•            
    • Hikmat Dangol

    • ११ असार २०७७, बिहीबार २२:२३

    आहा, त्यो मोरीको जुंगा कस्तो भयो होला ?

    त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस बाट मेरो B.Ed. को परीक्षा समाप्त भई फुर्सदको समयमा केन्द्रीय लाइब्रेरीमा पुस्तकहरुको अध्ययन गरेर बसिरहेको थिएँ | २०५० साल फागुनको पहिलो हप्ता मलाई सूचना आयो कि, शिक्षण पेशाको लागि जागिर खान | म जाने भए, श्री निलकण्ठेश्वर मा.वि. जुंगु दोलखा जिल्लामा | २०५० साल फाल्गुन १७ गतेदेखि लागु हुनेगरी मा बि विज्ञान शिक्षकको रुपमा म नियुक्त भए | ३५०० जागिर थियो जीवनमा त्यति ठूलो रकम जागिर पाएको पहिलोपटक थियो | मानौं, भूमिमा खुट्टै थिएन | त्यो पैसा कसरी खर्च गर्ने र व्यवस्थापन गर्ने भन्ने पनि राम्रो सँग थाहा थिएन | त्यस माथि पनि, सबैको नमस्कार, विद्यार्थिको प्यारो शिक्षक, गणित पनि उत्तिकै जानेको, हुनाले होला, मैले त्यस विद्यालयमा अत्यन्तै सहज र पारिवारिक वातावरणीय मायाको महसुस गरे | मेरो भाषा शैलीको विकास भइसकेको, नेतृत्व शैलीको विकास भइसकेको थियो| किनकी त्यो बेलामा म अ.ने.रा.स्व.वि.यु. (छैठौं) को केन्द्रीय सदस्य भइसकेको थिए | विदा र फुर्सदमा घर, गाउँतिर घुम्दा, जतापनि स्वागतै स्वागत र वाहीवाही को अनुभवले गर्व लाग्थ्यो शिक्षक हुनुमा !

    बिदाको समयमा अभिभावकहरुले आफ्नो घरमा बोलाउनुहुन्थ्यो | विद्यार्थी सँग पनि पारिवारिक सम्बन्ध हुन्थ्यो | सबैले परिवार जस्तै विश्वास गर्नु हुन्थ्यो, माया गर्नुहुन्थ्यो | घर छोडेर टाढा बसेको हुनाले खानेकुरा, खाजा, आदिको समस्या हुन्थ्यो नै, उहाँले त्यही बुझेर होला अनुरोध गरि गरि, मीठोमसिनो पाक्दा पनि सम्झेर दिने गर्नुहुन्थ्यो | यसैले त्यस ठाउँमा अत्यन्तै भित्री माया बस्यो र झण्डै एकवर्षसम्म घर पनि फर्केर आइएन | जुंगु दोलखामा बसिरह्यो| कति छिटो एक वर्ष बित्यो पत्तै पाएन | त्यहीँ घर व्यवहार सम्हाल्नुपर्ने शिक्षकहरूको तुलनामा फुर्सदिलो भएको हुनाले अधिकांश सदरमुकाम वा त्यस ठाउँबाट बाहिर गएर गर्नुपर्ने प्रशासनिक कामहरु  मलाई लगाउने गर्नुहुन्थ्यो |

    विद्यालय भित्र र बाहिरका बिशेषत अतिरिक्त क्रियाकलापहरुमा मेरो संलग्नता तीव्र थियो | जिल्ला व्यापी रुपमा मेरो चिनाजानी एकवर्षमा फैलिसकेको थियो | रित बहादुर खड्का जी सँग मेरो लगातार, समाजलाई के दिन सकिन्छ भन्ने बारेमा कुराकानी हुन्थ्यो | हामी सहकार्यको वातावरणबाट अगाडि बढ्दै थियौं | उहाँ तत्कालीन नेकपा-माओवादीका केन्द्रीय सदस्य हुनुहुन्थ्यो | उहाँले पछि साहदत प्राप्त गर्नुभयो, सलाम छ उहाँलाई ! उक्त विद्यालय उहाँको घर नजिकै थियो |

    दोलखा जिल्ला स्तरीय नाचगान तथा सांस्कृतिक कार्यक्रममा, पाँचजना जना विद्यार्थी को टिम लिएर, हाम्रो विद्यालयको तर्फबाट नेतृत्व गरेर सदरमुकामसम्म जानुपर्ने भयो | ४/५ घन्टाको अप्ठ्यारो बाटो पार गर्नुपर्ने भएकोले, हामी अघिल्लो दिन हिंड्यौं | एक रात बिताउनुपर्ने थियो, भोलिको दिन २०५१/०६/०१ गते, दोलखा चरिकोट कालिन्चोक मा बि मा कार्यक्रम थियो| हामी लक्ष्मी होटल एण्ड लजमा बास बसेको हुनुपर्छ |

    लामो हिंडाइको कारणले, एक जना भाइ अकस्मात बिरामी पर्यो | कलाकारमा एउटी नानी लाई भाइ बनाउनु पर्ने भयो | सुरुमा उनले स्वीकार्न गाह्रो माने पनि, केही समयपछि रेबिका तयार भइन् र उनलाई भोलि सिंगार्ने तयारी अहिलेदेखि गर्न थालियो | यस्तो खालको अनुभव जीवनमा पहिलोपटक थियो | निकै अप्ठ्यारो हुँदोरहेछ, यो सिंगारपटारको काम, विविध, अप्ठ्यारो लैङ्गिक लज्जा, मनोविज्ञानका अप्ठ्यारा,  ठीक-बेठीक भएको चेकजाँच गर्दाका अप्ठारा, एउटै कोठामा बस्त्रहरु अदल बदल गर्दाका अप्ठ्याराहरु आदि |अग्लो, हृष्टपुष्ट शरीर, लामो लत्रिएको कपाल लाई, केटो बनाउने प्रयास |

    हामीसँग पोशाक खरिद गर्ने अर्को कुनै बजेट थिएन | त्यही भाइको सट, पाइन्ट उदारेर, सियो धागो ले ठूलो बनाएर पुनः सिलाएर लगाउँदा शरीरमा अङ्ग|कार नमिलेका ठाउँहरु प्रशस्तै देखिन्थे |  ती अप्ठ्याराहरु मैले तेतिखेर महसुस गरेकी, अहिले महसुस गरे भन्ने पत्तै भएन | जसरी पनि कार्यक्रममा पुरस्कार जित्नु थियो | एक प्रकारको, जिमेवार भित्रको बेजीम्मेवार आँटिलो बेलाको हुटहुटीले जगायो कोही अप्ठ्याराहरु का विरुद्ध अघि बढ्ने सहमति | एउटा जवान शिक्षकमा त्यो खालको आत्मविश्वास विकास हुँदो रहेछ | अब कालो मार्करले बनाउन थाले उनको जुंगा | जतिपटक कोर्न थाल्यो, उनी निच्च, निच्च हाँस्छिन् र जुंगा बिग्रिन्छ | अनि ऐनामा हेर्दै हाँस्दै गर्दा, जुंगा बनाउन अती धेरैबेर लाग्यो | अनेकौं आकृतिहरु, निर्माण भएकोले हाँसी मजाकको माहोल निर्माण भयो | सन्दर्भिक अनेक प्रसङ्ग र प्रश्नहरू उठिरहे उनका साथीहरूले जिस्क्याए, उनी लजाउँदै, मजाले रमाउँदै गर्दै थिइन् | मलाई भोलिको माहोलमा आत्माविश्वास बढ्दै थियो र त्यही अनुसारको ब्रिफिङ गर्दै थिए विद्यार्थीहरुलाई, उनीहरुमा पनि आत्मविश्वास बढ्यो |

    भोली पल्ट हाम्रो योजना अनुसार हामी कार्यक्रमस्थल कालिन्चोक मा बि मा गयौं | कार्यक्रममा भाग लिएर, दोस्रो स्थान हासिल गर्यौं| हामी रातारात गरेर फर्कियौं | बाटोमा पानी पर्यो, जुकाहरु आकाशबाट बर्सन थाले | शरीरभरि जुकाले ढाकेको थियो | भोलिपल्ट गाह्रो भयो होला तिमीहरूलाई भनेर सोद्धा, भन्दै थिय, लड्दा चिप्लिदा र अनेक ठट्टा गर्दा को मज्जाले पिडा हरु बिसाई रहेको थियो सर | अनि सरसँग हिँड्न पाएपछि, हामीलाई थाकेको महसुस हुँदैन भन्दै थिए | हामीलाई विद्यालयमा भव्य समारोहकाबीच फुलमाला अबिर जात्रा गरीयो | मेरो माहोल अझै बढ्दो भयो, बाबुराम शर आएपछि धेरै कुराको विकास भयो भनेर विद्यार्थीहरु यती धेरै खुसी भए, अभिभावकमा पनि यसको प्रचारप्रसार तीव्र भयो |

    यसको दुई हप्तापछि घरबाट इमरजेन्सी खबर आयो र मआफ्नो घर फर्के | घरको परिस्थितिले मलाई फर्किने स्थिति सिर्जना गरेन | म मेरै जन्मस्थानमा सेवा गर्न थाले | मैले त्यो भन्दा अगाडि नै जानकारी दिइसकेको थिएँ | त्यसको पन्ध्र दिनपछि एउटा चिठी आयो | हामी यहाँ धेरै जाना तपाइको प्रतिक्षामा छौं | तपाइ नआयमा हामी धेरैजना रुन्छौं | यस विद्यालय पनि छाड्ने छौं | तपालाई धेरै धेरै सम्झना छ, तपाईंले मनमा धेरै मायाहरु गाडेर जानुभयो |तपाईंले सिलाई दिएको सर र पाइन्ट अझै ठुलो बनाउनुपर्ने भयो, यहाँ कसैलाई पनि तेसरि सिलाउन आउँदैन | कृपया तपाई तेती सिलाइदिन भए पनि  अाउनुहोला | अनि अन्तमा तपाईले बनाइदिनुभएको, जुङ्गा अप्रत्याशित ठूलो बन्दैछ | जतिपटक ऐनामा हेर्छु त्यति पटक अप्रत्याशित आफै बढ्दै छ | के अचम्म भयो ? अनि अर्कोतिर तपाईंको यादले मुटु पोल्दैछ ! उही तपाईंको रेबिका !!

    अचम्म लाग्छ म यति टाडा छु, साच्चै त्यो जुंगा बढेकै हो कि! बाल मनोविज्ञानको भावना बढेको हो? मलाई बुझ्न कठिन भइरहेको छ | कहाँ होलिन रेबिका ? मैले उनलाई कार्यक्रम जानुभन्दा अगाडि, हौसला दिने उद्देश्यले भनेको थिई आहा, यो मोरीको जुंगा कस्तो राम्रो भयो ! उनैले भनिसकेपछि, साँच्चै एकपटक हेर्न मन छ मलाई, आहा, त्यो मोरीको जुंगा कस्तो भयो होला ?

    Babu Ram Ghimire, Buddhist Study, TU. PhD. Scholar.

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै