•            
    • TOKHA LIVE

    • १२ भाद्र २०७७, शुक्रबार १८:१५

    बन्द रहेको जनमैत्री अस्पताल खुल्ने, कोभिड अस्पतालको रुपमा विकास गर्ने निर्णय:-

    टाेखा लाइभ
    भाद्र१२ काठमाडौं । हाल बन्द अवस्थामा रहेको काठमाडौंको बालाजुमा रहेको जनमैत्री अस्पताल सञ्चालनमा आउने भएको छ । व्यवस्थापनको कमजोरीका कारण विगत केही वर्षयता बन्द अवस्थामा रहेको अस्पताल पुनः सञ्चालनमा आउने भएको छ । जसअनुसार सरकारले तत्काल कोभिड अस्पतालको रुपमा विकास गर्ने भएको छ ।

    शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनमैत्रीसहित तीन अस्पताललाई कोभिड १९ अस्पतालका रुपमा सूचीकृत गरेको बताए । जसमा जनमैत्रीसहित काठमाडौँकै कान्तिपुर अस्पताल र वीरगञ्जको नेशनल मेडिकल कलेज टिचिङ अस्पतार रहेका छन् ।

    हाल बन्द अवस्थामा रहेको जनमैत्री अस्पताललाई कोभिड अस्पतालको रुपमा विकास गर्न काठमाडौं महानगरपालिका र महानगरपालिकाको वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालले पहल गरेका थिए ।

    मुकुन्द रिजाल

    गत साउन २९ मा महानगरपालिकाको तर्फबाट वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालले अस्पताल व्यवस्थापनलाई पत्राचार गर्दै अस्पताल सञ्चालन गर्न आग्रह गरेका थिए ।

    अस्पताल सञ्चालन गर्न आग्रह गर्दै प्रेषित पत्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौंलगायतलाई पनि बोधार्थ गरिएको थियो । महानगरकै पहल र चासोमा सरकारले कोभिड अस्पतालका रुपमा सूचीकृत गरेको हो । अहिले कोभिड अस्पताल हुने र निकट भविष्यमा पूर्णरुपमा अस्पताल सञ्चालनमा आउने रिजालले बताए ।

    अत्याधुनिक भवन र ३०० शैया क्षमता भएको अस्पताल सञ्चालनमा आउने भएसँगै बढ्दो कोरोनाभाइरस जोखिम न्यूनीकरणमा सहयोग पुग्ने अध्यक्ष रिजालले विश्वास व्यक्त गरे ।

    कुनै बेला राजधानीको चर्चितमध्ये एक अस्पताल जनमैत्री अहिले प्रयोगविहीन अवस्थामा पुग्दै गर्दा फेरि सञ्चालनमा आउने भएको हो ।
    मन्त्रालयले कोरोना उपचारका लागि केन्द्रीय अस्पतालमा एक हजार बेड, प्रादेशिक अस्पतालमा एकहजार नौ सय ५७ र ६४९ पालिकामा हरेकमा ५ बेडका अस्पतालका दरले ३ हजार २४५ वेड थप गरेको समेत छ । मन्त्रालयले यो जनशक्तिसहितको भौतिक पूर्वाधार थप गरेको जनाएको हो ।–लोकपथ डटकमबाट

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै