•            
    • TOKHA LIVE

    • १४ असार २०७७, आईतवार ११:०४

    आज बहुदलीय जनवादका ब्याख्याता जननेता मदन भण्डारीको ६९ औं जन्म जयन्ती :-

    टाेखा लाइभ ,२०७७ असार १४ काठमाडौं । आज असार १४ गते बहुदलीय जनवादका ब्याख्याता जननेता मदन भण्डारीको ६९ औ जन्म जयन्ती हो। २०५० जेठ ३ चितवनको दासढुंगामा भएको एउटा चर्चित ‘दुर्घटना’ हत्या हो वा होइन भन्ने यकिन नभएर अझै पनि ‘रहस्यमय’ छ । ताप्लेजुङको ढुंगेसाँघुमा देवीप्रसाद भण्डारी र माता चन्द्रकुमारीको माहिला छोराका रूपमा २००९ असार १४ गते जन्मेका मदन भण्डारीले अल्पायुमै संसार छाडे पनि नेपाली राजनीतिमा एउटा बेग्लै आकर्षक व्यक्तित्वका रुपमा छाप छाडे ।
    जनआन्दोलन २०४६ मा बाममोर्चाबाट सकृय रहेका भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी–लेनिनवादी) र मनमोहन अधिकारी नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी) लाई एकीकरण गरी नेकपा (एमाले) गठन गर्न महत्त्वपूर्ण भूमिका खेलेको मानिन्छ ।
    उनले प्रतिपादन गरेको बहुदलीय जनवादको नीति पछ्याउँदै नेकपा (एमाले) बहुलबादी राजनीतिमा अघि बढ्दै आम निर्वाचन २०४८ मा सहभागी भएको थियो ।

    प्रारम्भिक शिक्षा जन्मथलोमै प्राप्त गरेका उनको परिवार २०२४ सालमा ताप्लेजुङबाट मोरङको इटहरामा सरेको थियो । उनले भारतको मथुरामा पनि अध्ययन गरे । भण्डारीले बनारस विश्वविद्यालयबाट भाषा साहित्यमा स्नातकोत्तर गरेका थिए ।
    २०२८ सालमा पुष्पलालसँगको भेटपछि उनी राजनीतिमा लागेको उनीबारे लिखित कृतिमा छ । २०३० सालमा उनी पार्टीको पूर्णकालीन कार्यकर्ता बनेका थिए ।

    २०४१ मा भण्डारी पार्टीको पोलिटब्युरो सदस्य र २०४६ सालमा नेकपा (एमाले) को चौथो महाधिवेशनमा महासचिव बनेका थिए । २०४७ सालमा भूमिगत जीवनबाट बाहिर आई माले (माक्र्सवादी) एकीकरणबाट उनी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत मार्क्सवादी–लेनिनवादी) को महासचिव बने ।

    २०४८ सालको संसदीय निर्वाचनमा नेकाका तत्कालीन सभापति एवम् अन्तरिम प्रधामन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरी काठमाडौं क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।

    उनको विवाह २०३९ सालमा विद्या पाण्डे (हाल राष्ट्रपति विद्यादेवी भण्डारी) सँग भएको थियो ।

    बहुदलीय जनवादका ब्याख्याता भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय दुर्घटनामा मृत्यु भएको थियो । उनीसँगै पार्टीका अर्का नेता जीवराज आश्रितको पनि मृत्यु भएको थियो । आश्रितको गाडीमै शव भेटिएको थियो भने भण्डारीको घटनास्थलदेखि अलि तल नारायणी नदी किनारमा तीन दिनपछि शव भेटिएको थियो । यो घटनाको छानबिन गर्न धेरै आयोग बने पनि दुर्घटना थियो वा अरु केही भन्ने खुलस्त हुन सकेको छैन।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै