•            
    • Hikmat Dangol

    • २१ भाद्र २०७७, आईतवार १३:१९

    पुस्तक (एक कथा) •विश्वेश्वरप्रसाद कोईराला

    कोसीको बाढीले एउटा जिल्ला जम्मै बगायो । मानिसहरू कति बगे, कति भोकभोकै मरे । रोग व्याधि फिँजियो । ती असहायका सहायताका लागि सरकारबाट मद्दत पुग्यो र अरू संस्थाहरूले पनि स्वयंसेवक पठाए । म पनि स्वयंसेवकको दल लिएर एउटा गाउँमा पुगेँ । साथमा कुइनेन्, क्लोरोडाइन, पोटास पर्मेगनेट इत्यादि औषधि थिए ।


    बनारसबाट हिँड्दा हामीहरूले सारा प्लान छलफल गरिसकेका थियौँ । एउटा इलाकामा पुगेर त्यहाँका गाउँगाउँमा गई औषधि बाँड्ने, प्रत्येकले आफूलाई चाहिने कुरा लिएर हिँड्नुपथ्र्यो । मैले औषधि त लिएँ, झुल पनि बोकेँ तर दुर्भाग्यवश पुस्तक लिन बिर्सेछु ।

    इलाकाका इलाका पानीमा थियो । पानीबाट माथि उठेका झारहरूमा फट्याङ्ग्रा, कमिला र अरू सानासाना कीराले आश्रय लिएका थिए । एक–दुई नडुबेका अग्ला ठाउँमा लोग्नेमानिस, स्वास्नीमानिस, बाल, बालिकाहरू कमिलैसरह स्याउँस्याउँती थिए । रोग र भोकले व्याकुल ती किसानहरू उभिन नसकेर त्यसै जथाभावी लडिरहेका थिए, चितामा सुतेका जस्ता । तिनीहरूमध्ये कतिले सुत्तासुत्तै अन्तिम सास फेरिसकेका थिए तर नजिकै टाँसिएर सुतेका अरू अझै बाँचिरहेकालाई यो कुरा थाहै थिएन । एउटा बान्ता गर्दागर्दै पानीनेर मुन्टो गाडेर पछारियो । बेलाबेलामा मर्नुभन्दा पहिले निर्धक्क भएर चिच्याएको कुकुरजस्तो क्रन्दन सुनिन्थ्यो । यो त मैले त्यो ठाउँको वर्णन गरेँ, जुन ठाउँ बाढीको सबभन्दा ठूलो प्रकोपमा परेको थियो । सरकारको विज्ञप्तिमा यो ठाउँमा प्रायः १० हजार मान्छे मरेको सूचना थियो ।

    हामीहरूले यसैलाई आफ्नो क्षेत्र छान्यौं । यही ठाउँमा कम्मर कसेर काममा लाग्यौँ । हाम्रो मुख्य काम थियो मरिसकेकाको संस्कारको प्रबन्ध गर्नु, बाँचेकाको पेटमा अन्न पार्नु र रोगीलाई औषधि र पथ्य दिनु । मरिसकेकालाई हामीले छुट्यायौँ । बाँचेकामध्ये पनि रोगी र निरोगीलाई छुट्यायौँ । नजिकैको गाउँसम्म बोकेर लैजान सक्नेलाई बोकेर पुर्यायौँ र त्यहीँ उसको खाने र औषधिको प्रबन्ध गर्‍यौँ । अरूलाई त्यहीँ बाँधमै खानेकुराहरू पुर्याउन थाल्यौँ । धेरैलाई यसरी बचायौँ भन्ने विश्वासले हामी दिनरात केही नमानेर भोकतिर्खाको वास्ता नगरेर मिहिनेत गरिरह्यौँ ।

    बिस्तार बिस्तार त्यस ढिस्काबाट अन्तिम मान्छेलाई लग्यौँ । बाढी पनि कम हुँदै गयो । पानीमा तीव्रता थिएन, थाकेर नजानिँदो हिँडाइले बगिरहेको थियो । पहिले गरेको उत्पातलाई बिर्सन सक्यौँ भने अहिलेको पानीको दृश्य रमाइलो नै थियो, कुनै तालजस्तो । हामीहरूको काम पनि सिद्धियो, हाम्रो जानेबखत भयो । यत्रो मिचामिचपछि अहिलेको शान्तिले हामीलाई उद्विग्न पार्‍यो । केही काम थिएन । काम नपाएर बस्ता बस्ता असाध्य गाह्रो हुँदोरहेछ । मेरा साथीहरू धेरै फर्किसकेका थिए । अरूचाहिँ अरू–अरू गाउँमा छ्यापछ्याप्ती थिए ।

    म अहिले एक्लै सानो गाउँमा थिएँ । दुई–तीन दिनमा सारा साथी यहीँ भेला हुन्छन् अनि सँगसँगै फर्कने निश्चय भएको थियो । म काम नपाएर त्यसै बसिरहेको थिएँ । गाउँमा एक प्रकारको शान्ति हुन्छ, जसले हामीजस्ता सहरियाहरूको मस्तिष्कमा र हृदयमा गह्रौं भएर थिच्छ । एउटा चरो यताउति यो हाँगोदेखि ऊ हाँगो गरिरहेको थियो । यसले एकान्तको भीषणता झन् थपिदिन्थ्यो ।

    म एउटा बूढो खेतालाको अतिथि थिएँ । जामुनाको बोटमुनि डोरीको खाट हालेको थियो, त्यसैमा पल्टेर म दिन काट्ने प्रयत्न गरिरहेको थिएँ । आफ्नो कृतज्ञता प्रकट गर्न त्यो बूढो उठ्थ्यो र हात जोडेर उभिइरहन्थ्यो ।

    मैले केही गर्न सकिनँ भनेर त्यो आएर ठिङ्ग उभियो । बाढीले भएका गाई–वस्तुहरू बगाएर लग्यो । दूधदही केही छैन ।

    मैले त्यसको सोझो आतिथ्यले गदगद भएर भनेँ– “बूढा, तिमीले मलाई आफ्नो आतिथ्यले सधैँको निम्ति ऋणी पार्यौ । मलाई सबै कुरा पुगेको छ ।”

    त्यो बूढो किन मान्थ्यो, “यो गाउँ त्यति गरिब त होइन बाबु, यो बाढीले सबै कुरा बगाएर लग्यो, नत्र कसैलाई एक पेट खान र आए–गएकालाई खुवाउन पुगेको थियो । मेरै दूध दिने दुईवटा गाई बगेर गए । मलाई आफूलाई के चाहिएको थियो र, बूढो भएँ, मर्ने बखत भयो । आए–गएकालाई गर्न नसक्ता दुःख हुन्छ । ऊ छँदा सह थियो, त्यो पनि मरेर गई ।”

    बूढो चुप्प लाग्यो । मैले कुहिनाले टेकेर यसो आफ्नो टाउको उठाएर त्यसलाई हेरिरहेँ । त्यो बूढो बिस्तारै आफ्नो छाप्रोपट्टि लाग्यो औं एकछिनपछि छाप्राका दैलामा आएर बस्यो ।

    म फेरि उँधो मुन्टो लाएर जामुनाका पात गन्न थालेँ । अल्छी लागिरहेको थियो । हाई–हाई आउँथ्यो । आज बेलुकासम्म एक–दुई साथी आइपुग्छन् क्यारे । टाढासम्म जहाँ दृष्टि पुग्थ्यो एकनाश पानी थियो । सूर्यको प्रकाश त्यसमा टलमल टलमल गरिरहेको थियो, असाध्य पट्टयारलाग्दो । मैले पुस्तक ल्याउन बिर्सेछु, नत्र समय सजिलैसँग काटिन्थ्यो । कहिलेकाहीँ घरको सम्झना हुन्छ । त्यो बूढो एक्लै छाप्रोको दैलानेर टुक्रुक्क बसेर एकनासले एकातिर हेरिरहेको थियो । मेरो बानी जहाँ हिँड्दा पनि एक–दुई पुस्तक बोक्ने छ । यसपाला बिर्सेछु । रोम्याँ रोलाँको जिनक्राइस्टोफर पढ्ने इच्छा थियो । एक–दुई अध्याय पढिसकेको पनि थिएँ । आजकल त्यो पुस्तकको खुप् नाम छ । पुस्तक सम्झेर म झन् छटपट गर्न थालेँ । अब झन् समय बिताउन गाह्रो भयो । कुनै पुस्तक भए पनि यसो अक्षर हेरेर समय काट्दो हुँ । यहाँ मूर्ख देहातमा के पुस्तक पाइन्थ्यो । म कहिले उठ्थेँ, कहिले बस्थेँ र कहिले निश्चल भएर सुत्थेँ । बूढाले धेरै बेरसम्म मलाई हेरिरह्यो । मेरो छटपटी थाहा पाएर त्यो फेरि मनेर आयो र उभियो ।

    मैले भनेँ, “बूढा, कसरी दिन काट्ने ?”

    बूढाले भन्यो, “खोइ केही काम छैन । डुल्न जाऊँ भने चारैतिर पानी नै पानी छ, नत्र यहाँ डुल्न त खुब रमाइलो ठाउँ थियो । ऊ त्यो सल्लाको रूखनेर पोखरी थियो ।”

    मैले भनेँ, “पुस्तक भए पनि बसीबसी पढिरहने थिएँ ।”

    बूढाको अनुहार उज्यालो भयो, “एउटा पुस्तक त मसँग छ । हरिहरले मर्ने साल कहाँबाट लिएर आएको थियो ।”

    त्यो पुस्तक लिन छाप्रोभित्र पस्यो । मेरो अलिक उत्साह बढ्यो । राम्रो पुस्तकको त मैले आशा नै गरेको थिइनँ, तर कुनै साधारण कथाको पुस्तक भए पनि अक्षर त हेर्न पाइन्थ्यो । साँझसम्म कोही साथी पनि आइपुग्लान् ।

    कालो ध्वाँसो लागेको पातलो पुस्तकाकारको एउटा कुरो लिएर त्यो बूढो मनेर आयो । मलाई त्यो कुरा दिँदै भन्न थाल्यो, “हरिहर, मेरो छोराले मर्ने साल यो लिएर आएको थियो । त्यो बडो बाठो थियो । पुस्तक पढ्थ्यो । जैले पनि यसैलाई हेरिरहन्थ्यो । मलाई त्यसको धेरै आशा थियो । दैवले चटक्क चुँडेर लगे । मैले त्यसको मायाले यसलाई छानामा घुसारी राखेको थिएँ । आज छोराले ल्याएको काम लाग्यो ।”

    बूढाले हात जोरेर भनिरह्यो । म मुन्टो गाडेर त्यसले ल्याएको पुस्तकलाई हेरिरहेको थिएँ । डाक्टर एस. के. बम्र्मन (डाबर) को १९२६ सालको सूचीपत्र थियो । दमका निमित्त श्वासारी, मलेरियाका निमित्त जूडीताप….।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै