गुरुंगले गाउनु भएको थियो । लक डाउनकोबेला शौखकै लागि त मानिसहरु स्वतः स्फुर्त आफ्ना विभिन्न कला अनलाइनमा लाइभ भइरहेकाबेला व्यावशायिक दृष्टिकोणले यसको मूल्य घटेको म मान्दिन । तर बजारमा अहिले पैसा दिएर आफ्नो गीत गाउन लगाउने र आफ्नो गीत दिएर पैसा र सम्मान पनि लिने गरी दुईथरिका गीतकारहरु भने अवश्य छन् ।

    तपाईंलाई आफ्ना कुरा भन्न गीत नै किन चाहिन्छ ?

    यो प्रश्न मलाई निकै उत्कृष्ट र चित्त बुझ्दो लाग्यो । हो , अवश्य पनि मन भित्रको ज्यालामुखि विस्फोट गरी भावपूर्ण शब्दहरु मार्फत लाभा बाहिर फालेर शान्त बन्ने गर्छन् वास्तविक लेखकहरु । यसैक्रममा हालै लोकप्रिय कलाकार जिवित जल्मीले ‘ मनपर्ने आँखामा आँसु देखेर , ओंठका मुस्कान अलमलियो ’ भन्ने बोलको मेरो गीत आफ्नै श्वर र संगीतमा गाउनु भएको छ । त्यसका शब्दहरु मैले एक काल्पनिक प्रेमिका खडा गरेर लेखेको हुँ । कसैलाई प्रेमका कुराहरु राख्न आँट , औकात वा अवसर नमिलेपनि कल्पनालाई जिउँदो बनाएर लेखकहरु जिवन्त रोमान्समा बाँच्न सक्छन् जस्तो लाग्छ । म कुनैपनि बेला जस्तोसुकै मुडमा जस्तो विषयमा पनि तत्कालै गीत लेख्न सक्छुँ । मलाई यो सरस्वती माताको वरादानै जस्तो लाग्दछ । नेपालको नामुद ब्यान्ड ‘अनुप्रस्थ’ का फ्रन्टम्यान अर्थात गायक निरन शाहीले मलाई एउटा रेस्टुरेन्टमा भेटेर एउटा राष्ट्रभक्ति झल्किने गीत चाहियो भन्नुभयो । झोलामा राखिएको अखवार झिकें र विज्ञापन छापिएको अलि खाली स्थानमा खाका कोरें । उहाँले तुरुन्तै मनपराउनु भयो । त्यहि ‘ मलाई नेपाल स्वर्ग भन्दा प्यारो छ ’ बोलको गीतकै नाममा शायद उहाँहरुको एल्वम रिलिज हुँदैछ । यसको २ – डि एनिमेसन भिडियो पनि बनिसकेको सुन्छुं । त्यसैगरी पोजिटिभ भाइब्सका अध्यक्ष विकेश कायष्ठले मेरो गीत प्रवर्धनमा धेरै मद्धत गर्नुभएको छ । उहाँकै पहलमा मेरो गीत ‘ हामी फेरी उठनेछौं ’ मुक्ति शाक्य , रविन तामांग र अभाया सुव्वाले गाउनु भएको थियो । त्यो गीत इमेज टुवोर्ग अवार्डका लागि मनोनयनमा परेको थियो । कायष्ठजीकै सहयोगमा बुटवल स्थित ‘अमेध्यमं ’ ब्याण्डले पनि मेरा गीतहरु किनेर गाउनु भएको छ । उहाँहरुको म्युजिक भिडियो बनाउने काम लकडाउनकै कारण मात्र रोकिएको हो । अर्का गायक प्रविण बज्राचार्यले पनि मेरा चारवटा गीतमा संगीत तयार पारिसक्नु भएको छ , भोकल मात्र गर्न बाँकी अवस्थामा लकडाउन भो । उहाँको पनि ती गीतहरुको सुटिंग बैंककका गर्ने योजना रहेको छ । हालै मात्र जिवित जल्मीले गाउनु भएको मेरो गीत ‘ सम्झेर ल्याउँदा हरेक कुरा , जति पुरानो उति प्यारो ’ को म्युजिक भिडियो अमेरिकामा तयार भएर रिलिज भएको छ । सो म्युजिक भिडियो तयार पार्न सम्पूर्ण सहयोग गर्नुहुने मेरा अनन्य मित्र हिक्मत डंगोलका अनुसार त्यसमा पाँच हजार डलर खर्च भएको थियो । उहाँकै पहलमा हजारौ डलर खर्च गरी यसअघि पनि अमेरिकामै मेरो अर्को गीत ‘ आँखा मेरो नबोलिदिए रोजेर कोहि रुन्दैनन् ’ को म्युजिक भिडियो तयार भएको थियो ।

    एउटा राम्रो गीतको परिभाषा तपाईं दिन सक्नुहुन्छ ?

