•            
    • Hikmat Dangol

    • २६ असार २०७७, शुक्रबार १७:५६

    कोरोनाको महाव्याधी, अनुभव र भविष्य प्रतिको चिन्ता : —डा. किस्मत भण्डारी

    प्राक्कथन:

    यतिबेला विश्व मानव समुदाय कोरोना महामारीले ग्रसित, आक्रान्त र त्रसित छ। गत वर्ष २०१९ को अन्त्य तिरबाट देखा परेको यो कोरोना भाईरस (कोभिड–१९) बाट बिश्वभरमा संक्रमितको सख्या करिब डेढ करोड पुगेको छ । महामारीले हालसम्म साढे-पाँच लाख भन्दा बढी मानिसहरुको मृत्यु समेत भईसकेको छ। यो नव-मानव इतिहासकै सबैभन्दा ठुलो र जटिल चुनौती बनेको छ ।
    म बिहानको शितल बातावरणमा केहि समय मिलाएर घरको वरिपरि स्थानीय बाटोमा घुम्न जाने गर्छु। बाटोमा फाट्टफुट्ट मानिसहरु दश-बाह्र फिटको दुरीमा हिडिरहेका देखिन्छन् । कोहि नजिक पुग्न लाग्यो कि साइड चेन्ज गरेर हिँड्ने वा टाढै ठिङ्ग उभिरहने गर्छन् । एक मनले त हाँसो पनि उठ्छ। किनकि मानिसहरु देख्दा पनि मानिसहरु डराएर टाढा-टाढा हुनुपर्ने ! तर अर्को मनमा डर पनि लाग्छ। हुन् त आफ्नो ज्यानको माया कसलाई लाग्दैन र ? एकातिर बाहिरको बातावरण निलो आकाश मुनि हरियाली छाएका रुखहरु अनि वरिपरि फुलिरहेका विभिन्न रंगीचंगी फूलहरुको सुन्दर दृष्य र सफा रमाइलो बातावरण छ भने अर्कोतिर ज्यानै लिनसक्ने अदृश्य रोगले ग्रस्त भएको शहर भनेर पत्याउनै गार्हो छ ! कस्तो विडम्बनापूर्ण अवस्था !

    विश्व, चुनाैती र उपायहरू :

    शुरुवाती अवस्थामा युरोप तथा अन्य देशहरुमा अपनाइएका चिकित्सकिय उपायहरु त्यति लाभप्रद देखिएनन् । त्यसैले युरोप लगायत अमेरीकाले २ महिनाको अवधिमा निकै ठुलो मानविय क्षति ब्यहाेरे । महामारीसँग जुध्ने सिलसिलामा मानिसहरुले मौलिक उपायहरु पनि निकाले, जसले औषधी र चिकित्सा पद्धतिभन्दा प्रभावकारी र सुरक्षित परिणामहरु समेत निकाल्न सहयोग पुग्यो । सावधानी अपनाउन नसक्दा ज्यान गुमाउनु परेको अनुभव र तथ्यहरु पाइएका छन । बढि मात्रामा पिडित देशहरु इटाली, स्पेन, फ्रान्स बेलायत, ब्राजिल, अमेरिका लगायत देशहरुले निकै ठुलो मानविय क्षति व्यहोर्नु पर्यो । यहि संकट र चुनौतीबाट सिकेर उनीहरुले विश्वलाई सन्देश दिएका पनि छन साथै त्रासदीको साक्षी बनेका युरोप, अमेरिका र अन्य देशहरु मृत्युको प्रलयमा पुगेर पनि केहि हदसम्म तंग्रिन थालेका छन् । यि देशहरूले साहसका साथ जसरी अगाडी बढे त्यो प्रयास निकै प्रशंंसनीय छ र अरुकालागिअनुकरणीय पनि छ ।
    महामारी त फैलिई सकेको छ यधपी अबका दिनमा विश्व स्वास्थ्य संगठनका सल्लाह र सुझावहरु अपनाएर केही हदसम्म सुरक्षित रहन भने सकिन्छ । तर हाम्रो जस्तो सामाजिक संरचना र चेतनाको स्तर भएका समाजमा विश्व स्वास्थ्य संगठनका सल्लाह र कदमले मात्रै प्रयाप्त हुँदैन । कोरोना भाइरस संक्रमणको हालसम्म कुनै खोप पत्ता लागेको छैन। महामारी अझ सशक्त र बृद्धि भैरहेकाे देखिन्छ । त्यसैले अमेरिकाको केन्द्रीय रोग नियन्त्रण विभाग तथा विश्व स्वास्थ्य संगठन लगायतका विभिन्न स्वास्थ्य संस्था र विशेषज्ञहरुले औषधि नबनेसम्म गैह्र-औषधिय उपायहरू समेत अवलम्बन गर्न सुझाइ रहेका छन्। विश्वव्यापी रुपमा सुझाइएका यस्ता उपायहरुमा : नाक-मुख छुनु अघि साबुनपानीले हात धुने, अरुसँग नजिक नभै सम्पर्कबाट टाढा रहने, अरु मानिसहरुको नजिक रहनु परे मुख र नाकलाई मास्कले पुर्णतः ढाक्ने, खोक्दा र हाच्छ्यूँ गर्दा नाक, मुख छोप्ने र आफ्नो स्वास्थ्य परिक्षण गर्ने ईत्यादि हुन।
    महामारी अझै सशक्त र बृद्धि हुने कुरा निश्चित जस्तै छ । हाम्रा
    बैदेशिक रोजगारीमा गएका नेपालीहरुको आगमनले पुनः महामारीको अवस्था निकै चुनौतिपुर्ण हुने छ। त्यस्ताे अवस्थामा हामीसँग के उपायहरु होलान त यो बिकराल परिस्थितिसँग सामना गर्दै अगाडी बढ्न र हामी सहजतामा फर्किन? अबका सम्भावित उपायहरु हामी आफैंसँग निर्भर रहने छन । यसको औषधी बनेर सामान्य प्रयाेगपछि मात्र हामी सहजतामा फर्किन सक्नेछौं ! त्यसैले हामी हाम्रा मौलिक उपायहरु अपनाएर यो महामारीबाट सुरक्षित रहन सक्छौं ।
    नेपालमा पनि धेरै मानिसहरु कोरोनाबाट संक्रमित हुनेछन् र निको हुदै जानेछन् । अनि तीनै मानिसहरुले कोरोना अन्यमा पनि सार्न सक्नेछन् । वास्तवमा कतिपय संक्रमितलाई कुनै लक्षण पनि देखिदैनन् । केहि दिन रुघा खोकीबाट ग्रसित भएर निको पनि हुन्छन् । अहिलेको अवस्थामा ७०/८० प्रतिशत संक्रमित मानिसमा त कुनै लक्षण देखिएकै छैनन् । कोरोना संक्रमित मध्ये करिब ८०% मानिसहरु त विशेष उपचारविना आफैं निको पनि हुन्छन् । अहिले सम्मको अध्ययन अनुसार कोभिड-१९ का ६ जना सङ्क्रमित मध्ये १ जनामा मात्र गँम्भिर लक्षण देखिन्छन् र सख्त बिरामी हुन्छन् । यो अवस्थामा फोक्सोका वायु थैलीहरु सुन्निन्छन् र सास फेर्न गाह्रो हुन्छ । यस्तो अन्तिम अवस्थामा मात्रै भेन्टिलेटर ले अक्सिजन दिनुपर्ने हुन्छ।

    हाम्रा माैलिक भाेजन, संस्कार र सरसफाइ अभ्यास :

    हाम्रा दैनिक जीवनका नमस्कार, याेग, ध्यान लगायतका सनातन गतिविधिहरु अझ परिस्कृत र आचारपुर्ण ढंगले पालना गर्दा राम्रो हुनेछ । हाम्रा भान्सामा प्रयोग हुने लसुन, अदुवा, बेसार, मरिच, टिमुर, मेथी, ज्वानो, गुर्जो, प्याज, जिम्मु जस्ता मसला र औषधीजन्य वस्तुहरुको सेवन नियमित गर्नु जरुरी छ । हालसम्म औषधी त केही छैन, यिनै खानेकुराहरु नियमित खाने र १०–१० मिनेटको अन्तरमा तातोपानी पिउने गर्दा समेत याे राेग बिसेक भएको कुरा पाइएको छ। यसबाहेक भान्सामा ताजा सागसब्जी, फलफुल र तातो–तातो खानाहरु खानाले शारीरिक राेग प्रतिरोधात्मक क्षमता शक्ति बढेर यो महामारीलाई जित्न सकिने प्रमाणित र ब्यवहारिक तथ्यहरु पनि जानकारीमा आएका छन । सामान्य भन्दा बढी पटक साबुनपानीले हात धुने बानीले मात्रै पनि याे राेगकाे जोखिममा एक चौथाईले कमि हुने पाइएको छ । सागसब्जी, गेडागुडीको रस, कोदो–फापरको ढिंडो, ब्ल्याक राइस, जुनेलो, सिताके च्याउ जस्ता खानेकुराहरु मिलाएर खाँदा पनि फाइदा हुन्छ ।

    आयुर्वेदमा बेसारलाई सयौं रोगको औषधी मानिन्छ । बेसार निकै ठुलो एण्टिबायोटिक पनि हो । यसकाे सेवन प्रभावकारी छ । दालको झोल, चनाको झोल, सागको झोल, गुर्जोको झोल, बेसारको झोल, अदुवाको झोल, लसुन जिरा-ज्वानोको झोल, भेलिको झोल, मुलको सफा पानी लगायत का खानाहरु नै आजका कोरोना राेकथामका औषधि हुन। किनकी मानव शरिरमा रोग प्रतिरोधी क्षमता बढाउन यि भन्दा उत्तम विकल्प अरु हुन सक्दैनन् ।
    जसरी गौतम बुद्दले रुखमुनी बसेर वर्षौंको तपस्या पछि मनका दुख र पीडाबाट छुटकारा लिने उपाय र शान्तिको मार्ग फैलाए त्यसैगरी हामीले दैनिक जीवनमा घरमै बसी नियमित योग, साधना र व्यायाम गरी स्वास्थ्यलाई तन्दुरुस्त बनाउन सकिन्छ भने गीत-संड्गीत सुनेर र शारीरिक अभ्यास गरेर पनि मन र मष्तिष्क लाई स्वस्थ बनाउन सकिन्छ। रुचि अनुसारका पुस्तकहरु पढेर, क्षमता र ज्ञान अनुसार लेखन सिर्जना गरेर पनि आफ्नो समयकाे सदुपयोग गर्न सकिन्छ ।

    सिकाई, आत्मबल, धैर्यता र साहस :

    कोरोनाले हामीलाइ धेरै सचेत बनायो हातखुट्टा धुन देखि लिएर आफन्तको याद गरि घर परिवारलाई पनि समय दिनु पर्छ भन्ने कुराको बाेध गरायाे। पहिले घर-परिवार आफन्त साथी भाइलाई केही समय दिँदा, काममा एकछिन ढिलो हुदा संसार रोकिन्छ झै लाग्थ्यो । अहिले बाध्यताले ३, ४ महिना कसैलाई नभेटि घरमा यसै बस्नपनि वाध्य हुनु पर्ने रहेछ ।
    अब कोरोनालाई सिकाइको रूपमा लिएर अर्गानिक खेती तिर लागौं, कौसी खेती गरौँ, स्वस्थ्य रहाैँ, थोरै खाऔँ , अर्गानिक खाऔँ । हाम्रो शरिरमा रोग प्रतिरोधी क्षमता बढाउन यि उत्तम उपायहरु हुन । हरेक समस्या भित्र नै समाधान लुकेको हुन्छ ।त्यसलाई चिर्न सक्नुपर्छ। नकारात्मक सोचले बिरामी बनाउन सक्छ भने सकारात्मक सोचले स्वस्थ्य बनाउँछ। यसैले सकारात्मक सोचका साथ जिएर अगाडी बढाैँ।
    हामी सामाजिक सञ्जालमा देखिने काेराेनाका कारण मानिसहरुका मृत्युको खबरले निकै हत्तोत्साही र निरास हुने गर्छाैं । यस्तो निरासा र संकटकाे अवस्थामा सार्वजनिक सञ्चार माध्यहहरुबाट प्रशारित प्रतिष्ठित व्यक्तित्वहरु, मनोबैज्ञानिक, समाजशास्त्री, महामारीविद्, कलाकार, गायक, मानवशास्त्री, पोषणवीदहरु मार्फत दिईएका उत्साह, आँट, प्रेरणा, काउन्सेलिङहरु,सकारात्मक र सिर्जनात्मक सन्देशहरु सुन्ने गराैँ। त्यसले हामीलाई महामारीसँग लड्ने अदम्य मनोबैज्ञानिक साहस, प्रेरणा र धैर्यता प्रदान गर्दछ ।

    आगामी दिनहरूमा “न्यू नर्मल” :

    एकातिर बिभिन्न औषधी बिज्ञान, अनुसन्धान, स्वास्थ्य बिज्ञ तथा अन्वेषकहरुका अनुसार काराेनाको औषधी बनेर उपयोगमा ल्याउन अझै केहि महिना लाग्न सक्ने जानकारी तथा तथ्यहरु सुनिईरहेका छन भने अर्कोतिर, अबका दिनमा हामीहरु याे बिकराल परिस्थितिसँग सामना गर्दै, आत्मबल बलियो बनाउँदै, आवश्यक सतर्कता अपनाएर काममा नफर्कि सुख पनि छैन। सामाजिक दुरी कायम गर्दै काममा अगाडी बढ्न नसके हामीहरु विकराल अभाव भाेकमरी र गरीवीको चपेटामा पर्नेछौं ।
    काेराेनाका कारणले सामान्य अवस्थामा चलिरहेको दैनिकी र ब्यबहारिक शैलीमा आएको जटिल परिस्थिति तथा परिवर्तन र त्यो परिवर्तनलाई सहजरुपमा स्वीकार गर्दै नयाँ सामान्य जीवनमा अभ्यस्त हुँदै जाने कुरा लाई “न्यू-नर्मल” भनिएको छ। अब कोभिड-१९ सुरु हुनु अगाडिको जस्तो समय र परिस्थिति पुनः सञ्चालनपछि यथावत् नरही परिवर्तन हुनेछ “अर्थात् अबकाे अवस्था “न्यू-नर्मल” हुनेछ ।
    “दु:ख पर्दा नआत्तिनु, सुख पाँउदा नमात्तिनु” र “रातपछि मिर्मिरे उज्यालाे आउछ” भन्ने कुरालाई मनन गर्दै सन्सारमा
    सबैतिर कोभिड-१९ सामान्य भएपछि समय र परिस्थितिमा “न्यू नर्मल” आउने छ भन्ने कामना सहित महामारीको असरसँग हामीले डटेर अगाडि बढनु पर्ने हुन्छ ।
    असफलता र चुनाैतीमा अवसर खाेज्नु नै मानिसकाे सफलता हो । त्यसैले साराम्शमा भन्नुपर्दा हामी सवैले आत्मबिश्वास बढाउँदै, आफ्ना मौलिक ज्ञान र संस्कार अवलम्बन गर्दै, रोगसँग सतर्क रही, सम्पुर्ण सुरक्षित उपायहरु अपनाई अघि बढेमा हामी यो भाइरसलाई जितेर स्वस्थ्य जीवन सहित “न्यु-नर्मल” दिनचर्यामा छिटोभन्दा छिटो फर्किने छाैँ ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै