•            
    • Hikmat Dangol

    • ३० असार २०७७, मंगलवार २१:१९

    अन्धो स्व–प्रेम


    –ओमशंकर श्रेष्ठ –
    शनिवारको दिन कलेज पढ्ने दुई छोरीको आमाले केहि मीठो ख्वाउला भन्ने आस थियो । चालिस कटेकी शोभाको भने आफ्नै धुन सवार छ । उनले ठूली छोरी रिमालाई भान्सा सम्हाल्न भनिन् । चिया खाएपछि उनले मेहन्दी फिट्न थालिन् । उनी आफ्नै जमानाको सेमी क्लासिकल गीत गुनगुनाउँदै थिइन् ।


    त्यतिन्जेल पनि उनले दश चोटि भन्दा बढि सामुको ऐनामा आफुलाई नियाली सकेकी थिइन् । सोफामा पल्टेर कानमा एयर फोन घुसाएर कान्छी छोरी सिमा फेसबुकमा मस्त छिन् । तर उनी पटक पटक आफ्नी अधवैंशे आमाको नक्कलेपना देखेर नाक चेपार्ने गर्थिन् । कान्छी छोरी एघारमा र जेठी ब्याचलर फस्र्ट सेमेस्टरमा छन् ।


    शोभाले आफुलाई समेत गरी दुवैछोरीलाई पनि स्कूटर किनिदिएकी छन् । सिमा दुई वषकै मात्र थिइन् शायद शोभालाई उनको लोग्ने धनप्रसादले पारपाचुके दिँदा । गार्मेन्टको ठूलै व्यापारी धनले त्यहिवेला नै यो सामाखुशीको साढे पाँच आनाको घर र एक करोड तीस लाख क्यास नदिएको भए सन्तानलाई यति ठाँटवाटका साथ राख्ने शोभाको हैसियत हुँदैन होला । आखिर उनी एउटा बैंकको जाबो क्यासियर मात्र त हुन् ।


    तिनीहरु छुट्नुको पनि कुनै गम्भीर कारण थिएन । शोभाले धनको हरेक कुरामा हस्तक्षेप गर्ने गरेकी थिइन् । आफुसंग कुनै आइडिया नै नभएको विषयमा पनि उनी जान्ने भएर बढि सल्लाह दिन्थिन् ।
    त्यतिबेला धन करिव २७ वर्षका थिए । सोझो थिए । एकदिन हरेक कुरामा किचकिच गरिरहने शोभालाई धनले प्याच्च भनेथे , ‘ मलाई त वाक्कै लागि सक्यो तिम्रो बानी देखेर । कतै एक्लै शान्तसंग बस्न पाए हुन्थ्यो जस्तो लाग्छ । ’


    कुरा बुझे पनि नबुझे पनि , मिले पनि नमिले पनि जवाफ फर्काइ हाल्ने स्वभाव छ शोभाको । धनको अनुहारै नहेरी सिमाको लागि स्विटर बुन्दै गरेकी शोभाले भनिन् , ‘ मलाई पनि त्यस्तै लाग्छ । तिमीले भने जस्तै मलाई पनि आफ्नै स्टाइलको लाइफ बाँच्ने इच्छा छ । ’ ख्यालै ख्यालमा जस्तो , घुर्की लगाउन जस्तो प्रसंगमा शुरु भएको ‘ छुटिने कुरो ’ ‘ हो त ? हो त? ’ हुँदा हुँदै ‘ हो ’ मै गएर टुँगियो ।


    काठमाडौंमा वकिलको के कमि । तुरुन्तै कागजात तयार भयो । तर कागजपत्रमा दुवै पक्षबाट एक्ले अर्कालाई कुन दुव्र्यवहार वा यातना दिइएको जस्ता आरोप उल्लेख भएन । स्वेच्छामा हाँसिखुशी छुटिएर बस्ने अनौठो वयान दिए दुवैले । कानुन बमोजिम शोभालाई पतिको अंश वापत घर र नगद दिइने निर्णय भयो ।


    छोरीहरु कोसंग बस्नेबारे खासै विवाद भएन । शोभाले आफैं राख्छुं भनिन् । धनले पनि हुन्न भनेन । न त धनले आफ्ना सन्तानलाई कुनै पनिबेला भेट्न पाउनुपर्छ भनी निवेदन गरे । न त शोभाले नै जोइपोइ नै छुटिएपछि र बच्चाहरु आमासंग बस्ने भएपछि धनले सन्तान भेट्न पाउँदैन भनेर लफडा नै गरिन् ।


    उनलाई त कहिले क्यास हातमा पर्ला र कोठा थुनेर थुक लगाउँदै नोट गनुँ जस्तो भइरहेको थियो । धन भने स्तब्ध नै हुन पुगे , न्यायधिशले अन्तिम समयमा पनि ‘ ल ,अझै मौका छ मिलापत्र गुर्नुहुन्छ कि ?’ तीनचोटि भन्दा पनि शोभा बहिरो जस्तो बनेकी देखेर , उपस्थित सबैजना वाल्ल परेका थिए ।


    स्वयमवर गरेर झ्याइँझयाइँ बाजा बजाएर घर भित्राएकी शोभाले कमसेकम छुट्नेबेला एकचोटि भएपनि आँसु झालिर्न कि भन्ने धनलाई लागेको थियो ।
    तर उनको सोचाई गलत भयो । एकचोटि फर्केर पनि हेरिनन् शोभाले । नयाँ घर किन्नु अघि धन वालुवाटारमा महिनाको पचिस हजार तिरेर घर भाडा लिएर बसे ।


    शोभाले घरमा आफ्ना सामान लिन आएकी पतिलाई खुरुखुरु सबै सामान दिइन् । यहाँ सम्मकी आफुहरुको विवाहबेला खिचिएको दुवोका माला सहितको फ्रेम सहितका तस्वीर पनि सामान ओसार्ने मिनी टाटामा राखि दिइन् शोभाले । करिव पाँच वर्षकी ठूली छोरी रिमा सबैकुरा पुलुपुलु हेरिरहेकी थिइन् । घटना जस्तै त्यसबेलाका सबै दृश्यहरु पनि निकै नाटकिय र अस्वाभाविक लाग्ने खालका थिए ।
    धनले त्यो फ्रेम सहितको तस्वीरको तस्वीर मोवाइलबाट खिचे र फ्रेमवाला तस्वीर चाहिं भ¥याङ छेउ छाडे । रिमाको कलिला हत्ेकलाभरि चकलेट राखेर धनले उनलाई अँगाले मारे । टाउको सुम्सुम्याए । अलि पर सिमा बोकेर उभिरहेकी शोभातिर तिर एक नजर फ्याके धनले । वास्तवमा उनी सिमालाई पनि हेरेर र छोएर जान चाहन्थे । तर शोभा सामु जान मन नलागेकाले उनी मनको इच्छा त्यागेरै त्यसै हिंडे ।


    शायदै कुनै पनि पूरुषको जिवनमा यस्तो घटना विरलै घट्ला । धनलाई फर्केर एकचोटि घर हेर्न मन लागेको थियो मोडनिर पुग्दा । तर उनले त्यसपालि त्यो इच्छा पनि त्यागे । किनभने उनलाई एउटा अनौठो खाले उकुस मुकुस भइरहेको थियो ।


    शोभाले सिमालाई मेहन्दी लगाइदिन इशारा गरिन् । मन नलागेपनि सिमा उठिन् । आखिर पकेट मनिका लागि आमाकै मुख ताक्नु पथ्र्यो । सिमाले यसैवर्षको अर्थात सन् २०२० टप टेन अंग्रेजी गीत सुनिरहेकी थिइन् । उनले गोजीबाट फोन निकालिन , भोल्युम अलि बढाइन् ।
    मेहन्दी लगाइदिँदा पनि ‘ यता उता मिलेन ’ भनी गनगन गरिरहने आमाकोे बानी राम्रोसंग थाहा थियो उनलाई । त्यसैले भोल्युम बढाएकी हुन् । काली पनि भन्न नमिल्ेन र गोरी नै पनि भन्न नसुहाउने शोभा मेकअप नगर्दा सामान्य सुन्दरीको सुचिमा कुनै पनि हालमा पर्दिनन् । तर उनका अफिसका साथी र उनीबाट काम पट्याउन अन्य केहिले उनलाई उडाउन ‘ क्या च्वाँख देखिन्छौ ’ भनिदिँदा रहेछन् । यहाँ सम्म कि रिमा र सिमालाई पनि अलि बढि पैसा थुत्नुप¥यो भने , ‘ आहा ! , ममि कति सुहाएको ! , कति राम्री देखिएको ! ’ भनिदिए पुग्ने कुरा राम्ररी थाहा छ ।


    सौन्दर्य प्रशंसाको झुठो भ्रममा धेरै पहिले देखि फसेकी उनी यसको कारण मानसिक रुपमा अर्ध विक्षिप्त नै छिन् । अहिले पनि झण्डै पूरै फुलिसकेको केशमा कालो मेहन्दीले जति जति छोपिँदै गयो उतिउति उनको अनुहारमा तेज देखिँदै थियो । उनी घरीघरी ऐनामा हेरेर आफैंलाई हेरी अलि लजाउँदै मुसुक्क हाँस्दै मस्किरहेको देखेर सिमाले ‘ खाना पाक्यो ’ भन्न आएकी सिमालाई इशाराले देखाइन् ।
    सिमाले व्यँगात्मक नजरमा आमालाई हेर्दै सोफामा अडेस लगाइन् । रिमा र सिमाले सानै देखि प्रायशः आफ्नी आमाको मुखबाटै यस्तै कुराहरु सुन्दै आएकी थिइन् , ‘ मलाई त्यो केटाले आज आफैं इन्ट्रोडक्सन माग्न आएको वावै ! मलाई त्यो गल्लीमा उभिराख्ने केटाहरु हेर्नै मनलाग्दैन , तलदेखि माथि सम्म खाउँला जसरी हेर्छन् , अफिसको फलानोले त मलाई देखेपछि अन्त कतै हेर्दैनन् , आज बस चढ्दा तिनजना केटाले एकैचोटि मेरो लागि सिट छोडिदिएको देखेर हाँस्दा हास्ँदै झण्डै मरेको नि ! , यसो आँखा जुधाई दिनुपर्छ हाकीमले पनि मेरो कुनै पनि प्रस्ताव कहिल्यै नाइँ भन्दैनन् , मलाई फलो गरेर हैरान ग¥यो भनेर हाकीमलाई कम्प्लेन गरिदिएको, हाम्रो शाखामा भर्खरै ज्वाइन गरेको नयाँ हिरोको अर्को शाखामा सरुवा भो , घरमा म भन्दा राम्री स्वास्नी छ भनिएका त्यो केटोले पनि मसंग कुरा गर्दा टोनै चेन्ज गर्छ , यो कलरको कुर्ता त लगाउनै मनलाग्दैन देख्ना साथ फलानोले कति सुहाएको भनी हाल्छ ! , कत्रो आँट ए ….त्यो केटाको दुईचार चोटि मिजाससंग के बोलि दिएकी थिएं , हाकाहाकी शनिवार फुर्सत भए कतै घुम्न जाउँ पो भन्छन् ! आदि इत्यादी । अझ कहिलेकाहिं कुनै केटि देखि जलन भएर उनी प्याच्च भनिहाल्थिन् , ‘ छ्या ! छ्या ! कति नराम्री केटि , हे ! भगवान हेर्दै भुत जस्ती ! ’ वास्तवमा ति भुत जस्ती भनिएकीको तुलनामा उनी आफैं आफैं महाभुत जस्ती देखिनिछन् भनेर उनलाई भनिदिने पो कसले !


    धन प्रसाद दुई महिना नै एक्लै बस्नु परेन । एमबिए गरेकी खानदानी परिवारकी सुन्दर र शुसिल छोरी हसिनासंग उनको विवाह भयो । डेढ वर्ष पछि उनले हिस्सी परेको छोरो पनि जन्माइन् । तर धनलाई आफ्ना छोरीहरुको पनि बेस्सरी सम्झनाले सताउँथ्यो ।


    तिनीहरु सानो छँदा धन स्कूलमै गएर छोरीहरुलाई भेटेर पैसा दिएर आउँथे । अहिले पनि रिमा र सिमाको शोभासंग भन्दा धनसंग बलियो भावनात्मक सम्बन्ध छ । आमाचाहिंलाई थाहै हुँदैन । कहिलेहाहिं दिदीबहिनी आफ्नो पितासंग विदाको दिन लंग ड्राइभमा पनि जाने गरेकीछन् ।


    धनले कहिलेकाहिं साथमा हसिनालाई पनि ल्याउँथिन् । रिमा र सिमाको सम्बन्ध हसिनासंग पनि उत्तिकै समधुर छ । किनभने उनी संवेदनशिल छिन् , सोचेर व्यवहार गर्छिन् , कसैका निजी विचार , सोचाई र रहरमा अनावश्यक हस्तक्षेप गर्दिनन् । र , अनावश्यक रुपमा चेपारे शैलीले तारिफ पनि गर्दिनन् । तिनीहरु दुवैका मनमा पटक पटक हसिनालाई घरैमा ल्याउँ कि जस्तो पनि लाग्थ्यो । दस कक्षमा पढने हसिनाको छोरो सुशान्तले पनि सिमा र रिमालाई दिदी भनेरै बोलाउँछन् । तिनीहरु कहिलेकाहिं घन्टौं च्याट गर्छन् भन्ने कुरा शोभालाई अहिले सम्म थाहै छैन ।


    अति आत्मकेन्दि«त शोभालाई त आफु संसारकै परी हुँ भन्ने भ्रममा बाँचेरै फुर्सत छैन । यो उमेरमा पनि अफिसका साथीहरुलाई उनले यस्तो कुरा भनेर हँसाउने गरेकीछन् , ‘ मसंग फोनमा कुरा गर्न लालायित साथीहरुको त भिडै छ । कतिको त म फोनै उठाउँदिन । ‘ रेस्टुरेन्ट जाऔं , रिसोर्ट जाऔं , तिमी कति मनपर्छ , तिमी देखेपछि भुतुक्कै हुन्छौं ’ भन्ने स्कूल र कलेजका केटा साथीहरु त कति कति । अहँ , कसैलाई लिफ्ट दिन्न म । तिनीहरले मात्र मनपराएर हुन्छ त , मलाई पनि अलिकति भएपनि मनपर्नु प¥यो नि , होइन र ? ’
    शोभालाई आफ्नो लाग्ने गुमेको मात्र होइन आफुलाई पनि एक पुरुषको अँगलोको खाँचो छ भन्ने महशुस पनि कहिल्यै भएन । एकचोटि उनको धन र हसिनासंग कुनै आफन्तको विवाह पार्टीमा भेट भएको थियो । निकै अनौठो देखिन्थ्यो त्यो भेट ।


    धनलाई शुरुमा अलि असहज लागेको थियो । तर शोभाले आफुलाई एक नजर पनि नहेरेको देखेर आनन्दै लाग्यो पछि । शोभाको नजर त हसिनाले खुटाको औलामा लगाएको नेल पलिस देखि निधारमा लगाएको टिकासम्मे हेर्नमै व्यस्त थियो ।


    तर समझदार हसिनाले उनको त्यस्तो अशभ्य हेराई प्रति केहि पनि आपत्ति जनाइनन् । उनलाई हसिनाले लगाएको साडी निकै चित्त बुझ्यो।


    बरु भोलिपल्टै आफुलाई निकै राम्रो लागेको प्याजी रंगको जापानिज साडी बजारभरि खोजेर उनले पचिस हजारमा किनेरै ल्याइन् । ऐना सामु त्यो साडी लगाएर उनले घन्टौं सम्म आफ्नो सौन्दर्य हसिनाकोसंग तुलना गरेकी थिइन् । अन्तत सदाझैं उनलाई आफु जस्ती राम्री यो संसारमा अरु कोहि छ जस्तो लागेन।


    कहिलेकाहिं अफिसमा शोभाका बौद्धिक साथीहरु माझ उनकोबारे आपसमा कुरा गर्छन् । केहि बेरको गन्थन र मन्थन पछि तिनीहरुको साझा सोचाई निस्कन्छ , ‘ यसरी आत्मकेन्दि«त भएर , आफुभित्र डुबेर , भुलेर र आफुलाई निकै प्रेम र प्रशंसा गरेर जिउन सक्नु निकै राम्रो पक्ष हो । तर कुन हद सम्म भन्ने प्रश्न उठ्छ । रजश्वला समेत रोकिएको प्रौढावस्थामा पनि यति हद सम्म केश रंगाउँदै , चाउरिएको गाला पार्लरमा गएर तन्काउँदै चम्काउँदै सौन्दर्यको घमण्ड गरि हिँडनुलाई खै के भन्ने हो के ! ’


    मेहन्दी धोएर , केश सुकाएर सबैभन्दा पछि शोभाले खाना खाइन् । खाना खाइसकेपछि पनि उनको केशमै ध्यान थियो । ऐना सामु केश कोर्दै उनले कोठाको दुईकुनामा मोवाइलमा मस्त छोरीहरुतिर हेरेर भनिन् , ‘ आज मलाई केश अलि नमिले नमिले जस्तो लागिरहेको छ । कन्डिस्नर राखेको मिलेन की ? स्याम्पु नै नक्कली जस्तो लाग्यो । यति कडा र जिंग्रिंग त नहुनु पर्ने मेरो केश ! । ’ दुवै छोरीले उनको कुरामा वास्तै गरिनन् ।


    शोभाले हरियो रंगको नयाँ कुर्ता ल्याइन् । छातीमा कुर्ता राखेर कतिको म्याच छ भनेर जाँचिन् । हरियो कलरकै टिका लगाइन् । हरियो चुरा लगाइन् । सम्पूर्ण सिंगार सकेपछि शोभाले रिमाको हरियो रंगकै लिपिष्टिक लगाउनै लागेकी थिइन् । दुबै छोरी एकैपटक चिच्याइन् , ‘ ह्या……. ममि …. अति …भो हुन्न क्या , रेड वा पिन्क लगाउनू । ’
    अझै हातको हरियो लिपिस्टक तल नराखेकी शोभाले छोरीहरुले साँच्चै भनेको हो की होइन भन्ने यकिन गर्न तिनीहरु तर्फ पालैपालो हेरिन् । तिनीहरु त आफ्नै मोवाइलको दुनियाँमा फर्किसकेका थिए ।
    दुवै छोरीको कुरा अटेर गर्दै उनले खैरो रंगको लिपिस्टिक लगाइन् । अनि फेसन टिभीमा देखिने कुनै मोडेलले जस्तै फनक्क घुमेर ऐना हेरिन् , मुसुक्क हाँसिन् । उनलाई आफु विश्व सुन्दरी जस्तै लाग्न थाल्यो । विस्तारै उनको अर्ध चाउरिएको गालामा तेज फैलियो ।
    उनले रोबदार श्वरमा भनिन् , ‘ लौ ! आज मसंग अहिले सपिंगमा को जाने ? भनेको चिज किनिदिन्छुं । पुल्चोकको लविंग मलमा मम , वर्गर र पिज्जा पनि ख्वाउँछुं । ’


    शोभालाई दुवैले ‘ म … म … ।’ भन्ला जस्तो लागेको थियो । तर उनको सोचाई विपरित कोठा शान्तै रहयो ।
    अझै आफ्नो आत्मविश्वास जगाउँदै भनिन् , ‘ मैले ठट्टा गरेको होइन है ! जाने भए जाऔं , फेरी पछुताउनु पर्ला नि । ’
    दुबै छोरीको एउटै जवाफ आयो , ‘ ममि ! आफ्नै स्कुटरमा जानु न ! ’
    शोभाले अनुनय भरिएको भावमा भनिन् , ‘ तिमीहरु मध्ये एकजना त आउनै पर्छ ! ’


    सिमाले सोधिन् , ‘ आउनै पर्ने के कारण त ? ’
    शोभाले अलि लजाए जस्तो गरी भनिन् , ‘ बाहिर मान्छेहरुले हामीलाई देखेर आहा ! कति राम्रो दिदीबहिनी भनेको सुन्ने रहर छ क्या ! ’
    आमाको यस्तो कुरा सुनेर दुवै दिदीबहिनीले अचम्भ मानेर एकले अर्कालाई हेरिन् । दुवैका मुखबाट एउटै शब्द निस्कियो , ‘ वाहियात !!! ’
    भीमसेनस्थान् , काठमाडौं ।
    असार ३० , २०७७

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै