तिमी कहाँ जो जो आए
सबै रोएरै आए , रोएरै फर्के
जिन्दगीको प्रमाण
मेटाउन खप्पिस तिमीले
युगौंदेखि मानव शरिर
जलाइ रहयौ , खरानी बनाई
वाग्मतीमा बगाइ रहयौ
तिम्रो नामै सुन्दा पनि
तर्सिन्छन् , झस्किन्छन्
ढिलो वा चाँडो गन्तव्य
तिमी नै हौं भनी बुझेर नि
बुझ पचाउने मान्छेहरु
तिमीलाई हेक्का छैन होला
कतिका सम्बन्ध तिमीले
चुपचाप नथाकिकन
आजसम्म धुँवा , धुलो
बनाई उडायौ , बगायौ
धेरै पटक तिम्रो चितामा
जलेको शव हेर्दै आइन्दा
सँधै ज्ञानी र सत्यवान
बन्ने कसम खाएको छुं
तर बनकाली नपुग्दै
त्यो कसम भुलेको छुं
संसारको वास्तविकता बोक्दै
तिमी कर्तव्य निभाइ रहेछौ
तर डर लागेपनि म भन्छुं
तिमीलाई म घृणा गर्छुंं
हे ! आर्यघाट , तिमीलाई
भित्री मनदेखि घृणा गर्छुं
किनकी तिमीले मेरा थुप्रै
आफन्त र साथीभाई
पटक पटक
मेरै आँखा सामु हेर्दाहेर्दै
वेपत्ता पारेका छौ
तिनीहरुलाई सदाका लागि
त्याग्न विवश पारेका छौ । । ।
–ओमशंकर श्रेष्ठ –
२५, असार , ०७७