•            
    • TOKHA LIVE

    • २८ असार २०७७, आईतवार १७:१९

    टाेखामा एक से एक बिरामी:-

     #डा.गौरिशंकरलाल दासको संस्मरणबाट 

    टाेखा लाइभ

    वीर अस्पतालबाट टाेखा सिनेटाेरियम(क्षयरोग केन्द्र )मा सरुवा भएपछि महसुस गरें,बिरामीको उपचार त गर्नुपर्छ तर त्यसभन्दा बढी उनीहरुलाई मनोरञ्जन र ‘इन्गेज’ गराउन सकियो भने त आधा रोग त्यतिकै निको हुँदो रहेछ।
    दुर्गम र अपायक भनेर डाक्टरहरु सरुवा भए पनि जान नमान्ने टाेखा क्षयरोग केन्द्रकाे वातावरण भने सार्है शान्त र मनाेरम थियो।चारैतिर हरियाली,सल्लाका बोटले घेरिएको सार्है सुन्दर ठाउँ।क्षयरोगका बिरामीका लागि सल्लाको हावा उपयुुक्त हुने हुँदा त्यस ठाउँलाई रोजिएको पनि भनिन्थ्यो।
    क्षयरोगका बिरामी राणा प्रधानमन्त्री चन्द्रशमशेरले २० लाख रुपैयाँको अक्षयकोष खडा गरि यस्तो केन्द्र खोल्ने मनसुवा राखेका भएपनि जुद्वशमशेरकाे पालामा आएर बिसं १९९१मा मात्रै स्थपना भयो।त्यहाँ पहिलोपटक पुग्दा मलाई त त्यो ठाउँको आकर्षक र मनमोहक लाग्यो।वीर अस्पतालमै काम गर्दा बिसं ००९ को अन्त्यतिर एक दिन स्वस्थ्य सेवा विभागक डाइरेक्टर जितसिंह मल्लले आफ्नो जिपमा राखेर मलाई बुढानिलकण्ठको बाटो हुँदै टाेखा पुर्याएका थिए।त्यहाँ पुगेपछि एक्कासि उनले भने” यहाँ बस्ने हो भने वीर अस्पतालमा पाइरहेको तलबको दोब्बर पाइन्छ।अाँट्ने हो त?”मासिक दुई सय रुपैयाँ बुझिरहेको मेरो लागि सिधै चारसयको ‘अफर’थियोे।मैले’ हुन्छ ‘भनें।र टाेखा क्षयरोग केन्द्रमा असिस्टेन्ट मेडिकल सुपरिटेन्डेन्टमा नियुक्ति पाए।
    केन्द्रमा राणा परिवारका लागी ए,बि र सि क्लासको ब्लक नै ब्यवस्था गरिएको थियो।त्यसबाहेक उच्च अधिकारी र जनसाधारणका लागि भनेर केही बेड छुत्याइएको थियो।जनसाधारणका लागि छुत्याइएका ५० बेड प्रायः खाली हुँदैनथे।
    खास गरि सहरबाट टाढा रहेको मनोरम स्थल भएकाले मानिसहरु पिकनिकका लागि र घुमघाम गर्न आक्कलझुक्कल त्यहाँ पुग्थे।त्यसै क्रममा ०१० सालतिर वुमेन भोलिन्टियर्स सर्भिसका प्रीन्सेप शाह(तत्कालीन अधिराजकुमारी) र कमल राणा पनि पुगेका थिए। उनीहरुले केही पत्रपत्रिका लिएर त्यहाँ पुगेका थिए।पिकनिक सकेपछि उनीहरुले ती पत्रपत्रिका हामीलाई दिएर फर्किए।अब तिनलाई के गर्ने त? हामीले सल्लाह गर्याें, क्षयरोग केन्द्रका बिरामिका लागि ती समय बिताउने उपयुुक्त माध्यम किन नबनाउने?तिनको संरक्षण र जतन गर्ने हिसाबले हामीले एउटा कोठामा केही दराज्को ब्यबस्था गर्याै।तिनलाई व्यवस्थित ढंगले राखेर बिरामिहरुको सहज ढंगले पढ्न पाउने बनायौ।
    एकदिन साहित्यमा रुचि राख्ने र काठमाडौंका धेरै साहित्यकारसंग चिनजान र सम्पर्क भएका असन,भोटाहिटीका कैलाशराम श्रेष्ठ आफ्नी बिरामी श्रीमती मेवादेविलाई भेट्न टाेखा पुगेका थिए।
    मेवादेवी क्षयरोगको उपचारका क्रममा जनसाधारणका लागि छुत्याइएको शय्यामा भर्ना भएकी थिइन् ।कुरै कुरामा श्रेष्ठले त्यस कोठालाई देखेर’पुस्तकालय त खोल्नुभएछ,अब एउटा भित्तेपत्रिका पनि प्रकाशित गर्ने कि?’भने।बिरामीलागि थप इन्गेज गराउने यो पनि राम्रै उपाय थियो।प्रस्ताव चित्तबुझ्दो लागेपछि श्रेष्ठकै सहयोगमा त्यतिबेला चर्चित साहित्यकारहरु लक्ष्मीप्रसाद देवकोटा,बालकृष्ण सम,सिद्विचरण श्रेष्ठ ,हृदयचन्द्रसिंह प्रधान ,चित्रधर हृदय नेपाली,फत्तेबहादुर सिंह आदिसंग सम्पर्क गरेर हिन्दी,नेपाली र नेपाल भाषाका लेखरचना जम्मा गरि संगम पत्रिका निकाल्न सुरु गर्यौ।
    त्यसपछि त ‘अक्कुपेन्सी थेरापी’अर्थात बिरामिलाइ इङगेज गराउने काममा तत्कालीन अमेरिकी राजदूतकि श्रीमती स्टेफिन्स,इजरायलि राजदूतकि श्रीमती लाडाेर र हाेटल द्वारिकाकि अम्बिका श्रेष्ठहरुले ठुलो सहयोग गरे।उनीहरुले क्षयरोग केन्द्रका बिरामीलाई हस्तकला र सीप सिकाइको ज्ञान पनि बाँडे।
    त्यतिबेला टाेखामा एक से एक बिरामी क्षयरोगको उपचारका लागि भर्ती भएका थिए।जर्नेल किरणशमशेरकी आमा’ए’कटेजमा,राजा त्रिभुवनकि भित्रीनिपत्तिकी भाउजू ठुली रानीसाहेब ‘बि’कटेजमा भर्ना भएका थिए।रानीसाहेबको मेरुदण्डको हड्डीमा टीबी भएको थियोे। उनी ह्विलचेयरको प्रयोग गर्थिन।संगीतकि ज्यादै सोखिन उनका कोठामा संगीत सामाग्रीको कमि थिएन।संगीतकार तथा गायक बच्चुकैलाश ‘सि’कटेजमा थिए।त्यस्ता प्रतिभा त्यहाँ रहेकाले काठमाडौंबाट पुष्प नेपाली ,नातिकाजी लगायत संगीतज्ञलाई बोलाएर बेलाबेला क्षयरोगका बिरामीलाई गित-संगीतबाट मनोरञ्जन प्रदान गर्ने काम पनि गर्थ्यौ।
    बच्चुकैलाशलाई हार्मोनियममा बालकृष्ण समका भित्रीनिपत्तिका छोरा नेमिशमशेरले साथ दिन्थे।उनी पनि क्षयरोगको उपचारको लागि भर्ना भएका थिए।उनी हार्मोनियमका उस्ताद नै थिए।
    प्रसिद्ध साहित्यकार हृदयचन्द्रसिंह प्रधानले ‘स्वास्नीमान्छे’ उपन्यास पनि टाेखा क्षयराेग केन्द्रमा बसेर लेखेका रहेछन् म त्यहाँ जानुअघि नै।नेपाली समाजका पुरुषहरूले नारीमाथी गरेका घृणित व्यवहारको चित्रण गर्दै त्यस व्यवहारविरुद्ध सशक्त प्रतिकारको संदेश दिन आफुले उक्त उपन्यास टाेखा क्षयरोग केन्द्रमा बसेर उपचार गराउदा लेखेको उनले मलाई बताएका थिए।स्मरणीय छ,नारीवादी उपन्यास ‘स्वास्नीमान्छे ‘पहिलोपटक ०११सालमा साझा प्रकाशनद्वारा छापिएको थियो।
    यसरी टाेखा क्षयरोग केन्द्र बिरामी-मैत्री त थियो नै,साहित्यका माध्यमबाट बिरामीलाई इन्गेज गराउदै रोग निको पर्न उद्यत थियो त्यसमा हामी कति सफल रह्यौ,समय नै साक्षी छ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै