•            
    • TOKHA LIVE

    • ३ जेष्ठ २०७७, शनिबार ११:५९

    काठमाडौं प्रवेश गर्न भनसुन ! पास भिरेर आएकामा भेटियो संक्रमण

    ३१ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएकी मच्छेगाउँ, काठमाडौंकी महिला सोमबार मात्र निजी सवारीसाधनमार्फत काठमाडौं प्रवेश गरिन् । कञ्चनपुरको वेदकोटकी अवकाश प्राप्त सशस्त्र प्रहरी जवान उनी देवरको व्रतबन्धका लागि घर गएकी थिइन् ।

    फर्किएपछि सशस्त्र प्रहरी अस्पतालमा हवल्दार रहेका पतिले कोरोना परीक्षण गर्न सुझाए । त्यहीअनुसार टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल गएर स्वाब दिएकी उनको मंगलबार राति कोरोना भाइरस ‘पोजेटिभ’ रहेको नतिजा आयो ।

    सशस्त्र प्रहरी बल स्रोतका अनुसार उनी जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरले जारी गरेको सवारी पास भएको गाडीमा नागढुंगासम्म आएकी थिइन् ।

    भक्तपुरकी २५ वर्षीया कोरोना संक्रमित युवती पनि सोमबारै सुनसरीको रामधुनी नगरपालिका, झुम्काबाट फर्किएको खुलेको छ। सवारी पास भएको काकाको गाडीमा भक्तपुर आइपुगेकी थिइन् ।

    दुवै प्रतिनिधिमूलक घटना हुन् र यसले के देखाउँछ भने लकडाउनको समयमा पास बनाएर वा लुकिछिपी काठमाडौं उपत्यका प्रवेश गरेका अरूमा पनि कोरोना भाइरसको संक्रमण हुन सक्छ ।

    प्रहरीको तथ्यांकअनुसार मंगलबार मात्र उपत्यका प्रवेश गर्ने नाका नागढुंगाबाट ५८ वटा सवारीसाधन फर्काइए । तीमध्ये ५ वटा ट्रक र ५ वटा ट्यांकर पनि थिए ।

    सोमबार फर्काएका ६६ सवारीसाधनमध्ये १९ वटा ट्याकंर, ट्रक र बस थिए । ‘ट्यांकर र खाद्यान्न, निर्माण सेवालगायतका ट्रकले पनि मान्छे बोकेपछि फर्काएका हौं’, महानगरीय प्रहरी वृत्त, नागढुंगाका प्रमुख डीएसपी घनश्याम श्रेष्ठ भन्छन्, ‘पास नहुनेसहित दैनिक ५०/६० वटा गाडी फर्काइरहेका हुन्छौं ।’

    खतराको घण्टी

    मंगलबार मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा ‘काठमाडौंमा पनि लकडाउन छ र ?’ भन्दै प्रश्न गरेका थिए । त्यसपछि बल्ल सुरक्षा निकाय तातेको छ ।

    मंगलबार नै गृह मन्त्रालयका सचिव महेश्वर न्यौपाने, नेपाल प्रहरी प्रमुख आईजीपी ठाकुरप्रसाद ज्ञवाली, उपत्यका प्रहरी प्रमुख डीआईजी विश्वराज पोखरेललगायतले नागढुंगा नाकाको निरीक्षण पनि गरे । तर, त्यही दिन थानकोट, फर्पिङ र जगाती नाकाबाट मात्र पाँच हजार बढी सर्वसाधारण उपत्यका भित्रिएको रिपोर्ट गृह मन्त्रालयसम्म पुगेको छ ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै