•            
    • Hikmat Dangol

    • २ भाद्र २०७७, मंगलवार १४:०४

    ‘इमान्दार मानिस’ विश्व प्रसिद्ध इटालेली लेखक कल्विनोको कथा ‘दि ब्ल्याक सिप’

    इटालो काल्भिनोइतालो कल्विनो (1923-1985) इटालीका पत्रकार तथा लेखक हुन् । समालोचक काजुओ इसिगुरो तथा ओरहान पामुकजस्ता उम्दा लेखकले प्रशंसा गरेका लेखक हुन् उनी । यी दुवैले आफ्नो लेखनीमा कल्विनोको छाप छ भनी सगर्व घोषणा गरेका छन् ।

    उनका सिर्जनाको सबैभन्दा ठूलो व्यंग्य नै यही हो कि उनका प्रतिनिधि रचना भनेर संकलन गरिएको छैन । एक विश्लेषक भन्छन्, उनले जति पनि लेखे, ती सबै प्रतिनिधि रचना नै मानिएका छन् । उनको कथा संग्रह ‘नम्बर्स इन दि डार्क’मा समावेश गरिएको ‘द ब्ल्याक सिप’को अनुवाद ।


    यो कुनै एउटा यस्तो देशको कथा हो, जहाँ सबका सब चोर थिए । हरेक मानिस चोर थिए । रात पर्नेबित्तिकै त्यो देशका नागरिक अर्काको घरको नक्कली चाबी र सुस्त बलेको लालटिन बोकेर घरबाट निस्कन्थे र कुनै छिमेककहाँ गएर चोरी गर्थे । चोरीका सामान बोकेर हाँफ र झाँप गर्दै मिर्मिरे बिहानीमा जब उनीहरू आफ्नो घर आउँथे, घर आइपुग्दा छक्क पर्थे कि आफ्नो घरमा त डकैती पो भएछ ! तर यसमा उनीहरूको कुनै खुनखुन हुँदैनथ्यो किनभने कसैलाई घाटा चाहिँ भएको हुँदैनथ्यो । पहिलो चोरले दोस्रोको घर चोर्थ्यो, दोस्रोले तेस्रो अनि तेस्रोले चौथोको घर लुट्दा अन्ततः बराबरी हुन्थ्यो । अन्तिम घरको मानिसले पहिलो घरको माल उडाउन सम्भव भएपछि कोही किन घाटामा परोस् !

    त्यो देशको हरेक व्यापारिक गतिविधि, किनमेल र खरिद गर्ने, क्रय गर्ने क्रममा दुवैले दुवैलाई धोका दिनुपर्ने अनिवार्य शर्त थियो । यसो गर्दा हरेक व्यक्ति ठगिएको हुन्थ्यो भने हरेक व्यक्ति नाफामा पनि हुन्थ्यो । हुन त त्यो देशको सरकार स्वयंमा एक आपराधिक संगठन थियो, जसले आफ्ना देशबासीबाट खुल्लमखुल्ला डकैती गर्थ्यो । यसको बदलामा जनताले पनि सरकारलाई खत गर्न कुनै कसर बाँकी छाड्दैनथे । यसरी नै सबैको जीवन चलिरहेको थियो । यस्तो भएपछि देशमा न कोही धनी थियो, न त गरिब नै ।

    एक दिन, थाहा छैन कसरी एउटा इमान्दार मानिस त्यो देशमा जीवन गुजाराका लागि आयो ! उसले सोचेको थियो, सामान्य तरिकाले गुजारा चलाउँछु । राति बोरा, नक्कली चाबी, लालटिन लिएर निस्कनुको साटो ऊ चुरोट पिउँदै उपन्यास पढ्न घरैमा बस्थ्यो ।

    नियमितता कहाँ टुट्थ्यो र ? चोरहरू उसको घरमा चोर्न भनी आए तर भित्र उपन्यास पढिरहेको मानिस देखेर, बत्ती बलिरहेको देखेर उनीहरू छिर्न हिच्किचाए । हिच्किच्याए के, छिर्दै छिरेनन् । मानिस भएको घरमा डकैती गर्नु उनीहरूको नियमले दिँदैनथ्यो ।

    केही दिनसम्म यो क्रम जारी रह्यो । यो देखेपछि चोरीडकैती गर्ने मानिसहरूलाई तनाव हुन थाल्यो । त्यसैले सबै जना मिलिजुली उसको घर गए र सम्झाउन थाले । उनीहरूले भने, ‘हेर भाइ, तिमी अर्काको घरमा लुट्न चाहँदैनौ भने नलुट तर कम्तीमा तिमी बिनाकाम यसरी घरमा नबस । रात परेपछि तिमीले अनिवार्य रूपमा घर छाड्नै पर्छ । यो यहाँको नियम हो । अरूलाई उनीहरूको काम नियमपूर्वक गर्न देऊ । तिमीले केही गर्नु पर्दैन, मात्र घरबाट निस्क । चाहे टहल्न निस्क या जे सुकै गर्न निस्क तर निस्क । तिमी हरेक रात घरैमा बस्नुको अर्थ भोलिपल्ट कुनै एउटा परिवार भोकै पर्नु हो । यस्तो पाप नगर ।’

    यस्तो तर्क सुनेर त्यो इमान्दार मानिस नतमस्तक भयो । ऊ राति बाहिर जान र मिर्मिरे उज्यालोमा फर्कन राजी भयो तर ऊ अरूको घरमा डकैती गर्न भने राजी भएन । ऊ इमान्दार थियो, यसमा तपाईं र हाम्रो के गल्ती छ र ? ऊ टाढा गए नजिकैको पुलसम्म जान्थ्यो र कलकल आवाजमा पानी बगेको रातभर हेरिरहन्थ्यो । जब ऊ मिर्मिरेमा घर फर्कन्थ्यो । घर फर्कंदा चाल पाउँथ्यो कि चोरी भइसकेछ !

    साता भन्दा कम समयमै इमान्दार मानिस कंगाल भयो । उसको घरका सारा सामान चोरिएका थिए । अवस्था कस्तोसम्म आइपर्यो भने ऊसित अब खानका लागि पनि केही बाँकी रहेन ।

    तर उसले यसमा पनि कुनै समस्या देखेन किनभने ऊ आफू लुटिनका लागि तयार नै भएको हो । वास्तविक समस्या त के थियो भने उसको व्यवहारका कारण सारा काम चौपट भयो । ऊ चोर्न निस्कन्थेन, त्यसैले बिहान कुनै नयाँ सामान उसको घरमा आइपुग्थेन । हरकोही चोर भएका कारण चोरीका लागि लायक चिज केही न केही त भेटिन्थ्यो तर यो इमान्दार मानिस चोर्न नगएका कारण कुनै एक खास चोरको घरमा सामान थुप्रिन थाल्यो । ऊ बिहान आएर हेर्थ्यो, ‘ओहो, मेरो सामान त जस्ताको त्यस्तै छ !’

    समस्या के भयो भने चोरी नभएको घरधनी दिनदिनै धनी हुन थाल्यो । ऊ अन्य चोरभन्दा ऊ निकै धनी हुन पुग्यो ।

    समस्या कहाँनेर थपियो भने ऊसित यति धेरै धन जम्मा भयो कि उसमा चोरी गर्ने इच्छा नै मर्यो । त्यो भन्दा ठूलो समस्या त अर्को घरमा थपियो । जो व्यक्ति इमान्दारकहाँ चोरी गर्न गएको थियो, चोरी गर्ने सरसामग्री नपाएका कारण ऊ झन् गरिब भयो ।

    यस बीच जो नवधनाढ्य चोर थिए, चोरी छाडेर इमान्दार मानिसझैँ नजिकैको पुलसम्म जान थाले र अबेरसम्म तल छङछङ आवाजसहित बगेको नदी हेर्न थाले, आवाज सुन्न थाले । यस्तो व्यवहारले दुविधा बढ्न थाल्यो किनभने यसको अर्थ थियो, धेरैजसो मानिस धनी हुँदै जान थालेका थिए भने अर्कोतर्फ धेरै जसो मानिस गरिब हुन थालेका थिए ।

    यस्तोमा धनीहरूलाई लाग्न थाल्यो, हरेक रात पुलमा जान थाल्यौँ भने त उनीहरू पनि चाँडै गरिब हुनेछन् । त्यसपछि उनीहरूले सोचे, ‘केही गरिबलाई पैसा दिएर हाम्रो साटो चोरी गर्न राख्नु पर्यो ।’

    यसपछि धनीहरूले मिलिजुली एउटा दस्तावेज बनाए । कसलाई कति पैसा दिने, चोरिएका सामग्रीमा कति प्रतिशत भाग लाग्ने आदिआदि । तर चोर त उनीहरू अझै पनि थिए । त्यसले सधैँ एकअर्कालाई ठगेर कसबाट कति बढी भाग लिन सकिन्छ भन्ने ठूलो कसरतमा लागिरहन्थे ।

    रमाइलो के भयो भने, जुन सधैँ हुने गर्छ- जो धनी थिए उनीहरू अझै बढी धनी हुँदै जान थाले र जो गरिब थिए, झन् गरिबभन्दा अझ गरिब र दरिद्र हुन थाले ।

    केही धनी त यति धनी भए कि कुबेर पनि छक्क पर्न थाले । धनी रहिरहनका लागि उनीहरूले आफैँ चोरी गर्नुपर्थेन । समय त यस्तोसम्म आयो कि उनीहरूलाई चोरी गराउनुपर्ने अवस्थासमेत आउन छाड्यो । तर उनीहरू आफू चोरी गर्न छाडे, चाँडै नै गरिब हुन्थे किनभने उनीहरूभन्दा कम धनी वा गरिब तथा तन्नम मानिसहरूको चोरी त जारी छँदैथियो ।

    त्यसपछि उनीहरूले सबैभन्दा हरितन्नम मानिसलाई तलबमा राखे ताकि अन्य गरिबहरूले आफ्नो धन लुट्न नसकून् । यसको असरका रूपमा चाँडै नै प्रहरी चौकी र जेल बन्न थाले ।

    यसरी त्यो इमान्दार मानिस त्यो देशमा देखापरेको केही वर्षमा नै लुट्ने र लुटिने कुरा गर्न छाडेर धनी र गरिबका कुरा गर्ने अवस्था आयो । हेर्नुस्, सबै चोर त चोरै थिए तर तिनको स्तर बढेको थियो र कुरा गराईमा धनी र गरिबका कुरा आउन थालेको थियो ।

    तर जो इमान्दार मानिस थियो, जो शुरूशुरूमा त्यहाँ आएको थियो, जसले चोरी गर्न अस्वीकार गरेको थियो, हो त्यही गरिब भोकका कारण केही समयभित्रै मर्यो ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै