द न्युयोर्क टाइम्स ।न्युयोर्क राज्यका गभर्नर एण्ड्रु कुमोले कोरोना संक्रमणको त्रासले न्युयोर्क सहर छाडेका धनाढ्यहरुलाई सहरको अर्थतन्त्रमा टेवा पुर्याउनको लागि पुन: फर्किएर आउन आह्वान गरेका छन् । न्युयोर्क सहरमा महामारी चरम उत्कर्षमा पुग्दा महँगो मुल्य तिरेर म्यानह्याटनका अपार्टमेण्टमा बसोबास गर्दै आएका धनाढ्यहरु ह्याम्टन, अपस्टेट, कनेक्टिकटमा रहेको भेकेसन होममा सरेका थिए भने अन्य मानिस भने सहर भन्दा केही परतिर नयाँ ठाउँमा घर भाडामा लिएर सरेका थिए । हाल न्युयोर्कमा हजारौं हजार अपार्टमेण्ट खाली भएका छन् ।
कोरोना महामारी सुरु भएको झन्डै ६ महिना बिति सकेको छ तर यो महामारी कम हुने कुनै लक्षण देखिएको छैन । भ्याक्सिन आउन अझै केही महिना कुर्नै पर्ने देखिएको छ । यसै हप्ताको सुरुमा आयोजित एक पत्रकार सम्मेलनमा गभर्नर कुमोले धनाढ्यहरुलाई न्युयोर्क फर्काउने बिषयमा भनें “जो न्युयोर्कबासी हाल ह्याम्टनको घरमा गएर बसेका छन्, हड्सन भ्यालीमा बसेका छन्, कनेक्टिकटको भेकेसन होममा बसेका छन् ।म प्राय: दिनभर उनिहरुसँग कुरा गरिरहेको हुन्छु र भन्छु ‘तिमिहरु फर्किनु पर्छ । कहिले फर्किने हो ?’ भनेर सोध्छु । मैले भनेको छु; “तिमीहरु फर्किएपछि हामी डिनर खान जाऔंला । म तिमीहरुले खाएको पेय ( ड्रिन्क्स) को पैसा तिर्छु । म तिमीहरुलाई खाना बनाएर खुवाउँछु”।
कोरोना संक्रमणको भयावय दृष्यपछि ठुलो संख्यामा न्युयोर्क सहरबासीले न्युयोर्क छाडे पनि हाल न्युयोर्कमा कोरोना संक्रमणमा नाटकीय सुधार आएको छ ।
न्युयोर्कमा कोरोना संक्रमणमा नाटकीय सुधार; अन्य राज्यका आगन्तुकलाई चेक पोईन्टमा रोकेर क्वारेन्टिनमा बस्न लगाइदै:
अमेरिकामा कुनै दिन महामारीको केन्द्र बिन्दु बनेको न्युयोर्क सहरमा लगातार तीन दिनदेखि कोरोनाको कारण कसैको मृत्यु भएको छैन । यद्यपी सिंगो न्युयोर्क राज्यमा भने तीन दिनअघि सोमबार ३ जनाको मृत्यु भएको कुरा न्युयोर्क राज्यका गभर्नर एण्ड्रु कुमोले बुधबार बताएका छन् । गभर्नर कुमोले न्युयोर्क राज्यमा कोरोना संक्रमणमा नाटकीय सुधार हुँदै गएपनि न्युयोर्कबासीलाई कोरोना भाईरसलाई गम्भिर रुपमा लिन कडा चेतावनी दिएका छन् । कुमोले बुधबार भनें; “न्युयोर्कमा हामीले सोचे भन्दा पनि निकै राम्रो सुधार भएको छ । न्युयोर्कबासीलाई कडा मेहनतको लागि धन्यवाद ! हाम्रो यो अहिलेको सुधारलाई सुरक्षित राख्नु पर्छ । त्यसैले हामीले न्युयोर्क भ्रमणमा आउनेलाई राख्ने क्वारेन्टिनको सुचीमा अर्को एउटा राज्यलाई थपेका छौं । हामीले केही महिना अगाडि अनुभव गरेको त्यो नरक जस्तो अवस्थामा फेरी फर्कनु छैन । अहिले देशभर संक्रमण एकदम बढिरहेको परिप्रेक्षमा न्युयोर्कमा फेरी संक्रमण आउने डर छ । हामी चनाखो रहनु पर्दछ” ।
न्युयोर्क राज्य सरकारले संक्रमितको संख्यामा उल्लेख्य बृद्धि भएका देश भित्र कै ३५ राज्यबाट न्युयोर्क भ्रमणमा आउने सबैलाई १४ दिन क्वारेन्टिनमा बस्नैपर्ने वाध्यकारी नियम जारी गर्दै आएकोमा मंगलवार वासिङ्टन डिसी र डेलावरलाई सुचीबाट हटाएको छ भने रोड आईल्यान्डलाई थपेको छ ।
बुधबार न्युयोर्क सहरका मेयर बिल दि ब्लाजियोले क्वारेन्टिन लिस्टमा परेका राज्यहरुबाट गाडीमा न्युयोर्क आउनेको कडाईका साथ निगरानी गर्ने उदेश्यले ठाँऊ ठाँऊमा चेक पोईन्ट राख्ने बताएका छन् । मेयर ब्लाजियोका अनुसार न्युयोर्क सहरको पाँच वटा बोरोको प्रबेश गर्ने सबै पुल तथा टनेलहरुमा चेक प्वाईन्ट राखिने र क्वारेन्टिन लिस्टमा परेका राज्यको नम्बर प्लेट भएका गाडी चालकले रजिस्ट्रेसन फर्म भर्नु पर्ने र १४ दिनको लागि क्वारेन्टिनमा बस्नै पर्नेछ । न्युयोर्क सिटी सेरिफ कार्यालयले चेक प्वाईन्टको जिम्मेवारी लिने छन् भने बिहिबारदेखि म्यानहाटनस्थित पेन स्टेसन र पोर्ट अथोरिटिमा पनि रेल तथा बसबाट संक्रमण फैलिएका राज्यबाट न्युयोर्क आउने यात्रुहरुको निगरानी बढाईने मेयर ब्लाजियोले बताएका छन् ।