•            
    • Hikmat Dangol

    • २४ श्रावण २०७७, शनिबार ०९:४१

    विश्वकप छनोटको तयारीमा नेपाली खेलाडी, भदौ १ देखि प्रशिक्षण शुरू हुने

    ~ हिक्मत डंगोल

    टोखा लाइभ । चैतमा ठप्प रहेको खेलकुद गतिविधि अब विस्तारै शुरु गर्ने तयारीमा नेपाल छ । यसैक्रममा अब राष्ट्रिय फुटबल टोली विश्वकप छनोट प्रतियोगिताको छनोटका लागि तयारीमा जुटेको छ । अहिले खेलाडीहरु क्वारेन्टिनमा छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार १ भदौबाट खेलाडीलाई प्रशिक्षणका लागि मैदानमा उतार्ने तयारी रहेको छ । तर, त्यस अगाडी नै सबै खेलाडीको कोरोना परीक्षण गरिने भएको छ । सबै खेलाडीको पिसिआर परीक्षण गर्ने र त्यहाँ नेगेटिभ आएका खेलाडीलाई मात्र प्रशिक्षणको अनुमति मिल्नेछ ।

    एन्फाका अनुसार अहिले प्रशिक्षणको प्रयोजनका लागि ३४ जना खेलाडीलाई १४ दिने क्वरेण्टीनमा राखिएको छ । उनीहरु आइतबारदेखि क्वरेण्टीनमा बसेका हुन् । प्रशिक्षण एन्फा कम्पलेक्स सातदोबाटोमा संचालन हुनेछ । एन्फाले प्रशिक्षणका दौरान मापदण्ड समेत बनाएको छ । खेलाडी, प्रशिक्षक र पदाधिकारीले त्यसको पालना गर्नु पर्नेछ । खेलाडीले पोशाक फेर्ने कोठामा कम समय बिताउनुपर्ने छ । अभ्यासका दौरान बाहिरी मानिसलाई मैदानमा प्रवेश गर्न दिइदैन । खाना सामूहिक रुपमा खान नपाइने र व्यक्तिगत दूरी कायम गरी खाना खानुपर्ने गरी नियम बनाइएको छ ।

    प्रशिक्षणका क्रमा एउटा खेलाडीले एउटै बोतलले मात्र पानी पिउने छन् । अभ्यास स्थललाई नियमित निर्मलीकरण गरिने भएको छ । सबै खेलाडीले एकै पटकमा अभ्यासमा उत्रन समेत पाउने छैनन् । ३४ खेलाडीलाई ३ समुहमा विभाजन गरेर अभ्यास गराइने भएको छ । नेपाल फिफा विश्वकप, २०२२ र एएफसी एसियन कप, २०२३ को छनोट प्रतियोगिताको तयारीमा जुटेको हो ।

    कोरोना भाइरसका कारण स्थगित भएको छनोट खेल आउँदो अक्टोबर र नोभेम्बरमा गराउने प्रस्ताव एशियाली फुटबल महासङ्घले राखेको छ । स्थगित भएका खेल अक्टोबर ८ र १३ तारिख तथा नोभेम्बर १२ र १७ तारिखमा गराइने छ । नेपालले प्रतियोगिताका तीन खेल खेल्न बाँकी छ । सबै खेल नेपालको घरेलु मैदानमा हुनेछन् । नेपालले चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनसँग खेल्ने कार्यक्रम छ ।

    नेपाल आउन आतुर छु : प्रशिक्षक योहान कालीन

    नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक योहान कालीनले आफ्नो नेपाल यात्रा अनिश्चित रहेको बताएका छन् । कोरोना भाइरस (कोभिड–१९) को प्रभावका कारण नेपाल यात्राबारे अहिलेनै टुंगो नलागेको उनले बताए ।

    आफू नेपाल फर्कने प्रयासमा रहेको भन्दै कालीनले अवस्था असहज भएको सुनाए । उनी हाल आफ्नो देश स्विडेनमा छन् ।

    ‘कोरोनाको प्रभावका कारण मेरो देशको अवस्था पनि उस्तै छ। यस्तो अवस्थामा यात्रा गर्न मलाई असहज हुनेछ। नेपालमा पनि कोरोनाको प्रभाव हटेको छैन त्यसैले मलाई यहॉबाट यात्राको लागि मेरो देशको सरकारले खुकुलो पारेको छैन। तर म विश्वस्त छु, नेपाल आएर टोलीको प्रशिक्षणमा सरिक हुन आतुर छु ।’ उनले टोखा लाइभसंग कुराकानी गर्दे भने।

    नेपाल फर्कन केही कठिन रहेको स्विकार्दै कालीनले भने, “म एन्फासँग नियमित सम्पर्कमा छु । नेपाल तर्फबाट एन्फाले पनि मेरो यात्राको प्रयास चालिरहेको छ । जसले मलाई नेपाल आउन सजिलो हुनेछ ।” तर उनी यो खेल गुमाउने हो कि भनेर चिन्तित रहेको टोखा लाइभलाई बताए।

    नेपालले २०२२ को कतार विश्वकप र २०२३ को एएफसी एसियन कपको दोस्रो चरणको छनोट अन्तर्गतका घरेलु प्रतियोगिताका लागि अभ्यास गरिरहेको थियो, तर कोरोनाको महामारीले राट्रिय टोलीको प्रशिक्षण रोकिएपछि कालीन गत चैतमा स्वदेश फर्किएका थिए । नेपाल सरकारको यात्रा प्रतिवन्धको नियम र एन्फाले फुटबलको प्रशिक्षण तत्काल सञ्चालनमा ल्याउन कठिन देखिएपछि उनको बसाई लम्बिएको थियो ।

    एएफसीको पछिल्लो तालिका अनुसार नेपालले अक्टोबर–नोभेम्बरमा घरेलु मैदान दशरथ रंगशालामा नेपालले खेल्ने तालिका छ ।

    कालीन भने आफू उपलव्ध नभए पनि भदौं १ गतेबाट अभ्यास हुनु सुखद ठान्छन् । ‘धेरै पछि एन्फाले खेलाडीहरुलाई प्रशिक्षणमा फर्काउने योजना बनाएको छ’, राष्ट्रिय टोलीको अभ्यास सुरुगर्ने एन्फाको योजनाको प्रसंसा गर्दै कालिनले भने, ‘यस्तो अबस्थामा खेलाडीहरु अभ्यासमा फर्कनु खुसीको कुरा हो ।’


    “म नभए पनि एन्फा योजनामा सफल हुनेछ, प्रशिक्षण चिमटे खेलाडीलाई नियमति ब्यस्त बनाउनेछ । उनीहरु अभ्यासमा सामेल हुनेछन् । स्थिती सहज भएपछि म नेपाल आउनेछु ।” कालिनले सुनाए ।

    यस्तै एन्फाले पनि कालिनलाई नेपाल ल्याउनका लागि प्रयास गरिरहेको बताएको छ । प्रवक्ता किरण राईले परिस्थितीलाई मध्यनगर गर्दै एन्फा कालिनलाई फर्काउने सहज बाटोको खोजिमा रहेको टोखा लाइभलाई बताए ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै