दार्चुला- दार्चुलामा थप तीन जना महिलामा स्क्रब टाइफसको संक्रमण देखिएको छ। जिल्लाको महाकाली नगरपालिकाकामा २ महिला र मालिकार्जुन गाउँपालिकाकामा १ महिलामा स्क्रब टाइफसको संक्रमण देखिएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी एवं सिनियर अहेब डम्बर दत्त भट्टले जानकारी दिए।
आइतबार जिल्लामा ५ जनामा स्क्रब टाइफस देखिएको थियो। यसअघि महाकाली नगरपालिकाकामा १ पुरुष, मालिकार्जुन गाउँपालिकाकामा २ जना महिला र १ पुरुष र ब्याँस गाउँपालिकाका १ जना पुरुषमा स्क्रब टाइफसको सङ्क्रमण देखा परेको सूचना अधिकारी भट्टले बताए। योसँगै दार्चुलामा स्क्रब टाइफसको संक्रमित संख्या ८ पुगेको छ।
आइतबार संक्रमण देखिएकामध्ये १ जनालाई धनगढी रेफर गरिएको छ भने १ जनालाई जिल्ला अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ। बाँकी ३ जनामा रोगका सामान्य लक्षण भएका कारण डिस्चार्ज गरिएको उनले बताए। परजीवी जातको भुसुना (किर्ना) ले टोकेमा स्क्रब टाइफस लाग्ने स्वास्थ्यकर्मीहरुले बताएका छन्।
स्क्रब टाइफसको संक्रमण भएमा किर्नाले टोकेको वरिपरि शरीरमा रातो बिमिरा देखापर्ने, अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, मांसपेसी दुख्ने, पाचन प्रक्रियामा गडबडी हुने लगायतका लक्षण देखापर्ने भट्टको भनाइ छ।
रोगको संक्रमण रोक्न किटाणु सार्ने माइटको सम्पर्कबाट टाढा रहनु नै प्रमुख रोकथाम भएको उनले बताए। किर्नाको टोकाइबाट बच्न घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाडीमा जाँदा शरीर ढाक्ने कपडा लगाउने, लामो बुट लगाउने, हातमा पन्जा लगाउने र त्यहाँ बस्दा केही ओछ्याएर मात्रै बस्नुपर्ने सूचना अधिकारी भट्टले जानकारी दिए।