    राम्रा गीत भन्नाले शब्द देखि भावसम्म स्वतन्त्र ढंगले बाँचेको हुनुपर्छ जस्तो लाग्छ एउटा गीत भित्र । भाव मात्र भएर वा शब्दका अनुप्रास मात्र मिलाएर बनाइएका गीत पूर्ण हुन्नन् कि ! साथै एक गीत भित्र कल्पना र यथार्थताको तालमेल पनि राम्रै हुनुपर्छ जस्तो लाग्छ । मलाई पनि आफुले लेखेका सबै गीत त्यतिकै प्यारा छैनन् । व्यावशायिकताको हिसाबले हल्काफुल्का आइटम गीतहरु पनि लेख्नु पर्ने हुन्छ कहिलेकाहिं । तर केहि दर्जन मनपर्ने आफ्ना गीत मध्ये केहि समय अघि मुक्ति एन्ड रिभाइभल ब्यान्डद्वारा हिमालयन टेलिभिजन मार्फत रिलिज गरेको म्युजिक भिडियोको मेरो गीत ‘ बाँचेकै पो नमिलेको हो की या बाँच्नै जानिन ’। बोलको गीत पनि एक हो ।

    नयाँ ट्रेन्ड पछ्याउने लालसाकै कारण गीत वा संगीतमा नयाँ प्रयोगका नाममा नक्कलले प्रश्रय पाइरहेको हो ?

    पक्कै पनि नयाँ पिढिको छनौट र चहाना अनुसार गीत संगीतलाई नयाँ ढंगले प्रस्तुत गरी निरन्तरता दिनु नै पर्दछ । त्यसो भन्नाले गीत र संगीतका सम्पूर्ण पक्षलाई क्रितिम र अत्याधुनिक प्रविधिले मात्र सिंगार्न खोज्दा हाम्रो देशको परम्परागत कला संस्कृति र मौलिकतामा आँच आउन सक्छ । त्यसरी पूर्ण रुपमा उच्चारण समेत विदेशी शैलीकै गीतहरु बनाउनु र सुन्नुभन्दा त अलिकति पनि अस्वाभाविकता नझल्कने बरु विदेशी गीतै सुन्दा भइहाल्यो नि , होइन र ? प्रविण भाइले मेरो एउटा गीतमा अहिले हाम्रो नेवारहरुको पहिचान झल्काउने धिमेवाजाको भरपुर प्रयोग गर्नु भएको थाहा पाउँदा निकै खुशी लागेको छ । तर गीतको भाव हेरी कुनै कुनैमा नक्कलले प्रश्रय पाउनु पनि विशेषगरी फिल्म क्षेत्रको बाध्यता बनेको जस्तो लाग्छ ।

    के तपाईं प्रेममा असफल भएर गीत लेखनमाला लाग्नु भएको हो?

    प्रेमलाई कसरी हेर्ने हो भन्ने सबैका आ–आफ्नै तरिकाहरु हुन सक्छन् । तर म भन्छुँ प्रेम भन्नेकुरा युद्ध जस्तै हो । त्यहाँ हारजित र सफलता वा असफलता भन्ने शब्दहरु प्रेम र युद्धको कथा वा इतिहास कोर्ने वा लेख्ने व्यक्तिबाट आउने कुरा हुन् । किनभने प्रेमको सफलता वा असफलताको चित्त बुझ्दो परिभाषा के त ? प्रेमि प्रेमिकाले प्रेम गरी त्यसलाई विवाहको रुप दिनुसक्नु मात्र सफल प्रेमको परिभाषा हो त ? अथवा दुनियाँमा भौतिक रुपमा हात समाएर हिँड्ने जोडीहरु मात्र सफल छन् त ? संगै जिवन बिताउनेहरु पनि एक अर्कालाई कति ठग्छन , झुठो बोल्छन् , लुकीलुकी विवाहोत्तर सम्बन्ध बनाउँछन् भन्ने कुरा दुनियाँमा तपाईं हामीले देखेका र सुनेका छैनौं र ! हारजितको डर दोहरो प्रेममा हुन्छ होला पनि तर एकहोरो प्रेममा त संधै एकहोरो जित हुन्छ नि ! ( हा….हा .. हैन यो ठटामात्र गरेको हुँ । तर कुनै प्रेमको अस्तित्व र निरन्तरताका लागि शारिरीक आकषर्ण भने हुनैपर्छ भन्ने चाहिं मेरो अत्यन्तै निजी सोचोई छ है ।

    एउटा गीत लेखे वापत कति सम्म पारिश्रमिक लिनु भएको छ?

    एउटा गीत लेखेवापत यति नै दिनुपर्छ भनी मैले मूल्य तोकेर पैसा माग्ने गरेको छैन । किनभने सिर्जनाको कुनै मुल्य नै हुन्न । तैपनि गीतको अवमुल्यन नहोस् भनेर मात्र मैले पैसा लिने गरेको हुँ । सित्तैमा पाएको चिज हामीलाई कस्तो लाग्छ र त्यसलाइ कति सम्म वेवास्ता गर्छौं एकचोटि आफैं सोचौं , न । तर मलाई सम्मानका साथ गायक , गायिका र ब्यान्डहरुले अपेक्षा गरेभन्दा बढि नै भुक्तानी गर्नुुहन्छ । संगीतकार , गायक र संगीत संयाजकले पैसा लिनुहुन्छ भने गितकारले लिनुहुन्न भन्ने प्रश्नै पनि हुन्न । तर अवश्यपनि गीतको गुणस्तर भने हुनै पर्छ । त्यसैले पनि गीत रिकर्ड भइसकेपछि मात्र मेरो हातमा पैसा पुग्छ ।

    पत्रकारिता र अध्यापन संगसंगै गीतको लेखन कार्यलाई कसरी लैजानु भएको छ?

    पत्रकारिता मेरो २६ वर्ष पूरा भइसकेकछ भने अध्यापनले ३३ वर्ष काटिसकेको अवस्था छ । तर यि दुई पेशाले अन्य समकालिन सहकर्मिको तुलनामा मलाई अझै अपेक्षित उपलब्धि दिएको छैन । र , वास्तवमा अपेक्षा राखेरै अघि बढेको पनि छैन भौतिक रुपमा । तर आत्मसम्मान र सम्बन्धित पक्ष र सरोकारवालाहरुबाट पाउने सम्मान भने पैसाले किनिनसक्नु छ । ड्ड म गीत बाहेक कविता, कथा, उपन्यास, फिल्मको स्क्रिप्ट पनि लेख्छुं नेपाल भाषा , नेपाली र अंग्रेजीमा पनि । यसको अलावा अनुवादमा पनि कलम चलाएको छुं । रत्नपुस्तक भण्डार लगायतका अन्य प्रकासन संस्थाबाट मेरा करिव दुई दर्जन अनुवादित कृति बजारमा ल्याएका छन् ।

    तपाईंको गीतहरू किन धेरै जसो भावुक हुन्छ?

    गीतहरु मेरा मात्र होइन सबैका भावुकै हुनुपर्छ , होइन , र ? भाव बोक्ने गीतहरुलाइ त भाबुक गीत भनिन्छन् नि । नेपालको गीत संगीत क्षेत्रका कलाकारहरुले बोल्दा प्रायश नाम नछुटाउने व्यक्ति ओम विक्रम बिष्टले तारिफ गर्नुहुँदा भने साँच्चिकै म आफै निकै भावुक बनेथें । हाल अमेरिकामा बस्नुहुने उहाँले मेरा तीनवटा गीत कम्पोज गर्नु भइसक्यो । केहि दिन अघि मात्र शब्दहरु अलि मिलाउन उहाँले फोन गर्नुभएको थियो । उहाँले एकदिन मलाई ‘ भाइ हाम्रो चिनजान अलि पहिल्यै भएको भए म तिम्रै मात्र गीत गाउँथे । ’ भन्नु भएकोबेला मैले पहिलो पटक यो क्षेत्रमा लागेर धन्य भएको महशुस गरेथें ।

    मैले सोधेको वाहेक अरू केही भन्न मन लागेको छ ?

    अन्त्यमा मैले आफैंले सित्तैमा लेखि दिएको गीतहरुमाथि मैले स्वामित्व जनाउँदा नाक ठुस्स पार्ने र मेरै पनि गीत गाएर पटकपटक विदेश घुम्ने तथा कुनै अन्तवार्ता दिँदा सकेसम्म मेरो नामै उच्चारण गर्न नरुचाउने कुनै गायक देख्दा भने अचम्मै लाग्छ । तैपनि केहि छैन , मानविय सोच र संस्कारको कुरा हो । साथै अन्य थुप्रै प्रशंकहरुबाट अपार माया र सम्मान पाउँदा खुशी लाग्छ । आदरणिय प्रशंसकहरुको माया पाइरहुँ भन्ने कामना गर्दछुं । अँ …. मैले अलि अलि अभिनय पनि गर्दछुँ चलचित्रमा । अहिले सम्ममा ‘गोमा ’ , ‘जामन गुभाजु ’ , ‘ पैसाको लागि ’ र ‘ हिजो आजको कुरा , दि फिल्म ’ मा अभिनय गरिसकें । लकडाउन पछि अन्य फिल्मको पनि सुटिंगको तयारी छ ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै