टाेखालाइभ डट कम/चैत्र २ ,२०७९
आइसिसी क्रिकेट विश्वकप लिग–२ मा युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बधाई दिनुभएको छ । प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत आइसिसी क्रिकेट विश्वकप लिग–२ मा युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा खुसी व्यक्त गर्नुभएको छ । “लिगका खेलहरूमा उच्च कौशलता प्रदर्शन गर्दै नेपालको स्वाभिमान र गौरव उँचो राख्न सफल भएकोमा उच्च प्रशंसासहित नेपाली क्रिकेट टिम, प्रशिक्षक, क्यानलगायत हामी सबैलाई हार्दिक बधाई”, प्रधानमन्त्री दाहालले भन्नुभएको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले डकवर्थ लेविस पद्धतिका आधारमा युएईलाई नौ रनले हराउँदै आगमी जुन–जुलाइमा जिम्बावेमा आयोजना हुने एकदिवसीय विश्वकप छनोटको यात्रा तय गरेको हो । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई पराजित गर्दै जिम्बावेमा आयोजना हुने विश्वकप छनोटको यात्रा तय गरेको छ । यो जितसँगै नेपाल ४० अङ्कका साथ लिग–२ को तेस्रो स्थानमा उक्लियो र जिम्बावेको यात्रा तय गर्न सफल भयो ।