•            
    • TOKHA LIVE

    • ३ जेष्ठ २०७७, शनिबार १२:०५

    म कोरोना पोजेटिभ छु, तपाईंहरू चिन्ता नलिनुस्

    पेसाले म पत्रकार, कोभिड– १९ को संक्रमण चलिरहेको समयमा आम नागरिकमा सत्यतथ्य सूचना सम्प्रेषण गर्नु मेरो काम । २०६३ सालदेखि यो पेशामा आबद्ध भएको हुँ ।

    ६ वर्षदेखि वीरगञ्जमा छु । वीरगञ्ज पछिल्ला दिनमा कोरोनाको इपिसेन्टर बनेको छ । नेपालको नम्बर एक अनलाइनखबरमा आबद्ध कामको चाप बढी हुनु स्वाभाविक हो । तपाईंहरू अनलाइनखबरलाई भरोसा गर्नुहुन्छ । त्यो भरोसाको केही हिस्सा पूरा गर्ने जिम्मेवारी मेरो काँधमा छ नै । त्यही जिम्मेवारी पूरा गर्ने क्रममा ‘फ्रन्टलाइन’मा खटिएको हो ।

    श्रीमती कल्पनाजी बाहिर धेरै नजानु भनेर कराउनुहुन्थ्यो । कोठामा छोरा सुक्रिश पनि भएकोले सावधानी अपनाउन अरूले पनि भन्थे । बाहिर जाँदा विश्व स्वास्थ्य संगठनले भनेजस्तै गर्न नसकेपनि स्वास्थ्य सचेतना अपनाएकै हो । बाहिरबाट आउँदा धारामा साबुन पानीले बेस्सरी हात धोएर मात्र कोठामा पस्थेँ ।

    तीन जना भारतीय जमातीमा कोरोना संक्रमण देखिएसँगै वीरगञ्जमा कोरोना भाइरस संक्रमणको जोखिम बढेको हो । संक्रमित थपिँदै गए, म पनि निरन्तर आफ्नो काममा खटिरहेँ । संक्रमितको संख्या बढ्दै जाँदा जोखिमसँगै जिम्मेवारी पनि बढी रहेको थियो ।

    कोरोना संक्रमित चार जना निको भएर घर फर्कने दिन वैशाख १४ गते अस्पताल परिसरमा पत्रकारको निकै भिड थियो । त्यो भिडमा म पनि थिएँ, ठाउँ पाएसम्म दुरी बनाएरै बसेको हो ।

    त्यसपछि वैशाख २७ गते शनिबार जितपुरस्थित नेपाली सेनाको २८ नम्बर बाहिनीमा पार्क शिलान्यास कार्यक्रममा गएँ । त्यही हुँदा एक जनामा कोरोना संक्रमण पुष्टि भएको सूचना पाएँ । कोठामा फर्केर त्यो समाचार लेखेँ । उनी १८ जना संक्रमितको सम्पर्कमा आएका किराना पसलका सञ्चालक थिए ।

    पार्कको समाचार लेख्नै थियो, एक जना दाइले फोन गरेर हाम्रो पनि स्वाब दिएर आऔं भन्नुभयो । अस्पतालमा बुझ्दा स्वाब संकलन गर्ने स्टाफ सबै फिल्ड गएको थाहा भयो । मैले ती दाइलाई एक घण्टामा जाऔं भने । तर, उहाँ मान्नुभएन, गाडी लिएर आइपुग्नुभयो । हामीले वीरगञ्ज–२ ईनर्वा चोकमा पहिलो र दोस्रो नम्बरमा स्वाब दियौं ।

    त्यसपछि नियमित काममा लागियो । रिपोर्टबारे उस्तो ध्यान पनि गएन । आएपछि खबर आइहाल्छ भन्ने भयो ।

    आइतबार दिउँसो पत्रकार तिवारी यादवलाई प्रहरीले गरेको दुव्र्यवहारको घटना बाहिर आयो । दाइ अघि नै प्रहरी कार्यालय पुग्नुभएको रहेछ । म पनि पुगेँ । त्यहाँ पत्रकारको भिड थियो । म सकेसम्म अलग नै बसेँ । सोमबार बिहान पानी परे पनि घण्टाघरको धर्नामा सहभागी भइयो ।

    मंगलबार बिहान १० बजेदेखि घण्टाघरमा पत्रकार महासंघको प्रदर्शन र ११ बजे प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउन गइयो । त्यसपछि आदर्शनगरको सिटी मार्टमा केही सामान किनेर कोठा फर्केँ ।

    लकडाउन भएदेखि खाना अबेला खाने गरिएको छ । सुक्रिशको अनलाइन पढाइ भइरहेको छ । ह्वाट्सएपमा आउने होमवर्क गर्ने र फोटो खिचेर पठाउने गरिएको छ । अघिल्लो दिन रिडिङ गर्न पठाएका थिए, त्यो रेकर्ड गरेर पठाएँ ।

    त्यसपछि पत्रकारको आन्दोलनको समाचार लेखेर खाना खानै लाग्दा अनलाइनखबरले पर्साका ३९ सहित ५७ जना नयाँ संक्रमित देखिएको समाचार दिइसकेको रहेछ । त्यसलाई सेयर गरेर थप केही जानकारी मिल्छ कि भनेर स्रोतहरूसँग कुरा गर्ने प्रयास गर्दै थिएँ । काठमाडौं अफिसबाट राजकुमार श्रेष्ठ सरले पर्सामा संक्रमित बढे, जोगिएर काम गर्नु, होसियारीपूर्वक थप विवरण पठाउनु भन्नुभयो ।

    त्यो काममा म अघिदेखि लागि सकेको थिएँ । तर, कसैको फोन उठिरहेको थिएन । साढे एक बजे नारायणी अस्पतालका डा. उदय नारायण सिंहले फोन रिसिभ गर्नुभयो । उहाँसँग नयाँ सूचना थिएन ।

    दुई बजे मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले फोन उठाउनासाथ ‘आज तपाईंले जे बोल्यो, त्यही समाचार हुने हुनेवाला छ डाक्सा’प’ भने । उहाँ मज्जाले मीठो हाँसो हाँस्नुभयो । कोभिड–१९ को रिपोर्टिङकै क्रममा उहाँसँग चिनजान भएको हो ।

    डा. उपाध्यायकै नेतृत्वमा नारायणी अस्पतालमा कोभिड–१९ विरुद्वको युद्ध सञ्चालनमा छ । प्रदेश २ मा नारायणीले आफ्नै प्रयासमा यो सेवा थालेको हो । अरूले पछि सहयोग गरेका हुन् । उहाँको हाँसो रोकिएपछि मैले समाचार कोट्याउन थालेँ ।

    ‘नयाँ संक्रमितहरू कहाँ–कहाँका रहेछन्, सर ?’

    उताबाट जवाफ आयो, ‘तपाईं तयार भएर छुट्टै बस्नुस्, भित्र जानुपर्छ ।’

    ‘म पनि ?’

    ‘हो ।’

    ‘गज्जब छ !’

    अनायासै मेरो मुखबाट फुत्कियो, कुरो गज्जबवाला थिएन ।

    उहाँले फेरि भन्नुभयो, ‘तपाईं आईसोलेसनमा आउन तयार भएर बस्नुस्, थप कुरा म बुझ्दैछु ।’

    समाचार बन्न लायक सूचनाको लागि छटपटिरहेको मलाई बुढा जिस्कन पो थाले कि भन्ने लाग्न थाल्यो । तर, विषय जिस्कने खालको थिएन । फोन बन्द गरेर नयाँ कुरा कल्पना र सुक्रिशलाई सुनाएँ । सुरुमा नीलोकालो अनुहार लगाएकी कल्पनाले एकैक्षणमा भन्नुभयो, ‘केही हुन्न बुढा, तपाईंलाई तातोपानी खुवाएरै ठिक पार्छु ।’

    सानै भएकोले सुक्रिशले यो कुरामा खासै ध्यान दिएन ।

    त्यही बेला गंगा पन्त एसपी सा’पको फोन आयो । उहाँले सोध्नुभयो, ‘रिपोर्ट थाहा पाउनुभयो ?’

    त्यतिञ्जेलसम्म अवस्था पूरै सामान्य बनिसकेको मैले भने, ‘डाक्टर सा’पले जोक गर्नुभएजस्तो लागे’थ्यो, तपाईंको फोन आएपछि कुरा पक्का भयो ।’

    उहाँले भन्नुभयो, ‘तपाईंको रिपोर्ट पोजेटिभ आएको छ, जति गाली गरेपनि भनेँ है !’

    वीरगञ्जमा पत्रकार–प्रहरी द्वन्द्व चलेको बेला पनि एसपी पन्तले मेरो बारेमा चासो राखेर फोन गरेकोमा खुसी लाग्यो ।

    त्यसपछि बसेको घर, अफिस र नजिककालाई आफ्नोबारे जानकारी गराउँदै थिएँ, बाहिर हल्ला फैलिइसकेछ । धेरैतिरबाट तारम्तार फोन आउन थाल्यो ।

    अधिकांशले मेरो मनोबल बढाउन खोजे । तातोपानी, बेसार पानी खान सल्लाह दिए । फोन उठाउन भ्याइनभ्याइ भएपछि फेसबुकमा म ठिकठाक छु भनेर लेख्दासम्म पनि झन् फोन आइरह्यो ।

    म फोन उठाउँदै आइसोलेसनमा जान तयार भएँ, अस्पतालबाट टोली आउन समय लाग्यो । पौने ९ बजे नारायणी अस्पताल पुगियो । मलाई सीधै  पहिले गाइनो वार्ड रहेको आइसोलेसन  वार्डमा लगे । तीन कोठामध्ये एउटामा ७ र दुईटामा ८–८ बेड तयार पारिएको रहेछ । दिउँसैदेखि सामान ठिक पार्दा पनि सिरानी छुटेछ ।

    तयारी अवस्थामा रहेको आइसोलेसन वार्डमा पुग्नेबित्तिकै हात धुन धारा खोल्दा पानी आएन । पानी नआएपछि अस्पतालका चिनेका स्टाफलाई फोन गरियो । उनले अर्को नम्बर दिए । त्यसमा डायल गर्दा केही क्षणमा धारा खोलेर सँगै राखिएका बाल्टिन र जगहरू पनि भरेर राख्न भनियो ।

    फिल्टरमा पानी हालेको, चुहिने रहेछ । केही पर खाली रहेको वार्डको फिल्टर ल्याएर हेर्‍यौं, त्यो पनि चुहिने रहेछ । फिल्टर गरेर पानी खान नसकिने निश्चित भएपछि हार खाएर बस्यौं । खोल च्यातिएर नाङ्गिन लागको मेरो बेड चाहिँ कोठाबाट ल्याएको तन्ना हालेपछि गजबको देखियो ।

    बेडसँगै झुल, नुहाउने, लुगा धुने साबुन, टुथ पेस्ट, ब्रसलगायत व्यक्तिगत सरसफाइका समानहरू थिए । १० बजे खाना आयो । दाल–भात र तरकारी हुनुपर्नेमा मेरो भागमा तरकारी मात्र परेछ, तर पिरो । सबै खान सकिन ।

    फोन आउने क्रम रोकिएको थिएन । टाउको दुखेको भए पनि, दिक्क लागेपनि सकेसम्म सबै कल रिसिभ गर्ने कोसिस गरेँ । ११ बजेतिर सुत्नै लाग्दा अरू संक्रमितलाई धमाधम ल्याउन थाले । हल्लाले सुत्न सकिएन ।

    आधा रातमा ट्वाइलेट गएको, प्यानमा एउटा माउसुली फसेको रहेछ । आफू कोरोना भाइरसको महामारीमा फसेको छु । मलाई लाग्यो– मभन्दा यो माउसुली भाइ बढी जोखिममा छ । त्यसैले, पहिला त्यसको उद्दार गरेर, आफू हल्का भएँ अनि फर्केर बेडमा घुर्न थालेँ ।

    आइसोलेसन वार्डमा आज तेस्रो दिन हो । सब ठिकठाक छ । ठिकठाकै निस्कन्छु । बेठिक चाहिँ के भयो भने, कहाँनेर सानो लापरबाही भएर यतिका दिन आइसोलेसनमा थन्किन पर्‍यो । समाचारको लागि चारचौरास गरिहिँड्ने पत्रकारलाई जति अरू कसलाई थाहा होला, आइसोलेसन वार्डमा कुँजिनुको पिडा !

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै