•बाबुराम घिमिरे PHD SCHOLAR
१. राजा कागको अर्ति
(बुबाले सुनाउनुभएको कथा) काग एक चतुर प्राणी हो |
राजा काग सबैभन्दा वृद्ध अवस्थामा पुग्नलाग्दा, भावी सन्ततिको बारेमा उसलाई चिन्ता लागेछ | एउटा बृहद भेला गरेर, सबैलाई एकै ठाउँमा बोलाई, अब म मर्ने बेला भयो, म तिमीहरुलाई अन्तिममा एउटा अर्ति दिएर मर्न चाहन्छु भनेछ | सबै दोस्रो तहका कागहरु स्तब्ध भएछन् | एउटा नातिकागले भनेछ के होला हजुरबा? हजुरबाले भनेछन्, यी मान्छेहरु हामीहरु चरेको नजिकै आएर नियुरीए भने, कराउँदै उड्डी हाल्नु पर्दछ | अरूले पनि संगै संकेतलाई बुझ्नुपर्दछ | मान्छेहरुले ढुंगा टिपेर हामीलाई हान्दछन् | मान्छेहरूको उद्देश्य हामीले मार्नु हुनेछ | सबैले हो भनेर मुन्टो हल्लाई रहेका बेला, पुनः एउटा पनाति कागले, प्रतिप्रश्न गर्दै, हजुरबा ढुङ्गा पहिल्यै पोल्टामा हालेर ल्याएको भए के गर्ने ? भनेछ | राजा काग वृद्ध अवस्थाको कारण नतमस्तक भएछ, तिमीहरु म भन्दा बढी जान्ने रहेछौ | ज्ञान पनि समयअनुसार बदलिँदो रहेछ भन्ने मैले बल्ल थाहा पाएँ भन्दै, अब बाँकी कुरा आफै विचार गर भनेछ |
२. बूढी आमैको दर्शन
(आमाले सुनाउनु भएको कथा) एउटी बूढी आमैका दुई भाइ छोराहरू थिए | उनले दुवै भाइ लाई बराबर माया गर्थिन् | एउटा भाई कृषक थियो, भने अर्को भाई पढ्दै थियो, पढ्ने चाहिँ अति मेहनती थियो | आमै पढेको र नपढेको दुवै भाइ लाई बराबर खान दिन चाहन्छिन् तर त्यस्तो हुँदैन थियो | किसान ले थपि थपि खान्थ्यो बेलैमा सुत्ने र उठ्ने गर्दथ्यो | पढेको भाई खान समयमा खाएन, समयमा पनि उठेन र खाने बेलामा सँधै केही भन्दैन थियो तर खान चाहँदैन थियो | आमाले दिन- दिन आफ्नो छोराहरुलाई भित्रबाट याद गर्दै जाँदा, पढेको छोरा काम केही गरेको छैन, तर पातलो, लिखुरे, किसान छोरो सधै खुसी र पुष्ट छ | कोदालो, हलो जोत्यो, तर उसको हात खुट्टा ज्यान सधै फुर्तिलो देखिन्छ | घरगाउँमा नाचगान, पूजापाठ कहिँ छुटेको छैन, सबैको चाहनाको पात्रछ | आमैलाई चिन्ता पर्यो किन यस्तो ? आमैले विचार गर्दै जाँदा, एउटा प्रयोग गर्नु गर्नुभयो | दुवै भाइ लाई खाना खुवाएर सुताइ सके पछि गुच्चा जत्रो नौनी डल्लाहरू दुवैका छातिमा राखि दिनु भयो | जतिबेला दुवै निदाइसकेका थिए | पढेको छोराको छातीबाट नौनी पग्लन सुरु गर्यो तर किसान छोरोको छातीमा डल्लो बसिरह्यो पग्लिएन, आमाले ध्यानपूर्वक हेर्नुभयो | आमा निष्कर्षमा पुग्नुभो कि कृषि गर्नुभन्दा पढ्नको गाह्रो रहेछ: शारीरिक परिश्रम भन्दा मानसिक परिश्रम बढी कठिन हुँदोरहेछ |
३.बिचरा बले
(सत्य घटना) २०४३ साल चैत्र महिना हुनुपर्छ, प्रथम श्रेणीमा एस.एल.सी. पास भयो बलबहादुर गुरुङ | त्यसबेला कसैले पनि हाम्रो क्षेत्रमै प्रथम श्रेणीमा उत्तीर्ण गरेको थिएन | उसले स्कुल पढ्दा बुझेको रहेछ, प्रथम श्रेणीमा उत्तीर्ण भए पछि डाक्टर भइन्छ | औषधि गर्ने डाक्टर, प्रथम श्रेणी, सोहीअनुसार खुशीको सीमा रहेन | बुवालाई त्यो प्रकारको खुशीको केही पत्तो नै थिएन | सामान्य किसान थिए बले पास भयो भनेको सुनेका थिए त्यति मात्र | अहिले जस्तो सस्तो प्रथम श्रेणी थिएन त्यतिबेला | ओल्लो पल्लो घरे भक्तबहादुर भने फेल भयो | यी दुबै मेरा घनिष्ट साथी हुन्, गुच्चा खेल्ने साथी | भक्त बहादुर लाई सबैले गाली गरे फेल भइस् भनेर | तर भक्त बहादुर हासि रह्यो | तर बलबहादुर खुसीको सिमामा नै रहेन, उसले बुबालाई सुत्नेबेलामा बुबा म त काठमाडौ गएर डाक्टर बन्ने भनेछ | बुवा सामान्य किसान थिए, पेट पाल्ने सम्म गुजारा चल्थ्यो | बुवाले सोधेछन् डाक्टर पढ्न कति पैसा लाग्छ ? तलाई थाहा छ? बलबहादुरले थाहा छैन भनेछ | मेरो घरबारि सबै बेचेर सकेर पनि भर्ना गर्न सक्दैन, पढ्ने त परै कुरा भनेर मुखमा लोपारी दिएछन्, रिसाएर होइन सामान्य रुपमा | बिचरा बुबा सोझा गुरुङ जातिका हलो जोतेर खाने मान्छे हुन् | बल बहादुर लाई भने अति खपिनसक्नु पीडा भएछ | भोलिपल्टको खनायो को बोटमा झुण्डिएको अवस्थामा फेला पर्यो | उता भक्तबहादुर सँग मेरो बेला बेला मा भेट हुन्छ, किसान छ, खुशी नै छ | हामी बच्चा बेला देखिको गुच्चा खेल्ने साथी, कुरा गर्छौं हामी, प्रथम श्रेणी नआएको भए बलबहादुर मर्दैन थियो | सानो लहरामा ठूलो फल लाग्नु पनि अभिसाप रहेछ , बिचरा बले |
४. …,,,,,ले धर्म छोडेपछि !
(सत्य घटना, यो परिवर्तित नाम हो) बलबहादुर गुरुङको मृत्युपछि, २०४४ साल कुरा हो | अर्को साथी, यो सन्तबहादुर गुरुङ अति गम्भीर प्रकृतिको साथि थियो | साहित्यप्रति पनि उत्तिकै चासो | सानैदेखि कविताहरू, कथाहरु लेखनी सुनाउने गर्दथ्यो | उ अरूभन्दा फरक मान्छे हो भन्ने मलाई लाग्दथ्यो | हामी आठ कक्षादेखि सँगै पढेका, एस.एल.सी. पास भइसकेपछि उ काठमाडौ आयो र एउटा पर्यटकको गेष्टहाउसमा वेटरको काम सुरु गर्यो ठमेलमा | त्यतिबेला उनको विवाह भइसके थियो, लाहुरे बुबाको निर्णयमा | उ जागिर खान नभई क्याम्पस पढ्न आएको थियो, मन भित्रैदेखि | उ अति लगनशील, गलत भनेकै अहिलेसम्म गरेको छैन | बोली बचन यस्तै नरम, जसलाई पनि हात जोडेर नमस्कार गर्न जानेको, ठुलो ब्राह्मण गाउँको बीचमा केही घरमात्र गुरुङहरुको बसोबास गर्दछन् | केही फरक थिएन जातिगत रुपमा अचम्मै मिलेर बसेका थियौं हामी | बुवा लाहुरे हो आर्थिक पनि त्यति ठूलो समस्या थिएन, तैपनि उ सानैदेखि इमानी | काम गर्छु बुबालाई आर्थिकरुपमा बोझ दिन्न, भन्ने सोचाइ राख्दथ्यो | श्रीमतीः केही वर्ष बढी उमेरको, चञ्चले स्वभावको थिइन | श्रीमतीले आफू काठमाडौँ जाने भनिसकेपछि, आफ्नै काम गर्ने गेष्टहाउसमा श्रीमतीलाई बेडहरु मिलाउने/ सफागर्ने जागिर लगाइदिए | त्यसको दुई तीन महिनापछि सन्तबहादुर बहुलायो | नभेटेको दशौं वर्ष भयो त्योभन्दा अगाडि सुस्त, औषधि लठ्ठिएको सन्त बहादुरको अवस्थामा देखिन्थ्यो | यहाँ सम्मको सबै सत्य कुराहरु हुन्, आफ्नै आखाले देखेका भोगेका |
सन्त बहादुर कसरी वौलायो त भन्ने प्रश्न उठ्नु स्वभाविकै भयो | केही अनुमानित, केही सुनेका कुराहरु पनि छन् | श्रीमती आफूसँगै काम गर्ने भइसकेपछि खाना लिएर कुनै पाहुनाको रुममा जादै थियो सन्त बहादुर, अर्को कुनै कोठामा आफ्नो श्रीमती को जस्तै चप्पल र साहूको जुत्ता संगै देख्यो | उ खासै त्यस्तो शंकालु व्यक्ति पनि थिएन | ढोका बिस्तारै धकल्दा, चुक्कुल लगाइएको रहेछ | अलि ठुलो आवाज निकालेर ढकढक गर्यो, ढोका खोल्न आफ्नै श्रीमती नग्न अवस्थामा आएको, उसको आफ्नै आँखाले देख्यो र त्यसपछि वौलायो भनिन्छ | जुन कुरा, स्टाफहरुलाई धेरै पहिलादेखि थाहा रहेछ |…….ले धर्म छोडेपछि जति हाते साडीलाए पनि के गर्नु र? बावै भनेको बल्लपो याद आयो | धेरै सोझो हुनु पनि ! राम्रो होइन रहेछ |
५. जुनेली रातमा घामले पोल्ने उकालो
मानिसको जीवनमा जिउने आफ्ना आफ्नै प्रकारका कलाहरु हुन्छन् | कोही गला कला प्रयोग गर्छन् गीतबाट, कोही गला कला प्रयोग गर्छन् नेता हुन्छन भाषणबाट, कोही गला कला प्रयोग गर्छन् पढाउँछन् जागिर खान्छन्, कोही बाहुबलको प्रयोग गर्छन् हातै प्रयोग गरेर भएपनि अरुलाई मारेर खान्छन् | कोही अल्लो भएर कमाउँछन्, कोही होचो भएर कमाउँछन् | कोही देख्ने भएर कमाउँछन्, कोही नदेख्ने भएर कमाउँछन् | झमककुमारी घिमिरे ले खुट्टाले लेखेर मदन पुरस्कार प्राप्त गरिन् | साथै सभासद्हरु आफ्नो निर्बाचन स्थलमै नभई गर्न चुनाव जित्छन् भूमिगत अवस्थामा | यी संसद भवन भित्र छिर्छन्, भूमिगत अवस्थामा | यिनीहरुका व्यापार, जागिर, कुनै व्यवसाय छैन तर कमाउँछन् रमाउँछन् उतिकै | सबै कला हुन् थरिथरिका |
खिल प्रसाद शर्मा, मलाई सबैभन्दा मनपर्ने शिक्षक, उहाँको पढाउने शैली मनपर्ने मलाई | सबैजसो विषयमा बराबर दख्खल राख्ने व्यक्ति, अहिले धेरैले विश्वास गर्न सक्दैनन् | त्यस्तो पढाइ छैन अहिले | उहाँको अर्को एउटा शैली थियो गर्ने गफ गर्ने शैलि | आफू कहिल्यै नहाँसी, अरूको हासोमा आनन्द सँग रमाउने, हास्दा उहाँको आवाज बाहिर नआउने हावा मात्रको अनौठो स्वर निक्लने, उहाँले हाँसेपछि, अरुलाई पनि हाँसो लाग्नै पर्ने | तारिफ गरी नसक्नुको शैली | यहाँ उल्लेख गर्न लागेको एउटा उकालीको हो, फिस्लिङ भन्ने ठाउँ उकालो |
काठमाडौं/ चितवन बाट करिब-करिब तीन घण्टा यात्रा गरिसकेपछि पुगिन्छ, फिस्लिङ i पृथ्वी राजमार्गलाई छोडेर झोलुङ्गे पुल तरेपछि गोर्खा जिल्ला पट्टी लाग्दा अरु तीन घन्टा हिँडेपछि श्री भगवती मा. वि. पुगिन्छ जहाँ मैले मेरो विद्यार्थी जीवन बिताए | अनि शिक्षण पनि १० वर्ष गर्ने सुअवसर प्राप्त गरे | गढै, रमतेल चौतारो, आरिडाँडा, आधामारा स्थानहरु पुरै भर्याङ चढे जस्तो उकालो थियो | भर्खरभर्खर TV किनेको रहेछ घरमा, बच्चाले हेरेपछि TV बिग्रिदो रहेछ भनेर गफ गर्नुहुन्थ्यो | भनेजस्तै, मेरा गुरु खिल प्रसाद शर्मा ज्यु ले व्याख्या गर्नुभएको हो यो जुनेली रात म पनि पुरै घामले पोल्ने उकालो, भनेर उपमा दिनु भएको हो |
६. नारायण पुजा: नेपाली बर्णमाला किताबबाट
(सत्य घटना) (यो, म उहाँको विद्यार्थी हुँदाको अनुभूति गरिरहेछु) २०३४ सालतिरको कुरो हुनुपर्छ, प्रधानाध्यापक टीकादत्त शर्मा थिए | उनी पण्डितका छोरा हुन्, टाढा- टाढा गाउँबाट उनलाई नारायण पुजा, पुराण, एकाहा, सप्ताह,नवाह आदि आदि कार्यक्रम हुँदा बोलाउन आउँछन् | एक ठाउँमा मात्रै छ कि, धेरै ठाउँमा छ, घर भएको तिर हो कि, फरक तिर हो उनी विचार गर्छन् | त्यहीअनुसारको बजे मिलाएर परिस्थिति मिलाउँछन् | काम सकेर स्कुल आउन पनि सक्छन, नआई त्यतैबाट घर जान पनि सक्छन् | धेरैजसो उनी त्यतैबाट घर जान्छन् | बिहानै पनि उनले यो कर्म गरी भ्याएका हुन्छन् | बेलुकासम्म उनको चलिरहेको हुन्छ यो कर्मकाण्डी |
यो परिस्थिति यस्तो घर गरेर बसेको थियो कि, मानौं प्रधानपञ्चले रोक्न चाहेपनि पनि सम्भव थिएन | किनकि उनलाई साथ नदिने कु नै गाउँले नै थिएनन्, सबैका प्यारा उनी, रसिला उनी, हासिल उनी, मिजासिला उनी | सबैका कक्ष उन्नति गरेर प्यारा पनि उनी नै , अहिलेको यतिखेरको सरकारको नीति उनले उतिखेरै लागू गरिसकेका थिए, सबै पास, दूरदर्शी पनि उनै | एउटा नयाँपुस्ता यि गतिविधिहरुलाई निकै नियालेर हेरिरहेको थियो |गाउँमा अलि क्रान्तिकारी स्वभावका पनि थिए केहि केहि | तर तिनलाई समाज र सरकारले निकै उल्टो निगरानी गरिरहेको थियो | त्यसैले ती क्रान्तिकारीहरु सिधेे विरोध गर्न सक्दैन थिए | घुमाइफिराइ नाटकबाट, गीतबाट अनेक तरिकाहरु अपनाउँदै थिए | क्रान्तिकारीहरूको एउटा टिम शिक्षक बनिसकेको थियो भित्र-भित्र |
(अग्रजहरूले गफगर्दा सुनेको ) उहाँ ५ कक्षा पढेर हेडमास्टर हुनुभाको अरे | पछि ८ कक्षा पढेको आउनु भएपछि उहाँ खुसि हुनु भएन रे | त्यसपछि slc गरेर आएपछि पढाइको स्तर धेरै सुध्रिदै थियो | उहाँको दैनिकी परिवर्तन हुनेवाला थिएन | उहाँको दैनिकी परिवर्तन हुनेवाला थिएन | क्रान्तिकारी भनिने शिक्षक त्यही पढाउँछ उनैका बाउले टीकादत्तलाई लगेर घरमा पुजा लगाउँछन् | यो विधि कसैले तह लाउन सक्दै नसक्ने भएर गरिरहेको थियो | उनको एउटै कला थियो सबैलाई नमस्कार गर्ने मिठो बोल्ने बाटोमा पनि बोलाउने सन्चो बिसन्चो सबै तिथिमिति आफै भन्ने |
(यतिबेला म कलेज पढ्ने भइसकेको थियो थिए) शिक्षक साथीहरुलाई पनि साह्रै उकुसमुकुस भइरहेको थियो | स्कुल छोड्ने, नपढाउने सरलाई मान्नु पर्ने,भएपछि शिक्षकहरूको पनि एउटा टिम बीचमा सल्लाह भएछ | एकदिन बिहान हाँजिर गरेपछि सत्य नारायणको पूजा लाउन जाने तर्खरमा गर्न थाल्नुभयो | त्यो थाहा पाएर एकातर्फी साथीले अलमल गराउनुभयो, अर्कोथरी साथीले त्यो किताब नेपाली बर्णमालाको किताब बदलिदिएर रातो रुमाल भित्र पो पारिदिनुभयो | जब पूजा शुरु भयो खोलेर हेर्दा नेपाली बर्णमालाको किताब रहेछ, मन मनले सत्तोसराप गरे पण्डित बाजेले | पूजा सकेर आउनु भो र भोलि खोजतलास गर्दा हाँसोको फोहोरा छुट्यो | कसले हो साटेको पत्तो भएन किनकि त्यो क्रान्तिकारी कदम थियो, कारवाही हुन्थ्यो | (म सोही विद्यालयमा शिक्षकको भइसकेपछि ) उक्त कुरा मैले २०५३ सालमा थाहापाए र २०७७ सालमा स्मरण गरेर, यसलाई संकलन गरेर लेख्दैछु | आखिर सत्य नारायण को पुजा, नेपाली बर्णमाला किताबबाट भएरै छाडे छाड्यो |