• TOKHA LIVE

  • २७ भाद्र २०७८, आईतवार ०८:१४

कांग्रेस महाधिवेशन तालिकामा हेरफेर

टोखा लाइभ ।२०७८ भदौ २७ गते आइतवार

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको १४ औँ महाधिवेशन कार्यतालिका हेरफेर भएको छ। केन्द्रीय निर्वाचन समितिले महाधिवेशनको कार्यतालिका फेरबदल गरेको हो । कांग्रेस पदाधिकारी बैठकले गरेको प्रस्तावका आधारमा निर्वाचन समितिले गाउँ–नगरपालिका अधिवेशनदेखि जिल्ला अधिवेशनको नयाँ मिति तय गरेको हो । शुक्रबार विज्ञप्ति प्रकाशित गरी निर्वाचन समितिले भदौ २७ गतेका लागि निर्धारण गरेको गाउँ–नगरपालिका अधिवेशन असोज ५ गतेका लागि तोकेको जनाएको छ । यस्तै, असोज १ गतेका लागि निर्धारित प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते तय गरिएको छ भने असोज ५ गतेका लागि तय गरिएको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन असोज १५ गतेका लागि तोकिएको छ ।

एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशनको मिति असोज १८ का लागि तोकिएको समितिले जनाएको छ । यसअघि उक्त अधिवेशन असोज १० गते गरिने निर्णय गरिएको थियो । आगामी कार्तिक १०–१२ मा हुने भनिएको क्षेत्रीय अधिवेशन र मंसिर ९–१३ मा हुने भनिएको केन्द्रीय महाधिवेशनको मिति भने यथावत राखिएको छ । पदाधिकारीको शुक्रबार बसेको बैठकले गाउँ–नगरपालिका, प्रदेशसभा क्षेत्रीय अधिवेशन, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन–एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन र एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशनको मिति हेरफेर गर्न प्रस्ताव गरेको थियो ।

१२ युवा नेताको असन्तुष्टी
नेपाली कांग्रेसका युवा नेताहरूले अधिवेशन तालिका संशोधन भएकोप्रति आपत्ति जनाएका छन् । कांग्रेसका १२ युवा नेताले संयुक्त विज्ञप्ति जारी गर्दै अधिवेशन तालिका संशोधन गरिएको प्रति आपत्ति जनाएका हुन् । स्थानीय तहका अधिवेशनहरू पर सारिएको प्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको उनीहरूले जनाएका छन् । ’सबै घटनाक्रमप्रति हाम्रो ध्यान गम्भीर रूपमा आकृष्ट भएको छ । निर्धारित समयमा चौधौं महाधिवेशनको सुनश्चितताका लागि पार्टी नेतृत्वको ध्यानाकर्षण गराउन चाहान्छौं’, विज्ञप्तिमा भनिएको छ ।

अधिवेशन प्रकृया सुरु भैसक्दा पनि पार्टीको केन्द्रीय कार्यालय सानेपामा धर्ना, अनसन चलिरहने अवस्थालाई सुखद् घटनाको रूपमा लिन नसकिने उनीहरूको धारणा छ । समानुपातिक प्रतिनिधित्वको माग गरिरहेका साथीहरूको मागमा आफूहरूको ऐक्यवद्धता रहेको उनीहरूले जनाएका छन् ।

डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गुरुराज घिमिरे, गगन थापा, बद्री पाण्डे, सरिता प्रसाईं, जीवन परियार, प्रदिप पौडेल, रामकृष्ण यादव, किरण यादवलगायतले संयुक्त रूपमा विज्ञप्ति जारी गरेका हुन् ।

Facebook Comments

सम्बन्धित खवर

फोटो पत्रकार सरोज बस्नेतलाई मातृशोक

काठमाडौं कांग्रेसको वडा अधिवेशन सम्पन्न

सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै