•            
    • Hikmat Dangol

    • २ भाद्र २०७७, मंगलवार १९:५५

    अलविदा माधव प्रसाद घिमिरे

    राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०२ वर्षको उमेरमा निधन भएको उहाँकी बुहारी विजेता घिमिरेले बताउनुभयाे । श्वासपश्वासमा समस्या देखिएपछि विगत चार महिनादेखि अक्सिजन दिएर उहाँकाे घरमै उपचार गरिएको थियो । केही समय अस्पतालको उपचारपछि अहिले उहाँको इच्छा अनुसार घरमै निगरानीमा राखेर उपचार गरिएको थियो । राष्ट्रकवि घिमिरेको मुटु र नाडीको धड्कनमा समस्या देखिएको थियो । शतक जीवन बिताउनु भएको राष्ट्रीय कवि नेपाली साहित्यको क्षेत्रमा अतुलनीय योगदान पुर्याएका साहित्य नक्षत्रका चम्किला तारा राष्ट्रकवि माधव घिमिरे प्रति हार्दिक श्रद्धाञ्जली !

    केही काम नौलो नगरी नजाउँ
    अकालमै हे म मरी नजाउँ
    आयुष्य देउ, भविष्य देउ,
    म भित्र जीवन्त मनुष्य देउ।

    स्व. माधव प्रशाद घिमिरे

    धेरै वर्ष अघि राष्ट कवि माधव प्रसाद घिमिरेले अन्तर्वातामा से कविता भन्नुभएको थियो। देउताको घरबाट आउने कुनै चामत्कारिक वा प्राकृतिक वरदान होझैँ लाग्थ्यो कविता, जति बेला माधवप्रसाद घिमिरे मस्र्याङ्दी नदीको किनारैकिनार दगुर्दै लमजुङको पुस्तुन फाँटमा धानका बालाहरूका बयलीमा आफ्नो आवाजलाई मिसाउँदै लोकगीत गुन्गुनाउँथे ।

    तर, कविता मान्छेले लेख्ने रहेछ भन्ने भेउ पाउन उनी काठमाडौ नै आउनुपर्‍यो । कवि शिरोमणि लेखनाथ पौड्यालका कविता पढेपछि मैले पनि कविता लेख्न सक्छु भन्ने आँट उनमा आयो । यतिन्जेलसम्म उनले गाउँका फुलेबाबासँग पञ्चाङ्ग सिकिसकेका थिए, दुराडाँडाको स्कुलबाट कखरा जानिसकेका थिए । दरबार हाइस्कुल र तीनधारा पाठशालामा संस्कृतको अध्ययन गरिसकेका थिए ।

    ऊर्जाशील विद्यार्थी जीवनको केटौले (१४) उमेरमा नै गोरखापत्रमा ‘ज्ञानपुष्प’ शीर्षकको कविता छापिनु नै उनी कवि बन्ने पहिलो लक्षण थियो । त्यसपछि बनारसको क्विन्स विश्वविद्यालयबाट सर्वदर्शनमा शास्त्री उत्तीर्ण उनी काठमाडौं फर्किए । विसं २००५ सालमा गोरखापत्रको सहसम्पादकदेखि भाषानुवाद परिषद्को जागिरे हुँदा २५ रुपैयाँदेखि ४० रुपैयाँसम्म तलब लिएर काम गरेका थिए, जुन त्यति बेलाको उपल्लो दर्जाको आम्दानी थियो ।

    ३ वर्षको उमेरमा मातृविहीन बनेका उनले त्यही पीडा खपिनसक्दै भाइसमेत गुमाउनुपरेको थियो । विवाह गरेको छोटो समयमा नै श्रीमती गौरीको निधन भएपछि भने उनी गहिरो शोकमा परे र शोककाव्य ‘गौरी’ (२०१५) को जन्म भयो ।

    गीत लेखिरहेकै थिए, डायरीमा । संग्रह बनाउने सोच थियो । ‘किन्नर–किन्नरी’ प्रकाशन भयो । त्यही संग्रहमा संग्रहण गरिएका गीतहरू ‘गाउँछ गीत नेपाली’ (स्वर : जनार्दन सम/तारादेवी, संगीत : नातिकाजी) र ‘नेपाली हामी रहौंला कहाँ’ (स्वर/संगीत : नातिकाजी) रेकर्ड भएपछि भने उनमा अब्बल गीतकारको पनि लेबल लाग्यो । गाउँछ गीत नेपाली गीतको ‘सुन्दर, शान्त, विशाल’ शब्द देवकोटाको कविताबाट सोधेरै साभार गरेको र गीतिसंग्रह ‘किन्नर–किन्नरी’ मा उल्लेखसमेत गरेको उनी सम्झन्छन् । भन्छन्, ‘दार्जिलिङमा त्यहाँको एउटा पत्रिकाले यो विषयमा एउटा आर्टिकलसमेत प्रकाशन गरेको थियो ।’ सिनेमाहरू बन्ने क्रम थियो । ‘मनको बाँध’ मा उनले लेखेको गीत ‘फूलको थुँगा बहेर गयो’ ले उनलाई सिनेमायी गीतकारको दरिलो खम्बासमेत बनाइदियो । राति आफैँ मरेर गएको सपना देखेपछि बिहान उठेर श्रीमती महाकालीलाई सुनाउँदै उनले ‘आजै र राति के देखेँ सपना, मै मरी गएको’ (स्वर : नारायण गोपाल, संगीत : नातिकाजी) लेखेका थिए, जुन उनको मात्रै होइन, नारायणगोपाल र नातिकाजीको जीवनको पनि एक अभिन्न सिर्जना बन्न पुग्यो ।

    ‘राणाकाल देखेँ । पञ्चायत देखेँ । ०४६ को सङ्घर्ष देखेँ । २०६२/०६३ को आन्दोलन र गणतान्त्रिक लोकतन्त्र देखेँ । संघीय राज्यको नागरिक पनि बनेँ । तर, जीवन सिर्जनाविहीन भयो भने बाँच्न गाह्रो हुँदो रहेछ र अहिले उमेरको शताब्दी पुग्दै गर्दा ‘ऋतम्भरा’ महाकाव्य लेखेर सक्ने अन्तिम क्रममा छु ।’ काठमाडौंको लैनचौरमा श्रीमती र छोराबुहारीको साथमा बस्दै आइरहेका घिमिरेको जीवनको दृष्टिकोण भने अझै गहिरो छ । जीवनका तिनै गहिराइहरूमा गहिरिँदै घोत्लिन्छन् उनी र भन्छन्, ‘सम्पूर्ण प्राप्तिहरूमा सबैभन्दा ठूलो प्राप्ति नै जीवन हो ।’

    घरको एउटा पूरै कोठामा फलामका दराजमा सजाइएका पुरस्कार र सम्मानका तक्मा र प्रमाणपत्रहरूले घेरिएका छन् उनी । ‘कहिलेकाहीँ

    यति सम्मानित जीवन पाएँ भनेर सम्झँदा पनि कहाली लाग्छ ।’ जीवनबारे अझै थप्छन् उनी, ‘गत वर्षको म एक साँझ एउटा हल्ला आएछ, इन्टरनेटमा । म मर्‍यो भनेर मान्छेले ठूलो शोक व्यक्त गरेछन् । संयोगले त्यही दिन नै म चाँडो सुतेको थिएँ । बिहान श्रीमतीले तपाईंको आयु बढयो भनेपछि थाहा पाएँ । त्यसैले नेपालीले मलाई गर्ने माया र मेरो मृत्युपछिको अवस्थाको पनि म कल्पना गर्न सक्छु । मजस्तो भाग्यमानी मानिस यो पृथ्वीमा कति होलान् !’

    ‘घामपानी’, ‘बाललहरी’, ‘सुनपंखी चरी’, ‘बिजुले र बिजुला’ जस्ता बालकवितासंग्रह, ‘नवमञ्जरी’, ‘उषाचरित्र’, ‘नयाँ नेपाल’, ‘चैत–बैशाख’ जस्ता कवितासंग्रह, ‘किन्नर–किन्नरी’ गीतसंग्रह, ‘गौरी’, ‘पापिनी आमा’, ‘राजेश्वरी’, ‘राष्ट्रनिर्माण’, ‘धर्तीमाता’, ‘इन्द्रकुमारी’ लगायतका खण्डकाव्यका रचयिता उनी शास्त्रीय छन्दलाई निरन्तरता दिने लेखनाथ र देवकोटापछिका पहिलो क्रमका सर्जक हुन् । स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैलीका उनका गीत र कविताले माटोको सुगन्ध मात्रै बोकेका छैनन्, जीवनको मूल्यबोध गर्न समग्र चराचर जगत्लाई आग्रहसमेत गरेका छन् ।

    प्रज्ञाप्रतिष्ठानको कुलपतिसम्म बनेका उनले साझा, पृथ्वी, त्रिभुवन, पद्मश्री सम्मानलगायतका पुरस्कार र सम्मान पाएका छन् । ‘पुरस्कार र सम्मानले खुसी त थप्दो रहेछ तर त्यसले झन् ऊर्जा दिँदो रहेछ । यो उमेरसम्ममा आइपुग्दा दुइटा असन्तुष्टि छन् । पहिलो अंग्रेजी भाषा सिकेर अंग्रेजी र फ्रेन्च साहित्यको गहिराइमा पुग्न नपाएकोमा र दोस्रो शास्त्रीय संगीत सिक्न नपाएकोमा ।’ भन्छन्, ‘शास्त्रीय संगीत सिक्न पाएको भए रवीन्द्रनाथ ठाकुरले जस्तै मैले पनि मेरा गीत, खण्डकाव्य र अपेराहरूमा आफैं संगीत भर्थेँ ।’

    नेपाली कविताको मध्य र आधुनिककालसम्म गीत र कवितामा एकनासले कलम चलाएका उनी राज्यको फेरिँदो शासन व्यवस्थामा पनि आफूलाई अविचलित रूपमा अघि बढाएका स्रष्टा हुन् । गणतान्त्रिक सरकारले राष्ट्रकविको सम्मान दिएपछि नेपाली जातिका तर्फबाट जीवित अवस्थामै जनस्तर र राज्यबाट सबैभन्दा सम्मानित कवि/लेखक बनेका छन् उनी । कविताभन्दा गीत अझै सरल र गहिरो हुन्छ भन्ने उनले आफूलाई अति मन परेको गीत भने आजसम्म रेकर्ड नै नभएको सुनाउँछन्— ‘अञ्जुलीमा उभाएर पिऊँपिऊँ पानी, आफ्नै रूपको छाया हेरी छक्कै रूपरानी’ सय वर्षको आफ्नो जीवनकालमा नेपाली साहित्य अन्तर्राष्ट्रियकरण हुन नसकेकोमा उनले सत्तासप्नहरूलाई नै दोष दिन्छन् । अंग्रेजीमा अनुवाद भई विश्वबजारमा नेपाली साहित्य पुग्ने हो भने नेपाली साहित्यकार लेखेर बाँच्ने मात्रै होइन, नेपाललाई चिनाउने नयाँ अभियन्ता बन्न सक्ने उनको ठम्याइ छ । गीति लेखनमा पनि परिष्कार र सिर्जनाभन्दा सस्तो लोकप्रियताका निम्ति लेखिन थालेकोमा भने उनी दु:खी छन् । भन्छन्, ‘मैले भँगेरा र भँगेरी पनि लेखेँ । सारंगी त रेटे पनि लेखेँ ‘।

    देशको भूगोल मात्रै होइन, नागरिकको भावनाको पनि सम्मान हुनुपर्छ भन्दै राष्ट्रकवि घिमिरे आफ्ना काव्यका सर्गहरू सगर्व यसरी सुनाउँछन्—

    ‘पारिन्छ सत्ता जब खण्ड–खण्ड, रहन्छ के राष्ट्र त्यहाँ अखण्ड।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै