•            
    • Sanu Raj Dangol

    • १५ जेष्ठ २०७७, बिहीबार १३:१८

    सलह किरा रोकथाममा सरकारको तयारी:-

    काठमाडौं : सलह किराको रोकथाम तथा नियन्त्रणका लागि अध्ययन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्राविधिक समिति गठन गरेको छ । अफ्रिकी मुलुकबाट अरेबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको सलह किरा नेपालमा समेत आउने सम्भावना बढेको छ ।
    यससँगै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उक्त किराबाट नेपालमा हुनसक्ने क्षति र रोकथामको विषयमा अध्ययन गर्न प्राविधिक समिति गठन गरेको हो । मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. हरिबहादुर केसीले नेपालमा सलह किरा आउन सक्ने सम्भावना उच्च रहेकोले त्यसको रोकथाम कसरी गर्ने भन्ने विषयमा अध्ययन गर्न समिति गठन गरिएको बताए ।

    उनले प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुखको अध्यक्षतामा कृषि वैज्ञानिक र प्राविधिकहरु सम्मिलित समिति गठन गरिएको बताए । उनले भने, ‘हामीले त्यसको पूर्व तयारी पहिलो आउने कि नआउने जोखिम कति हो भनेर विश्लेषण गर्नुपर्ने हुन्छ र आएको अवस्थामा गर्नुपर्ने कामहरु त्यसको पूर्वतयारी गर्नुपर्छ । त्यसको लागि हामीले एउटा प्राविधिक समिति बनाएका छौं । त्यो प्राविधिक समितिले अहिले अध्ययन गर्दै छ । भारतबाट नेपालमा आउन सक्ने सम्भावना कति हो ? आउन सक्ने सम्भावना छ भने त्यसको लागि हामीले गर्ने तयारी के के हुन् ? त्यसका लागि विभिन्न विषादीहरुको उपलब्धताको कुरा हुनसक्छ, उपकरणहरुको कुरा हुनसक्छ ती कुरा हामीसँग छन की छैनन् ? पहिला त्यो के चिज हो र त्यसको उपलब्धता तथा परिचालन कसरी हुन्छ भन्ने कुराको बारेमा तयारी गर्न प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुखको अध्यक्षतामा नेपालमा उपलब्ध वैज्ञानिकहरु, प्राविधिकहरुको टीम बनाइएको छ । त्यो टीमले काम सुरु गरेको छ । त्यसले गरेको कामका आधारमा मन्त्रालयले के गर्नुपर्छ त्यो तयारी गर्दै जान्छ ।’

    सलह किरा फट्याङ्ग्रा वर्गको किरा हो । संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनले यो किराको नाम सलह (LOCUST) प्लेग दिएको छ । सलहको वैज्ञानिक नाम Schistocerca Gregaria हो । यो किरा समुहमा बस्छ र कृषि बालिमा अमेरिकी फौजी किराले भन्दा बढी क्षति पुर्‍याउँछ । सलह किरा करोडौंको संख्यामा हुन्छन् । यो किराले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठ समेत गरी खाइदिन सक्छ ।

    यस्तै एक दिनमा १ सय ५० किलोमिटर भन्दा बढी टाढा सम्म पुग्न सक्छन् । यो किरा भारतको राजस्थान हुँदै दिल्ली तथा आग्राको क्षेत्रसम्म आइपुगेको छ । नेपालमा पनि सूदुरपस्चिम प्रदेश र प्रदेश नम्बर पाँचमा सबैभन्दा पहिला आउन सक्ने अनुमान मन्त्रालयले गरेको छ । त्यसको लागि प्रदेश सरकारका सम्बन्धित मन्त्रालयहरुलाई जानकारी गराइसकेको प्रवक्त केसीले बताए । उनले सलह किराको नियन्त्रणका लागि विषादी प्रयोग गर्नुको विकल्प नहुने बताए । त्यसैले विषादीको उपलब्धता र त्यसको प्रयोग गर्ने उपकरणको उपलब्धताको तयारीको प्रक्रियामा मन्त्रालय लागि सकेको उनले बताए ।

    मन्त्रालयले सलह किराको आक्रमण र यसको जोखिम तथा रोकथामको बारेमा मिडिया मार्फत किसानहरुलाई जानकारी दिने तयारी समेत थालेको प्रवक्ता केसीले बताए । यो किराको प्रकोप खासगरी जेठ महिनादेखि असोज सम्म हुने गर्छ । जलवायु परिवर्तन र वातावरणमा भएको सुख्खापनले सलह किराको जनसंख्या बढेको अन्तर्राष्ट्रिय कृषि वैज्ञानिकहरुले बताउँदै आएका छन् । नेपाल लगायत संसारका सबै भूभागमा वातावरणीय परिवर्तन हुँदा न्यानो बढेकोले यो किराको जीवनचक्रमा परिवर्तन आएको विज्ञहरु बताउँछन् ।
    जेठ १४ मध्यान्ह दैनिकमा प्रकाशित

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै