•            
    • Hikmat Dangol

    • ७ भाद्र २०७७, आईतवार १०:१९

    हलिउडले चिनियाँ बजारलाई ध्यान दिँदा गम्भीर मुद्दा ओझेल !

    लस एन्जल्स टाइम्स ।अमेरिकाका लेखकहरूको संगठन पेन अमेरिकाले पछिल्लो समय हलिउडका ठूला स्टुडियोहरूले फिल्म निर्माण गर्दा सेल्फ सेन्सरसिप गर्न थालेको भन्दै आपत्ति जनाएको छ ।

    पेन अमेरिकाले हलिउडको यस्तो क्रियाकलापले अमेरिकी सिद्धान्तको धज्जी उडेको र बक्स अफिस नै ठूलो कुरा हुन थालेको भन्दै उसले ठूला ठूला फिल्म निर्माण गर्ने स्टुडियोहरूले यस्ता क्रियाकलाप नियन्त्रण गर्न तथा आफ्ना सिद्धान्तलाई पैसामा सटही नगर्न समेत सचेत गराएको छ ।

    मूलतः पछिल्लो समय अमेरिका र चीनबीच व्यापार युद्ध शीतयुद्धमा परिणत भएपछि पेन अमेरिकाले एउटा विशेष अध्ययन नै गराएर कुन कुन फिल्म, तिनको निर्माण कम्पनी तथा स्टुडियोले कहाँ गल्ती गरे भन्ने निष्कर्ष निकालेको छ ।

    अध्ययनमा संलग्न जेम्स टेगरले २०० पृष्ठको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै अब लेखक तथा पटकथाकारहरू आफूले लेखेका कुरामा सम्झौता गर्न नहुने र ठूला स्टुडियोहरूसँग सेल्फ सेन्सरसिपका मामिलामा आवाज उठाउनुपर्ने समेत बताएका छन् ।

    पछिल्लो समयमा हलिउडले बनाएका फिल्महरूमा चीनमा मानव अधिकारको दयनीय अवस्था गायब हुँदै जान थालेको, तिब्बती समस्या, तियानमेन चोकको आन्दोलन, उइगुर समस्या, हङकङको प्रजातान्त्रिक लडाइँ तथा चिनियाँ लेखक, प्रकाशक तथा पत्रकारहरू बारम्बार प्रताडित पारिएकाबारे फिल्म नबनाई, नाफाका लागि मात्र काम गरेको र कतिपय फिल्मलाई चीनकै निर्देशनमा बनेजस्तो भद्दासमेत देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    ‘खासमा ती समस्याबारे फिल्म बनिनु पर्नेमा बनेका त छैनन् नै साथमा चीनलाई खुसी बनाउने किसिमका कन्टेन्टहरू उत्पादन भइरहेका छन्,’ अध्येता टेगरले भने, ‘हामीले ती कथा भन्न सकेनौँ वा भन्दैनौँ भने कसले भन्ला त ? स्वयं चिनियाँ फिल्म उद्योग पनि यस्ता विषयमा फिल्म बनाउन चाहँदैन । सम्भावित विषयमा यसरी आँखा चिम्लेर पैसाका पछि दौडिएको र चिनियाँ सरकारकै पक्षमा लागेको अलि सुहाउँदिलो भएन ।’

    ब्राड पिटजस्ता सुपरस्टारले खेलेको फिल्म वर्ल्ड वार जेडमा पनि कतिपय संवाद चिनियाँ सरकारलाई मन नपरेको भनिएपछि सेन्सर गरिएको थियो । टेगरको सुझाव छ, ‘चीनमा व्यापार नगर भनेको होइन तर चीनमा व्यापार गर्ने फिल्मलाई चीनअनुकूल बनाउनु तर सारा संसारमा व्यापार गर्न पनि चिनियाँ सरकारकै मुद्दा बोकिहिँड्न जरूरी छ र ?’

    यस्ता कुरामा सरकारको मुख ताक्नु भन्दा पनि स्टुडियो आफैँले ध्यान दिनु आवश्यक रहेको उनको भनाइ छ । स्टुडियोलाई सरकारले आदेश दिएर यस्तो गर र उस्तो नगर भन्नु भन्दा आफैँले यस्ता कुरामा ध्यान दिँदा पछि लज्जास्पद अवस्था नआउने उनको ठहर छ ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै