•            
    • Hikmat Dangol

    • ८ जेष्ठ २०७७, बिहीबार १०:०३

    कोरोनाबाट सुरक्षित रहन न्युयोर्कको मुटुमा यस्तो पार्क

    ८ जेष्ठ २०७७, बिहीबार ।द न्युयोर्क टाइम्स । व्यस्त न्युयोर्क विगत दुई महिनादेखि लकडाउनमा छ । झण्डै ९० लाख मानिसको बसोबास रहेको सपनाको सहर न्युयोर्कमा अहिले कोरोना त्रासका कारण चमक धमक खासै छैन । गर्मी यामको प्रतिक्षामा रहेका लाखौं न्युयोर्कबासी समुन्द्री किनार होस् या हरिया पार्कमा खासै खुलेर हिंड्न पाएका छैनन् । तर पनि मेई महिनाको प्यारो घाम सुरक्षित तरिकाले ताप्ने बातावरण भने ठाउँठाउँमा तयार गरिएका छन् ।

    अमेरिकाको चर्चित चिनी कम्पनी डोमिनोको कुनै बेलाको चिनी प्रशोधन केन्द्रमा निर्माण गरिएको ब्रुकलिनस्थित ‘डोमिनो पार्क’ मा कोरोना संक्रमणबाट सुरक्षित रहने गरी ६ फिटको सामाजिक दुरी कायम गरेर बस्ने गरी पार्क संचालन गरेको छ । चर्चित विलियम्सबर्ग ब्रिज मुनी ईस्ट रिभरको छेऊमा संचालित डोमिनो पार्कको हरियो घाँसमा लहरै मिलाएर सेतो रङको गोलो लोगो बनाईएको छ । जुन गोलो भित्र जाडो भरी चिसिएका न्युयोर्कबासीको घाम ताप्ने रहर कोरोना कहरकै महामारी बीच मै पनि पुरा हुन सक्दछ ।

    ६ एकर्ड जमिनको उक्त पार्क न्युयोर्क सिटीको स्वामित्वको पार्क भने होईन । प्राईभेट पार्क भएको कारण उक्त पार्कलाई सामाजिक दुरी कायम हुने गरी संचालनमा ल्याईएको छ । न्युयोर्क सहर भित्र अन्य थुप्रै सरकारी पार्कहरु छन् तर ती पार्कहरुमा भने यस्ता ज्यामितीय गोलार्ध निर्माण गरेर पार्क संचालन गरिएका छैनन् ।

    न्युयोर्क सहर अहिलेसम्म ‘स्टे होम अर्डर’ मा नै छ । अमेरिकामा विहिवार सम्म १५ लाख ९३ हजार मानिस कोरोना संक्रमित छन् भने ९४ हजार ९ सय ४१ को मृत्‍यु भै सकेको छ । न्युयोर्क राज्यमा ३ लाख ५५ हजार संक्रमित छन् भने २८ हजार ६ सय ४५ को मृत्‍यु भै सकेको जोन हप्किन्स युनिभर्सिटीले जनाएको छ ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै