हाम्रो बास कालिकोट, जुम्ला, मुगु कहाँ हुन्छ निश्चित छैन, सकेसम्म जुम्ला/मुगु बस्ने गरी यात्रा योजना गरियो | ड्राइभरलाई समितिका तर्फबाट चिनजानी गराएर, पुरै आफ्नो मान्छेको रुपमा जिम्मेवार भूमिका निभाउने बनाइएको थियो | मैले काउन्टरबाट यात्रुहरुको परिचय अप्रत्यक्ष रुपमा लिएको थिएँ, लगभग उद्देश्य मिल्ने खालका रिजर्भ यात्रुले भरिएको थियो जीप र सकारात्मक पक्ष यही थियो यात्राको | हामी सपरिवार चारैजना जीपमा चढ्ने बेलामा पानी पर्न सुरु गर्दै थियो | हामी प्रत्येक व्यक्तिसँग २/२ वटा झोलाहरु थियो |
त्यसलाई बोरा र प्लास्टिकले बेरेर जिपको छतमा व्यवस्थित गरयौं | बर्साई खुम्चिएको र अलि साँघुरो अवस्थामा थियो, खुल्लमखुल्ला थिएन | केही घुमाउरो उकालो मोडहरु पार गर्दै गर्दै सुर्खेत भ्यालि छोडेर हामी गुराँसे डाँडा पुग्यौं | डाँडा मा उक्लेर सेलरोटी, चना- केराउको तरकारी र चिया खायौं | चिसो बढिसकेको थियो, उत्साह अझ उत्साहित भएर थाहै नपाई उर्लिरहेको थियो, खाजा भन्दा पनि उत्साहित को स्वाद झल्किन्थ्यो नास्तामा | त्यहाँबाट हेर्दा देख्दाको वातावरण, हल्का कुहिरो, भ्युटावर हरु बन्दै गरेको, लालीगुराँस ढपक्कै फुलेको जंगलको अवस्थाहरुले, लाग्दथियो जीवनमा सबैभन्दा मिठो खाजा खाइयो |
कुनैपनि यात्रा त्यति ठूलो विषय त होइन, त्यहाँ पनि मान्छे बसोबास गरेकै छन् | हामीलाई काठमाडौंदेखि त्यहाँसम्म जाँदा ८ दिनको भ्रमण निकै अनौठो लाग्दो रहेछ, अझ राम्रोसँग यात्रा गर्दा १० दिन लाग्छ | हाम्रो ठाउँमा आउँदा अरुलाई पनि नौलो अवश्य लाग्दो हो, मज्जा भनेको नै त्यही त हो | जिपमा प्रायः हामी सबै बाहिर मान्छेहरु थियौं | जब हाम्रो यात्रा गुराँसे बाट तल्लो डुङ्गेश्वर तिर लाग्न सुरु भयो, तब वास्तविक यात्रा सुरु भयो | पारीपट्टीको बादी बस्ती, नेपाल सरकारले निर्माण गरिदिएको खोलाको किनारमा भएको वस्तीलाई बाढीले असर गरेपछि, लाई हेर्ने इच्छा पनि तीव्र थियो | बिच बाटोमा थुप्रै गाउँहरू र सहर जस्ता बस्तीहरु पनि देखिन्थे | तीमध्ये राकम, पाली, कृति जिउला हरु स्मरणमा छन्, कर्णाली नदी यहाँका अग्ला अग्ला डाँडाहरु, अनौठा खालका वोटविरुवाहरु, भेरी र कर्णाली नदीलाईनै केन्द्रीत गरेर बग्ने अनेक नामका खोलाहरू, तिनका हावा, त्यहाँका मान्छेहरु, तीनका जीवन शैली, जनावरहरू, अनेक-अनेक प्रकारका भेषभुषाका मान्छेहरु, स्थानीय गाडीहरूमा यात्रीहरुको यात्रा गर्ने बिल्कुलै फरक सैलीहरु, उक्लने ओर्लने, बोल्ने हास्ने तरिका, गित गुञ्जनका कतिपय सैलीहरुनै, हाम्रो यात्राका मुख्य आकर्षण थिए | दैलेख र कालिकोटको सिमाना लोहोरे खोला, उक्त खोला डुंगेश्वरमा, डुंगेश्वर कर्णाली नदीमा मिसिएर यात्रा गरिरहेका थिए, हामी पनि त्यही यात्रासँगै कर्णाली पछ्याउँदै थियौं |
बिहानको खाना टुनीबगरमा खाने निश्चय भयो | टुनी बगरमा हामीले खाना खायौँ | टुनी बगर नपुग्दै देखिएको अमलाको रुख जीवनभरमा देखिएको सबैभन्दा ठूलो रुख हो, यो दैलेख जिल्लामा पर्दछ |
खानापछि हामी दैलेख जिल्लाको अन्तिम भूगोलमा आइपुग्यौं | अति गहिरो खोँचमा बगिरहेको, निकै घुमाउरो नागबेली बाटो पार गर्दै, तिला नदी पार गर्यौं | यो घाटलाई सेरी घाट भनिन्छ, कालिकोट जिल्ला प्रवेश गर्यौं | जिल्ला सदरमुकाम जिल्लाको छेवैमा छ, एकैछिनमा हामी जिल्ला सदरमुकाम मान्म पुग्यौ | यो अनौठो प्रकारको भूबनोटको रहेछ ! पत्थरै पत्थरमा विशाल पत्थरहरूको उचाइ रहेको मान्म बजार तर माथि सम्म र चारै दिशामा रमणीय अवलोकन गर्न सकिने ! कैयौँ जिल्लाहरूको भ्रमणमा यो जिल्लाको सदरमुकामको स्थिति बिल्कुल मैले फरक पाएँ | मनमोहक हावा चलिरहेको थियो | हाम्रो यात्रा कहिले पहाडको टुप्पो त कहिले झरेर पूरै गहिरो खोच पार गर्दै गर्दै आएका थियौँ | ठाउँमा ठाउँमा गाडी भित्रै वन्जि हाने जस्तो अनुभबले बाटोको स्थिति, सप्रसङ्ग व्याख्या गर्दथ्यो |
अब भने बाटो उल्लेख गर्न लायक राम्रो रहेछ | तर यात्राको स्थान यति उचाईमा थियो की तल नदीको आकार प्रकार छ छैन झन्डैझन्डै अस्पष्ट देखिने गहिरो, कहालीलाग्दो खोच | अकल्पनीय धेरै गहिराई देखिने, त्यसैले मैले श्रीमती सँग नदी पट्टीको साइडमा आफु बसेर पूर्वपट्टि राखी यात्रा गराए | किनकी तल हेर्न सक्ने अवस्था नै थिएन | जीवन के हो त्यहाँ व्याख्या गर्न लायक थियो, भनुँ एउटा जीवनको मज्जाक दौडिरहेको थियो | डाँडामा घाम बस्न बस्न लागिसकेको थियो | पुग्नु निकै थियो, अझै निकै निकै थियो | बाटो राम्रो भएकोले जीप अत्यन्तै स्पीडमा हुइँकिएको थियो | युवा अनुभवी ड्राइभर, त्यो बाटो उनलाई केही मतलबी थिएन | स्केलले एक एक नापीए जस्तोगरी कुदाएका छन् ड्राइभरले ! छोराछोरी छक्क परेका छन् | श्रीमतीले भएजति देवीदेवता भाकल गरेर भ्याइसकिन् | मलाई पनि कताकता चिसो मुटु र सँगै यात्राको अनेक परिघटनाहरु नै आउन थाल्यो, म यात्रामा मुर्ख भएपनि ! उता ड्राइभर फोनमा पर्सि यति बजे जसरीपनि आइपुग्छु भन्दैछ अर्को ट्रिप | उनीहरु कमाई शैलिमा गाडी कुदाउँदा रहेछन | तर अधिक तिब्रगति बाहेक, अत्यन्तै राम्रोसँग गाडी चलाएको थियो | तैपनि लाग्दैथियो, जुवा खालमा थापिएको चौका दाउ हो जिन्दगी |
यही अप्ठ्यारो यात्राका क्रममा पिलो बजार, सेरावारा बजार, खल्ला घाट बजार जो न्यौपाने हरूको उद्गमस्थल हो, ती सबै पार गरि नागमा आइपुगियो | जुन कालिकोट र मुगु सिमाना हो | अप्ठेरो बाटो पार गरेर आईसकेपछि, फेरी अनौठो बजारमा आइपुग्यो, पुरै सम्म नदीको किनारमा र विशाल रहेछ सरसामानका दृष्टिकोणले | नपाइने कुनै पनि चिज थिएन, तर बिजुली बत्ती रहेनछ नागमा बजारमा | मलाई जहाँसम्म लाग्छ, धेरै जिल्लाको व्यापारिक केन्द्र हुनुपर्दछ नागमा बजार | चितवनको मुग्लिन जस्तो, बसोबास, खानपिन गर्ने मूलथलो पनि रहेछ |
गाडीले अघिनै बत्ती बाली सकेको थियो | नागमाबाट अब जुम्ला र मुगु जाने दोबाटो नजिकै पर्छ | हामीले पनि बसोबास गर्ने यही उपयुक्त हुने रहेछ | तर ड्राइभरले चिनेको आधारमा उसले आफ्नै स्थानमा लान चाहायो | पानी पर्न थाल्यो जब हामी मुगु तिर उकालो लाग्यौं | बाटो हिलो हिलो थियो | बाटाभरी गाईहरु तेत्तिकै जंगलमै बसिरहेका थिए | थकाइ र भोक निक्कै लागिसकेको थियो | सास फेर्न निकै गाह्रो होला होला जस्तो महसुस हुँदै थियो | बुलबुले, कोईरोली, नराकोट, झण्डै ५० किलोमिटर उकालो चढाइयो हामीलाई | पाण्डव गुफा नजिकै भण्डारीहरुको बस्ती भएको भण्डारी होटलमा हाम्रो गाडी रोकियो | प्रोपाइटर काली भण्डारी लेखिएको थियो बाहिर बोर्डमा |
हाम्रो यात्रामा एउटा अनौठो पक्ष छ, घुम्न जतापनि जान्छिन् श्रीमती खाना तर खाने बेला भो म खान्न भन्छिन् जसले गर्दा अरु खानेलाई अलि खल्लो हुन्छ | तर त्यो दिन छोराछोरी सबै पहिले सल्लाह गरेर, तपाईंले पहिले नखाइ हामी पनि खादैन भन्न लगाइयो, खानलाई बाध्य बनाइयो | खाना बनाउने प्रोपाइटर नाम जस्तो हो, त्यस्तै रङ्गकी थिइन्, भाँडाको रङ्ग पनि त्यस्तै, जाडोले सतायो | बाहिर पूरै तुषारो परेको छ | तातोपानी र आगोको राफ हर- हर बलिरहेको, बस्ने व्यवस्था राम्रो मिलाई दिनु भो आगोको नजिक, अँगेनाको नजिक | १५ दिनअगाडि काटेको रे! दाउराको चाङ राखेजस्तो गरी चाङ लगाएर राखेको छ, खसिको मासु | यता हाम्रो तिरको जस्तो रङ्ग देखिँदैन, अलि सेतो निलो रङको देखिन्छ | हेर्दा जस्तोसुकै भए पनि खान फेरि घरको भन्दा मिठो भयो | जिब्रोमा झुन्डिएको छ अहिले सम्म पनि | दिने बेलामा यति माया गरेर दिइन् काली भण्डारीले, अविस्मरणीय भयो | भ्रमणको सफलता भनेको श्रीमतीले मीठो मानेर खाना खाइन | अहिलेसम्म को यो पहिलो सफलता हो | धेरैधेरै धन्यवाद काली भण्डारीलाई |