•            
    • Hikmat Dangol

    • २९ श्रावण २०७७, बिहीबार ०९:५५

    रारा तालमा श्रृंखलाबद्ध ठगी !


    •बाबुराम घिमिरे PHD SCHOLAR

    टोखा लाइभ ।२०७६ साल असोज २४ गते, बिहान ६.00 बजे, हाम्रो बास स्थान भण्डारी होटल बुलबुले मुगुबाट यात्राको सुरु भयो | मौसम निकै चिसो थियो, लेकाली हुस्सु/कुहिरो लागिरहेको थियो | घामको खासै संकेत देखिएको थिएन | अझै यात्रामा उकालो जस्तो नै थियो | करीब ३० मिनेटको उकालो यात्रापछि चेकपोस्ट आइपुग्यो | बुलबुलेमा प्रतिव्यक्ति १०० का दरले ४०० मैले रशिद काटीयो | सायद म घुम्न गए बापत राष्ट्रलाई कर बुझाएको होला भन्ने लाग्यो | बल्ल थाहा भयो हाम्रो गाडी को हावा खुस्किएको रहेछ | फोन नलाग्ने ठाउँ रहेछ, हरेक गाडीहरुलाई हामीले अनुरोध गर्यौं, सम्भावना केही रहेन | पुलिसहरूको फोन मार्फत केही कोसिस गर्यौं हामीले सम्भावित स्थानहरूमा, ड्राइभरले चिनेको अर्को ड्राइभर बल्ल कालिकोट मात्रै आइपुगेको जानकारी पाइयो | हामी त्यही रोकीयौ झण्डै साढे ९: ०० बजे पछि अर्को चिनेको ड्राइभर आएर टायर बदलि गरेपछि मात्रै यात्रा सुरु भयो | यात्रा यदि कष्टमय भयो हामीसँग झोलामा भएका ड्राइफुट पानीले सहायता दियो र अरूसँग केही पनि थिएन | बाँडीचुँडी गरेर झोला पनि खाली गरियो | २/४ फोटो हान्ने बाहेक अरु कुनै काम भएन, जंगलको खोचमा अरु केहि देखिनन्थ्यो | घाम लाग्न सुरु गरिसकेको थियो तर त्यहाँ कुनै घामको गुञ्जायस थिएन, हिउँ/तुषारो परिरहेको थियो |
    मुगु जिल्लाका विभिन्न ठाउँहरू, प्राकृतिक रमणीय दृश्यहरु, अवलोकन गर्दै गाडी अगाडि बढ्यो | गाडीलाई समयको अझै चाप परिरहेको थियो | बाटोको अवस्था निकै दयनीय थियो, खोलाहरू बाटोबाट बगिरहेका थिए | मुगु बजार लगायत स-साना बजारहरु पार हुँदै, १२:३० बजे ताल्चा विमानस्थल नजिकैको पार्किङमा रोकियो गाडी | हाम्रो जिपको बढीसम्म हिलोमा डुबेको थियो | हाम्रो यात्रा बिल्कुल पहिलोपटक थियो, हामीलाई अब झर्नु यही हो अन्तिम ईसटेसन भनियो हामी झर्यौँ | ताल्चा विमानस्थलबाट जीप निकै माथि सम्म जाने रहेछ | झण्डै १०/१५ किलोमिटर जति उकालो बाटो हामीलाई त अलि तलै छाडेर हाम्रो जीप फर्किए छ |

    हामीले झरेर बुझयौँ र अर्को जीपले मिली जाने हो ? माथि जाने हो? भन्दै गर्यो ३५०० त भाडा लाग्ने रहेछ | हामीलाई ठाउँको नाम थाहा पनि भएन, सुर्खेतबाट आउने जीपलाई, राराको पोखरी नजिक लगेर छोड दिनु पर्छ भन्दा, हुन्छ भनेको थियो | सोही अनुसार पैसा तिरेको हामीले | हामीलाई झुक्याएर फर्कियो गाडी | नेपालीले नेपालीलाई पाइलापाइलामा यसरी ठग्दै जाने हो भने, यो कसरी आन्तरिक पर्यटन फस्टाउने ? न्युनतम इमान्दारिता हुनु पर्दैनर? ब्याबसाय गरेर कमाउनु राम्रो कुरा हो तर दिनदाहाडै पकेटमार नि, गाह्रो काटनि हिसाबले, मान्छेलाई यसरी फसाउनु व्यापार हो र?

    अविस्मरणीय घटना के छ भने २ वटा गाडीहरुमा निकै उच्च खानदानका जस्ता देखिने भारतीयहरु आएका थिए | उनीहरु त्यहाँसम्मआइपुग्दा सम्भवत निकै कष्ट बेइमानी पूर्ण व्यवहार पाएपछि, उनीहरुले प्लेनको टिकट पुरै रिजर्भ गरी आफ्नो-आफ्नो ड्राइभरलाई गाडीमा रित्तै फर्काए, नेपालगन्ज भेट्ने सल्लाह गरे | पर्यटनका हिसाबले उनीहरु प्रशस्तै खर्च गर्नसक्ने खालका थिए | धार्मिक र बौद्धिक जस्ता देखिन्थे | उनीहरुलाई भारतीय धौति आदि आदि भन्ने बोल्ने व्यवहार पहाडको टुप्पाबाट पाएकोले केही संस्कार/व्यवहार मन परेन होला जस्तो लाग्यो मलाई | विल्कुल मेरो अनुमान, तर धेरै सोचेर गरेको अनुमान ! सायद तिनीहरू हाम्रो ठाउँमा खर्च गर्न र रमाइलो गर्ननै आएका हुन् | यिनीहरु त हाम्रा पाहुना हुन्, पाहुनाको सत्कार गर्न सकिए, यिनीहरुले प्रचारप्रसार गर्छन् हाम्रो ठाउँको त अवस्य माग बढ्छ होला नि ?

    हाम्रो खानाको कुनै व्यवस्था भएको थिएन, घाम चर्किरहेको थियो छोराछोरीहरु मधुर, मलिन भइसकेका थिए | दृश्यहरु अत्यन्तै मनमोहक भएको हुनाले, ती सबै चिजलाई बिर्सिएर, केही सुख्खा खानेकुराहरु र पानीको ब्यबस्था गरी, हामी लगातार उकालो चढ्यौं | हामीलाई एक खालको निराशा पनि व्यक्त भयो र पनि हाम्रो यात्रा मिली सम्म पुग्नु थियो | हामीले यात्राहरु गर्नु नै थियो, हामीले बिस्तारै हिँड्ने कोसिस नै गरेनौ, यात्रा जित्नु थियो, लक्ष्य हासिल गर्नु थियो, १: ३० बजे मिली पुगियो | हामी डाँडोमा पुगेका रहेछौं सल्लाघारीको बिचमा निकै तल राराताल देखियो अलिअलि !

    हाम्रो भोक तिर्खा पनि हट्यो, अब कति छ भनेर सोध्दा अझै ४/५ घण्टा लाग्छ भन्छन् | त्यो अनुमान बताएको सही होइन रहेछ | घोडा चढाउने उद्देश्यले झुट समय बताइएको रहेछ | घोडाको यात्रा प्रस्तावको लागि हामीले सोध्यौं एउटै घोडाको ५०००/६०००, मिलाउँदा पनि ४००० सम्ममा हुन्छ रे ! अब हामीले घोडा नचढ्ने निधो गयौं | हामीले खर्च पनि बचाउनु थियो, हामीले धेरै कुरा सिकिसकेका थियौं | यात्रा पुस्तक रहेछ धेरै पढियो | जीवनमा धेरै किसिमका कमाई हरु हुन्छन, हामीले यात्राबाट धेरै कमाउने विचार गरिसकेका छौं | अर्को महत्वपूर्ण कुरो त कमाइभन्दा जोगमाई ठुलो कुरो हो | यही सूत्रले अरुभन्दा धेरै कमाउन सकिन्छ, अरुभन्दा धेरै रमाउन सकिन्छ, अरूभन्दा धेरै जान्न र सिक्न सिकाउन सकिन्छ | किनकि हामी चार जना थियौं हाम्रो लागि यो सम्भव थिएन तर एउटा भयावह स्थिति भयो, त्यहाँ |
    मलाई थाहा थियो छोराछोरीहरु हिँड्न सक्ने पक्षमै थिएनन् | भोकले आकुल व्याकुल, घाम चर्किएको समय, अस्तव्यस्त, हामी एक आपसमा नै छिन्नभिन्न जस्तो, कसैको के के जस्तो बिचार आयो र छोराछोरीहरुलाई घोडा चढ्न पाए हुन्थ्यो जस्तो लागेको तर म सँग खर्च पनि सीमित थियो | मलाई, यो पनि थाहा थियो मैले छोराछोरी र श्रीमतीलाई दुःख दिइरहेको छु | म अगाडि अगाडि छोराछोरीहरु पछाडि पछाडि बिना सल्लाह, झण्डै डेढ घन्टा जति हिडेपछि बल्ल एउटा झोलुङ्गेपुल र साइनबोर्ड छेवैमा देखियो | एकातिर होमस्टे र अर्कोतिर होटल भनेर लेखिएको रहेछ, म त्यही छेवैमा टुसुक्क बसें, थोरै आत्मानन्द भयो |

    निकै विशाल ताल, चारैतिर जंगलै जंगल, अत्यन्तै निराकार अवस्था, निकै नै कठोर निर्णय लिएर छोडेर हिँड्ने म आफै देखेर पनि अनौठो लाग्छ ! कुनै प्रकारको आवागमन, आवाज देखिँदैन/ सुनिदैन कतै, राराको ताल यस्तो लाग्यो विश्वको ग्लोब जस्तो, जता पट्टिबाट हेर्यो गोलाकार जस्तो देखिने, अकल्पनीय | बाटो अग्लो पोखरी होचो, अनी अति नजिकै बाटो बनाइएको छ, अलि पर हुनुपर्दथ्यो, असुरक्षित ! समय यस्तो भयो कि रमाउने बेला डराउने बेला, अनि भोकले गलाउने बेला हुनगयो | त्यही ताल खोलाको शिर भएर ठूलो र सफा खोला बन्दोरहेछ, यो शाखा नजीकै रहेको कर्णाली नदीमा मिसिन्छ |

    नेपालका ७७ जिल्ला पुग्ने भ्रमणमा मेरो स्पष्ट तीनवटा उद्देश्य थियो | पहिला नेपाललाई कुनाकुना सम्म आफैंले हेर्नु र अध्ययन गर्नु, दोस्रा छोराछोरीलाई पनि नेपाल चिनाउन, तेस्रा अहिले घुमाएपछि बुढेसकालमा सम्झेर केही तिर्छन् की, तीर्थयात्राका तिर्सना/तिर्खा मेटाउँछन् कि भन्ने पनि थियो | सम्झदै थिइँ तिनै कुराहरु | बल्ल उनीहरु पनि आइपुगे अब होमस्टे मुर्मा गाउँतिर, पूर्ण नयाँ बाटो तयार गरियो | जुम्लेली हरूको होमस्टे रहेछ | यो देख्न पाउनु पनि एउटा मनमा स्वर्गीय आभास, आफ्नै घर आए पुगे जस्तो अनुभव भएको थियो बल्ल |

    मार्सी चामलको भात, त्यहाँको विशिष्ट राजमा, खसीको मासु, अरु तपाईंको विशेष जे जे छ? आधा घन्टामा खान तयार हुन्छ भन्ने खाना खान पाइने निश्चय बच्चाबच्चीलाई आराम गराई, मचाहिँ कोठाहरु र मूल्यका बारेमा छलफल लागि काउन्टरमा गए | आधा घण्टापछि खाना खाइयो, खानाको स्तर यति खतम थियो कि, अति निम्नस्तरको स्तरको खाना खुवायो, त्यो मार्सी चामलको भात थिएन, हामीलाई थाहा नभएजस्तो गरी झुक्कायो | किनकी मैले मार्सी चामलको भात पहिले नै खाइसकेको थिएँ | मीठा कुरा गरेअनुसार बढी विश्वासिलो होला भन्ने लागेको थियो त्यस दुर्गम गाउँ/ठाउँको मान्छे | थाहा भयो मान्छेहरु कस्ता हुँदारहेछन्, मैले सडक लाइनमा भेटेको मान्छेभन्दा पनि फरक पाएँ, नियतमा समस्या देखियो | त्यसैले त्यहाँको पैसा बुझाएर केही नभनी नजिकैको अर्को होमस्टेमा सरेर बसियो | मैले श्रृंखलाबद्ध ठगी ! देखिरहेछु यो यात्रामा | प्रकृतिको छटा व्याख्या गर्न बाँकी नै छ | क्रमश:

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै