•            
    • TOKHA LIVE

    • ३ जेष्ठ २०७७, शनिबार ११:५५

    गण्डकी प्रदेश : ग्रिन जोन कि भयावहको पर्खाइमा ?

    ३१ वैशाख, पोखरा । कामका लागि भारतको कर्नाटक पुगेका एक युवक १२ दिन लगाएर मंगलबार पोखरा आइपुगे । भारतमा कति ठाउँमा हिँडे, कतै प्रहरीलाई पैसा दिँदै गाडी चढे र उनी नेपाल छिरे । नेपाल छिरेपछि उनी तरकारी बोक्ने गाडी चढेर पोखरा भित्रिए ।

    युवक फर्किएको स्थानीयबासीले थाहा पाए र प्रहरीलाई खबर गरे । प्रहरी पुग्दानपुग्दै उनले छतबाट हाम फाले । अहिले उपचार गराइरहेका युवकको स्वाब परीक्षणका लागि पठाउने र क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको छ ।

    केही दिनअघि यसरी नै भारतदेखि एक युवक गोरखाको गोरखकाली रबर उद्योगसम्म आइपुगे । उनी गण्डकी प्रदेशको नाका मुग्लिनबाट छिर्न नसक्ने ठानेपछि कुरिनटारबाट झोलुंगे पुल तरेर जंगलको बाटो हिँड्दै रबर उद्योग पुग्दा स्थानीयले देखेका थिए ।

    दुई दिनअघि झापाबाट केही मानिस लेकसाइडमा आए । झापाको स्थानीय प्रशासनले दिएको पास लिएर लेकसाइडका एक होटल सञ्चालकसहितको टोली पोखरा आएको थिएका थिए ।

    बागलुङमा भेटिएका दुई जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमित निको भएपछि सुरक्षित भनिएको गण्डकी प्रदेशभित्र लकडाउन केही खुकुलो बनाइएको छ । प्रदेश सरकारले सुरक्षा मापदण्ड पालना गरेर अत्यावश्यक उद्योग, विकास निर्माण र कृषि उत्पादन सुरु गर्ने निर्णय गरेको छ । यसले बजारमा चहलपहल मात्र बढेको छैन भारत र अन्य प्रदेशबाट गण्डकी प्रदेश भित्रनेको संख्या पनि बढिरहेको छ ।

    कोही भारतदेखि त कोही अन्य सवारी पास बोकेर गण्डकी प्रदेशका विभिन्न जिल्ला पुगेका छन् ।

    लकडाउनकै बेला बागलुङबाट पोखरा हुँदै पर्सामा पुगेका १४ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यसले ग्रिन जोन भनिएको गण्डकीमा जोखिम बढेको सरोकारवाला बताउँछन् । नेपालमा कोरोनाको संक्रमणको संख्या तीव्र गतिमा बढिरहेका बेला गण्डकी प्रदेश प्रवेश नरोकिँदा बढी जोखिम बढेको डा. श्रीकृष्ण श्रेष्ठ बताउँछन् ।

    ‘गण्डकीमा कोरोना देखिए पनि निको भइसक्यो । त्यो हिसाबले गण्डकी प्रदेश अहिलेसम्म सुरक्षित नै देखिन्छ । तर यसो भनेर ढुक्क बस्ने अवस्था छैन,’ डा. श्रेष्ठले भने, ‘भोलि भयावह अवस्था आउन सक्छ । बाहिरबाट आउनेको पहिचान गर्न र टेस्ट तथा क्वारेन्टाइनमा राख्न नसके भोलि परिस्थिति असामान्य हुन सक्छ ।’

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै