एजेंसी । च्याम्पियन्स लिगको फाइनलमा पहिलो पटक पुगेको फ्रेन्च क्लव पेरिस सेन्ट जर्मेन पराजित भएपछि फ्रान्सको राजधानी पेरिसमा आगो बल्यो । पीएसजीले जर्मन क्लव बायर्न म्युनिखसँग हारेपछि फ्रान्सको पेरिसमा समर्थक र पुलिसबीच हिंस्रक झडप भयो । पेरिसको च्याम्प्स एलिसी क्षेत्रमा फाइनल खेल हेरिरहेका फ्यानलाई हटाउन पुलिसले बल प्रयोग गर्यो । यहाँ रहेका फ्यानले न मास्क लगाएका थिए न सामाजिक दूरी पाना गरेका थिए ।
पश्चिमी पेरिसमा पनि समर्थक र पुलिसबीच झडप भयो । यहाँ पीएसजीले खेल हेर्नको लागि आफ्नो स्टेडियम पार्क डे प्रिन्सेसमा दुई स्क्रिन जडान गरेको थियो । सरकारको गाइडलाइन अनुसार स्टेडियममा खेल हेर्न ५ हजार जनालाई अनुमति दिइएको थियो । तर, भीड बढी भएपछि कैयौं फ्यान भित्र जान पाएनन् र आक्रोशित फ्यानले बाहिर हंगामा गर्न थाले । नियन्त्रणका लागि पुलिसले अश्रु ग्यास प्रयोग गर्नुपर्यो ।
सेन्ट्रल पेरिसका पनि कैयौं क्षेत्रमा पुलिस र फ्यानको झडप भयो । मानिसहरुले कैयौं कारहरुमा आगो लगाइदिए । यस क्रममा खिचिएको एउटा भिडियो पनि सार्वजनिक भएको थियो जसमा हंगामा गर्नेहरुले गहना पसल लुट्न खोजेका थिए । पुलिस आएपछि भने उनीहरु भागे । पुलिसले तनाव बढ्ने देखेपछि भीड हटाउन लाठीचार्ज गर्यो । पुलिसले सम्भावित झडप र भीड हुनसक्ने अनुमान गर्दै सुरक्षाको तयारी पहिले नै गरेको थियो ।